मानव संसार (उपन्यास) सरण राई




 






मानव संसार
 

सरण राई


    
समर्पण
वृद्धाश्रम स्थापना गर्न इच्छुक तर असमर्थ
प्रिय पत्नी लक्ष्मी राईप्रति
एवम्
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनामा 
जीवन बलिदान गर्ने ज्ञात, अज्ञात शहीदहरुप्रति
एवम् 
नयाँ नेपाल निर्माणमा प्रतिबद्ध भई क्रियाशील 
सम्पूर्ण राजनैतिक–सामाजिक कार्यकर्ताहरुप्रति




डा. ध्रुवचन्द्र गौतमको दृष्टिमा .....“मानव संसार”

श्री सरण राईको ‘मानव संसार’ एक उद्देश्यपूर्ण उपन्यास हो । लेखकले यसमा एउटा उच्च आदर्शलाई विशाल कल्पनाको चुचुरामाथि पु¥याएर गगनचुम्बी बनाउने प्रयास गर्नुभएको छ । ‘मानव’ पात्र हो, वृद्धाश्रम हो, संस्मरण हो, उपन्यास हो अथवा मृत्युनजिक पुगेको जीवनको धमिलो आभास हो । धेरै अर्थ लाग्न सक्छन् । जीवन, मृत्यु, राष्ट्रियता, आदर्श, आकाङ्क्षा अनि विभिन्न अवस्था मिलेर बनेको छ ‘मानव संसार’ । यसमा जीवनको अवसाननजिक पुगेका पात्रहरुका बाँच्ने आधार खोज्न लेखक प्रयत्नशील देखिनु हुन्छ । त्यो बाँच्ने आधार स्वच्छ र स्वाभिमान समेतको आधार हो । परिवर्तनाको संस्मरण वा आत्मवृतान्तद्वारा बयान गरिएको यस कथामा देश, राजनीति, राजनीतिका विडम्बनाहरु र नागरिकका कर्तव्यका कुराहरु अनि मानिसले जीवनलाई कसरी बाँच्नुपर्छ भन्ने भावलाई लेखकले भावुक मन र आदर्श र विश्लेषणात्मक मस्तिष्कको प्रयोगद्वारा झल्काउनुभएको छ । आज अर्थव्यवस्था, राजनीति, मानव–जीवनका विभिन्न फाँटमा देखिएका संकटहरुको निरुपण गर्दै तिनको समाधानतर्फ पनि लेखक जागरmक देखिनु भएको छ । 
लेखकको भाषा सरल छ, सुबोध छ । शैली सरस छ । पाठकलाई पट्यार लाग्ने छैन भन्ने मेरो धारणा छ । आदर्श र भावुकतालाई कसैले अलिक धेरै पनि मान्न सक्लान् तर उपन्यासको विषयवस्तुले मागेको हुनाले मलाई ती स्वागतयोग्य लागेका छन् । प्रेम र राष्ट्रिय भावनाको उच्च बोधले भरिएको यो उपन्यास लेखकको अग्रगामी सोचको परिणाम हो । हाम्रो समाजमा यस्ता स्पष्ट अग्रगामी सन्देश दिने उपन्यास पनि चाहिन्छन् । लेखक आफ्नो लेखनमा स्पष्ट र इमानदार देखिनुभएको छ; उपन्यासको सफलताका लागि यी कुरा आवश्यक हुन्छन् । आफ्नो उद्देश्य सम्प्रेषित गर्न लेखक सफल हुनुहुन्छ । अन्य उपन्यास अझै अघि बढेका आऊन् भन्ने शुभकामना लेखकलाई दिन चाहन्छु । 
– ध्रुवचन्द्र गौतम 
........


कसरी यो उपन्यास जन्मियो ?

 
जीवन धान्ने, भोग्ने र निर्वाह गर्ने जमर्कोमै जीवनको उकाली–ओराली, उज्यालो–अँध्यारो, अनेकौँ सुखदुःख र मोडहरु पार गर्दागर्दै जीवनका ५९ वर्षहरु बितेको पत्तै पाइएन । वृद्धावस्थाको प्रारम्भमा थाहा भयो – जीवनका अनेकन आकासिएका आकाङ्क्षा, इच्छा र सपनाहरु गल्र्याम्म ढलेछन् । हातखुट्टा चल्न छाडेपछि के होला ? कसरी व्यतीत गर्ने होला बूढेसकाल ? 
पत्नी बारम्बार भन्न थाल्छिन् – “सबै आफन्तहरु मिलेर वृद्धाश्रम खोलौँ र त्यहीँ बसौँ ।” तर मलाई त्यो सम्भव लागेन । असल राजनैतिक व्यवस्था भएको भए वृद्धाश्रम वा बालआश्रम स्थापनाको कुरै आउने थिएन । असल राजनैतिक व्यवस्थामा सबै उमेर समूहमा मानिसहरुका जीवन सहज हुन्छ । राजनीति ठीक भए मात्र असल व्यवस्था आउने हो । कसरी राजनीति ठीक पार्ने होला ? विषय राजनीतितर्फ पनि केन्द्रित भयो । राजनीति ठीक नभएको अवस्थामा वृद्धाश्रम यथार्थमा खोल्न नसके पनि उपन्यासमा वृद्धाश्रम खोल्ने कल्पनाले म रोमाञ्चित हुन्छु । यो युगभरि नै आममान्छे वा सर्वसाधारणहरुका भत्किएका सपनाहरु कल्पनामै भए पनि साकार पार्दा कसो होला ? एउटा हराएको बाटो पहिल्याउन सकिएला कि ? उपन्यासको रुपरेखा तयार भयो । 
लेखियो तर कतिपय कुराहरु भन्न सकियो, कतिपय भन्न सकिएन । जेजस्तो भयो, यो उपन्यास जन्मिने प्रक्रिया पूरा भयो  अब पाठकहरु समक्ष प्रस्तुत छ । 
पाठकहरुका हातसम्म पुगुन्जेल यो उपन्यास यो रुपसम्म आइपुग्दा निम्न महानुभवहरुको अमूल्य योगदान, सुझाव र सहयोग रहेको छ । म उहाँहरुप्रति हृदयको गहिराइदेखि नै धन्यवाद, कृतज्ञता र आभार व्यक्त गर्दछु । 
डा. ध्रुवचन्द्र गौतम, डा. गोपाल भण्डारी, श्री रमेशप्रसाद भट्टराई, श्री अटलमान राई, श्री भवानी बराल, डा. टङ्क न्यौपाने, श्री अनिल पौडेल, श्री चन्द्रकुमार राई, श्री जितपाल किरात, श्रीमती पवित्रा राई । 
डा. खेम दाहाल, श्री रेवतरमण राई, श्री बिसनसोर राई, श्री पूर्णबहादुर राई, श्री नरचन्द्र राई, श्री नवीनकुमार नेपाल, श्री उद्धवकुमार राई, श्रीमती सीता राई, श्री वीरबहादुर बस्नेत, श्री हरिकुमार राई, श्री सदरकुमार राई, श्री प्रकाश राई, श्री शिवकुमार राई, श्री बृषबहादुर राई, श्री नरबहादुर राई, श्री ऋषिराज राई, श्रीमती विजयालक्ष्मी (राई) गुरुङ, श्री चक्रकुमार राई, श्री बालजित राई, श्री निर्मल राई, श्रीमती सुदेशा (राई) बोहोरा, श्री महेन्द्रजंग राई (बिहानी प्रकाशन सहकारी संस्था लि.का सदस्यहरु)
श्री शैलेश राई, श्री सायन राई र श्री सृजनसरण राई (प्रकाशक) । 

.................
............
सरण राई 


दोस्रो संस्करणमा थप 

पाठक, समालोचक र साहित्यकार मित्रहरूको सुझाव सल्लाह अनुसार यो उपन्यास  मानव संसारको  दोस्रो संस्करणमा  केही परिमार्जन गरेको छु । विज्ञ पाठकहरूले स्ीिकार्नु हुने छ  भन्ने आशा गरेको छु । राम श्रेष्ठ र पाँचपोखरी प्रकाशन गृहले  दोस्रो संस्करण प्रकाशन गर्ने भएपछि परिमार्जन गर्ने अवसर प्राप्त भएको हो । तसर्थ राम श्रेष्ठ र पाँचपोखरी प्रकाशन गृह, रोशन दाहालज्यु, पाठकहरू, समालोचक, साहित्यकार मित्रहरू, आफन्तहरू र शुभेच्छुकहरू सबैलाई र्हािर्दक आभारका साथ धन्यवाद दिन्छु । साथै सबै मेरा रचनाका पाठकहरू, समालोचक, साहित्यकार मित्रहरू, आफन्तहरू र शुभेच्छुकहरूबाट अझै सुझाव, सल्लाह र सहयोगको अपेक्षा राखिरहेकै छु जुन मेरो लागि अत्यन्त सारगर्भित र महत्त्वपूर्ण छ । जय साहित्य ! जय जीवन !!..सरण राई 
....
सरण राई 
२०७६फागुन ८
भ्mबष् िस चबष्।कबचबलछण्२नmबष्।िअयm


विषयक्रम
अध्याय – पहिलो
.बीज
अध्याय – दोस्रो
सलल.... बग्ने जीवन
अङ्कुरण
मार्ग निर्धारण
व्यवहारमा ज्ञान
गन्तव्य
कार्यक्षेत्र
कार्य सम्पादन
पुनर्मिलन समारोह
मान्छेको उचाइ
अध्याय –तेस्रो
जीवन आरम्भ
प्रेम शुभारम्भ
प्रेम रूप
अध्ययन आनन्द
मोड
बोझिलो जीवन रूप
घम्साघम्सी
समय क्रम
राजनीति
परिकल्पना
सन्तान
पराकाष्ठा
प्यास
मानव आश्रम
त्याग
नाम
गतिविधी
निरन्तरता
आत्म वृतान्त
चोखो प्रेम
अध्याय – अन्तिम
उपसंहार














अध्याय – पहिलो
बीज


आँगन भो परदेश ! 
समय अविरल एकनास गतिमा बितिरहेको हुन्छ । त्यस क्रममा कोही जन्मन्छन्, हुर्कन्छन् र मृत हुन्छन् । समयले कसैसित पक्षपात गर्दैन । समयका लागि सबै बराबर, सबै समान । कोही ठूलो, सानो हुँदैन । कसैलाई सहुलियत दिने र कसैको समय जबरजस्ती खोसेर लिने काम समयबाट हुँदैन । समयले कसैलाई अन्याय गर्दैन । सदुपयोग गरे पनि दुरmपयोग गरे पनि अथवा केही नगरी बसिरहे पनि त्यो एकनाससित बितिरहेको हुन्छ । समय बित्छ, बित्छ ! समय बित्ने क्रमिकतामा थाहै नपाई मानिस बूढो हुन्छ, बूढो भइरहेको हुन्छ । आफू ‘पुरानो पात’ भएको र आफ्नो वृद्धावस्था देखेर अत्तालिन्छ, निस्सासिन्छ, कहालिन्छ र भन्छ – “च्च...च्च.. यौवनकाल सपनासरि बितेर गयो ! कति छिटो बूढो भइयो !”
......... मच्चियो, मच्चियो.... थच्चियो – वृद्धावस्था !
मानिस, बोटबिरmवा, चराचुरmङ्गी, सबै पदार्थहरु यहाँसम्म कि ब्रम्हाण्ड आफैँ पनि एक दिन बूढो हुन्छ र तुरिन्छ । अर्को ब्रम्हाण्ड जन्मिन सक्छ । त्यो अनन्त लामो कालखण्डको कल्पना मानिसले गर्न सक्तैन । मानिसले देख्ने, भोग्ने, अनुभव गर्ने र परिकल्पना गर्ने विषय त मानिस स्वयं र आफ्ना वरिपरि भएका कुराहरु– पदार्थहरु हुन् । 
‘समय अगावै छिट्टै बूढो भइएछ’ भन्ने सबै वृद्धहरुलाई लाग्न सक्छ । ठीक समयमा जन्मेर ठीकैसँग एउटा निश्चित समयावधि गुजारिसकेपछि ठीक समयमा नै बूढेसकाल आएको हुन्छ । बूढेसकाल देखेपछि ‘कसरी बूढेसकाल सहज र शान्तिसित बिताउन सकिएला ? आफ्नो बूढेसकाल र मृत्युको व्यवस्थापन कसरी सहज बनाउन सकिएला ?’ भन्ने सोच्न थाल्नु स्वाभाविक हुन्छ । बितिसकेको जीवनावधि फर्केर आउने होइन । जसरी भए पनि त्यो बितेको जिन्दगी बितिसक्यो । त्यसलाई सम्झन सकिन्छ, सम्झेर सुखदुःख अनुभूत हुन्छ तर त्यो ‘विगत’ मा कुनै सुधार गर्न सकिँदैन । बित्यो ! बितिसक्यो, त्यो फेरि फर्केर आउँदैन । 
जागिरबाट अवकाश प्राप्त गरेर म पनि बूढेसकालको मज्जा आनन्दभोग गरिरहेको छु । बूढेसकाल ! समयले छाडेको, होइन, समयले थोरै समयका लागि साचेको ‘पुरानो पात !’ जुन मानिस बूढेसकाल लाग्नुभन्दा अगाडि अकालमा मर्दैन, दीर्घजीवी हुन्छ उसले बूढेसकालको सुखदुःख बेहोर्नै पर्छ । बूढेसकाल भनेको आफूले भोगेको लामो वा छोटो (कसैलाई लामो, कसैलाई छोटो लाग्न सक्छ) जीवनावधिको अनुभव र संस्मरण गर्दै अरुलाई अर्ती दिने अवधि हो । आफूले बटुलेका दक्षता, सीप र ज्ञानको आधारमा नयाँ रचना गर्ने अल्पावधि पनि हो; सृजनात्मक सुनौलो अवधि हो । 
मेरा निम्ति भने बूढेसकाल पनि नयाँ कुराहरु हेर्ने, बुझ्ने र सिक्ने अवसर हो । जबसम्म परिस्थितिले साथ दिन्छ, म सिक्न चाहन्छु । ‘मानिस तबसम्म बूढो हुँदैन, जबसम्म ऊ नयाँ कुरा सिक्न चाहन्छ’ भन्ने भनाइसँग म शत प्रतिशत सहमत छु । यदि आफूले चाहेजस्तो भएमा नयाँ कुराहरु हेर्ने, बुझ्ने र सिक्ने क्रममा नै खुत्रुक्कै भएर लुसुक्कै यो संसारबाट बिदा लिन चाहन्छु । 
नयाँ कुराहरु हेर्ने, बुझ्ने र सिक्ने क्रममा ‘मानव संसार’ बारे मैले पनि धेरै कुराहरु सुनेको छु, पत्रपत्रिकामा पढेको छु । त्यो ठाउँ पुग्ने र हेर्ने इच्छा हुँदाहुँदै पनि त्यहाँ पुग्न सकेको थिइनँ । बूढेसकालमा कोही सहारा भएन भने म पनि त्यही आश्रममा शरण लिन जानेछु भन्ने पनि कैयौँ पल्ट सोचेको छु । त्यो आश्रमले मजस्तै असंख्य वृद्धहरुलाई आफ्नो वृद्धावस्था देखेर मन थाकेका बेला मन बुझाउने आश्रय दिएको छ, भरोसा दिएको छ । त्यहाँ नबसेका वृद्धहरुले प्राप्त गर्ने त्यस्तो भरोसा झन् धेरै महत्वपूर्ण रहेको छ । त्यो ‘मानव संसार’बारे मैले मनभित्र आफ्नै प्रकारका अनेकन् चित्रहरु तयार पारेको छु र सोच्ने गरेको छु ‘पक्कै त्यो मानवप्रेमको उच्च अभिव्यक्तिको पवित्र प्रेम–तीर्थ हुनुपर्छ । म एकपल्ट त्यहाँ जानेछु ।’ 
मौका मिलिरहेको थिएन । 


ट्रिङ....ट्रिङ.....ट्रिङ....
टेलिफोनको घण्टी बज्छ । म रिसिभर उठाउँछु । 
“हलो..”
“हलो, म मदन बोल्दै छु । स्रष्टाहरुको सानो समूहद्वारा ‘मानव संसार’ अवलोकन गर्ने कार्यक्रम बनेको छ । सहभागी बन्नुहोस् ।”
“हुन्छ । म तयार भएर बस्नेछु ।” 
मदन, बद्री, खेम र रेवत आइपुग्छन् । मदन आफैंले चलाइरहेको कारमा म पनि बस्छु । अर्को कारमा निनाम हाङ्गजित, सविना, हाङ्गमा र इन्द्र छन् । दुइवटा कारमा हामी दसजना स्रष्टाहरु करिब आधा घण्टामा ‘मानव संसार’को मूलगेटमा पुग्छौँ । 


मूलगेटबाट भित्र पस्नासाथ रुखहरुको शीतल हरियाली, चिसो, शान्त र मनलाई आनन्द प्रदान गर्ने वातावरण एवम् सुन्दर फूलहरु ढकमक्क फुलेको फूलबारीले हामीलाई तनावयुक्त सहरी जीवनदेखि टाढा एउटा रमाइलो स्वर्णिम परिवेशमा पु¥याउँछ । एउटा भव्य भवन; भवनअगाडि गोकुल ‘मानव’को मानव कदको मूर्ति, त्यसैको छेउमा परिवर्तनाको अर्को मूर्ति । ती मूर्तिहरुका पृष्ठभागमा ग्लोब, परेवा, एउटा सुन्दर फूल र हिमालका आकर्षक आकृतिहरु— लाग्छ एउटा कलात्मक संसारभित्र हामी प्रवेश गरिरहेका छौँ । 
भवनभित्र हामी पस्छौँ । ठूलो हल, पुस्तकालय, स्थायी प्रदर्शनी कक्ष, ‘मानव संसार’बारे जानकारी दिलाउने सामग्रीहरु र रिसेप्सनिष्टको टेबुल । हंसमुख रिसेप्सनिस्टसँग हामी ‘मानव संसार’बारे आवश्यक जानकारी प्राप्त गर्छौं । ‘मानव संसार’ को क्षेत्रफल सातकुने आकारमा फैलिएको रहेछ । प्रत्येक सात कुनाहरुका एक एक कुनाहरुमा मन्दिर, गुम्बा, गिर्जाघर, माङ्खिम ( माङ्खिम = देवताघर ( किरात राई बान्तावा भाषा¬) पृष्ठको पुच्छरमा राख्ने), मस्जिद, प्रकृतिपूजक र भौतिकवादीहरुका लागि एक एकवटा कुनाहरु राखिएका रहेछन् । 
हामी ‘मानव संसार’ पैदल घुमेर नै राम्ररी नियाल्न चाहन्छौँ । त्यो कप्पाउण्डभित्र विद्यमान एक प्रकारको वातावरण जसले मनलाई भित्रैदेखि कुत्कुत्याएर सेवातर्पm अभिप्रेरित गर्छ । ‘जीवन सुमधुर र रमणीय छ’ भन्ने अनुभूत गराएर प्रत्येक जीवधारीहरुप्रति प्रेमभाव जगाउछ । ‘संसार आकर्षक छ’ भन्ने भाव पैदा गराइहाल्छ । त्यहाँ हामी सबै सांसारिक कष्ट, पीडा, तनाव र मानसिक विग्रहहरु बिर्सन्छौँ । त्यहाँ प्रेममय, सेवायुक्त, शान्त, निस्वार्थ उत्कर्षमिश्रित अनौठो भावधारामा बहँदै त्यस दिनको अवलोकन यात्रालाई सार्थक पारिरहेका हुन्छौँ । 
हामी दोबाटामा हुन्छौँ । एकतिर ‘वृद्धाश्रम’ र अर्कातिर ‘वृद्ध अस्पताल’ लेखिएका निर्देशक साइनबोर्डहरु छन् । हामी पहिला वृद्धाश्रमलाई नै हेर्ने निधो गरेर त्यतातिर लाग्छौँ । वृद्धाश्रमका विभिन्न ब्लकहरु रहेछन् । प्रत्येक ब्लकअगाडि नामहरु लेखिएका छन् – हिमाल, भृकुटी, गुराँस, आइन्स्टाइन, महाकवि देवकोटा, डा. सौन्दर्या, लक्ष्मणिया । हामी एउटा एउटा ब्लकमा दुई दुईजना भएर जान्छौँ । वृद्धहरु ! सबै हामी अकालमा समयभन्दा अगाडि मरेनौँ भने बूढेसकालमा पुग्छौँ पुग्छौँ । बूढेसकाल हामी सबैको आउँछ आउँछ । आफू वृद्ध, असक्त हुनुभन्दा अगाडि नै सबै मानिसहरु सोच्छन्— ‘म आफ्नो बूढेसकाल यसरी बिताउने छु ।’
‘मर्ने बेलामा दुःख नपाइयोस्’— हामी सबै चाहन्छौँ । 
आफन्त वा परिवारजनहरुसँग बसेर बूढेसकाल बिताउने चाहना सबै मानिसहरुका हुन्छन् । तर के, कस्तो, कुन परिस्थिति र व्यवस्था नमिलेर सोचेजस्तो हुँदैन । समय, परिस्थिति र उमेरको सिकार वृद्धहरुका काल पर्खाइ सहज र स्वाभाविक पार्न यस्ता वृद्धाश्रमहरुको स्थापना गरिएको हुन्छ । बिदा भएर जाने पाहुनाको मनमा कुनै प्रकारको गुनासो नहोस्, सन्तुष्ट भएरै जाओस् भन्ने मनोभाव भएझैँ यस धरतीबाट सदाका लागि बिदा भएर जाने वृद्धवृद्धाको मनमा पनि आफ्नो अन्तिम घडीमा कुनै गुनासो नरहोस् र उनीहरुका सहज र स्वाभाविक मृत्युवरण होस् भन्ने सबल मान्छेहरुको सोचलाई व्यवहारमा रुपान्तरण गर्न यस्ता वृद्धाश्रमहरुको स्थापना गरिएको हुन्छ । 
प्रत्येक ब्लकहरु घमाइला छन् । छहारीका लागि आवश्यक रुखहरु छन् । ठाउँठाउँमा फलैँचाहरु छन् । वृद्धहरु कोही एक्लै, कोही दुईजना, कोही सानासाना समूहमा इच्छानुसार घाममा, छहारीमा बसेर सुस्ताइरहेका छन् । 
उनीहरुलाई देख्दा जीवनबोध हुन्छ । जीवनको रहस्योद्घाटन भएझैँ लाग्छ । 
“तपाईंलाई कस्तो छ ?” म एकजना वृद्धलाई सोध्छु । 
“हाँ....के भन्नुभयो ?” उनी कान थाप्दै सोध्छन् । 
“तपाईंलाई कस्तो छ ?” म कराएर सोध्छु ।
“राम्रै छ । राम्रोनराम्रो भन्ने अब रहेन । सब राम्रो मान्नुपर्ने भएको छ ।” वृद्ध दार्शनिक पाराका रहेछन् । उनको जवाफको अर्थ म आफ्नै अड्कलअनुसार लगाउँछु । 
वृद्ध भएपछि आफ्नो खुसीले केही गर्न सकिँदैन । चाहेको ‘राम्रो’ प्राप्त गर्ने हुती हुँदैन, सामथ्र्य हुँदैन । जेजे परि आउँछ, राम्रै मानेर बेहोर्नु पर्ने हुन्छ । विविध प्रतिकूल परिस्थितिले यी वृद्धहरुलाई यो वृद्धाश्रममा ल्याइपु¥याएका छन् । 
“तपाईं यो वृद्धाश्रममा सन्तुष्ट हुनुहुन्छ ?”
“अब सुख र सन्तुष्टिको कुरा रहेन । बाध्यता हो— जीवन काट्ने, गुजार्ने र मृत्यु पर्खने !” वृद्ध मुस्कुराउँछन् । एउटा त्यस्तो मुस्कान, जो जीवनको अन्तिम अवधितिर जीवन बुझिसकेपछि ओठमा देखा पर्ने अबोध मुस्कान ! जीवनप्रतिको असन्तोष, उपहास र वितृष्ण जनाउँने मुस्कान ! 
अनेक प्रश्नहरु सोधेर वृद्धहरुका मनमा खाटा बसिसकेको घाउ उप्काउने हाम्रो मनसाय थिएन । ‘उनीहरुको शेष जीवन सुखसित बितोस्’ भन्ने कामना गरेर हामी बिदा हुन्छौँ । हामीलाई उनीहरु जस्ता वृद्धहरुसित आशीर्वाद लिन मन लागेको हुन्छ तर उनीहरु आशीर्वाद दिने मनोदशामा हुँदैनन् । के आफैँभित्र रुमल्लिएका, गुज्मुजिएका र खज्मजिएका उनीहरु जस्तै सबै वृद्धहरु हुन्छन् होला ? 
होइन । आफूले जीवनभरि आर्जन गरेको ज्ञान, सीप र अनुभवका अन्तिम बिट मारिरहेका रचनात्मक सक्रिय धेरै वृद्धहरु पनि त्यहाँ रहेछन् । कोही पेन्टिङ गरिरहेका, कोही साहित्य रचना गरिरहेका, कोही संस्मरण लेख्न तल्लीन, कोही आफूले प्राप्त गरेका प्राविधिक ज्ञान सीपलाई लिपिवद्ध गरिरहेका छन् भने कोही ढुङ्गा र काठमा मूर्तिहरु कुँद्नमा व्यस्त रहेका वृद्धहरु पनि रहेछन् । उनीहरुलाई देख्दा नौलो स्फूर्ति स्वतः पैदा हुन्छ । केही गर्नुपर्छ भन्ने भाव उत्पन्न हुन्छ । 
वृद्धाश्रमको व्यवस्थापन मानव प्रेममा आधारित छ । वृद्ध मानिसलाई केके चाहिन्छ ती सबै कुराहरुमा पूरा ध्यान दिइएको छ । मानसिक फाँटमा पनि वृद्धहरुलाई मनोरञ्जन, उत्साह प्रदान गर्ने, वृद्धहरुका बीचमा सद्भाव, आत्मीयता र अपनत्व पैदा गरी बूढेसकालमा चाहिने प्रेम, हेरचाह र सेवा शुश्रूषाको अभाव उनीहरुका मनमा नखट्कियोस् भनेर अनेक क्रियाकलापहरु त्यहाँ हुँदा रहेछन् । त्यसका लागि उनीहरुलाई सामाजिकीकरण, सहयोग र भरथेग गर्ने कार्यकर्ता, स्वयंसेवक र स्वयंसेविकाहरु पनि थुप्रै रहेछन् । 
वृद्धाश्रम अवलोकन गरेपश्चात् हामी बाल आश्रमतर्फ लाग्छौँ । बाल आश्रममा कोपिलाहरु जस्तै उज्यालो भविष्य पर्खिहेका बालबालिकाहरु हुर्किरहेका हुन्छन् । बाल आश्रम ! चिरकालदेखि निरन्तर चलिरहेको मानव प्रेमको एउटा पवित्र स्वरुप !


वृद्ध बिरामीहरुले भरिएको वृद्ध अस्पताल । कोही घ्यारघ्यार गरिरहेका छन्, कोही ‘ऐया ऐया’ भनेर कराइरहेका छन् भने कोही मस्त निदाइरहेका, कोही अर्ध बेहोस, कोही पूरै बेहोस बिरामीहरु देखिन्छन् । ती बिरामीहरुलाई देख्ता लाग्छ— ‘तिनीहरु मृत्यु पर्खिरहेका छन् । बाँच्नेभन्दा मर्ने सम्भावना बढी देखिन्छ ।’ 
“यो अपतालमा मानव संसारका वृद्ध बिरामीहरुलाई मात्र हेरिन्छ कि बाहिरका अरुलाई पनि हेरिन्छ ?” म सोध्छु । 
“बिरामी सबै बिरामी नै हुन् । वृद्ध बिरामीहरु सबैलाई हेरिन्छ ।” शिष्ट ढङ्गले एउटी नर्स जवाफ दिन्छिन् । 
वृद्ध बिरामीहरुले पाउनुपर्ने हर सम्भव उपचार त्यो अस्पतालले प्रदान गरिरहेको रहेछ । त्यो अस्पताल मात्र नभएर मृत्यु कुरिरहेका वृद्धहरुका लागि ‘हस्पिस’ पनि रहेछ । वृद्धाहरुलाई ‘प्यालिएटिभ केयर’ पनि यसले प्रदान गरिरहेको रहेछ । जहाँसम्म सम्भव हुन्छ यो अस्पतालमा मृत्युलाई सहज, प्राकृतिक, स्वाभाविक र मानवोचित बनाउने प्रयत्न गरिँदो रहेछ । यहाँ मृत्युलाई दयालु, भव्य, मौलिक, प्राकृतिक र स्वाभाविक रुपमा स्वीकार गरिँदो रहेछ । मृत्युवरण सहज पार्ने प्रयत्न गरिँदो रहेछ । 


‘मानव संसार’
यसको परिकल्पना कसले गरेको होला ? स्थापना कसरी र किन गरियो ? ताजमहल, अन्तरिक्षबाट हेर्दा देखिएको एक मात्र मानव निर्मित चीनको पर्खाल, इजिप्टको पिरामिड, बेबिलोनको हेङ्गिङ गार्डेन आदि अनेकौं आश्चर्यजनक वस्तुहरुको निर्माण मानिसहरुले गरेका छन् । ती निर्माण र आविष्कारका कार्यहरुमा कुनै न कुनै रुपमा मानव प्रेमको स्वरुप झल्कन्छ । मानव प्रेमका रुपहरु ठूलाठूला कुराहरुमा मात्र होइन, साना मसिना कुरा, काम र वस्तुहरुमा पनि झल्कन्छ । त्यस्तै मानव प्रेमको अद्वितीय एउटा स्वरुप ‘मानव संसार’ मा पनि झल्कन्छ । मानव सभ्यताको पहिचान कुनै समाजमा बालकहरु कसरी जन्मन्छन्, तिनीहरुका लालनपालन कसरी गरिन्छ र कसरी बालकहरुलाई हुर्काइन्छ, कस्तो शिक्षा, संस्कार र आचरण सिकाइन्छ आदि कुराहरुका साथै त्यहाँ वृद्धहरुका मान सम्मान, सेवा सुश्रुसा, हेरचाह कसरी गरिन्छ, तिनीहरुप्रति कस्तो बर्ताव गरिन्छ, तिनीहरुलाई कसरी मर्न दिइन्छ र मृत्युवरण कति सहज र स्वाभाविक रुपमा स्वीकार गरिन्छ भन्ने कुराहरुले निर्धारण गर्दछन् । ‘मिठो साँच्नु अन्तिम गाँसलाई, सम्पत्ति साँच्नु बूढेसकाललाई’ भन्ने मानसिकताले मानिसहरु तुच्छ धनको पछि लागेर आफ्नो अनमोल जीवन खेर फालिरहेका हुन्छन् । ‘मानव संसार’ जस्ता संस्थाहरुद्वारा मानिसहरुका बूढेसकाल सुरक्षित छ भन्ने सन्देश दिएर सदाचार, इमानदारी, दायित्वबोध र कर्तव्यपरायण हुन मानिसलाई अभिप्रेरित गरिरहेको हुन्छ । किन भ्रष्टाचार, दुई नम्बरी, बेइमानी र अनैतिक काम गरेर सम्पत्ति आर्जनका लागि मरिमेट्ने ? बूढेसकालमा सन्तान र सरकारले हेरेन भने पनि सहज, सुखद् र स्वाभाविक जीवनको अवतरण हुनेछ भन्ने लागेमा प्रत्येक नागरिकहरु स्वतः इमानदार र कर्तव्यपरायण हुनेछन् । 
आजको विश्वमा राजनीति सर्वशक्तिशाली र सर्वोपरी देखिए पनि सामाजिक सेवामा शक्ति छ, शान्ति छ । राजनीतिको मुख्य लक्ष्य मानवसेवा र कल्याण हुनुपर्छ । मानवसेवा निस्वार्थ हुनुपर्छ । सामाजिक सेवाको जगमा आधारित राजनीति हुनुपर्छ । मानवसेवामा जीवन आधारित छ; सेवामा सभ्यता, सद्भाव, शान्ति, मानव प्रगति, अस्तित्व एवम् सांसारिक सम्बन्धहरु आधारित छन् । प्रसन्नता, आनन्द, सन्तोष, मुक्ति, मोक्ष र तृप्ति सेवाद्वारा प्राप्त हुन्छ । सेवामा निर्लिप्त मान्छेको जीवन सार्थक हुन्छ । सेवामा समर्पित मानिसहरुका व्यक्तित्व तेजोमय, प्रेममय, जाज्वल्यवान र दिव्य हुन्छ; दर्शनीय र चित्ताकर्षक हुन्छ । 
त्यस्तै व्यक्तित्वकी धनी मानव सेवाको आदर्शबाट अभिप्रेरित पूर्व प्रधानमन्त्री डा. सौन्दर्या आफ्नो जीवनको अन्तिम कालखण्डमा पुगिसक्नुभएको भए पनि मानवसेवाको ज्योतिद्वारा प्रदीप्त उहाँको आकर्षक तेजोमय व्यक्तित्वमा कुनै कमी आएको छैन । बुढ्यौलीले उहाँको व्यक्तित्वमा झन् गाम्भीर्य, पूर्णता र विशेष आकर्षण थपेको छ । उहाँलाई भेट्दा मनमा शान्ति र प्रसन्नता अनुभव हुन्छ र मानवसेवातर्फ लाग्न उत्प्रेरणा प्राप्त हुन्छ । उहाँको एक झलक पाउने व्यक्तिको मनमा उहाँका ठूला मात्र होइन असल मानिसको श्रद्धेय व्यक्तित्वको तस्वीर अमिट भएर अङ्कित हुन्छ र लागि रहन्छ – ‘जीवनमा मैले पनि परिपक्क, पूर्ण, निस्वार्थ र मानव सेवाद्वारा आलोकित एउटा दुर्लभ शीतल ज्योति पुञ्ज देख्न पाएँ, त्यो आकृति मेरो मनको भित्री तहमा सदैव पूजित भएर बसिरहने छ ।’ म उहाँलाई सोध्छु – “मेरो एउटा जिज्ञासा छ ।”
“भन्नुहोस् । सोध्नुहोस् ।” 
“मानव सेवामा समर्पित यो ‘मानव संसार’को परिकल्पनाकार को हुन् ? यसको स्थापना किन र कसरी भएको थियो ?”
“तपाईंका यी प्रश्नहरुका उत्तर दिन समय लाग्छ ।” डा. सौन्दर्या भन्नुहुन्छ, “बरm तपाईं आफैँ यो ‘मानव संसार’का परिकल्पनाकार एवम् संस्थापक परिवर्तनाले संस्मरणको बान्कीमा लेख्नुभएको आत्मवृतान्त पढ्नुहोस् । तपाईंका सबै प्रश्न र जिज्ञासाहरु उत्तरित हुनेछन् ।” 
‘मानव संसार’का सञ्चालक डा. सौन्दर्या परिवर्तनाद्वारा लिखित संस्मरण–आत्मवृतान्त मलाई दिनुहुन्छ । म पढ्न थाल्छु । 


अध्याय – दोस्रो
सलल.... बग्ने जीवन




 अङ्कुरण 

परित्यक्ता आमाकी छोरी म, मेरो बाल्यकाल कसरी बित्यो ? मजस्तो भुक्तभोगीहरुले मात्र थाहा पाउन सक्छन् । एउटी आधा नाङ्गी, दुब्ली, मैली–फोहोरी, जिङ्रिङ्ग कपाल भएकी, घीनलाग्दी बालिकालाई कसले काखमा राखेर खेलाउन चाहन्छ ? कसले माया गर्न र खुवाउन–पियाउन चाहन्छ ? म अपहेलित, एक्ली, बहिष्कृत, सधैँ भयभीत, आत्मविश्वासविहीन झन्डैझन्डै पशुतुल्य बाल्यकाल गुजार्दै हुर्किएँ । या त मर्नुपथ्र्यो या त हुर्कनुपथ्र्यो ! मरिनँ र हुर्किएँ । 
बाल्यकालमा सिक्नुपर्ने धेरै कुराहरु हुन्छन्— राम्रा पनि र नराम्रा पनि । बाल्यकालमा नै अधिकांश मानिसहरुको बानी व्यहोरा, सम्वेदनाहरु अनुभूत गर्ने मनोभाव र अन्य मानवीय गुणहरु विकसित हुन्छन् । मेरो पनि बाल्यकालमा नै आफूले भोगेको र पाएको परिवेश, वातावरण र व्यवहार अनुसार आफ्नै प्रकारको अपहेलित बालिकाको ढुङ्गाजस्तो मन भएको थोरै सुख दुःखमा नपग्लिने, कम सम्वेदनशील, कठोर, अविचल, दृढ स्वभाव, बानी व्यहोरा र मिजास निर्माण भएको हुन सक्छ । 
नेतालाई कुर्सी प्यारो भएझैँ बाल्यकालमा बालबालिकालाई आफूलाई माया गर्ने आमा र अरुको मायालु काख प्यारो हुन्छ । आमाबाहेक कमै मानिसहरुले मात्र मलाई काखमा राख्न रmचाउँथे । बाबुको काख त के अनुहारसम्म देख्न पाइनँ । 
आमाका सम्बन्धमा मानिसहरु अनेकौँ कुराहरु काट्थे । निम्न जात र गरिब परिवारकी तिनीसँग गाउँकै माथिल्लो वर्गको युवाको मायाप्रीति बस्यो रे । मायाप्रीतिको चिनो म जन्मिएँ । त्यो मेरो पिता भनाउँदो युवाले आमालाई असाध्यै माया गथ्र्यो रे । उसले आमालाई घर भिœयाउन भरमग्दुर बल ग¥यो रे । तर उल्टो उसलाई पनि परिवारजनले घरबाट निकालिदिए । ऊ एक्लो; त्यो समाज र परिवारमा उसको केही जोड चलेन । ऊ विदेशतर्फ धन कमाउन गयो रे । त्यसपछि आजसम्म फर्केर आएको छैन । 
“म धन कमाएर फर्कन्छु । यो मेरो प्रेमको पहिलो सन्तान हुर्काउने जिम्मा तिमीलाई सुम्पेको छु । निर्वाह गर  केही समय दुःख गर, म सुख बटुलेर फर्किनेछु । प्रतीक्षा गर... ” जाने बेला आँसुको बलिन्द्र धारा चुहाउँदै उसले भनेको थियो रे । 
ऊ पञ्जाब गयो रे । त्यताबाट अरब गयो रे । रे रेको हल्ला सुनिन्थ्यो । केही वर्षपछि त रे रे को हल्ला पनि सुनिन छोडियो । ऊ म¥यो या बाँचेको छ – थाहा भएको छैन । 
उसको भौतिक अस्तित्वको स्थिति थाहा नभए पनि उसको अवशेष जीवित सन्तानका रुपमा म बाँचेकी छु । अनेक भाँति गोताहरु खाँदै आमाले मलाई हुर्काइन् । अथवा पूरै आयु लिएर जन्मेकी म मर्नु र बाँच्नुको दोसाँध हुँदै हुर्किएँ । जन्मनु ठूलो कुरा रहेछ । जन्मिसकेपछि हुर्कनु झन् ठूलो कुरा रहेछ । हुर्केर अनेकौँ सुखदुःख, जीवनका रङ्गीचङ्गी घामपानी र उज्यालोअँध्यारो भोग्न पाउन सक्नु मनुष्य जिन्दगानी रहेछ । 


समयको प्रवाहमा बग्दै म पनि कोपिला भएँ । अँध्यारा, काला, दुःखप्रद र त्रासदीपूर्ण बालककाले छोड्दै गएपछि यौवनावस्थाका केही झझल्काहरु ममा पनि देखा पर्न थालेका हुन्छन् । मेरी आमाका जस्तै मेरा पनि कुनै निर्दिष्ट लक्ष्य, गन्तव्य, जीवन धान्ने वा जीवनलाई अमर बनाउने कुनै योजनाहरु थिएनन् । भुस्याहा कुकुरको छाउरोभैmैँ म पनि हुर्किरहेकी थिएँ । जीवन र जगत्प्रति कुनै सोच, विचार, आस्था, दृष्टिकोण, कार्यदिशा र कार्यक्रम नभएकी मैले स्कुल देख्न पाउने कुरै थिएन । मेरो जिन्दगी दुःस्वप्नजस्तै बितिरहेको बेला मेरो जीवनमा अकस्मात् आकस्मिक र विस्मयकारी नयाँ मोड देखा प¥यो र मेरो जीवनको गतिविधि पूर्ण रुपले परिवर्तित भयो । 
स्कुलका बूढा शिक्षक अवकाश पाएर फर्किए । नयाँ शिक्षक स्कुलमा आए । म त्यो नयाँ शिक्षकको खाना पकाउने, घरको कामधन्दा गर्ने नोकर्नी नियुक्त भएँ । नयाँ शिक्षक नयाँ जोश, जाँगर, उत्साह र नयाँ सोच भएको नयाँ युगको प्रतिनिधि जस्तो देखिने एउटा तन्नेरी युवा थियो । पहिलो पल्ट त्यो शिष्ट, सभ्य र सुकसुकाउँदो तन्नेरी शिक्षकलाई देख्दा भर्खर भर्खर यौवनावस्थामा पाइला टेक्न थालेकी मेरा मनभित्रको कुनै अज्ञात तहमा स्त्रीसुलभ लज्जा र समर्पणको भाव थाहै नपाइ तरङ्गित भएको मलाई पहिलो पल्ट अनुभूति भएको थियो । 
मेरो मन पनि यौवनको उकाली भञ्ज्याङ्ग उक्लिरहेको र वैंशले कुत्कुत्याइरहेको हुन्छ । सुषुप्तावस्थामा नै भए पनि मेरो मन कोही कतै प्रेमले रङ्गिएको वैंशालु साथी खोजी रमणीय आकाशमा चखेवा जस्तै उड्न चाहन्थ्यो होला । हरेक कोपिलाहरु आफूप्रति सुन्दर भमराहरु आकिर्षत भएको देख्न चाहन्छन् । त्यस्तै कतै सुन्दर चखेवाको रुपमा म त्यो शिक्षकलाई ग्रहण गर्न लालायित थिएँ कि ! 
‘यो शिक्षकसँग म जस्तोसुकै दुःख कष्ट पनि सजिलै काट्न सक्छु । यै जस्तै कुनै आराध्य मानिसको खोजी मेरो मनले गरिरहेको थियो कि....? जुन मलाई प्राप्त भएको छ ।’ मेरो एउटा मन मस्की मस्की अर्को मनसँग भनिरहेको हुन्छ । 
‘तैँले आफ्नो यथार्थ स्थिति बिर्संदै छेस् । तँ कहाँ छेस्, यो कहाँ छ....तिमीहरुको उचाइ समान छैन । असमानहरुको मेल सम्भव हुँदैन ।’ अर्का मन भनिरहेको हुन्छ । 
‘यहाँ मेल र प्राप्तिको कुरा होइन । जीवन यात्रामा केही बेर भए पनि सँगसँगै हिँडेर जीवन अनुभव गर्ने कुरा मात्र हो, अवसरको सदुपयोग हो ।’ मस्किने मनले आफ्नो तर्कना जोडसित राखेको हुन्छ । 
साँच्चै त्यो शिक्षकको भान्सेनी भएर बसेपछि मेरो जीवनमा आमूल परिवर्तन हुन्छ । मैले कहिल्यै अनुभूत नगरेको सुरक्षाको अनुभव हुन्छ । ‘के खाऊँ, के लाऊँ’ को चिन्ता छैन । ठीक समयमा पेटभरि खान पाइएको छ । आहाराको कमीले चाउरिएको मेरो शरीर हृष्ट पुष्ट हुन थालेको छ । शरीरभन्दा चाउरिएर, मक्किएर सड्नसड्न लागेको मेरो दिमागले पनि नयाँ ऊर्जा, सह्यार सम्भार पाएर नयाँ गति लिई मानसिक प्रगति गर्न थालेको हुन्छ । 
बाह्रखरी, गिन्ती गर्न मैले पनि जानिसकेकी छु । शिक्षाको उज्यालोले मलाई पनि छोएको छ । म कनिकुथी प्राथमिक पाठशालाका पुस्तकहरु पढ्न सक्ने भएकी छु । ठीक समयको खाना, खुराक पाएर मेरो शरीर पनि बैंसालु नारीहरुको जस्तै सुन्दर र आकर्षक देखिन थालेको हुन्छ । शिक्षाको उज्यालोले मेरो बोली, व्यवहार, आचार, विचार पनि सभ्य मानिसको जस्तो हुन थालेको हुन्छ । त्यो शिक्षकले दिएको शिक्षा, सुरक्षा र शिष्ट आचरणले म पहिलाको जस्तो मरन्च्यासी, फोहोरी, घीनलाग्दी देखिन छाडेर सुन्दर, आकर्षक, आधुनिक युवतीजस्ती देखिन थालेकी छु । 
ममा थपिएको नयाँ आकर्षणले मेरो बाल्यकालदेखि रहेको नाम जसले मलाई मेरो बाल्यकालभरि काम दिएको थियो, असान्दर्भिक भएजस्तो त्यो शिक्षकलाई लाग्यो क्यार ! मेरो जीवन पद्धति नै परिवर्तन भइरहेका बेला मेरो नाम पनि परिवर्तन गर्न आवश्यक थियो कि ? 
“खिनौरी, यहाँ आऊ त” सरले मलाई बोलाउनुहुन्छ । 
“किन सर ? म आइहालेँ” भन्दै म सर भएको ठाउँमा जान्छु । सर एउटा कागतको पन्ना लिएर त्यसमा थुप्रै नामहरु लेखिरहनु भएको हुन्छ । 
“दमयन्ती, कमला, बिमला, सरस्वती, लक्ष्मी, चमेली, जानुकी, स्वीकार्या, रुपा, सर्वोत्तमा, सामना, साञ्जिना, दीपकला, दीपिका, पवित्रा, सर्बदा.... थुप्रै नामहरु मैले लेखेको छु । किन होला ?”
“के थाहा सर ? सर पनि सके आफ्ना कथाका पात्रहरुको नाम छानिरहनुभएको होला ।”
“होइन, खिनौरी होइन । खिनौरी नाम अब तिमीलाई सुहाउँदैन । तिमीले अब नागरिकताको प्रमाणपत्र लिने बेला आउँदैछ । अब नागरिकता लिन बाबुकै उपस्थिति चाहिँदैन । आमाको नामबाट पनि तिमीले नागरिकता लिन सक्छ्यौ । यो सायद जनआन्दोलनको उपलब्धि होला । यो आधा आकाश ढाक्ने महिलाहरुको समानता प्राप्तिको संघर्षमा जीतको एउटा कडी थपिएको होला ।”
“सर पनि यत्ति धेरै के के भनिरहनुभएको छ, म बुझ्न सक्तिनँ ।”
“बिस्तारै बुझ्न थालेकी छ्यौ । पछि बुझ्ने छ्यौ । नयाँ नाम राख्ने तिम्रो न्वारान गर्दिऊँ भनेको नि... अब त बुझ्यौ ?”
“सर पनि...”
“तिमी जे थियौ, त्यो छैनौ । तिमीमा अग्रगामी परिवर्तन भइसकेको छ । परिवर्तित तिमी, युगको परिवर्तन गर्ने, मानिसहरुको सोच र उचाइमा परिवर्तन ल्याउने, नयाँ बिहानी भिœयाउने नयाँ परिवर्तनकारी तिमी .. अबदेखि तिम्रो नाम ... परिवर्तना ! छोटकरीमा बेलाउँदा परी ! परीभन्दा बुद्धि, यौवन र सौन्दर्यमा कम नभएकी परी ।


सरको वास्तविक नाम अर्कै भए पनि उहाँको उपनाम ‘यायावर’ हो । यायावरको अर्थ मलाई थाहा थिएन । एक दिन सरले भन्नुभयो— “यायावरको अर्थ थाहा छ ?”
“छैन, सर ।”
“यायावरको अर्थ तिमी पढ्दै, बढ्दै जाँदा थाहा पाउने छ्यौ । आज म तिमीलाई आफ्ना बारेमा सबै कुराहरु बताउन चाहन्छु ।” सरले मेरो अनुहार हेरेर मेरो प्रतिक्रिया बुझ्न चाहनुभयो । म एकदमै उत्सुक थिएँ । 
“सर भन्नोस् न सबै कुरा । म तपाईंलाई सम्पूर्ण रुपमा बुझ्न चाहन्छु, जान्न चाहन्छु ।”
“सम्पूर्ण रुपमा ? सम्पूर्ण रुपमा त परी, मैले नै आफूलाई बुझ्न सकेको छैन । .... सानैदेखि नै मभित्र एक प्रकारको खुल्दुली, खल्लो बेचैनी, छटपटाहट र उकुसमुकुस रुमल्लिइरहेको छ । त्यसले गर्दा म एकै ठाउँ एउटै काम गरेर धेरै समयसम्म बस्न सक्तिनँ । मलाई मेरो हृदयभित्र बसेको त्यो बैचैनीले कताकता डो¥याइरहन्छ । त्यसैले म घुमिरहन, डुलिरहन मन पराउँछु । मैले जीवनमा चार वर्षसम्मको लामो समय यो ठाउँमा मात्र बिताएको छु । म आफैँ आश्चर्यचकित छु— मैले कसरी यत्ति वर्ष यहाँ स्थिर भएर बिताउन सकेँ ?!”
“किन सर, तपाईं कहिल्यै एकै ठाउँमा बस्न सक्नुहुन्न ?”
“हो, म एकै ठाउँ बस्नै सक्तिनँ । यत्तिका वर्ष यहाँ बस्न सकेको एउटै कारण तिमी हौ भन्ने मैले निक्र्यौल निकालेको छु ।”
“त्यो कसरी ? सर ।”
“म बताउँछु । आज म तिमीलाई सबै कुरा बताउँछु । यो ठाउँमा म एक वर्ष मात्र बस्ने विचार गरेर आएको थिएँ । तर, करिब १२÷१३ वर्षकी कलिली तिमी मेरो भान्से नानी भएर आइसकेपछि कताकता मभित्र तिमीप्रति मेरा केही दायित्व छ भन्ने भावना मैले थाहै नपाई व्याप्त भयो । मैले दुब्ली, मैली, फोहोरी, मरन्च्याँसी र तिरष्कृत तिमीभित्र थुप्रै सम्भावनाहरु देखेँ । सम्भावनाहरु प्रस्फुटित हुने मौका मेरो सानो प्रयासले प्राप्त हुने अवस्थामा मैले आफूलाई निर्मोही बनाएर आफ्नै स्वार्थका खातिर तिमीलाई फेरि पहिला जस्तै अलपत्र छोडेर फर्कन सकिनँ । केही हुन सक्ने जग तिमीभित्र विकास गरेर फर्कुलाँ भन्दा भन्दै चार वर्षको लामो समय बितिसकेको छ । म अब फर्कन लागेको छु ।”
“साँच्चै ! सर, तपाईं यो ठाउँ छोडेर जानुहुन्छ ?” खल्लो, निस्सारता, खोक्रोपन, भयावह उदासी, पीडा र असह्य वेदना आफूभित्र उम्लिरहेको अनुभव मलाई हुन्छ । 
“हो, म आफ्नो जीवन यात्रा यहाँ टुङ्गाउन चाहन्नँ । म नदीको पानीझैँ अविरल बगिरहन चाहन्छु, पोखरीझैँ जमेर फोहोर हुँदै सुक्न चाहन्नँ । मभित्र रहेको पहलमान जस्तै शक्तिशाली आकांक्षाले गर्दा म एकै ठाउँ बसिरहन सक्तिनँ । म समीर हुँ, बगिरहन चाहन्छु । हिँड्न डुल्न पाइनभने ऐँठन परेभैmैँ हुन्छु, जेल परेभैmैँ हुन्छु । स्वतन्त्र विचरण गर्न चाहने मन कूँजो हुन्छ । म आत्तिन्छु— कूँजो मन देखेर ।”
यायावर सर यस्तै यस्तै धेरै कुराहरु के के भनिरहनु भएको हुन्छ । सरले भनिरहनु भएका कुराहरु सुनिरहेकी हुन्छु तर सरसँग छुट्टिनुपर्ने बिछोडको अथाव वेदना, पीडा र मर्मबोधले मेरो मन, मुटु र मस्तिष्क अति नराम्ररी छटपट छटपट छटपटिरहेको हुन्छ । एकदमै नौलो विछोडको असह्य पीडा ! थाहै नपाई रmन थाल्छु । आँखाबाट आँसुको धारा बहन्छ... कठै, मेरो प्यारो सरसँग छुट्टिनु पर्दाको वेदना कसरी सहन सकुँला ?
“के भो ? परी, तिमीलाई के भो ? किन रोएकी ?”
“म...ला...ई...सर..सर...” म बोल्न सक्तिनँ । म सायद आफ्नै स्वार्थ खातिर रोइरहेकी हुँ कि ? नरकतुल्य जीवनको खाल्डोबाट उकास्ने सरको बिदाइपछि म फेरि त्यही नारकी खाल्डोमा खस्ने हुँला ! “हा...य मेरो उद्धारकर्ता भगवान् समानको मेरो सर !” मनमनै म आर्तनाद गर्छु । पुकार्छु मेरो भगवान्लाई ! 
“परी तिमीले रmनु पर्दैन । मैले यो चार वर्षको अवधिमा तिमीभित्र सचेतना र शिक्षाको उज्यालो जग निर्माण गरेको छु, हीनताबोधबाट टाढा भगाएर विश्वासको बिरmवा उमारेको छु । तिमी अब आफ्नै खुट्टामा उभिन सक्छ्यौ । अब तिमी लाचार खिनौरी होइनौ । तिमी समाजमा स्थापित हुन सक्ने, युगलाइ निर्देशित गर्न सक्ने परिवर्तना भइसकेकी छ्यौ । तिमीलाई अब कसैले डोराइरहनु पर्दैन । सक्षम, सबल, सचेत र जाग्रत भइसकेकी छ्यौ । केही नयाँ आगन्तुक न्याययुक्त स्थापना गर्न सक्ने भइसकेकी छ्यौ । यो मेरो दृढ विस्वास हो .....।”
“तर, सर... म एक्ली...?”
“एक्ली छैनौ । तिमीभित्र सर्वोत्तम उच्चतामा पु¥याउने सिर्जनशील सक्रियताको बिरmवा उम्रिसकेको छ ।”
“त्यो म बुझ्दिनँ, सर । म अझै सरको भान्सिनी भएर बस्न रmचाउँछु ।” एक प्रकारले मैले आफ्नो मन पेट छर्लङ्ग पारेँ । सरले बुझ्नुभो, भएन— भन्न सक्तिनँ । सरलाई आजसम्म मैले कुन दृष्टिकोणबाट हेरेँ र सरले मलाई कसरी हेर्नुभो, मैले कहिल्यै गम्भीरतासाथ सोचेकी थिइनँ । तर सरले आफू फर्किने कुरा गरेपछि अकस्मात् मन अशान्त भएर आउँछ र मलाई थाहा हुन्छ— मेरो मन, मुटु र मगजले सरलाई औधि धेरै माया, श्रद्धा र प्रेम गर्न थालेको रहेछ । प्रेम, माया, मोह यति ठूलो थियो कि त्यसको लेखाजोखा नै म गर्ने सक्ने स्थितिमा थिइनँ । 
प्रेम, माया, मोह र अपनत्व कस्तो हुन्छ ? म बिस्तारै थाहा पाउन थालेकी हुन्छु । सरसँग भेट हुनुभन्दा पहिले केही थाहा थिएन । रछ्यानमा फालिएको जुठोपुरो खाँदै हुर्किने कुकुरको छाउरोको भन्दा राम्रो स्थिति थिएन । सम्मान कस्तो हुन्छ ? आफ्नो अस्तित्व के हो ? अपनत्व कस्तो हुन्छ ? मानिस किन यो असार संसारमा अनेकौँ दुरुह कष्ट सहँदै निर्दिष्ट लक्ष्यतर्फ केन्द्रित भएर निरन्तर सङ्घर्ष गरिरहन्छ ? सङ्घर्ष के हो ? जीवनको अर्थ के हो ? थोरैथोरै बुझ्न थालेकी हुन्छु । त्यो बुझ्ने सामथ्र्य मभित्र उमार्ने सर... सरसित छुट्टिएर बस्नु पर्ने कल्पना मात्र पनि मेरो लागि अथाह पीडादायी हुन्छ । 
“सर... सर... ” फेरि पनि मेरो आवाज, शब्दहरु पूरा वाक्यमा बदलिन सकेन । 
“के परी ? के भन्न खोजेकी हौ ? भन ।”
“म तपाईं बिना बस्न सक्तिनँ । समर्पणमा म जीवन न्यौछावर गर्न चाहन्छु । तपाईंको उपकारको बदला म आजीवन तपाईंको सेवा गर्न चाहन्छु । भान्सिनी नै भएर भए पनि...।” म आफूलाई छिन्न–भिन्न, टुक्रा–टुक्रा र खण्डखण्डमा सरको सामु उद्घोषित गर्छु । 
“तिमी के भनिरहेकी छ्यौ ? के गरिरहेकी छ्यौ ? मैले यति सस्तो, सजिलो र दुर्बल प्रतिमा निर्माण गरे जस्तो लाग्दैन । म तिमीलाई स्पातको बलियो दृढ निश्चयको ढलोट प्रतिमा बनाउन चाहन्छु । मेरो आशामा तुषारापात नगर । उठ, आँसु पुछेर ... कम्मर कस, एक वीराङ्गना नारी बन्ने लक्षणहरु र संकेतहरु देखाऊ । आँसु भएर बगेको होइन, बत्तीले जस्तै उज्यालो छरेको तिम्रो रुप म हेर्न चाहन्छु... बुझ्यौ ?”
सरले भनेका कुराहरुमा एक प्रकारको प्रेरणा, शक्ति, प्रोत्साहन, आशा र उत्साहका किरणहरु मैले महसुस गरँे । मेरो गन्तव्य, लक्ष्य, कार्य, स्थिति, धरातल, परिस्थिति, अडान र रोजाइ के हुन् ? सोचाइ के हो ? कुन बिन्दुतर्पm मैले अगाडि बढ्नुपर्ने हो ? मैले आफूलाई सानै घेरा–परिधिभित्र सीमित राखेर विलीन गराउने कि सम्पूर्ण आकाश ढाक्ने गरी आकाङ्क्षा र इच्छाहरुको पंख फिँजाई निरन्तर अगाडि बढिरहने जाज्वल्यमान प्रदीप्त ज्योति पुञ्ज उज्यालोको स्रोत बनाउने हो ? आफूलाई मानव जातिको प्रेरणाको स्रोत बनाउने हो ? 
म आँसु पुच्छु । आफूभित्रको सम्पूर्ण स्वार्थी पीडा, वेदना र छटपटीहरु पखालेर भान्सा कोठामा जान्छु । आजन्म मैले सिकेको जानेको सारा सीप लगाएर सक्दो मीठो भोजन तयार गर्छु । म चाहन्थेँ, म सबैभन्दा मीठो खाना मेरा सरलाई खुवाऊँ । सरले साँच्चै मीठो मानेर खानुभयो र तृप्त भएझैँ खुसी भएर मलाई हेर्नुभयो । म आनन्दविभोर हुन्छु । त्यो दिन र रातभर सर बाहेक मैले अर्को सजीव वस्तु देखिनँ, हेर्न पनि चाहिनँ । सरले चाहनुभएको थियो वा थिएन— भन्न सक्तिनँ । मैले सरलाई मेरो स्त्रीसुलभ भर्खर फक्रिँदै गरेको मेरो यौवनावस्थासँग पौठेजोरी खेल्नका निम्ति अनेक हाउभाव, कटाक्ष र मायालु कुराहरु गरेर आमन्त्रण गरेँ । सर नामर्द थिएनन् । मायालु तन्नेरीको रुपमा म सरलाई प्राप्त गर्न चाहन्थेँ । सरले मेरो आमन्त्रण अस्वीकार गरेको भए मैले जीवनभर अतृप्त पीडित अपूर्णता महसुस गरिरहनु पर्ने थियो । सम्पूर्ण ‘आफ्नो’ म सरलाई समर्पण गर्न चाहन्थेँ । सरलाई मेरो यौवनको पहिलो कोसेली समर्पण गन पाएर म आफू धन्य धन्य कृतार्थ भएको अनुभव गर्न पुगेँ । 
यायावर सर निर्दयी–निर्मोही हुनुहुन्नथ्यो । मैले आफ्नो इच्छाले उहाँलाई मेरो समर्पणको फूल चढाएकी थिएँ । मेरो समर्पणमा प्रेम, आस्था, पूर्णता, माया, मोह, त्याग, विलय, कृतज्ञता, तिर्खालु तृप्ति, निस्वार्थता र बलिदान मिसिएको थियो । यस्तो समर्पण जीवनमा थोरै बिरलै मात्र हुन्छ । 


यायावर सर फर्कने दिन जति नजिकिँदै जान्छ, त्यति त्यति मेरो मन हाहाकार गरिरहेको हुन्छ । म एक्ली भएर फेरि जीवन सङ्घर्ष गर्न सकुँला ? म सरलाई आफूसित मलाई पनि लैजानका लागि आग्रह गर्नेछु, म उहाँलाई पछ्याएरै भए पनि उहाँसँगै सहर जानेछु । सहरमा सायद मेरो भावी उज्यालो जिन्दगीले पर्खिरहेको होला ! जसरी भए पनि म सहर जानेछु, मेरो विचार दिनप्रतिदिन दृढ निश्चय र निर्णयमा परिवर्तित भइरहेको हुन्छ । 
“सर, म पनि तपाईंसँगै सहर जान्छु ।”
“किन ? सहर गएर तिमी के गछ्र्यौ ?”
“सहर गएर म मेरो भावी जीवन व्यवस्थित गर्न चाहन्छु ।”
“तिमीले निर्णय गरिसकेकी छ्यौ भने म कुनै बाधा गर्दिनँ । तर मेरो एउटा सर्त हुन्छ । सहर गएपछि म तिमीलाई कुनै काम खोजेर व्यवस्थित गराइदिनेछु । मिहेनत गर्नु तिम्रो अभिभारा । त्यसपछि म फेरि सहर छोडेर यात्रामा निस्कनेछु । तिमीले कुनै अवरोध गर्न पाउने छैनौ । बुझ्यौ ।”
“बुझेँ र राजी सर । म तपाईंको आजन्म ऋणी छु, हुनेछु । जीवनभर तपाईं मेरो प्रेरणास्रोत भइरहनु हुनेछ ।”
“आमासँग सल्लाह ग¥यौ ? आमा के भन्नुहुन्छ ?”
“आमाले मान्नुभएको छ । अहिले म एक्लै जान्छु, पछि व्यवस्थित भएपछि आमालाई पनि बोलाउने छु ।” म आफ्नो मनको विचार सरलाई सुनाउँछु । 
सँगसँगै म सहर पुग्छु । सहर गाउँभन्दा एकदमै भिन्न, पृथक । कोलाहल, मानिसहरुको घुइचो, गाडीहरु कुदिरहेका छन् । मौरीझैँ मानिसहरु हिँडिरहेका छन्, हिँडिरहेका छन्— कता होला ? कहाँ होला ? के गर्छन् होला ? यति धेरै मान्छे, मान्छेहरु ! म त्यो भीडभरि कोलाहलमय वातावरणमा पहिला पहिला त निस्सासिन्थेँ । तर बिस्तारै अभ्यस्त हुन्छु । अहिले मलाई मानिसहरु नभएको निर्जन, एकान्त र शान्त ठाउँभन्दा मानिसहरुको घुँइचो र दौडधुप र सबै जीवित प्राणीहरुझैँ पेट पाल्ने प्रतियोगितामा सामेल व्यस्त मानिसहरुको जिन्दगी मन पर्न थालेको छ । भोको मानिसको अहं सवाल— पेट पाल्ने सवाल !! 
यही त अहं प्रश्न रहेछ । म आफ्ना वरिपरी रहेका हरेक जीवित प्राणीहरुबारे गम्छु, सोच्छु । चरो, मुसो, बिरालो, कुकुर, हात्ती, गैँडा, बाघ, भालुदेखि लिएर कमिला, मौरी, किरा, फटेङ्ग्रा सब, सबै पेट पाल्ने धन्दामा व्यस्त छन् । यो पेट पाल्ने कार्यमा नैतिक, अनैतिक, धर्माती, पापी, न्यायिक, अन्यायपूर्ण, धोकापूर्ण, विश्वासघाती, परोपकारी, उपकारी, व्यभिचारी अनेकौँ कार्यहरु भइराखेका थिए, भइराखेका छन् र भइरहने छन् । कुनै प्राणी यो कार्यबाट उन्मुक्त हुन सकेको छ ? मान्छे त आजीवन यही धन्दामा फसेको छ र निरन्तर चलिरहेको पापको क्रमिकतामा सरिक भइरहेको छ । 
अहा, मैले यो कस्तो, कसरी सोचिरहेकी छु । सरसित भेट नभएको भए म यसरी सोच्न सक्थेँ हुँला ? सोच्न सक्छु, यथार्थ थाहा पाउन सक्नु र त्यो यथार्थको विश्लेषण गर्दै मानवोचित बाँच्ने रमाइलो वातावरण निर्माण गर्नु मानवीय कर्तव्य रहेछ । स्वविवेकले काम गर्न पाउनु अहोभाग्य रहेछ । पशुतुल्यै नारकीय जीवन बिताइरहेका अधिकांश मानिसहरु आफ्ना वरिपरिको वातावरण, परिवेश, यथार्थबारे विश्लेषण गर्न नसक्ने, सोच्न नसक्ने, थाहा पाउन नसक्ने र त्यसलाई बदल्न योगदान गर्न नसक्ने अवस्थामा छन् । यस्तो अवस्थामा स्वविवेकको कुरै भएन । यो मानव जातिको लागि दुःखदायी कलङ्क हो । 
मेरो गन्तव्यको धमिलो धमिलो रेखा कोरिन थालेको छ । गन्तव्य उज्यालोतर्फ कि अँध्यारोतर्फ ? अज्ञानताको अन्धकार नास्न सक्ने सचेतनाको बत्ती सरबाट मैले प्राप्त गर्न सकेँ । अब म साधारण लेखपढ गर्न सक्ने मात्र होइन, एस.एल.सी. परीक्षा उत्तीर्ण गरेर उच्च शिक्षा हासिल गर्दै गरेकी सचेत नागरिक भएकी छु । यो सबै सरको देन हो । अँध्यारो खाल्डोमा कुरुप, अपहेलित, सडिरहेकी मलाई उद्धार गरेर मान्छे सरह बाँच्न सक्ने तुल्याउनु भएको सरले नै हो । सरप्रति म आजन्म नतमस्तक भइरहनेछु । 
म कम्प्युटरबाट गरिने छपाइसम्बन्धी कार्यहरु गर्न सक्ने भएकी छु । यो कामबाट राम्रैसँग मेरो खर्च धानिएको छ । उच्च शिक्षा हासिल गर्दै छु । म आफ्नो खुट्टामा उभिन सक्ने भएकी छु । अर्काको मुख ताक्नु परेको छैन । सानातिना रहरहरु पूरा गर्न समर्थ भएकी छु र अझ अगाडि बढ्न चाहन्छु । मानव जातिको सर्वोच्च उचाइमा पुग्न चाहन्छु । सर्वोच्च उचाइ कि सर्वोत्तम उचाइ ? म कसलाई सोधूँ ? 
सर्वोच्च के हो ? कहाँ छ ? टेक्न, कुल्चन अथवा पुग्न सकिन्छ ? चोमोलोङ्गमाको चुचुरा विश्वको सर्वोच्च स्थान हो । त्यहाँ मानिसहरुले कैयौँ पल्ट टेकेका छन् । त्यहाँ टेक्दा के मानिसहरुले सर्वोत्तम उचाइ प्राप्त गरेको अनुभूति गरे ? 
यायावर सर आफ्नो यात्रामा गइसक्नुभएको छ । कहाँ जानुभयो ? कहिले फर्कनु हुन्छ ? कसैलाई थाहा छैन । उहाँ जहाँ हुनुहुन्छ सुखी रहनुहोस्— कामना गर्छु, प्रार्थना गर्छु, यदि प्रार्थना सुन्ने कुनै अदृश्य शक्ति वा भगवान् छ भने ! मेरो यो सोचाइको श्रृङ्खला भङ्ग हुन्छ – यति धेरै मानिसहरु कहाँ गइरहेका होलान् ? गइरहेका छन्, गइरहेका छन् । कहाँ गइरहेका होलान् ? मलाई जिज्ञासा हुन्छ । म त्यो हूलमा मिसिएका मान्छेहरुलाई सोध्न चाहन्छु – ‘किन, कहाँ गइरहनुभएको छ ?’ सोध्न सक्तिनँ । त्यहाँ मानिसहरुको हूल छ, भीड छ । त्यो हूल र भीडमा छुट्टै व्यक्तित्व भएको कुनै मान्छे म देख्तिनँ । सबै भीडसँग एकाकार भएका छन् । भीडको अभिन्न अङ्गझैँ रोबोटजस्तो एकातर्फ गइरहेका छन्, गइरहेका छन् । 
म आफूलाई रोक्नै सक्तिनँ । म पनि भीडमा सम्मिलित हुन्छु । भीडकै एउटा अङ्ग भएर त्यो जता जान्छ, त्यतै लाग्छु निरmद्देश्य । भीड निरmद्देश्य थिएन । त्यसको गन्तव्य थियो । त्यो त्यहाँ जम्मा भइरहेको थियो । खुला मैदान, हजारौँ मानिसहरु जम्मा भइरहेका थिए । एउटा मानिस भाषण गरिरहेको थियो, “सदियौँदेखि लादिएको निरंकुश शासनको अन्त्य गर्न र नयाँ सत्ता प्राप्ति गर्न एक जूट होऔँ । पुरानो सत्ता ढाल्न, नष्ट गर्न र त्यसको जगमाथि नयाँ निर्माण गर्न अगाडि बढ्ने बेला आएको छ । अब हामी पुरानो सत्तालाई चकनाचूर पार्न अगाडि बढ्नेछौँ, बढ्नुहोस्.... सबैजना अगाडि बढ्नुहोस्....!” भीड अगाडि बढिरहेको छ । मानव समुद्र उर्लेको छ, गर्जिरहेको मानव आवाज ‘भत्काइदे पुरानो सत्ता – भत्काइदे, भत्काइदे !’
‘भत्काइदे पुरानो सत्ता – भत्काइदे, भत्काइदे !’
‘भत्काइदे पुरानो सत्ता – भत्काइदे, भत्काइदे !’ गगनभेदी नाराले सहर गुञ्जायमान छ । 
अकस्मात् भीडमाथि गोलीको पर्रा बर्सिन्छ । मानिसहरुको लाश सडकमा पसारिन्छ, रगतको आहाल.... घाइतेहरुको चित्कार, आर्तनाद..... भागम्भाग, भीडले थिचिएरै पनि कैयौँको ज्यान जान्छ । कति मारिए, मरे । अत्तो पत्तो छैन । यो के भयो ? जताततै घाइते र मृतकहरु लडेका छन् । म पनि भाग्छु ज्यान हत्केलामा राखेर....। गल्लीभित्र छिर्छु, थुप्रै मान्छेहरु भागिरहेका हुन्छन् । 
मुटु ढुक्ढुक् भइरहेको छ, स्वाँ... स्वाँ गर्दै भागिरहेकी हुन्छु । सोचिरहेकी हुन्छु यो कस्तो भयङ्कर घटना ? मानवतामाथि तानाशाही क्रूर आक्रमण... स्वतन्त्रता र मुक्ति चाहनेहरुको वीभत्स हत्या... ! 


मार्ग निर्धारण 
 
जीवन सहज, सरल, सकुशल र समतल गतिमा अगाडि बढिरहेका बेला मेरो मानसिक विकास पनि स्वाभाविक ढङ्गले नै विकसित भइरहेको थियो । तर त्यो अप्रत्यासित, आकस्मिक दुःस्वप्न जस्तो सामूहिक हत्याको घटनाले मेरो मानसिक सोचाइको दिशामा नै आमूलकारी परिवर्तन ल्याउँछ । म बारम्बार सोचिरहेकी हुन्छु । मनमनै कुराहरु खेलाइरहेकी हुन्छु ‘...पुरानो सत्ता भनेको के ? नयाँ सत्ता कस्तो हुन्छ ? त्यो घटनामा धेरै मानिसहरुले ज्यान गुमाए । धेरै मानिसहरु घाइते र अपाहिज भए । के त्यो जायज थियो ? जायज र नाजायज ? न्याय र अन्यायको युद्ध ! सत्य र असत्यको घमासान ! पीडक र पीडित, शासक र शासित, शोषक र शोषितको सङ्घर्ष ! थिच्ने र थिचिएकाहरु बीचको अन्तरकलह... मान्छेले रोज्नु पर्ने बाटो कुन हो ? समाधान के हो ?... ’ मेरो सोच्ने र निक्र्यौलमा पुग्ने प्रक्रियामा नै त्यो घटनाले आमूलकारी हलचल ल्याएको छ । अब म एकै क्षण पनि नसोची नघोरिइ बस्न सक्तिनँ । बस्नै सक्तिनँ – मभित्र उत्पन्न भएको बैचैनी र अशान्तिले । सम्भावनाका हर ढोकाहरु उघ्रिएको म हेर्न चाहन्छु । मानव जातिले अतुलनीय प्रगति गरेको हेर्न चाहने मेरो मन विभिन्न मानव उपयोगी दर्शन, विचार, सिद्धान्ततर्फ आकर्षित हुन्छ । 
कसरी प्राप्त गर्न सक्छ मानव जातिले सर्वोत्तम उचाइ ? सर्वोत्तम उचाइ के हो ? कस्तो हुन्छ ? के हो ? कुन, कहाँ, के, कसरी आदि अनन्त प्रश्न, प्रश्नहरुको लामो श्रृङ्खलामा म अल्झिन पुग्छु । त्यसबाट फुत्कने, उन्मुक्ति पाउने उपाय के हुन सक्छ ?
मनमा उठेका अनन्त प्रश्नहरुको उत्तर अध्ययन सिवाय अरुले दिन सक्तैन, अध्ययन बाहेक अर्को विकल्प छैन । तसर्थ म अध्ययनमा निर्लिप्त हुन्छु । अध्ययनमा हराउँछु । मेरो असन्तोषी मन अध्ययनमा डुब्दा राहत महसुस गर्छ । वेचैन भएर छटपटिएको मेरो मग अध्ययनले तातिन्छ, राँकिन्छ, चिसिन्छ । ज्ञानको सीमा नभए पनि मेरो ज्ञानको परिधि बिस्तार भइरहेको हुन्छ । दर्शन, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, इतिहास, भूगोल, साहित्य आदि जीवनोपयोगी अध्ययनले मेरो जीवन नयाँ ज्ञानको ज्योतिद्वारा आलोकित भइरहेको हुन्छ । ज्ञानको अथाह सागर ! 
ज्ञानमा शक्ति छ; आशा छ; शान्ति छ; सक्रियता र सुख पनि ज्ञानमा निहित छ । सबैभन्दा ठूलो कुरो ज्ञानमा सन्तोष छ, जुन अन्त कहीँ प्राप्त गर्न सकिँदैन । ज्ञानले मानवलाई महामानव बनाउँछ । ज्ञानले मात्र संसारलाई नयाँ उचाइमा लैजान सक्छ । ‘पढ, अध्ययन गर । ज्ञानको ज्योतिले संसारलाई बुझ !’ मेरो अन्तरमन पुकारिरहेको हुन्छ । 
‘यायावर सर यहाँ हुनुभएको भए म आफूले नबुझेका ज्ञानका कुराहरु सोध्ने थिएँ ।’ म कल्पन्छु, ‘अब कहिल्यै भेट हुन्न कि.....; तर म उहाँको इच्छा मुताबिक कहिल्यै आफूलाई कमजोर हुन दिनेछैन । उहाँजस्तै विद्वान मित्रहरुको सङ्गत गरेर म पनि ज्ञान सागरमा पौडिनेछु....।’
म थुप्रै प्रश्नहरुमा रmमल्लिएर उत्तरको खोजी गर्दै डा. हरि, मुकुन्द, थाम्पुक, जमानसिंह र अरु थुप्रै विद्वानहरुसँग भेट गर्छु । उहाँहरुलाई भेटेपछि लाग्छ— ‘फलेको वृक्ष झुकेको नै हुन्छ ।’ रित्तो भाँडो बजेझैँ अर्ध बुद्धिका मान्छेहरु ज्ञानमा पूर्णता प्राप्त गरेको स्वाङ् पार्छन् । पूर्णता प्राप्ति असम्भव भए पनि पूर्णताउन्मुख मानिसहरु भने पाइन्छन् । पूर्णताउन्मुख मध्येक एक जमानसिंहसँग म सोध्छु, “विभिन्न दर्शनहरुको जन्म किन भएको होला ?”
“सामाजिक विचार र सिद्धान्त विभिन्न थरिका हुन्छन् । एक थरि पुराना विचार, सिद्धान्त हुन्छन् जसलाई युगले छाडिसकेको हुन्छ र जसले समाजको मर्दै गएका शक्तिहरुको हितलाई रक्षा गर्छ । यिनीहरुको महत्व त समाजको विकास र प्रगतिमा तगारो बन्नु मात्र छ....। यता फेरि समाजको अघि बढ्दो शक्तिको हितलाई रक्षा गर्ने, नयाँ र अघि बढ्दो विचार र सिद्धान्त छन् । यिनीहरुको महत्व समाजको प्रगति र विकासलाई सजिलो पार्नमा छ, समाजको भौतिक विकासका आवश्यकतालाई जति सही तरिकाले प्रतिविम्बत गर्न सक्यो त्यति बढ्ता यिनीहरुको महत्व हुन्छ............ नयाँ सामाजिक विचार र सिद्धान्त समाजलाई खाँचो भएकाले नै देखा पर्छन् । यी विचार र सिद्धान्त जन समूहको हृदयमा घुस्ने बित्तिकै एउटा भौतिक शक्ति बन्दछ ।”
विचार र सिद्धान्त एउटा भौतिक शक्ति बन्ने कुराले मलाई एउटा नयाँ दृष्टिकोण दिन्छ । जीवनलाई स्वाभाविक गतिमा अगाडि बढाउने मार्ग निर्देशन प्राप्त हुन्छ । 


व्यवहारमा ज्ञान

“तिमी किताबको कीरो भएकी छ्यौ । जुन किताबी ज्ञान व्यवहारमा लागू हुँदैन त्यसको कुनै अर्थ छैन ।”
“हो, तिम्रो कुरा ठीक हो । तर, म कसरी किताबी ज्ञानलाई व्यवहारमा लागू गर्न सक्छु ?”
“तरिका सजिलो छ । संघ–संस्था, दलहरु र विभिन्न संगठनहरुसँग आवद्ध वा संलग्न भएर लागू गर्न सकिन्छ ।” शोभना भन्छिन्, “तिमी चाहन्छौ भने तिमीलाई पश्चिमका जिल्लाहरुमा काम गर्ने एउटा गैर सरकारी संस्थाको टोलीमा समावेश गरेर ती जिल्लाहरुको भ्रमणमा लैजान चाहन्छु ।”
“हुन्छ, म तयार छु ।”
म अवलोकन भ्रमण टोलीमा समावेश हुन्छु । जीवन र जगत्लाई नजिकबाट नियाल्ने पहिलो अवसर ! बाल्यकालमा मैले भोगेको दुरmह कष्ट र दुःखको मलाई सम्झना हुन्छ । त्यो कष्ट र दुःख मैले जीवनभर भुल्नुहुँदैन । कतै सुखमा बहकिन थालेँ भने त्यसलाई सम्झेर मैले आफूलाई त्यस्तै दुःख र कष्टमा बाँचिरहेकाहरुको निम्ति आफूलाई अर्पण गर्न सक्नुपर्दछ । यो संसारमा दुःख र सुखको अन्तर थाहा नपाउनेहरु बहुसंख्यामा रहेछन् । कोही एक थरी मानिसहरु छन्, जसले शारीरिक श्रम गरेकै हुँदैनन् र कडा श्रम गरेपछि विश्राममा पाइने बिसाइको आनन्दको स्वाद तिनीहरुले चाख्न पाएकै हुँदैन । शारीरिक श्रमको महत्व तिनीहरुलाई थाहा हुँदैन । धेरै अर्काथरी दुःख सिवाय जीवनमा सुख कहिल्यै नदेख्नेहरु छन्, तिनीहरुलाई दुःख र सुखको अन्तर नै थाहा हुँदैन । आकाशमा उड्ने हवाइजहाज उनीहरुका लागि उडिरहेको हेर्ने वस्तु मात्र हो, चढेर एक स्थानबाट अर्को स्थानमा पुग्ने यातायातको साधन होइन । हवाइजहाजको यात्रा जसले कहिल्यै गर्न पाएको छैन, आजीवन पैदल कष्टकर यात्रा गरिरहेको छ; हवाइजहाजको यात्रा र पैदल यात्रा बीचको अन्तर उसले कसरी थाहा पाउन सक्छ ? जन्मेदेखि जो दुःखै दुःखले जेलिएको छ, दुःख मात्र जीवनमा हुन्छ भन्ने उसको ठम्याइ बनिसकेको छ । अँध्यारो अँध्यारोमै जो बाँचिरहेको छ, फूलको रङ्गीचङ्गी रङ र सौन्दर्य देखेकै छैन उसले कसरी अँध्यारो र उज्यालो बीचको अन्तर थाहा पाउन सक्छ ? अँध्यारो, अँध्यारो ! अज्ञानताको अँध्यारोमा जन्मेर हुर्केको जो छ, आजन्म अन्धोझैँ छ । उसले ज्ञानरुपी उज्यालोको अस्तित्व हुन्छ भन्ने थाहा नपाउँदा अँध्यारोमै जीवन काट्छ । अँध्यारो नै जीवन हो भन्ने सम्झन्छ । 
जिल्लाहरुको भ्रमणमा मैले के देखेँ ? गरिबी, अशिक्षा, अज्ञानता, रोग, भोक, शोक, कष्ट र दmुखहरुको डङ्गुरमा पुरिएका मान्छेहरु ! पशुवत बितिरहेको जिन्दगी ! आफ्नो स्थिति र अवस्थाको विश्लेषण गर्न अक्षम तिनीहरु सबै भाग्यको खेल सम्झने अन्धविश्वासीहरु ! दुःख भोग्नु नियति सम्झने; निमुखा, असहाय, अशिक्षित, अज्ञानीहरु ! केही टाठा बाठाहरुद्वारा शोषित, उत्पीडित ! विचराहरु जो आफ्नो स्थिति, अवस्था र परिवेशबारे थाहा पाउन नसक्नेहरु; जसले पनि सजिलै झुक्याउन सक्ने सोझा सीधा आम मान्छेहरु; सर्वसाधारण मान्छेहरु ! 
सर्व साधारण मान्छेहरु ! अज्ञानतामा निहित आनन्द भोगिरहेका उनीहरु, हामीलाई मुस्कुराएर स्वागत गर्छन् । हामी के गर्न सक्छौँ उनीहरुका लागि ? आशामुखी उनीहरु ! उनीहरुको दुखेसो सुन्छौँ । हृदय विदारक कष्टहरु उनीहरुले भोगेका छन् । विद्रोहीहरु, सेनाहरु, सामन्तहरु र मुठ्ठिभर टाठा बाठाहरु सबैले उनीहरुलाई अचाक्ली कुल्चेका रहेछन्, किचिमिचि पारेका रहेछन् । थिचिएका, मिचिएका उनीहरुका आफ्नै व्यथाहरु रहेछन् । राजधानीभन्दा धेरै टाढा रहेको उनीहरुको पीडा सुन्ने कोही छैन । त्यहाँ पनि सडक पुग्न सक्छ ? बिजुली पुग्न सक्छ ? शिक्षाको उज्यालो पुग्न सक्छ ? नैसर्गिक मानव अधिकारको उपभोग गर्न पाउँछन् उनीहरुले ? खानामा पोषक तत्त्वहरुको कमी र सन्तुलित आहारको अभावमा उनीहरुको देह सुकेको छ । मानसिक उन्नयनको लागि शिक्षा, सूचना, सञ्चार र ज्ञान आर्जनका साधनहरुको अभाव साथै आर्थिक–सामाजिक प्रगतिको अवसरबाट वञ्चित उनीहरु ! समस्यासमस्या उल्झिएर गाठो परेको छ, सुल्झाउने बहादुर कोही छैन । उनीहरु जस्ताप्रति राज्यको कुनै दायित्व छैन ? 
जन्मँदा पनि तिनीहरु दुःखमा नै जन्मिए र दुःखमा नै मर्छन् होला ! 
प्रश्न प्रश्नको गहु्रँङ्गो बोझ बोकेर हामी फर्कन्छौँ । केही अखबारहरुमा हामी त्यो भ्रमणको प्रतिवेदन छपाउँछौँ । प्रतिवेदन सरकारलाई बुझाउँछौँ । सरकार त्यतातिर ध्यान आकृष्ट भएको स्वाङ पार्छ । हामी हाम्रो दायित्व पूरा भएको भ्रम पाल्छौँ । यही नै समस्याको समाधान हो ? यसरी नै समस्याकोा समाधान होला ? 


असमानता ! 
चारैतिर हर क्षेत्रमा व्याप्त असमानता ! धनी र गरिब, धनको असमान वितरण ! सहर र गाउँको असमान विकास संरचना ! विकसित र पिछडिएका देशहरुको असमान विकास । असमान अन्तर्राष्ट्रिय व्यापार ! असमान आयस्तर र असमान जीवनस्तर ! यी असमानताहरुको वावजुद सबैभन्दा दुःखदायी मुटु बिझाउने असमानता मानसिक धरातलमा छ । मानसिक उन्नति गर्ने अवसरको अभाव ! समान अवस्था बन्न सक्ने आशा नहुनु झनै निराशाजनक स्थिति ! मानवोचित आर्थिक, सामाजिक, राजैनितक प्रगति एवम् मानसिक उन्नयनको अवसर नभएको पछौटे परिस्थिति ! 
“शोभना, जिल्लाहरुको भ्रमणमा हामीले के देख्यौँ ? के पायौँ ?”
“प्रतिवेदनमा सबै उल्लेख भएकै छ नि ।”
“प्रतिवेदनमा समाधान उल्लेख छैन । समाधान उल्लेख नभएको प्रतिवेदन बेकार छ ।”
“समाधान खोज्ने र गर्ने काम सरकारको हो । सत्तासीनहरुको हो ।”
“सत्तासीनहरु सत्ताको कुर्सीमा टाँसिएर टिकिरहनु बाहेक अरु कुरामा ध्यान दिँदैनन् ।”
“सत्तामा टिक्नकै लागि भए पनि केही काम त गर्नु गर्छ नि ।”
“पुरानो सत्ताबाट त्यस्तो आशा गर्नु बेकार छ । आमूल परिवर्तनकारी शक्तिलाई स्थापित गरेर मात्र समस्याहरुको समाधानको आशा गर्न सकिन्छ ।”
“तपाईंहरु बीच चलेको यो के को बहस हो ? म पनि भाग लिन सक्छु कि ?” स्वजन कोठामा प्रवेश गर्दै सोध्छन् । 
“किन नसक्नु ? तपाईंबाट उचित निर्णय निस्कने आशा गर्छौं ।” म कम्प्युटर टाइप गर्न छोडेर भन्छु । स्वजन हँसमुख नव युवा हुनुहुन्छ । देख्दा— हँसिलो, सुन्दर, साहसिलो र पक्कै केही गर्न सक्छन्् भनेर पत्यार गर्न सकिने प्रभावशाली व्यक्तित्व । भन्छन्— “कुरा त पहिला बुझौँ ।”
“कुरा हो असमानताको । असमान धनको वितरण त विश्वमा छँदै छ । विकसित देशका चङ्गुलमा फसेका गरिब देशहरु । नव उपनिवेशवादी नीतिको मारमा परेका विकासोन्मुख देशहरु । युद्ध उन्मादीहरु, हतियार माफियाहरु, कमिसनखोरहरु, नाफाखोर बहुराष्ट्रिय कम्पनी र वित्तीय संस्थाहरुको विश्वव्यापी जालो, माखेसाङ्लोमा फसिसकेको विश्व अर्थ व्यवस्था । गरिब मुलुकहरु झन् गरिब भइरहेका छन् । गरिबी अझ बढ्दो छ । गरिब सधैँ गरिब भइ नै रहने परिस्थिति र वातावरण बनिसकेको छ । समान अवसरको अवस्था प्राप्त होला वा नहोला भन्ने नै हाम्रो बहसको विषय थियो ।” शोभना भन्छिन्, “यस विषयमा तपाईंको राय के होला ?”
“विषय गम्भीर रहेछ । गम्भीर मात्र नभएर विश्व जत्तिकै व्यापक छ । हल्का ढङ्गबाट विचार व्यक्त गरिहाल्नु उपयुक्त हुँदैन, तापनि यति चाहिँ भन्न सकिन्छ— दियो, मैनबत्ती वा चालीस वार्डको बल्वले घामले जस्तो उज्यालो दिन नसके पनि जति उज्यालो छर्न सक्छ, छर्नुपर्छ । घाम नभएका बेला नै अँध्यारो हुन्छ । अँध्यारो हटाउनका लागि जति सकिन्छ, आफ्नो ल्गागत, तागत र सामथ्र्य अनुसार कुपीले वरिपरि कमै उज्यालो दिएर अन्धकार नासेजस्तै हामीले पनि जति सकिन्छ, न्यायपूर्ण समान समाज, वातावरण, परिवेश निर्माणमा योगदान गर्नुपर्छ । यस किसिमले सोचेर सबै लागे अवश्य उन्नतिको नयाँ उचाइ प्राप्त गर्न सकिन्छ । एउटा दियोले अर्को दियो सल्काउँदै, बाल्दै जाँदा झिलमिलि उज्यालो हुन्छ ...।”
झिलिमिलि रङ्गीचङ्गी समाज निर्माणमा व्यक्तिगत, निजी र सामूहिक योगदानको कुरा महत्त्वपूर्ण रहेछ । निराश नभई आफ्नो दायित्व पूरा गर्नु सबैको कर्तव्य रहेछ । स्वजनले व्यक्त गरेका विचारहरु मलाई र शोभनालाई सही लाग्छन् । त्यो कुरामा हामी समर्थन जनाउँछौँ ।
“तर पनि समस्या हो मानसिक उन्नयनको, मानसिक सबलताको, योग्यताको । पौष्टिक आहाराको कमीले गरिबहरुका शारीरिक विकास सम्भव हुँदैन । स्वस्थ शरीरमा नै स्वस्थ दिमाग विकसित हुन्छ । स्वस्थ शरीर र दिमागको अभावमा आफ्नो दायित्व बुझ्न सक्ने अवस्था नै हुँदैन । नबुझेपछि दायित्व पूरा गर्ने कुरै भएन । यसरी विश्वभरि नै बहुसंख्यामा रहेका यस्ता मानिसहरुका अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ ?” शोभना जिज्ञासा राख्छिन् । 
“सत्प्रयास ! समाजमा विद्यमान सबै सबल पक्षबाट इमानदार प्रयास ! एकजनाले एकैजनालाई मात्र थोरै उज्यालो दिलाउन सक्यो भने उज्वल भविष्यको आशा गर्न सकिन्छ ।” स्वजनको कुराले मेरो चित्त बुझ्छ । यायावर सरको सत्प्रयासको प्रतिफल म यति कुराहरु बुझ्न सक्ने अवस्थामा आएकी छु । मेरो प्रयासले कोही कसैको त उद्धार हुन सक्छ । मानिस आफ्नो लागि मात्र बाँच्ने हो र ? त्यस्तो भने त मान्छे र पशुमा के अन्तर रह्यो र ? पशु पनि आफ्नो पेट पालेर आफ्नो लागि बाँचेको हुन्छ । आफ्नो वरिपरिकोा सानो घेरामै भए पनि उज्यालो छर्न सकियो, ‘आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने’ विचारलाई व्यवहारमा उतार्न सकियो भने यो ब्रम्हाण्डको अमूल्य पृथ्वी हराभरा, सुन्दर र झिलिमिलि भइरहनेछ ।” स्वजनको लामो मन्तव्य सुनेर म सोच्न विवश हुन्छु, ‘कल्पनामा मात्र होइन, के यो यथार्थमा पनि सम्भव छ ?’



गन्तव्य

“एक, दुई, तीन, चार, .....सत्र ।”
पूरै सत्रजना जम्मा भएका छौँ । सत्रदेखि सत्ताइस वर्ष उमेरका युवाहरु । कैयौँ पल्टको छलफल, अन्तरक्रिया र सल्लाहपछि आजको दिन तोकिएको छ । महत्त्वपूर्ण दिन— क्रियाशीलताको लागि प्रतिबद्ध व्यक्त गर्ने दिन ! महान् प्रतिबद्धताको दिन !!
प्रतिबद्धता धेरै छलफलपछि सर्व स्वीकार्य भएको छ । सो पत्रमा सबैले सामूहिक हस्ताक्षर गर्ने, सो मुताविक प्रतिबद्धता जाहेर गर्ने र त्यस अनुसार आफ्नो–आफ्नो कार्य क्षेत्रमा लागेर नयाँ बिहानीका लागि कार्य आरम्भ गर्ने प्रतिबद्धता घोषणा गर्न हामी सबै भेला भएका छौँ । कसैले भूमिगत क्रान्तिकारी पार्टीहरुले झैँ सबैको रगत निकालेर एकै ठाउँमा जम्मा गरेर त्यही रगतले सही गर्ने रmमानी प्रस्ताव पनि राखेका थिए । कसैले पत्रमा औँठा छाप हाल्ने, देशको माटो हातमा लिएर कसम खाने प्रस्तावहरु पनि आएका थिए । प्रतिबद्धता उत्सवलाई महत्त्वपूर्ण र महान् बनाउनका लागि विविध प्रस्तावहरु आएता पनि यो प्रतिबद्धता उत्सव गोप्य, सरल, आपसी विश्वासको आधारमा सम्पन्न गर्ने निर्णय भएको हुन्छ । 
प्रतिबद्धता पत्रको एकएकवटा प्रति लिएर हामी सत्रै जना गोलाकार रुपमा उभिन्छौँ । सत्रवटा मैनबत्तीहरु बलिरहेका छन् । हामी सबै सामूहिक रुपमा पत्र वाचन गरिरहेका हुन्छौँ । 
“हामी सत्र जना मध्ये .....
म. परिवर्तना        हिमाली क्षेत्रमा
म. शोभना        पश्चिम क्षेत्रमा
म. जमानसिंह        उत्तर क्षेत्रमा
म. पासाङ        दक्षिण क्षेत्रमा
म. सलीम         पूर्व क्षेत्रमा
म. स्वजन        तराई क्षेत्रमा
म. आयुष्मा        पहाडी क्षेत्रमा
म. सौन्दर्या         सहरी क्षेत्रमा 
म. सौरभ        विदेश क्षेत्रमा
म. दीपा        विदेश क्षेत्रमा
म. सिम्मा        विदेश क्षेत्रमा
म. बलवीर         पहाडी क्षेत्रमा
म. लक्ष्मणिया        तराई क्षेत्रमा
म. यावा         हिमाली क्षेत्रमा
म. हाङमा        पश्चिम क्षेत्रमा
म. जोन्सन        पूर्व क्षेत्रमा
म. मजबुल        उत्तर क्षेत्रमा 
हामी आफ्नै स्वेच्छाले तयार पारेको दायित्वबोध र दायित्व निर्वाहको ७७७ दिनको प्रतिबद्धता अभियानमा निरन्तर लागिरहने प्रण गर्दछौँ । 
सो अभियानमा – हामी अज्ञानताका विरmद्ध चेतना फैलाउने कार्यहरु, 
गरिबीका विरmद्ध गरिबी निवारण कार्यहरु,
अन्यायका विरmद्ध न्याय दिलाउने कार्यहरु, 
स्वास्थ्यप्रद वातावरण, जलवायु निर्माण एवम् जङ्गली प्राणीहरुको संरक्षण, सम्बर्धन गर्ने कार्यहरु,
असल सरकार र नयाँ न्यायिक सत्ताका लागि नयाँ स्वच्छ संगठन निर्माणका कार्यहरु,
एवम्
सम्पूर्ण मानवजातिको सर्वोत्तम उचाइ प्राप्तिका लागि गरिने सम्पूर्ण कार्यहरुमा निरन्तर सक्रिय भई लाग्नेछौँ र अरुहरुलाई पनि लाग्न अभिप्रेरित गर्नेछौँ र एउटा उन्नत सर्वोत्तम समाजको निर्माणका लागि जीवन समर्पण गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गर्छौं ।”
सबैजनाले हस्ताक्षर गर्छन् । तालीले त्यो हल गुञ्जायमान हुन्छ । तस्वीरहरु खिचिन्छन् । सबैले सबैसँग हात मिलाउँछन्, अङ्कमाल गर्छन् । सफलताका लागि शुभकामना आदानप्रदान गर्छन् । सबैले मुठ्ठी कसेर आफ्नो दाहिने हात माथि उठाउँछन् । पुनः गोलाकारमा उभिन्छन् । सबै सत्रवटा हातहरु एकै ठाउँ जम्मा हुन्छन् र दरिलो गरि एकआपसमा कसाकस गर्छन् । सबै हातहरुले एउटा गोलाकार भाँडो माथि उचाल्छन् । तीनपल्ट त्यो भाँडोलाई माथि तल उचालिसकेपछि त्यो भाँडोलाई टेबुलामा राख्दछन् । भाँडोको वरिपरी ‘दायित्वबोध’ भन्ने लेखिएको हुन्छ । 
भाँडोबाट सबैले एकएकवटा धातुले बनेको ‘किरिङ’ निकाल्छन् । किरिङमा ‘दायित्वबोध’ कुँदिएको हुन्छ । किरिङ चुमेर सबैले खल्तीमा राख्छन् । उत्सवको मुख्य भागको समापन हुन्छ । 
सबै बेलुकीको खाना खान्छन् । खाना खाएर उनीहरु सबैले ‘दयालु’ ले रचेको ‘दायित्वबोध गीत’ गाउँछन् । गीत यति मनमोहक, मिठासपूर्ण र जोसपूर्ण हुन्छ कि सबै जना गीतको तालमा मुठ्ठी उठाउँदै मज्जा लिई नाच्छन् । रमाइलो मान्छन् । कार्यभूमिमा जानका निम्ति आफूभित्र उत्साह, उमङ्ग र जोसको सञ्चय, सञ्चार र अनुभूति गर्छन् । 
“७७७ दिनपछि फेरि भेटेर एक आपसमा आफ्ना अनुभवहरु बाँडचुँड गरौँला । बिदा ।” सबैजना आफ्नो–आफ्नो गन्तव्यतर्फ जान्छन् । 


कार्यक्षेत्र


म बसको यात्रापछि नौ दिनसम्म पैदल हिँडेर हिमाली क्षेत्रको अति दुर्गम ठाउँ पुग्छु । सर्वोच्च शिखर चोमोलोङ्मा आँखा अगाडि उभिएझैँ देखिन्छ । हिमालहरुको हिमश्रृङ्खला हात अगाडि फैलाइयो भने छुन सकिन्छ जस्तै लाग्छ । आफ्नै मुलुकभित्र विश्वमै अभूतपूर्व अतुलनीय हिमाली सौन्दर्य हेर्दा म यति धेरै आत्मविभोर हुन्छु कि सोच्न पुग्छु— “यो ठाउँ नआई नै म मरेको भए यस्तो सौन्दर्य–दर्शन र सौन्दर्यबोधबाट म वञ्चित हुने थिएँ । मेरो सौभाग्यले यस्तो रमणीय स्थानमा आइपुगेछु । मेरो यो जन्म केही अंशमै भए पनि सार्थक भएको छ ।”
अहो,.... म भावनामा बग्न थालेछु । भावनाले पेट भरिँदैन । जो मानिसहरु यही हिमालको फेदीमा जन्मेका छन् र आजीवन बसोबास गरिरहनेछन्, हिमाली सौन्दर्यले उनीहरुको भौतिक उन्नति भएको छ ? असह्य गरिबी र अज्ञानताले उनीहरुलाई खप्लक्कै निलेको छ । उनीहरुको उन्नति कसरी गर्न सकिन्छ ? हामीसित भएको कुराहरुको महत्त्व र उपयोग गर्ने तरिका हामीलाई थाहा छैन । नभएको कुरा खोजेर हिँड्छौँ । आफूसित भएको कुराहरु तिरष्कार गर्छौं । के यही हिमाली सौन्दर्यलाई आय आर्जनको स्रोत बनाएर उन्नति गर्न सकिन्न ? 
म आउन त आएँ । कसरी आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्ने ? गैर सरकारी संस्थाले जस्तो मसँग कुनै आयोजना, कोष र साधनहरु थिएनन् । म एक्ली विशाल हिमाली क्षेत्रमा कहाँ कहाँ हराउन सक्छु । मेरो सत्प्रयास एक्लो, एकल्काटे र जनताबीच पुग्न नसक्ने भयो भने निरर्थक हुनेछ । अर्थपूर्ण, प्रभावकारी र फलदायक बनाउनका लागि मैले गर्ने कार्यहरुलाई मैले व्यवस्थित गर्न जरmरी थियो । छलफल गर्ने साथी छैन । प्रतिबद्धता अनुसार कार्य थाल्नै पर्ने भएको छ । मेरो स्वर्णिम युवा अवधि मानव उन्नतिका लागि अर्पण गर्ने प्रतिबद्धतालाई सार्थक बनाउनु पर्नेछ । 
हिमाली क्षेत्रको पश्चिततर्फ यावा जानुभएको छ । उहाँले कसरी काम थाल्नुहोला ? सर–सल्लाह गर्न पाए असल हुन्थ्यो तर त्यो सम्भव थिएन । म एक्लैले कार्य योजना बनाउनुपर्ने थियो र त्यसलाई उपलब्धिमूलक ढङ्गले कार्यान्वयन गर्नु थियो । मेरो कार्य गराईमा त्रुटि भयो भने मेरो परिश्रम निरर्थक हुनु सम्भव थियो । धैर्यका साथ काम थाल्नु जरmरी थियो । 
सम्पूर्ण पूर्व हिमाली क्षेत्रलाई म मनमनै पाँचवटा कार्यक्षेत्ररुमा विभाजन गर्छु । ती क्षेत्रहरुमा एकएकवटा सम्पर्क केन्द्र बनाउने निधो गर्छु । एउटा बत्तीले अर्को बत्तीलाई सल्काएझैँ म एक जनाले त्यो हजारौँ समाजसेवी, स्वयंसेवी वा चेतनावाहक कार्यकर्ताहरु जन्माउन सकेँ भने मात्र मेरो प्रतिबद्धता पूरा हुन सक्छ । कल्पना र योजनामा मात्र सीमित भएर मैले बस्नु हुँदैन । कार्य थालिहाल्नुपर्छ । 
म केही प्रमुख गाउँहरु घुम्छु । ती गाउँहरुको शिक्षित र चल्तापुर्जा मानिसहरुसँग त्यो ठाउँमा रहेको हरेक प्रकारका सम्भावनाहरु बारे चर्चा गर्छु । कुन ठाउँमा के को सम्भावना छ ? कसरी शिक्षा र चेतनाको आलोक फैलाउन सकिन्छ ? गरिबी निवारणका लागि कस्तो वैकल्पिक आयस्रोतहरुको विकास गर्न सकिन्छ ? वातावरण र जीवजन्तुको संरक्षण कसरी गर्न सकिएला ? मानिसहरुले कस्तो प्रकारको थिचोमिचो भोगिरहेका छन् ? सरकारबाट कसरी उनीहरुले बढीभन्दा बढी लाभदायक उपलब्धि, सेवा, सुरक्षा हासिल गर्न सक्तछन् ? प्रश्नहरुको लामो सूची तयार गर्छु । 

“पेम्बाजी, सल्लेरी, झ्याल्से, फाफ्लू, नाम्चेमध्ये कुन ठाउँमा छलफल, भेटघाट कार्यक्रम राख्दा उपयुक्त होला ?”
“यी ठाउँहरुको बीचको गाउँमा एउटा ठूलो गुम्बा छ । त्यहाँ ५०÷६० जना मान्छेहरु अटाउन सक्छन् । त्यो ठाउँ उपयुक्त छ ।”
“त्यसो भए यो क्षेत्रका ४०÷५० जना मान्छेहरुलाई त्यही गुम्बामा भेला गर्दा कसो होला ?”
“हुन्छ, तर समय सबैलाई अनुकूल हुनुपर्छ । बिहानको खाना खाएर आउने अनि २÷३ घण्टाको छलफलपछि बेलुकी घरमै फर्किन सकिने हुनुपर्छ ।” 
“ठीक भन्नुभयो, कार्यक्रम दुई–अढाई घण्टाको मात्र हुनेछ । दोर्जे, दावा, धनबहादुर, मानधोज, सृजना .... सबैलाई बोलाउनुपर्छ ।”
भेला हुने निश्चित भइसकेपछि कामको थालनी हुने भएकोमा म सन्तोषको श्वास फेर्छु । 


“अर्काको मुख ताकेर केही हुन्न । आफूसित भएको साधन, स्रोत र शक्तिलाई हामी अवमूल्यन गर्छौं । आफू सधैँ हीनताग्रस्त बनेर ‘म केही गर्न सक्तिनँ’ भन्ने आभास गरिरहन्छौँ । त्यसबाट मुक्त हुनका लागि आफूसित भएको सीमित स्रोध, साधन र शक्तिलाई उपयुक्त किसिमले परिचालन गर्न जरmरी हुन्छ....” म भनिरहेको हुन्छु । 
“कुरो बुझिएन । बुझिने भाषामा भन्नोस् ।” दोर्जे भन्छन् । 
म वास्तविकता बोध गर्छु । म शिक्षित सहरिया युवाहरु माझ छैन । म सोझा, सीधा, कम चेतनशील ग्रामीण मान्छेहरु बीचमा छु । म आफ्नो कुरालाई फेरि दोहो¥याउँछु, “हामीसित भएको खेत, बारी, घर, घडेरी र अरु कुराहरुलाई हामी थोरै र काम नलाग्ने सम्झन्छौँ । हामी यत्ति सुन्दर ठाउँमा बसिरहेका छौँ कि यो ठाउँलाई अझ राम्रो बनाएर हामी पैसा कमाउन सक्छौँ । स्कूल खोलेर नानीहरु पढाउन सक्छौँ...।”
“कसले पढाउँछ ? गोठालामा अनि को जान्छ ?” सृजना प्रश्न गर्छिन् । 
“बिहान या बेलुकी एक समय पढाउँदा त होला ।” अर्का एक जना जवाफ दिन्छन् । 
“पढाएर के गर्नु ? काम पाउने होइनन् ।” फेरि अर्को प्रश्न आउँछ । 
“पढ्नु भनेको काम पाउनकै लागि मात्र होइन । पढ्नु, शिक्षा हासिल गर्नु भनेको कुरा जान्ने, बुझ्ने र अरुलाई बुझाउन सक्ने हुनु हो । राम्रो के ? नराम्रो के ? थाहा पाउनका लागि पनि हो, आफूभित्र चेतनाको विकास गर्नु हो ।” पेम्बा स्पष्ट पार्छन् । 
“स्कूल नभएको ठाउँमा स्कूल खोल्नुपर्छ होला ।” धनबहादुर भन्छन् । “तर पढाउने मास्टर कहाँबाट ल्याउने ?”
“त्यो काम गाउँका केही पढेका युवाहरुले नै गर्नुपर्छ ।” धनबहादुरसँग आएकी शोभा भन्छिन् । 
“हाम्रा आफ्ना गाउँहरुमा के गर्न सकिन्छ ? खेतीमा राम्रो आम्दानी कसरी ल्याउन सकिन्छ ? पशुपालनमा सुधार कसरी ल्याउने ? कस्तूरी मृग पालन सम्भव छ, छैन ? जडीबुटी खेती पनि असम्भव छैन आदि.... आदि.....।”
“................. ”
प्रायः सबैले आफ्ना विचारहरु प्रस्तुत गर्छन् । गाउँ, परिवार, व्यक्ति र समाज उत्थानका लागि आफ्नाआफ्ना गाउँमा विभिन्न समूहहरु बनाउने, आयोजनाहरु सञ्चालन गर्ने र हप्ताहप्तामा समूहहरुले आफूले भोगिरहेको समस्याको हल गर्न छलफल गर्ने, सबै सक्रिय हुने, सबैलाई जागरmक बनाएर कुनै न कुनै समूहमा आबद्ध गर्ने, समूह ३ देखि ३७ जनासम्मको बनाउन सकिने र समूहहरुबीच सामूहिक छलफल, साझा कार्यको अवधारणा विकास गरी सामुदायिक प्रयत्न गर्ने, सामुदायिक वन रोप्ने कुराहरु निर्णय हुन्छन् । 
एउटा बत्तीले थुप्रै बत्तीहरु बाल्न सक्ने सम्भावनाहरु देखिन्छन् । कुरा ठूलाठूला भन्यो, “यो गर्ने, त्यो गर्ने” भन्ने प्रस्ताव निर्णयहरु ग¥यो तर व्यवहारमा लागू नगर्ने परम्परागत परिपाटी छ । त्यसलाई अन्त गर्न के गर्न सकिएला ? बेलाबेला भेला भएर त्यस विषयमा, के कति प्रगति भइरहेको छ भन्ने बारेमा छलफल गरी पुनः उत्साह प्राप्त गरेर अगाडि बढ्न यस्तै भेलाहरुको आयोजना गर्नुपर्ने निर्णय गर्दै छलफल तीन घण्टाभन्दा अगाडि नै टुङ्गिन्छ । 



कार्य सम्पादन

७७७ किमती दिनहरु । मानव सेवामा समर्पित ती दिनहरुमध्ये आधा दिनहरु बितिसकेका छन् । मलाई लाग्छ, हाम्रो प्रतिबद्धता अनुसार वाञ्छित परिणाम प्राप्त भइरहेको छैन । म आफ्नो कार्यक्षेत्रको सबै गाउँहरुमा जान्छु, हेर्छु, बुझ्छु । काम त भइरहेको छ तर केके अपुग भएर काम दु्रततर गतिले भइरहेको छैन । उपलब्धिमूलक ढङ्गले बढिरहेको छैन । अधुरो, अपुरो, प्राणहीन, सुस्त, मान्छेको निर्जीव मूर्तिजस्तो भएको छ । केको कमी भयो ? 
चौरींपालन हेर्दा त राम्रै देखिन्छ । दूध र दूधबाट बन्ने दुग्धपदार्थहरु बनिरहेका छन् । चिज, नौनी, छुर्पी आदि दुग्धपदार्थहरु बेच्दा जति आम्दानी हुनुपर्ने हो, त्यति भइरहेको छैन । बजारको समस्या हो कि चौरींपालन, दुग्धपदार्थ उत्पादनमा आधुनिक प्रविधिको अभाव ? 
कस्तूरी–मृग पालन गरेर ‘बिना’ बिक्री गर्न सकिन्छ । अन्तर्राष्ट्रिय बजार पनि छ रे । चीनलगायत अन्य देशहरुमा मृगको निश्चित समयसमयमा अप्रेसन गरेर ‘बिना’ झिकिन्छ रे । त्यो प्रविधि बुझ्न राजधानीको कृषि कार्यालय नै जानुपर्ने भएको छ । 
भेडाबाख्रा पालन पनि सन्तोषजनक छैन । न्युजील्याण्डले भेडापालनबाट अन्तर्राष्ट्रिय बजारमा ऊन आपूर्ति गरेर धेरै विदेशी मुद्रा कमाउँछ । नेपालले त्यस्तो धेरै विदेशी मुद्रा आर्जन गर्न नसके पनि आयात प्रतिस्थापन गरेर विदेशी मुद्रा जोगाउन सक्छ । 
जडीबुटी खेतीमध्ये चिराइतो, पाँचऔँले, बिमुखा र अन्य जडीबुटी खेती कसरी थाल्ने होला ? यार्चागुम्बुको खेती कसरी हुन सक्छ, सक्दैन ? मौरीपालन सम्भव छ, छैन ? हिमाली क्षेत्रमा हुन सक्ने अन्य आयमूलक पेसाहरु केके हुन सक्छन् ? बाह्रै महिना हिउँले ढाकिने हिमालका फेदीहरुमा स्केटिङ्ग व्यावसायिक रुपमा विकास गर्न सकिएला ? यो हिमाली क्षेत्रको प्राकृतिक सुन्दरतालाई आय आर्जनको प्रमुख स्रोत बनाउन सकिन्न ? पर्यटकीय व्यवसायहरु, रिसोर्ट, उच्च हिमाली भागमा दर्शनीय चिडियाखाना, बोटानिकल गार्डेन आदि थुप्रै कुराहरु गर्न सम्भव छ ? डाँफे, मुनाल, भ्याकुर, च्याखुरा आदि पंक्षीहरु लोपोन्मुख छन्, संरक्षण गर्न सकिएमा त्यो पनि ठूलै कार्य हुनेछ । जङ्गली प्राणीहरु हिउँ भालु, चितुवा, बाघ आदि पनि त्यति नै महत्त्वका छन् । एकपल्ट राजधानी जानै पर्छ होला । म यस्तै कुराहरु सोचिरहेका बेला पेम्बा र फूलमाया आइपुग्छन् । 
“के सोच्तै बसिरहनुभएको छ ?” अभिवादनको आदानप्रदानपछि पेम्बा सोध्छन् । 
“के सोच्नु र ! हामीले जुन विभिन्न कामहरु थाल्यौँ, किन राम्ररी प्रगति हुन सकेको छैन ।”
“प्रगति हुन नसक्नुका थुप्रै कारणहरु छन् । सडक छैन, बिजुली छैन, विकासका पूर्वाधारहरु छैनन् । सरकारले विकासमा ध्यान दिएको छैन । शान्ति, सुव्यवस्था र सुरक्षा छैन । रेडियो सुन्दा लाग्छ मानिसहरु नेपालमा मर्नकै लागि जन्मिरहेका छन् ।” फूलमाया भन्छिन् । “कोही बाढी पहिरो, कोही अनिकाल, रोग, साम्प्रदायिक दङ्गा, दोहोरो भिडन्त, अनेकौँ शस्त्रधारी समूहहरुद्वारा मारिएका छन् । अपहरणमा परेका छन् । दिनहुँ मान्छे मरेका छन् । गौरकाण्ड, कपिलवस्तुकाण्ड, मधेशकाण्ड, राजधानीमै श्रृंखलाबद्ध बम बिस्फोट, मान्छे मरेका मरेकै छन् । अन्योलग्रस्त राजनैतिक वातावरण आदि थुप्रै कारणहरु छन् ।”
“आहाँ.....! फूलमायाको चेतनाको स्तर त धेरै माथि पो रहेछ ।” म मनमनै सोच्छु तर प्रत्यक्ष रुपमा चाहिँ भन्छु, “मुलुकको स्थिति यस्तै छ, भएता पनि अकर्मण्य भएर बस्नु हुँदैन । एक पटक हामी केही एक दुईजना राजधानी गएर आवश्यक परामर्श, सहयोग र सामग्रीहरुबारे जानकारी प्राप्त गर्न सरकार, विशेषज्ञ र सम्बन्धित क्षेत्र, संघ, संस्था र व्यक्तिहरुसँग सम्पर्क राखौँ ।”
“को को जाने त ? सर्वदलीय, सर्वपक्षीय प्रतिनिधि टोली बनाएर जाने कि हामी मात्रै ?” पेम्बा सोध्छनु । 
“अहिले सर्वदलीय टोलीको केही काम छैन । सबैको आँखा चुनावमा केन्द्रित छ ।” – फूलमाया । 
“उसो भए हामी तीनजना जाऊँ ।” म भन्छु । 
“हुन्छ ।” पेम्बा र फूलमाया राजी हुन्छन् । 



धेरै समयपछि सहर पुग्दा रमाइलो लाग्छ । सहरमा कसकसलाई, कुनकुन संस्था र सरकार को को व्यक्तिहरुलाई भेट्ने बारे हामी तीन जनाले मोटामोटी रुपमा छलफल गरिसकेका थियौँ । त्यसअनुसार हामी सबैभन्दा पहिला कृषि विकास तथा अनुसन्धानको केन्द्रीय कार्यालय जान्छौँ । केन्द्रीय कार्यालयमा कार्यालय प्रमुखलाई बल्लतल्ल निकै बेर कुरेर भेट्छौँ । उनले हामीलाई राम्ररी नियालेर हेरे, कस्ता किसिमका मान्छेहरु हुन् ? बुझे हामीबाट उनलाई कुनै नोक्सान हुँदैन, फाइदा पनि हुँदैन । उनी हाम्रो कुरा ध्यान दिएर सुन्दैनन् । अर्को कृषि अधिकृत र विशेषज्ञहरुलाई भेट्ने सुझाव दिएर फाइल हेर्नमा व्यस्त भएको जस्तो स्वाङ पार्छन् । हाम्रो पहिलो भेट उत्साहजनक भएन । 
हामी कृषि विशेषज्ञहरुलाई भेटेर हामीले भोगिराखेका विविध समस्याहरुको समाधान सोध्छौँ । कृषि विशेषज्ञ कैयौँ विषयहरुमा अन्ट र सन्ट सल्लाह दिन्छन् भने हामीले सोधेका प्रमुख प्रश्नहरुमा आफ्नो असमर्थता जनाउँछन् । हाम्रो कैयौँ कृषिसम्बन्धी आयोजना र प्रस्तावहरुलाई त उनी ‘युटोपिया’ भनेर हाँसेर समेत उडाउँछन् । कृषि विकासको ठेक्का लिएकाहरुको चालढाल यस्तो देखेर हाम्रो उत्साहमा पानी फेरिन्छ । 
फूलमाया— “खोइ, राम्रो परिणाम निस्केला जस्तो लाग्दैन ।”
पेम्बा— “आइहालियो, अरुलाई पनि भेटिहालौँ ।” 
म पनि यति दुःख गरेर आइसकेपछि अरुलाई पनि भेट्ने विचारमा हुन्छु । कैयौँ दिन कुरेर कृषि मन्त्री, यातायात र अन्य मन्त्रीहरुलाई भेट्छौँ । भेट्नु के मन्त्रीको संक्षिप्त भाषण सुन्छौँ— “अहिले मुलुक अग्रगमनतिर लाग्दै छ । संविधानसभाले मुलुकको राजनैतिक, आर्थिक र सामाजिक संरचनामा परिवर्तन हुँदै छ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत तयार गर्नुहोस् । संविधानसभापछि सबै समस्याहरु ‘छु मन्तर’ हुनेछन् । सबै समस्याहरुको समाधान संविधानसभाको चुनाव हो ।”
सहर आउनुको प्रयोजन समाप्त भइसकेको छ । फूलमाया र पेम्बा निराश छन् । “यो मुलुकमा राम्रो काम गर्न सकिएला ?” सोधिरहेका छन् । “जेजस्तो परिस्थिति होस्, युवाहरुले हिम्मत हार्नु हुँदैन ।” म भन्छु । तर भित्रभित्रै भने म पनि जर्जर भइरहेकी हुन्छु । आइहालियो अरु साथीहरुको के कस्तो हालखबर छ बुझ्नुप¥यो भनेर म सौन्दर्यालाई भेट्न जान्छु । 


“अहो, परी ! आऊँ, आऊँ । के छ तिम्रो हालचाल ?” सौन्दर्या स्वागत गर्दै मलाई भन्छिन् । 
“म सबै बेलीविस्तार सुनाउनेछु नै । बरm तिमी र अरु साथीहरुको के खबर छ ?” म सोध्छु । 
“खबरहरु सुखद् छैनन् तापनि निराशामा युवाहरु डुबे भने देश डुब्छ । यत्ति मात्र म अहिले भन्छु ।” सौन्दर्या भन्छिन्— “परी, पहिला तिम्रो बेलीविस्तार सुनाऊ ।”
म राजधानी आउनाका कारण र भएको प्रगति सबै कुरा सुनाउँछु र सोध्छु, “साथीहरुबारे के खबर छ ?” 
“पहिला दुःखद् सुन्छौ कि सुखद् ?”
“जुन मन लाग्छ त्यही सुनाऊ ।”
“त्यसो भए पहिला सुखद् सुन । सुखद् अनुभूति भइरहेका बेला दुःखद् खबर सुन्दा पनि धैर्य धारण गर्न सकिन्छ । विदेशबाट सुरm गरौँ । सौरभ साउदी अरेबिया पुगेका छन्, त्यहाँ कम्पनीहरुद्वारा विदेशी मजजुरहरुलाई न्यून ज्याला दिएर बढी घण्टा काम लगाइरहेकामा सौरभले मजदुरहरुलाई संगठित गरेर ‘उचित ज्याला र कामको उचित समय’ माग राखी ‘काम बन्द र धर्ना’ गरेछन् । त्यसले कम्पनीहरुलाई ठूलै दबाब प¥यो । न्यूनतम् ज्याला र कामको समय तोकियो । त्यहाँका मन्त्री आएर हाम्रो देशका मन्त्रीसँग श्रम सम्झौता गरेको कुरा त थाहा पाएकी नै हौली ।”
“कहाँ थाहा पाउनु ? रेडियो म बसेको क्षेत्रमा सुनिँदैन नै ।”
“रेडियोबाट थाहा नपाएको भए पनि विदेशी मजदुरहरुलाई सौरभको कामले फाइदा नै भएको छ । त्यहाँबाट उनले हाम्रो कामको निरन्तरताका लागि भनेर केही रकम पनि पठाएका छन् । तिमीलाई आवश्यक छ भने केही रकम लैजान सक्छ्यौ ।”
“त्यसबारे पछि सल्लाह गरौँला । अरु खबरहरु सुनाउँदै जाऊ ।”
“दीपा अमेरिका र प्रदीप्ता हङ्कङ पुगेका छन् । विचित्रको देश रहेछ अमेरिका । दीपाले फोनमा भनेकी थिइन् । अरुहरु मुलुकको निर्दिष्ट ठाउँहरुमा कार्यरत छन् र उनीहरुको अनुभव पनि धेर थोर तिम्रो जस्तै छ ।”
“अब दुःखद् खबर पनि सुनाऊ ।”
“जरmर सुनाउनेछु । मानवचोला मूल्यवान भएर पनि क्षणभङ्गुर छ । आफ्नो इच्छामुताबिक कोही पनि बाँच्न नसकिने रहेछ । वर्तमान नेपालको अवस्था त यति जटिल छ कि को, कतिबेला, कहाँ, कसरी मारिन सक्छ, भन्नै नसिकने अवस्था छ । हाम्रा महान् साथीहरु पनि त्यसरी नै अनाहकमा मारिएका छन् । रुपन्देहीमा लक्ष्मणीया र संविधानसभाको पक्षमा प्रचार ग¥यो भनेर पूर्वी मधेशमा स्वजन मारिएका छन् । शहीद भएका छन् ....”
के सुन्दै छु ? विश्वास गरुँ कि नगरुँ ? मलाई छातीमा एक मनको घनले हिर्काएझैँ हुन्छ । म अत्यन्त अग्लो छाँगाबाट खस्छु ..... निकैबेर पछि मात्र म डाँको छोडेर रmन सक्छ, “ओ, स्वजन, मेरो प्यारो स्वजन ....! लक्ष्मणिया, प्यारी साथी लक्ष्मणिया .....!”


मेरो मन रोइरहेको हुन्छ । ममा व्याप्त उदासीपन हटाउन पेम्बा र फूलमाया प्रयत्नशील छन् । पेम्बा भन्छ, “जो भइसक्यो, भइसक्यो । त्यो हाम्रो खटनमा छैन । बरm हिँड्नोस् ‘माउन्टेनरिङ्ग इन्स्टिच्युट’ मा मेरा मामा हुनुहुन्छ । उहाँहरुको इन्स्टिच्युट हेरेर हिमाल चढाइ र हिमाल बारे निकै रमाइलो जानकारी प्राप्त हुन्छ ।”
शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने कुरा मैले पनि धेरै पल्ट सुनेकी थिएँ । शोकमा मक्किएर आफू तुरिनु, सकिनुभन्दा त्यो इन्स्टिच्युट हेरेर केही नयाँ अनुभव र ज्ञान आर्जन गर्नु उपयुक्त नै होला भन्ने ठानेर हामी त्यो इन्स्टिच्युट हेर्न जान्छौँ । 
हिमालका नक्साहरु, हिमाल चढ्ने उपकरणहरुले सजिसजाउ त्यो इन्स्टिच्युट हेर्दा हिमालप्रति मानिसहरुको आकर्षण बढ्नु स्वाभाविक थियो । ‘हिमाल चढ्न पाए त’ भन्ने भाव मभित्र पनि जाग्छ । तर म र हिमाल चढ्ने कल्पना मेरो निम्ति स्वैरकल्पना मात्रै हुन जान्छ । यस्तै सोचिरहेका बेला इन्स्टिच्युटका प्रमुख दा छिरिङ आइपुग्छन् । हाम्रो परिचय हुन्छ । ‘समाजसेवी, उत्साही आदि’ अनेक फुर्का जोडेर पेम्बाले मेरो परिचय दिएका हुन्छन् । 
हामी र हिमाल, हिमाल चढ्ने उपकरणहरु, तरिका र अन्य त्यसै विषयमा रमाइलो वातावरणमा करिब एक डेढ घण्टा कुराकानी गर्छौं । कुराको प्रसङ्गमा “म पनि हिमाल चढ्न सक्छु ?” म लजाउँदै सोध्छु । 
“किन नसक्नु ? तपाईं स्वस्थ हुनुहुन्छ, युवा हुनुहुन्छ । तालिम गरेर आत्मनिर्णय गर्नुभयो भने तपाईं अवश्य चढ्न सक्नुहुन्छ ।” दा छिरिङ भन्छन् । 
“म तालिम लिएर हिमाल चढ्न चाहन्छु ।”
“हुन्छ । यो सिजन त सकियो । तपाईं अर्को लटमा आउनुहोला । तालिम लिन कति समय लाग्छ ? खर्च कति लाग्छ ? हिमाल चढ्न के के गर्नुपर्छ ? आदि विषयहरु बुझेर तपाईं एउटा आवेदन फारम भरेर जानुहोला । अर्को वर्ष तालिम सकेर योग्य ठहरिनुभयो भने तपाईं पर्वतारोही टोलीमा सम्मिलित हुन सक्नुहुनेछ ।” दा छिरिङ भन्छन् । 


खास उद्देश्य लिएर राजधानी गएका हामीहरुको उद्देश्य पूरा नभए पनि सौन्दर्यासित भेटेर सुखदु दुःखद् कुराहरु थाहा पाइए । स्वजन र लक्ष्मणियाको हत्याको अत्यन्त करmणाजनक खबर सुनेर दुःखी भएकी मलाई हिमाल चढ्ने कुराले भने निकै उत्साही बनाएको छ । हामी फर्केर फेरि आफ्नो गाउँमा चलिरहेको स्कूल, पशुपालन, जडिबुटी खेती र अन्य कामहरु व्यवस्थित गर्ने प्रयत्न गर्छौं । हामी समूहसमूहमा बाँडिएर विविध विषयहरुमा छलफल गरिरहेका हुन्छौँ तापनि हामी अगाडि बढ्ने निश्चित कार्ययोजना वा ‘रोडम्याप’ नभएर कुइरोको कागझैँ भइरहेका हुन्छौँ । 
“हामीले गरिरहेका काम किन सन्तोषजनक ढङ्गले अगाडि बढिरहेका छैनन् ?” म पेम्बा, फूलमाया, धनबहादुर, पासाङ लगायत अगुवा साथीहरुलाई जमघट गराएर सोध्छु । 
“यस विषयमा हामी पनि सोचिरहेका छौँ । सायद हाम्रो प्रयत्न परिणाममूलक हुन नसक्नुमा हाम्रो प्रयत्न विकासको लामो श्रृङ्खलामा आबद्ध हुन नसक्नु होला कि !”
“कुनै पनि उद्योग, व्यापार, पेसा, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरुको विकास एकलौटी रुपमा एक्लै एकल्काँटे रुपमा हुन सम्भव छैन । सम्पूर्ण विकासको श्रृृङ्खलाहरु एक साथ विकसित हुन्छन् । हाम्रो चौंरीपालन, जडीबुटी खेतीको विकास हुन नसक्नुमा बजारको अभाव, बजारसम्म पुग्ने यातायातको अभाव, संचार र सूचनाको अभावमा हाम्रा उत्पादनहरु उपभोक्ताहरुसम्म पुग्न नसक्नु आदि त छँदै छ । सबैभन्दा महत्त्वपूर्ण कुरा राज्यको नीति हो । राज्यसँग यी हाम्रा व्यवसायहरुको विकास गर्ने नीति छैन साथै पछाडि परेका क्षेत्र र जनतालाई अगाडि बढाउने सरकारको नीति नभएर हामी असफल भइरहेका छौँ ।” फूलमाया भनिरहेकी हुन्छिन् । 
हो, फूलमायाले भनेको कुरा ठीक हो । सरकार वा राज्यले नचाहेसम्म पिछडिएको क्षेत्र र जनताको विकास सम्भव छैन । राज्यको संरक्षण नपाई निजी क्षेत्रले मात्र केही गर्न सम्भव छैन । राज्य सामन्ती संरचनाले ग्रसित छ । भूमण्डलीकरण, औद्योगिकीकरण, आधुनिकीकरण आदि ‘हाई–साउन्डीङ्ग” कुराहरु सरकारले गरिरहेको भएपनि सरकारसित राष्ट्र, जनता र विकाससम्बन्धी कुनै सोच र नीति छैन । यसैकारण हामीले थालेका सबै कामहरु अधुरा, अपुरा र उपलब्धिमूलक हुन नसकेका होलान्— म मनमनै सोच्छु । मुख्य कुरा त सरकार रहेछ । सरकार भन्नेबित्तिकै राज्यसत्ताको कुरा आयो । राज्यसत्ता— कुन प्रकारको राज्य सत्ता ? राज्य सत्ता, राजनीति । राजनीति पो सर्वोपरी देखियो । राजनीति ठीक नभएसम्म कुनै पनि क्षेत्र ठीक तरहले अगाडि बढ्न नसक्ने रहेछ । 
मुलुकमा कुनै एक जना मात्र पनि नागरिक अशिक्षित छ, कुनै एकजनाले मात्र पनि ज्ञानको उज्यालोबाट वञ्चित हुनु प¥यो भने त्यो देशको निधारमा कालो कलङ्क हुनेछ । मुलुकको कुनै एक जना मात्र पनि नागरिक भोको छ, कुनै एकजनाले मात्र पनि कुपोषणको सिकार हुनुप¥यो भने त्यो देशको विवेकमाथि कालो कलङ्क हुनेछ । 


म मेरो डायरीका पानाहरु पल्टाउँछु । १, २, ३...... १००, १०१ ....... गर्दै ७०१ ..... ७०६ दिन बितिसकेका छन् । १. प्रतिबद्धताको पहिलो दिन, कार्यक्षेत्रतर्फ यात्रा प्रारम्भ । २. प्रतिबद्धताको दोस्रो दिन, बसको यात्रा । ३. तेस्रो दिन, पैदल यात्रा प्रारम्भ । ४. चौथो दिन .... एवम् प्रकारले ५, ६, ७ ...... ७७७ औँ दिन, कामहरुको अवलोकन, मूल्याङ्कन र भोलि साथीहरुबाट बिदाइ समारोह । ७७८ औँ दिन, म फर्कंदै छु । आफ्नो प्रतिबद्धताका ७७७ दिनहरु बिताएर म फर्कंदै छु । यी दिनहरुमा मैले नेपाली जनताको जीवन देखेकी छु, भोेगेकी छु । हिमाली क्षेत्रमा आकर्षणहरु, सम्भावनाहरु, समस्याहरु र समाधानका उपायहरु बारे एक्लै र साथीहरुसँग थुप्रै थुप्रै छलफल गरेकी छु । यो मेरो आफ्नो निजी जीवनको लागि पनि उपलब्धिमूलक नै रहेको छ । सहरको कुनै एउटा साँघुरो कोठामा किताबी ज्ञानको कुरामा भुलिएर, मनोञ्जन नै जीवनको प्रमुख ध्येय हो भन्ने भ्रममा परेर दिनहरु बिताउनुभन्दा यो दुर्गम क्षेत्रका ग्रामीण जीवन भोगेर अनुभव गर्नु मेरो निम्ति अत्यन्त फाइदाकारी भएको छ । 
सहरी वतावरणले मभित्र उब्जाएको मानसिक सङ्कीर्णता, नितान्त व्यक्तिवादी संस्कार, स्वार्थी प्रवृति, उपभोक्तावादी प्रवृति र मभित्र जन्मिएको मनोरञ्जनवादी फोहोरहरु हिमाली दुर्गम क्षेत्रमा बिताएका दिनहरुले पूर्णतया पखालिदिएका छन् । मन स्वच्छ, निर्मल र पवित्र भएको छ । यदि मैले हाम्रो प्रतिबद्धता अनुसार यस क्षेत्रमा सफलता पाएको भए म आजीवन यहीँ बसेर सेवा गर्ने थिएँ । तर म सफल भइनँ र सफलता प्राप्ति गर्नका लागि मैले फेरि सहर फर्किनुपर्ने भएको छ । विभिन्न कार्यक्षेत्रहरुमा गएर ७७७ दिन बिताएर फर्केका १५ जना साथीहरुसँग फेरि मैले छलफल गर्नुपर्ने भयो । विचरा २ जना साथीहरु शहीत भइसके (मन च्वास्स दुख्छ) । प्रतिबद्धता पूरा गर्नका लागि नयाँ किसिमले फेरि काम थाल्नुपर्ने भयो । त्यसैले म फर्कन लागेकी छु । 
प्रायःजसो धेरै साथीहरु हिमालको काखमा रहेको स्कूल छेउको ठूलो चौरमा भेला भइसकेका रहेछन् । म पुग्नासाथ सबैजना अभिवादन गर्छन् । मलाई एउटा कुर्सीमा बसाएर सबैजना बस्छन् । सबैजना भावुक भएका छन् । यहाँ आएर मैले के पाएँ ? ठूलो संख्यामा आत्मीय जनहरु, आत्मीय साथीहरु— पेम्बा, फूलमाया, धनबहादुर, पासाङ, दले, धने, ...... थुप्रै जीवनभरी बिर्सन नसकिने साथीहरु । यस ठाउँमा आएर मैले प्राप्त गरेको अर्को महत्त्वपूर्ण र अतुलनीय कुरा— मनको शान्ति, धैर्यवान्, सहनशील र आशावादी मन । आत्मसन्तुष्टि, निस्वार्थ भावले जनताको सेवा गर्दा प्राप्त हुने आत्मसन्तुष्टि जुन करोडौँ रुपैयाँ खर्च गरेर पनि प्राप्त गर्न सकिँदैन । यहाँ आएर मेरो जीवनको काँचुली नै फेरिएको छ । म पूर्ण रुपले कायापलट भएकी छु । साना मसिना समस्या, पीडा, तनावहरुले मलाई छुन नसक्ने भएकी छु । 
मभित्र जनसेवाको भावना अझ प्रज्वलित भएको छ । मेरो व्यक्तित्व अझ जाज्वल्यवान् भएर मुखरित भएको छ । मैले जीवनको एउटा निश्चित गन्तव्य पाएकी छु । त्यही गन्तव्यतर्फ निरन्तर बढिरहने प्रेरणा पाएकी छु । मेरो जीवनको स्वर्णिम ७७७ महत्त्वपूर्ण दिनहरु बितेको यो क्षेत्र म आजन्म सम्झिरहने छु । 
बिदाइ समारोहमा हुने सामान्य औपचारिकताहरु पूरा भएपछि साथीहरुले मलाई फूलमाला, खादाहरु लगाइदिन्छन् । त्यहाँ जम्मा भएका सबैजनाका हातमा मलाई दिनका लागि थरिथरिका कोसेलीहरु हुन्छन् । म कोसेली बोकेर लैजान नसक्ने कुरा व्यक्त गर्छु र म ती कोसेलीहरु त्यहाँ जम्मा भएका मसिना नानीहरुलाई बाँडिदिन्छु । म पनि भावुक हुन्छु । मैले नचाहँदा नचाहँदै पनि बिछोडको वेदना सहन नसकी मेरो गला अवरुद्ध हुन्छ र आँखाहरु रसाउन थाल्छन् । 
७७८ औँ दिन म बिदा भएर सहर फर्कन्छु । 


यात्रा, यात्रा ! जीवन यात्रा रहेछ । जीवन यात्रामा साथीहरु बन्छन्, छुट्छन् । म बसमा यात्रा गरिरहेकी छु । म बिर्सन चाहेर पनि पेम्बा, फूलमाया, पासाङ, धनबहादुर, च्याङ्बा, कृष्ण, ....... आदि थुप्रैथुप्रै साथीहरुलाई बिर्सन सक्तिनँ । तिनीहरुलाई सम्झँदा मनमा नमीठो लाग्छ । म फेरि तिनीहरुलाई भेट्छु ? म फेरि त्यो ठाउँ फर्कन्छु ? कुनै कुनै ठाउँहरुमा कैयौँपल्ट जानुपर्ने हुन्छ र गइन्छ । तर कैयौँ ठाउँहरुमा भने मुश्किलले एकपल्ट पुगिन्छ, फेरि ‘जाउँ जाउँ’ भन्दाभन्दै पनि त्यहाँ जान–पुग्न सकिँदैन । म फेरि यो ठाउँमा आइपुग्छु या आउँदिनँ, म केही भन्न सक्तिनँ । त्यो हिमाल, हरियो चौर, हिमालको फेदी, मलाई आफ्नै सम्झी माया गर्ने त्यस भेगका मेरा दिदीबहिनीहरु .... सर्वसाधारण, आममान्छेहरु !
आममान्छेको दुःखदायी अवस्था, पीडा र स्थिति मैले प्रत्यक्ष अनुभव गर्न पाएँ । जबसम्म सर्वसाधारण, आममान्छेहरु सुखसित बस्न पाउँदैनन्, देशको मुहार फेरिन्न । राजनीति जबसम्म सर्वसाधारणको हितमा, आममान्छेको पक्षमा हुँदैन, उनीहरुको मुहारमा मुस्कान खेल्न सक्तैन । जबसम्म सर्वसाधारणहरु राजनीति बुझेर राजनीतिमा संलग्न हुँदैनन्, राजनीति जनताको लागि हुँदैन । राजनीति फोहोरी खेल हो भन्ने सामन्ती भनाइ साँचो भइरहन्छ । जब राजनीतिमा सर्वसाधारणहरु लाग्छन्, राजनीति सर्वसाधारणको लागि हुनेछ र राजनीति सफा र कञ्चन, पवित्र, स्वच्छ र सर्वनहिताय हुनेछ .... बसको गुडाइसँगै म सोचिरहेकी हुन्छु । 


पुनर्मिलन समारोह


पुनर्मिलन समारोह । उत्साहप्रद र सुखद् हुन सकेन । भव्यता प्रदान गर्ने चाह हुँदाहुँदै पनि दुईजना साथीहरुको मृत्युले हाम्रो पुनर्मिलन खल्लो, उदास र दुःखद् भएको छ । १७ वटा मैनबत्ती बालेर, १७ जनाको जीवन मैनबत्तीझैँ बालेर समाजमा उज्यालो छर्ने प्रतिबद्धता जाहेर गरेका हामी सत्रैजनाको उपस्थिति हुन पाएको भए पुनर्मिलन रमाइलो हुने थियो । १५ वटा मैनबत्तीरु मात्र बलिरहेका हुन्छन् । 
“....... स्वजन, लक्ष्मणिया ! मानव जातिको सर्वोत्तम उचाई प्राप्त गर्ने प्रयत्नमा जीवन उत्सर्ग र्गे महान् शहीदहरु । उहाँहरुको सम्झनामा हामी एक मिनेट मौन धारण गर्छौं ....”
चकमन्न मौनता, सियो खसेको भए पनि सुनिन्थ्यो । मौनतापछि मौनता रहेन । साथीहरुको सुक....सुक.....रmवाइ । स्वजन र लक्ष्मणियाको अविवेकी हत्याको वेदनाले वातावरण उदास बनाइरहेको छ । हामी सबै दुःखको असीम गहिराइभित्र डुब्दै गइरहेका छौँ । मन रोइरहेको छ । धैर्यको बाँध भत्किएको छ । तर पनि मन बाँध्नै पर्ने भएको छ । शोभना भन्छिन्, “साथीहरु, हामी उदास, निराश, हतोत्साही र दुःखी भएर बसिरह्यो भने स्वजन, लक्ष्मणिया र हामी सबैले व्यक्त गरेका प्रतिबद्धताहरु अधुरै रहनेछन् । हामीले पनि शोकलाई शक्तिमा बदल्नुपर्ने भएको छ ।”
“हो ! हो !” सबैजना समर्थन जनाउँछन् । 
“लक्ष्मणिया र स्वजनलाई हामी शहीद घोषणा गर्छौं । शहीदप्रति चढाइने श्रद्धाञ्जली अर्पण गर्छौं । उनीहरुको प्रतिबद्धतालाइ पूरा गर्ने प्रण गर्छौं । अमर शहीद लक्ष्मणिया – जिन्दावाद ......”
“जिन्दावाद ! जिन्दावाद !”
“अमर शहीद स्वजन – जिन्दावाद ....”
“जिन्दावाद ! जिन्दावाद !”


“शोकलाई शक्तिमा बदल्ने” कुराले हामीलाई उत्साहित बनाउँछ । दुई घण्टाको विश्रामपछि हामी फेरि पुनर्मिलन समारोहमा जुट्छौँ । सबैले आफ्नो क्षेत्रमा भोगेका समस्याहरु, अनुभवहरु र त्यसमा आधारित रहेर भविष्यमा के गर्न सकिन्छ भन्ने आफ्ना मन्तव्यहरु राखिसकेका छन् । कोही पनि पूर्ण सफल भएको पाइएन । 
“साथीहरु, हामीले आफ्ना अनुभवहरु साटासाट ग¥यौँ । यी अनुभवहरुबाट हामी के निष्कर्ष निकाल्न सक्छौँ ? हामीले थालेका कामहरु सही थिए कि थिएनन् ? सही भए ती कामहरुलाई निरन्तरता दिने कि नदिने ? यी कुराहरुमा केन्द्रित रहेर आफ्ना सुझावहरु राख्न सबैलाई म आग्रह गर्दछु ।” शोभना भन्छिन् । 
“अहिले संक्रमणकाल हो भनेर दण्डहीनताको अवस्था छ । जसले जे गरे पनि भएको छ । कानूनी राज्यको उपहास भइरहेको छ । शस्त्रधारी समूहहरुले जसलाई मन लाग्यो, हत्या गरिरहेका छन् । हत्याराले सजाय पाउने कुरै रहेन । अर्को पक्षलाई मारेर हुन्छ कि जे गरेर हुन्छ आफ्नो कुत्सित मनसाय पूरा गर्ने नराम्रो चलन यो वर्तमान कालखण्डमा देखिएको छ । मानवता, मानव अधिकार, लोकतन्त्रको उपहास भइरहेको छ । हाम्रै महान् शहीदहरु लक्ष्मणिया र स्वजनको हत्या संकीर्ण राजनैतिक अपराधीहरुले गरेका छन् । हत्याराहरुले दण्ड पाउने स्थिति छैन । अझ ठूलो स्वरमा ती सशस्त्र हत्याराहरु आफ्नो राजनैतिक उद्देश्य प्राप्तिको लागि स्वजन, लक्ष्मणिया जस्ता निर्दोष मानिसहरुको हत्या गरेको उद्घोष गरिरहेका छन् । यो कस्ता अपराधिक राजनीति हो ? राजनीति भनेको डाँकाहरुले जस्तै फिरौती माग्ने, ज्यानमाराहरु जन्माउने र समाजमा आतङ्क फैलाउने अपराधी गिरोह हो ?” जमानसिंह भनिरहेका हुन्छन्— “यो कस्तो अपराधिक राजनीतिको घृणित रुप देखा पर्दैछ ? जबरजस्ती चन्दा, बन्द, हड्ताल, तोडफोड, आगजनी, हत्या, हिंसा, आतङ्क, लुटपाट, बलात्कार पनि राजनीति हुन्छ र ....? प्रतिगामी, पुनरmत्थानवादी, विदेशीहरुको चलखेल भन्दै सत्तासीन दलहरु राष्ट्र र जनताप्रतिको उत्तरदायित्वबाट पन्सिरहेका छन् । राष्ट्रिय ढुकुटी आफ्नो निजी र दलीय स्वार्थका लागि दुरmपयोग गरिरहेका छन् । शान्ति–सम्झौता, समझदारी लाटाको धोती भएको छ । यस्तो अवस्था रहेसम्म हाम्रो प्रतिबद्धता अनुसार काम गर्ने वातावरण नै रहेन । दुई जना साथीहरु मारिए, यस्तै रहिरहे अझ धेरै निर्दोष, अज्ञानी, चेतनाहीन सर्वसाधारण मानिसहरुलाई भावनाको राजनैतिक नारामा बगाएर तथाकथित अवज्ञा, बन्द, हड्ताल तोड्फोड, भिडन्तमा उतारेर हत्याको भयानक क्रमिकता जारी राख्न निहित स्वार्थी झुण्डहरु सफल भइरहने छन् ।”
“अब यी विविध समस्याहरुको निराकरण कसरी होला ?” सिम्मा सोध्छिन् । 
“हामी कुहिरोको कागझैँ भएका रहेछौँ । हामीले जुन कार्यहरु सामाजिक फाँटबाट, आर्थिक फाँटबाट पूरा हुन्छ भन्ने सोचेका थियौँ, त्यो हाम्रो भ्रान्ति थियो । शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रका हाम्रा सबै प्रतिबद्धताहरु हाम्रो नीति, व्यक्तिगत वा सामूहिक सत्प्रयासले पूरा हुन नसक्ने ७७७ दिनको अनुभवले हामीलाई स्पष्ट पारेको छ । ‘कपाल दुखेको औषधि नाइटोमा लाइ’ भन्ने उखान चरितार्थ भएको छ । जुन समस्याहरुको जरो राजनीति हो, त्यसको समाधान राजनैतिक ढङ्गले नै खोजिन आवश्यक छ ।” मजबुल भन्छन्, “सही नीति, सही कार्यप्रणाली सही प्रकारको कार्यान्वयनले मात्र वाञ्छित परिणाम दिन्छ । त्यसका लागि प्रमुख आवश्यकता राजनैतिक वातावरणको हो । राजनीति अहिले जनता झुक्याउन स्वार्थी खेल भएको छ । स्वार्थी राजनीतिज्ञहरुको कमाइखाने भाँडो भएको छ । दलको नाममा चन्दा उठायो, खायो, पियो, मोजमज्जा ग¥यो । हिसाब–किताब केही छैन । बकुल्लाले जस्तो ढुकेर बस्यो, बस्यो । सत्तामा पुगेको बेला सात पुस्तासम्म बसीबसी खान पुग्ने गरी भ्रष्ट्राचार र बेइमानी गरेर अकूत सम्पत्ति कमायो । मुलुक र जनतालाई जेसुकै होस् । मुलुकलाई नोक्सान पु¥याएर भए पनि आफ्नो दुनो सोझ्यायो । मुलुकको गरिबी अन्तर्राष्ट्रिय क्षेत्रमा मागिखाने भाँडो भएको छ । यस्तो भ्रष्ट र बेइमान राजनैतिक प्रणाली रहेसम्म केही गर्न र हुन असम्भव छ । धमिलो पानीमा माछा मार्ने राजनीतिले नयाँ प्रणाली, पद्धति र व्यवस्थाको विकास नगर्ने कुरा घामझैँ छर्लङ्ग छ ।”
“सबै कुराहरु राजनीतिद्वारा प्रभावित छ । सही राजनीतिको अभावमा साधन, स्रोत र शक्तिको सही परिचालन भइरहेको छैन । जनता माझ व्यापक भ्रम सृजना गरेर ‘जनता फुटाऊ र शासन गर’ को फोहोरी राजनैतिक नीति अवलम्बन भइरहेको छ । यस्तो स्थितिको अन्त्यका लागि प्रयत्नशील हुन जरmरी छ ।” यस्तै सुझावहरु आइरहेका छन् । सबै साथीहरुको सोचाइ र मेरो पनि सोचाइ मिल्न गएको छ ।” राज्यसत्ता नै मानिसहरुको जीवनमा आमूल परिवर्तन ल्याउने प्रमुख कारक तत्त्व हो । जब राज्यसत्ता जनपक्षीय छैन, परिवर्तनकामी, अग्रगमनकारी छैन जनताको जीवनस्तरमा उच्चता खोज्नु हावामा महल बनाउनु जस्तै हो । राजनीति ठीक नभएको अवस्थामा सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक कामहरु बालुवामा पानी खन्याएझौँ निष्फल हुने कुरा हाम्रा अनुभवहरुले स्पष्ट पारेका छन् । 
मुलुक नयाँ परिवर्तन, विकास र निर्माणको प्रतीक्षामा छ । पुराना मक्किइसकेका शक्तिले जन चाहना, आमुल परिवर्तन र मुलुकको विकास–निर्माण गर्न नसक्ने कुरा छर्लङ्ग हुन थालेको छ । मुलुकको नयाँ राजनैतिक विकासले नयाँ राजनैतिक शक्तिको आवश्यकता जन्माएको छ, जुन राजनैतिक शक्तिले समयको आवश्यकता अनुसार राज्यको विकासमा आवश्यक भूमिका खेल्न सकोस् । त्यो नयाँ राजनैतिक शक्ति राजनैतिक क्षेत्रमा नयाँ दलको रुपमा देखा पर्नेछ भने बौद्धिक क्षेत्रमा सचेत नागरिक समाज, विवेकशील बुद्धिजीजीहरु र सक्रिय जन समुदायको रुपमा देखा पर्नेछ । पुराना राजनैतिक शक्तिहरु जो पुरानो मानसिकताद्वारा ग्रसित छन्, नयाँ राज्य पुनः संरचना स्वीकार गर्न सहमत त छैनन्, नयाँ शक्तिहरुको नयाँ समिकरण बन्न बाधा उत्पन्न गर्ने प्रयत्नमा छन्, ती पुराना शक्तिहरु पुरानो राजनैतिक परिपाटिसँगै समाप्त हुनेछन् । हरेक नयाँ राजनैतिक प्रणाली, परिपाटी र राजनैतिक मूल्य, मान्यता र संस्कारको थालनी नयाँ राजनैतिक शक्तिले गर्नेछ । नयाँ राजनैतिक शक्तिको आवश्यकता वर्तमानमा विकसित नयाँ राजनैतिक वातावरण, परिवेश र एक्काइसौँ शताब्दिले जन्माएको छ । टालटुल पारेर पुरानै शक्तिहरुलाई सत्तामा टिकाइरहने पुराना खेलहरु पूर्णतया समाप्त हुनेछन् । नयाँ शक्तिको उदय हुन थालेको छ, हुनेछ .....।


पत्र पत्रिका हे¥यो, हत्या, हिंसा र सशस्त्र समूहहरुद्धारा अपहरण, हत्या, फिरौती मागका खबरहरु । छुट्टै मधेस, स्वायत्त प्रदेश, आत्मनिर्णयको अधिकारसहित संघीय गणराज्यको माग भइरहेको छ । बन्द, हड्ताल र अन्य अराजक गतिविधिहरु डकैती, लुट, आगजनी, दोहोरो भिडन्त, हत्या र आतङ्कको चपेटामा पूरै देश डुबेको छ । नेपालगञ्जको सामुदायिक दङ्गामा मानिस मारिएका छन्, मधेसमा कफ्र्यु र बन्द अवज्ञा गर्ने क्रममा थुप्रै मानिसहरु मारिएका छन्, गौरकाण्डमा, कपिलवस्तु काण्डमा, काठमाडौँमा श्रृङ्खलाबद्ध बम विस्फोटनमा स्कुले विद्यार्थी समेत मारिएपछि बस तोडफोड, आगजनी, क्षतिपूर्ति नपाएसम्म बन्द, हड्ताल । निषेधाज्ञा, निषेधाज्ञाको अवज्ञा, दण्डहिनता, अपराधी तत्वहरुको अनियन्त्रित वृद्धि, रक्तचन्दन तस्करी, बैंङ्क भ्रष्टाचार प्रकरण, सरकारी क्षेत्रमा व्यापक भ्रष्टाचार, अनियमितता र अकर्मण्यता, सबै क्षेत्रमा नातावाद, पक्षपात, दलहरुको खिचातानी...... राष्ट्रिय संकट गहिरिँदै गइरहेको छ । 
किन मानिसहरुको निर्मम हत्या भइरहेको छ ? दस वर्षको जनयुद्धको दौरानमा दसौँ हजार मानिसले ज्यान गुमाए । त्यो ज्यान गुमाउने क्रम यथावत् छ । जनआन्दोलन उपलब्धिहीन हुने हो कि ? उद्योग धन्दा, बन्द व्यापार सब तहसनहस भएका छन् । खेती अवनतितर्फ धकेलिएको छ । विकास शून्य छ । गरिबी बढेको छ । श्रमशक्ति, युवाहरु विदेश पलायन भएका छन् । युवाहरुलाई विदेशी भूमिमा निम्नस्तरको श्रमिक, कामदार, मजदुर बनाएर पठाउने र मुलुकमा एकछत्र बेरोकटोक शासन गर्ने श्रमनीतिले निरन्तरता पाइरहेकै छ । उन्नति, प्रगति, विकास हुने कतै कुनै सानो संकेत सम्म देखा परेको छैन । निराशाजनक स्थिति, सबै उज्यालोतर्फ लैजाने मार्गहरु अवरुद्ध भइरहेको उकुसमुकुसयुक्त राजनैतिक अन्यौलता ! खोइ कसरी विश्लेषण गर्ने होला ?
सबै कुराहरुको कारक तत्व राजनीति हो । राजनीति सत्ता आफ्नो पकडमा राखिछाड्ने फोहोरी खेल भएको छ । राजनीति ! राजनीति !! राजनीतिबारे नसोचौँ भन्दा पनि धर पाइन्न । राजनीति बेठीक भएपछि सबकुरा बेठीक हुँदोरहेछ । जो सुकै मान्छे होस्, सशस्त्र समूहले हत्या ग¥यो, अपहरण ग¥यो र हतियारको बलमा आतङ्क, डर, त्रास फैलायो । हत्या, हिंसा, आतङ्कको बलमा आफ्नो शक्ति विस्तार गर्ने भ्रममा अपराधी समूहहरुमा परिणत हुँदै गइरहेको राजनैतिक शक्तिहरुलाई के मान्ने ? हो, केही दलहरु हतियारको भरमा सशस्त्र विद्रोहको बलमा सरकारमा पुगेका छन् भन्दैमा सबै सशस्त्र समूहहरु पनि सफल हुन्छन् नै भन्ने कुनै निश्चित छ ?
सुरु ग¥यो कुनै काम, कुरा, सोचाइहरु राजनीतिमा गएर टुङ्गिन्छन् । सुरु राजनीतिबाट हुन्छ । अन्त पनि राजनीतिमा नै हुन्छ । जीवनस्तर माथि उकास्ने कुरा ग¥यो— राजनीतिकै कुरो आउँछ । शिक्षा, स्वास्थ्य, रोजगार, जीविका, आर्थिक उन्नति, सामाजिक संरचना, राजनैतिक परिवर्तन आदि सबै विषयहरु टुङ्गिन्छ राजनीतिमा आएर । राजनीति, राजनीति ! मेरो मात्र नभएर हामी पन्ध्र जनाको दिल, दिमाग र दिनचर्यामा राजनीति, राजनीति व्याप्त हुन्छ ।
राजनीति कस्तो ? कसका लागि राजनीति ? राष्ट्र जनता र सम्पूर्ण मानव जातिका लागि राजनीति कि आफ्नो छुद्र स्वार्थ पूर्ति खातिर राजनीति ? फोहोरी राजनीति कि मुलुक र मानव जातिलाई अगाडि बढाउने स्वच्छ, सबल, पवित्र, कञ्चन जनप्रिय राजनीति ? राजनीति कस्तो कसका लागि ? चिन्तन, चिन्तन ! हाम्रा प्रतिबद्धताहरुलाई सफल पार्न राजनीति हामीले बुझ्नैपर्ने भएको छ । हाम्रो प्रतिबद्धतालाई व्यवहारमा लागु गर्न अनुकुल राजनैतिक व्यवस्था हुनुपर्ने भएको छ । राजनैतिक व्यवस्था र अवस्था ठीक, अनुकुल नभएसम्म हाम्रा प्रतिबद्धताहरु लागु गर्न नसकिने निष्कर्ष हामी निकाल्छौँ । अब हाम्रो दायित्व के ?
राजनैतिक, सामाजिक, आर्थिक अवस्था र व्यवस्था राम्रो हुनका लागि मुलुकका सबैले आफ्नो कर्तव्य अथवा आफूले निर्वाह गर्नु पर्ने दायित्व निर्वाह गर्न सक्नुपर्छ । आफ्नो दायित्व पूरा गर्नु देशप्रेम हो र देशको विकाशमा महत्वपूर्ण योगदान गर्नु हो । सबै व्यक्तिहरुले आफ्नो दायित्वबोध गर्न सक्ने चेतना, शिक्षा र अवसर प्राप्त गरेको हुनुपर्छ । दायित्व निर्वाह गर्न सक्ने अवस्था पनि राजनैतिक व्यवस्था र प्रणाली माथि नै निर्भर रहन्छ । दायित्वबोध नगर्नेहरुकै ढलिमली भइरहेको अवस्थामा विकासको के आशा गर्न सकिएला ?
मुलुकमा जबसम्म एकजना नागरिक पनि शिक्षा पाउँनबाट वञ्चित रहन्छ, ज्ञानको उज्यालोबाट टाढा रहन्छ तबसम्म देशको शिर झुकिरहनेहुन्छ । मुलुकमा एकजना नागरिक पनि भोको रहुुन्जेल, सन्तुलित खानाको अभावले निर्बल रहुन्जेलसम्म देशको विवेकमाथि प्रश्न उठिरहन्छ । जबसम्म मुलुकको विद्यमान सामाजिक र राजनैतिक क्षेत्रका कार्यकर्ताहरुले सामाजिक र राजनैतिक क्रियाकलाप भनेको चन्दा उठाएर मनपरि गर्दै मोजमज्जा गर्ने माध्यम हो, आतङ्क, अपहरण, भय, त्रास फैलाएर कुत्सित मनसाय पूरा गर्ने साधन हो भन्ने रुपमा राजनीति र सामाजिक सेवालाई प्रयोग गरिरहन्छन्, देशको शिर लाजले झुकिरहनेछ । सरकार र सत्तामा पुग्नु भनेको अनैतिक र भ्रष्ट कामहरु गरेर अकूत सम्पत्ति कमाउनु हो भन्ने सरकारमा पुगेका राजनीतिज्ञहरुको सोच, ध्येय र मान्यता रहन्छ, देशको प्रगति सम्भव हुँदैन । राजनीतिज्ञहरु सदैव घृणाका पात्र भइरहनेछन् र राजनीति सबैको आकर्षणको विषय पनि बन्न सक्तैन । यस्तो स्थिति कायम रहेसम्म देशमा भ्रष्टचारी, कामचोर र राष्ट्रघातीहरुकै विगविगी कायम रहिरहनेछ । यस्तो अवस्थामा कसरी असल, नौलो र विवेकपूर्ण राजनैतिक व्यवस्थाको थालनी गर्न सकिएला ?
आज देश
केही ठूला टुक्राहरुमा विभाजित छ
जुन प्रत्येक टुक्राहरु एक एक ठूला– बडाको भागमा परेको छ 
... ...
लाग्छ, देश ठूलो पाउरोटी हुन गएको छ
जसले जति ठूलो टुक्रा निल्न सक्छ, निले हुन्छ
जो जति धेरै मोटाउन सक्छ, मोटाए हुन्छ
जसले जति धेरै चुडाएर बेच्न सक्छ, बेचे हुन्छ
... ... ...
लाखौं वशीभुत हुन नसकेको हातहरुको स्वतन्त्रताले नयाँ बिहान जन्माई सकेको हुनेछ
नयाँ बिहान जन्माई सकेको हुनेछ
नयाँ जीवन निम्त्याई सकेको हुनेछ
र त्यतिबेला, देश टुक्रा टुक्रामा विभाजित हुनेछैन
देशको मुटुमा पिन घोप्ने
अर्काको भाग खोसेर आफू मोटाउने पद्धति रहनेछैन
र, त्यसबेला–
देश, माटो, हावा, पानी सबै सबैको साझा भइसकेको हुनेछ
सबै देशवाशीको मुटु देशका साझा मुटु भइसकेको हुनेछ
सबै सबैको रक्तको साझा थोपा भइसकेको हुनेछ ।



मान्छेको उचाइ

छटपटी, बेचैनी, अशान्ति मनभरि छ । ताकेको, चिताएको कुरा केही पुगिरहेको छैन । मेरो मात्र यस्तो भएको हो कि सबैको ? सबैको अवस्था यस्तै छ । जब मुलुक नै यथास्थितिमा जकडिएको छ, विकास भइरहेको छैन । विकास भइरहेको भए पो रोजगारी, उन्नति, आय आर्जनका अवसरहरु प्राप्त हुन्छन् । आय आर्जन भए मात्र चिताएका कुराहरु पुग्छन् । ‘मुद्राले गाडी चलाउँछ’ भनेझैँ, सबैको अवस्था सन्तोषजनक छैन । सबैको मनभरी सन्ताप, चिन्ता, अशान्ति, बेचैनी र छटपटी फैलिएको छ ।
मलाई यायावर सरको सम्झना आउँछ । उहाँसँग परामर्श गर्न पाए त मनमा शान्ति हुन्थ्यो कि ? धेरै दिन भयो आमालाई नभेटेको । म गाउँ पुग्छु आमा मलाई भेटेर रुन पो थाल्नुहुन्छ । “किन रोइरहनुभएको छ ? आमा ।”
“मलाई त्यसै त्यसै रुन मन लाग्यो ।” आमा आँसु पुछ्दै भन्नुहुन्छ । आमा आफ्नो मनभित्र गुम्सिएको गोप्य कुरा मलाई बताउनु हुन्न । म घच्घच्याएर सोध्न चाहन्नँ । मलाई देख्दा आमा रुनुभयो, किन ? म ? आमाको जीवनभरिको सपना म हुँ । मेरै जन्मले उहाँको जीवनको गति यस्तो भएको छ । मेरै मुख हेरेर पुनर्विवाह नगरी मलाई आफ्नो सुख, दुःख जीवन सम्झेर पालनपोषण गर्नुभयो, हुर्काउनुभयो । मलाई आफ्नो सर्वस्व सम्झेर जीवन काट्नुभयो । आफ्नो जीवनको प्रेम, आराधना, आकाङ्क्षा र आशा म माथि खन्याउनुभयो । सायद मैले त्यो आमाको सपनालाई मूर्त रुप दिन सकिनँ कि ?
आमा बूढी हुनुभएको छ । समयको प्रवाहले कसलाई पो सहुलियत दिएको छ ? सबै समयका लागि समान छन्, समयलाई रोकेर कसले राख्न सकेको छ ? जन्मनु, युवा हुनु, यौवन समाप्त हुनु र बुढ्यौलीमा प्रवेश गरेर मृत्युद्धारा अस्तित्व नामेट भएर तुरिनु नै जीवन हो कि ? जीवनका रमणीय, सुन्दर र कौतूहलपूर्ण वस्तुहरुको रमाइलो संसार देख्न नपाई नै आफ्नो सकिन–तुरिन लागेको जिन्दगीमा मृत्युको पूर्व आभास पाएर विचलित भई आमा रुनुभएको हो कि ?
“आमा, म चोमोलोङ्मा हिमाल चढ्न चाहन्छु । त्यसका लागि तालिम लिन राजधानी जाँदै छु । हिमाल चढेर आइसकेपछि म तपाईँलाई पनि सहरमा लिएर जानेछु ।”
“हिमाल चढ्ने ? ...... हिमाल.........” आमा झस्किनुहुन्छ । आफ्नो सम्पूर्ण आशाकेन्द्र छोरीलाई केही भइदियो भने ? तर पनि भन्नुहुन्छ “हुन्छ, तिम्रो इच्छामा म बाधा हाल्दिनँ । सफल भएर आऊ ।”

                 

 


लगनशील भई सम्पूर्ण ध्यान केन्द्रित गरेर तालिममा म सरिक हुन्छु । ‘माउन्टेन क्लाइम्बिङ’ मा शारीरिक अभ्यास, लेक्चर क्लास, रक क्लाइबिङ्ग र हिमालमा चढ्ने अन्य अभ्यास आदि तालिमहरु गर्दागर्दै एक वर्ष भन्दा बढी समय बित्छ । म हिमाल चढ्न योग्य हुन्छु । हिमाल चढ्ने विदेशी र स्वदेशीहरुको संयुक्त टोलीमा मलाई पनि समावेश गरिन्छ । म विश्वको सर्वोच्च स्थानमा पुग्न सफल हुनेछु । सर्वोच्च चुचुरामा पुगेर सर्वोच्च् उचाइमा टेक्ने मेरो लालसा पूरा गराउन म अझ बढी सशक्त भएर परिश्रम गरिरहन्छु । 
‘कुनै पनि पर्वतारोहीले आफू जहाँसम्म पुगेर सफलतापूर्वक फर्कन सफल होइन्छ, त्यसैलाई सफलता मान्नु पर्छ । त्यसमाथि मौसम र आफ्नो शारीरिक अवस्थाले साथ दिनु पनि अनिवार्य हुन्छ ।’ पर्वतारोहण तालिमका प्रमुख प्रशिक्षक आङनोर्बु शेर्पाको भनाइ म सम्झिरहन्छु । शारीरिक अवस्था कसरी ठीक राख्न सकिन्छ भन्नेतर्फ म सजग भइरहन्छु । तर पनि मन भित्र रहेका विविध सोच हामीले पूरा गर्न चाहेका प्रतिबद्धताहरु बिर्सन सक्तिनँ । प्रतिबद्धता पूरा गर्ने क्रममा मारिनु भएका सहिदहरु लक्ष्मणिया र स्वजनलाई म सम्झिरहन्छु । चोमोलोङ्माको सर्वोच्च चुचूरामा ‘दायित्वबोध’, ‘स्वजन’ र ‘लक्षणिया’ कुँदिएको गोलाकारको ढलोटहरु पु¥याउनेछु भन्ने अठोट मनमनै गरिरहेको हुन्छु । म पक्कै त्यहाँ पुग्नेछु । 
मानव जातिले टेकेको सर्वोच्च स्थानमा म पनि टेक्नेछु । 

                       

हवाइजहाजबाट हामी लुक्ला पुग्छौँ । चोमोलोङ्मा आधार शिविर पुगेर चार दिन आराम गर्छौँ । ‘हाई अल्टिच्युड सिकनेस’ बाट बच्न र त्यहीँको हावापानीअनुसार शरीरलाई समायोजन गर्न नाम्चे र तेङवोचे झछौँ र फर्कन्छौँ । ‘आइसफल डाक्टर’ हरुको सहयोगबाट ‘खुम्बु आइसफल’ काट्न सफल भएकोमा हामी खुशी भइरहेका हुन्छौँ । 
‘कहिलेकाहीँ त हिँड्दा हिँड्दै आइसफल सर्न थाल्छ । त्यसै माथि हिँड्दा उस्तै मान्छेको त हंशले ठाउँ नै छोड्छ । तल हे¥यो कहाँ हो कहाँ.....।’ प्रशिक्षक दोर्जे लामाले भनेका कुरा सम्झन्छु । ‘खुम्बु आइसफल’ ले हाम्रो हंशलाई त्यति धेरै सताएन । क्याम्प–१ हामी पुग्छौँ । क्रिभासेसबाट बच्न क्राम्पुन लाइरहेका हामीले पिसाब गर्न जाँदा पनि त्यसलाई खोल्दैनौँ ।
६,५०० मिटरमा रहेको क्याम्प–२ पुग्नु अघि बाबुछिरी शेर्पाले क्रिभासमा परेर ज्यान गुमाउनुभएको ‘वेष्ट कम’ भन्ने ठूलो चौर भेट्दा म मात्र होइन हामी सबै रोमान्चित  भएका हुन्छौँ । क्याम्प–३ (७३०० मिटर) मा भने नीलो हिउँको भिरालोमा चिप्लिएर लडिन्छ कि भनेर हामी असाध्यै सर्तक हुन्छौँ । हिम पहिरो नआउनु हाम्रो अहो भाग्य हो । 
८,३०० मिटरको साउथ कोल चौथो शिविरबाट उकालो लाग्छौँ । ६० डिग्री भिरालो ‘स्टिभ ज्युनिपर’ चढेर तिब्बतका पठारहरु र नेपाल हेर्र्दा अपूर्व रमाइलो लाग्छ नै । साउथ समिट पछि आरोहीहरुका लागि सबैभन्दा कठिनाइपूर्ण चुनौती ‘हिलारी स्टेप’ स्थानमा पुग्छौँ । थाकिसकेका हामी सय डिग्रीको अत्यास लाग्दो उकालो देख्दा हरेस खान थाल्छौँ । तर यहाँ सम्म लाखौँ खर्च गरेर र अनेकौ दुःख सास्ती सहेर आइपुगेको कुरा सम्झेर फेरि आफूभित्र नयाँ उत्साह सञ्चार गर्दै उकालो चढ्छौँ ।
प्रकृतिमाथि जबरजस्ती विजयको लागि मरिमेट्दा मै हुँ भन्ने विश्वस्तरीय पर्वतारोहीहरुले समेत सिलटिम्बुर खाएका छन् । हिलारी स्टेपमा टाँगिएको नयाँ पुराना कैयौँ डोरीहरुमध्ये नयाँ डोरी छान्दै हामी उकालो चढ्छौँ । उकालो चढ्ने टेकनिक अभ्यास गर्दागर्दै डोरी चुडिएर आफ्नो अनमोल जीवन समाप्त हुने ‘जुमरिङ’ मा हामी कोही परेनौँ । हिलारी स्टेपको सफलतापछि हामी लामो लामो सास फेर्छौ र एक अर्कालाई हेरेर बुढी औँला मास्तिर ठडाएर खुसी व्यक्त गर्छौ ।
चोमोलोङ्माको टुप्पो पुग्न अब ३०–४० मिटर भन्दा बढी छैन । नयाँ उत्साह पैदा गरेर चढ्न थाल्छौँ । हाम्रो पुरै टोली त्यहाँ पुग्न सफल हुन्छ, अवर्णनीय असीम अपूर्व आनन्दले हामी गद्गद हुन्छौँ । लाक्पा गेलु शेर्पाले राखिछाडेको ढलोटको राष्ट्रिय झन्डा देखिने गरी पालैपालो फोटो खिच्छौँ । म आफूले ल्याएका सबै गोलाकार ढलोटहरु समिटमा राख्छु । जीवनको मेरो सर्वोत्तम विजय ! विश्वको सर्वोच्च स्थानमा पुग्न सफल म ! त्यहाँ मैले पाएको आनन्द र खुशी म शव्दमा व्यक्त गर्न सक्तिनँ । 

                        

एयरपोर्टमा उत्रनासाथ हामीलाई पर्यटन मन्त्री र पर्वतारोही संघको पदाधिकािरीहरुले फूलमाला, खादा र अबिरको टीका लगाइदिएर स्वागत गर्दै बधाई प्रकट गर्छन् । थुप्रै टेलिभिजनका क्यामेराहरु, झिलिक्क झिलिक्क फोटो खिचिरहेका फोटोग्राफरहरु र पत्रकारहरुले घेरिएका हामीहरु, म ‘ आफू हुँ कि होइन ?’ आश्चर्यचकित आनन्द विभोर भइरहेकी हुन्छु । मेरो यो भव्य स्वागतमा मेरी आमा यहाँ भइदिनुभएकी भए.... होइन, आमा पनि आइरहनुभएको छ मतिर । हर्षाश्रु बहन्छ मेरो आँखाबाट, आमा कति खुशी देखिनु भएको छ । मेरो खुशी दोब्बर हुन्छ ।
एयरपोर्टबाहिर निस्कनासाथ सडकमा मान्छेहरुको भीड । फूलमाला, खादा, फूलका गुच्छाहरु र अबिरले हामीलाई पूरै ढाकिदिन्छन् । हात मिलाउनेहरुको घुइँचो । खुल्ला गाडीमा हामीलाई चढाएर विजयोत्सव सहरका विभिन्न भागहरुमा घुमाइन्छ । सर्वसाधारणहरु अरुको सफलतामा पनि कति खुसी हुन सक्छन् ! अगाडि प्रहरीहरुको स्कर्टिङ्ग र पछाडि मानव भीडको समुद्र ! केही दिन अगाडिसम्म कसैले नचिन्ने हामीहरु अहिले प्रख्यात भएका छौँ । सर्वसाधारणहरु जय जयकार गरिरहेका छन् । सरकारले हामीलाई पुरस्कार दिने घोषणा गरिसकेको छ । भाषण, मन्तव्य समारोहको भव्यता ! कसरी उत्साहसाथ सर्वसाधारण मानिसहरु समारोहमा उपस्थित भएका छन् । असंख्य मानिसहरु, महान् सर्वसाधारणहरु ! जनआन्दोलनमा लाखैँको संख्यामा उत्रन सक्छन् ज्यानको बाजी थापेर । दार्जिलिङ्गको प्रशान्त तामाङ्ग भारतमा ‘इन्डियन आइडल’ हुँदा खुसीले विजयोत्सव मनाउन सक्छन् । 
“वीरङ्गना परी – जिन्दावाद ! पर्वतारोही परी जिन्दावाद !”
धन्य सर्वसाधारणहरु ! म पनि सर्वसाधारण नै थिएँ, छु र रहनेछु भन्ने मैले सोचेको हुन्छु तर मेरो सफलताले मलाई सर्वसाधारण भन्दा माथिल्लो उचाइमा उचालेर सर्वसाधारणझैँ भएर बस्न दिन्छ वा दिँदैन ? भविष्यको गर्भमा नै छ । 
अध्याय — तेस्रो
जीवन आरम्भ

प्रेम शुभारम्भ

म आफ्नै ‘साइवर क्याफे’ खोल्छु । कामको कमी छैन । धन बर्सिदैछ, हेर्दाहेर्दै म खिनौरीबाट परिवर्तना भएँ । कैयौँ मानिसहरु त ‘परीको साइबर क्याफे’ भन्दै मलाई हेर्न र भेट्न पनि कामको बहाना बनाएर आउँछन् । मेरो आर्थिक उन्नति द्रुततर गतिले भइरहेको छ । सफलताले मलाई नाम, दाम र काम दिइरहेको छ । म अब आफै एउटा सशक्त संस्था सरह भएकी छु । मेरो नाम बिक्छ, बोली बिक्छ । देशका विभिन्न भागहरुबाट र विदेशका पर्वतारोहणसँग सम्बन्धित संघ संस्थाहरुबाट विभिन्न कार्यक्रमहरुका निम्तोहरु आइरहेका छन् । 
म कैयौँ कार्यक्रममा चाहँदा चाहँदै पनि जान सक्तिनँ । महत्वपूर्ण लागेको कार्यक्रमहरुमा जान्छु । पट्यारलाग्दो लामो कार्यक्रम, अभिनन्दन, भाषण, पुरस्कार–उपहार वितरण, सांस्कृतिक कार्यक्रमहरु । दोहोरिरहने उस्तैउस्तै कार्यक्रम । कुनै कुनै आयोजकहरुको अनुरोध टार्न पनि सकिदैन । जान्छु, सुन्छु ‘मानव जातिको गौरव, नारी जातीको सान, प्रेरणाको असीम स्रोत’ आदि तारिफका बुट्टादार सम्बोधनहरु । सुन्दासुन्दा म अभ्यस्त भइसकेकी छु । लाग्छ सफल मानिसहरुका पछि सारा संसार तारिफको फूल छर्दोरहेछ । असफल मानिसलाई कोही सम्झदैनन् । मजस्तै पर्वतारोहणको क्रममा कैयौ पर्वतारोहीहरु असफल भएका छन्, कैयौँको ज्यान गुमेको छ । कैयौ अपाहिज भएका छन्— तिनीहरुको सम्झना कसैले गर्दैन । संसार सफल मानिसहरुको पाउ चुम्दोरहेछ । कार्यक्रममा धेरै बेरसम्म बसिरहनुपर्दा यस्तैयस्तै म सोच्न पुग्छु । सोच्न पुग्छु— मानिस कस्तो हुन्छ ? मानव आचरण, मनोभाव र स्वभाव बुझ्न सकिने भएको भए संसार यन्त्रिक, उराठलाग्दो र निरस हुने थियो ! पूर्वानुमान गर्न नसकिने, कौतूहलपूर्ण, रहस्यमय, दुःख–सुख मिश्रित रङ्गीचङ्गी दनियाँ र आश्चर्यजनक मानव प्रवृत्तिले उब्जाएको परिणतिको रमझम त्रासदीपूर्ण रमाइलोपन, खल्लोपन, आशक्ति र विरक्तिको स्वाद चाख्न लालायित भई अनेकौँ सांसारिक क्रिया, कौतूक र चहलपहलभित्र रुमल्लिरहनु जिन्दगी हो कि ?

                     

म एउटा विदेश भ्रमणको आकर्षक प्रस्ताव इन्कार गर्नै सक्तिनँ । त्यो भ्रमणमा मैले कोही एकजना आफन्तलाई लैजान सक्ने भएको हुँदा साथै त्यो टोलीमा दुईजना पर्वतारोही प्रशिक्षकहरु पनि सम्मिलित हुने हुँदा मैले त्यो भम्रणमा जाने निधो गरेको हुन्छु । त्यो भ्रमण मैले मातृ–ऋण तिर्नकै लागि भएपनि गर्नुपर्ने हुन्छ— म सोच्छु । आमा ! बिचरी मेरी आमा !! जिन्दगीमा सुखभोग गर्न नपाएकी तिनी, भ्रमरको एकै चुम्बनमा ओइलिझरेकी शिरीषको फूलझैँ प्रेमको एकै झोक्कामा अस्तव्यस्त जिन्दगी सिहार्दा सिहार्दै जीवनको उत्तराद्र्धमा पुगेकी आमा ! आमाको नियास्रो, खल्लो, विरसिलो जिन्दगीको एक मात्र आशा, भरोसा र जिउने प्रेरणा म, मेरो लागि तिनले सम्पूर्ण जीवन न्यौछावर गरेकी थिइन् । म आमालाई त्यो विदेश भ्रमणमा लगेर अलिकति सुख, तृप्ति र आनन्द दिन चाहन्छु । 
विदेशको बारेमा अरु मानिसहरुको मुखबाट सुनेको थिएँ, विदेश यात्राको संस्मरणहरु पढेकी थिएँ । प्रत्यक्ष आफ्नै आँखाले देख्न पाउँदा मलाई जीवन सपना जस्तै रमाइलो लागिरहेको हुन्छ । अपरिचित नयाँ नयाँ व्यक्तिहरु, स्थान, संस्कारको नौलो अनुभवहरु । विदेशीहरुको शिष्टता, सभ्यता र शिष्ट, संयमपूर्ण, अनुशासित स्वागत कार्यक्रमहरु । तौलिएका, नापिएका र जाँचिएका हरेक क्रिया कलापहरु । एउटा निश्चित, निर्धारित सीमाभित्र मेरो विदेश भ्रमण चलिरहेको हुन्छ । पूर्ण औपचारिक कार्यक्रमहरु सकिएपछि रमणीय स्थलहरुको भ्रमणमा भने आमा, म र हामी सबै रमाउँन मात्र होइन, रोमाञ्चित नै भइरहेका हुन्छौँ । आफूले कल्पनै गर्न नसकिने  अभूतपूर्व मानव आश्चर्यका दर्शनीय स्थलहरु, समुद्रका विविध रुपहरु, झरनाहरु, मानव निर्मित वस्तुहरु, भवनहरु, आविष्कारहरु !
हिमाल चढ्दाको म आफ्ना अनुभवहरु व्यक्त गरिरहँदा कति एकाग्र भएर ती विदेशीहरु मेरो प्रत्येक कुराहरु चाख मानेर सुन्छन् । मलाई ‘वाह, वाह, ब्राभो, ब्राभो’ गर्छन् । ‘ब्राभो–ब्राभो’ कराएर हर्ष प्रकट गर्छन् । तारिफ गर्छन्, प्रशंसा गर्छन् र बधाई दिन्छन् । मलाई खुशी लाग्छ, साँच्चै मैले निक्कै महत्वपूर्ण कार्य फत्ते गरेकी रहेछु । म पनि त्यो त्यस्तो औपचारिक कार्यक्रमहरुमा अभ्यस्त भइरहेकी हुन्छु र त्यस्ता कार्यक्रमहरु मलाई पनि रमाइलो लाग्न थालेको हुन्छ । तिनीहरुले मेरी आमालाई पनि मलाई जस्तै सम्मानको स्थानमा राखेर सम्मान गरेको देख्दा मलाई सबैभन्दा बढी आनन्द र गौरव अनुभव हुन्छ । ती औपचारिक कार्यक्रमहरुमा म सबैको आकर्षणको केन्द्र बनेकी हुन्छु । विशेष गरेर युवाहरु मतिर धेरै आकर्षित हुन्छन् र मसँग मित्रताको हात फैलाउँछन् । तिनीहरुको खुला समाज ! कोही कोही त निर्लज्जतासाथ हाँसी हाँसी ‘प्रेम प्रस्ताव’पनि राख्न पुग्छन् । त्यति सजिलै प्रेम प्रस्ताव !
“तिमीले पनि अब बिहे गर्नुपर्छ ।” आमा भन्छिन् । “तिम्रो पनि कोही केटा छ कि ?”

                         

कोही केटा मेरो जीवनको अभिन्न अङ्ग बनेर आजसम्म किन आएन ? यायावर सरलाई म सम्झन्छु । उनी कोही केटा होइनन् । उनी मेरो पहिलो प्रेम हो त ? होइन, उनी मेरो प्रेम होइन, पहिलो समर्पण हुन् । मैले स्वइच्छाले श्रद्धापूर्वक अर्पण गरेको मेरो पहिलो समर्पण ! मलाई आमाको कुराले मभित्र सुषुप्त अवस्थामा रहेको तर प्रस्फुटित हुन खोजिरहेको जवानी र यौवनको प्रेम गर्ने र पाउने रहर जागृत बनाउँछ । म कर्तव्य, दायित्व, सेवा, समर्पण, श्रम र त्यागको भावनाहरुमा बढी बगेको हुँदा मैले पुरुषको आकर्षण, आवश्यकता र आपूर्ति ध्यान दिन बिर्सेकी रहेछु । म विदेशमा छु, विदेशी युवाहरुले घेरिएकी छु । विदेशी युवकहरुमा के आकर्षण छ ? म जान्न उत्सुक हुन्छु । 
अग्ला भवनहरु, चौडा सडकहरु असंख्य गुडिरहेका गाडीहरु र सफा, सुन्दर सहरहरु मानिसको आँखालाई चकाचौँध पार्न पर्याप्त हुन्छन् । म ती सहरहरुको भौतिक सम्पन्नतामा आश्चर्य चकित हुँदै रमाइरहेको बेला म भित्र नौलो परिवर्तन भएर नव आकर्षण थपिन्छ । म भित्र युवकहरुप्रतिको बिलुप्त आकर्षण आमाको विवाह गर्नुपर्ने कुराले जागृत मात्र होइन, सजीव पार्छ । म युवकहरुप्रति आकर्षित हुन्छु । हेर्छु, देख्छु एक से एक युवकहरु । सुन्दर, हृष्ट पुष्ट, सुसंस्कृत, सभ्य, सम्पन्न र शिक्षित विदेशी युवकहरु । फूलबारीमा फूलेका फूलहरु जसलाई हेरेर फूलको सौन्दर्य र मनमोहनी मनोहारितामा मुग्ध हुन सकिन्छ । तर सबै फूलहरुलाई अङ्गालोमा राख्न सकिदैन । ती युवकहरु म हेर्छु, तिनीहरु र हाम्रो सोचाइ, संस्कृति र सम्पन्नताको तहमा अनमेल भएको म पाउँछु । तिनीहरुका लागि त प्रेम प्रस्ताव गर्नु र प्रेम गरेको नाटक गर्दै बिहान परिचय हुनु अनि बेलुकी विस्तारामा प्रेमको उत्सर्ग प्राप्त गर्नु र भोलिपल्ट सदाका लागि त्यो मामुली मनोरञ्जनात्मक घटना थियो भनेर बिर्सनु जीवन पद्धत्ति भएको छ । के म त्यसो गर्न सक्छु ?
म ती विदेशी युवाहरु, आइ.एल.आर प्राप्त गरेर बसेका गोर्खालीहरु, ग्रीन कार्ड पाएर वा डी.भी पाएर बसेका प्रवासी नेपाली युवकहरु मेरा लागि प्लास्टिकका फूल सरह हुन् । प्लास्टिकका फूलहरु केही बेर फूलदानीमा राखेर फूलको सौन्दर्यको आनन्द, मनोहारिता, मनमोहकता लिन सकिन्छ तर फूलबारीमा रोपेर हुर्काउन सकिन्न । म आफ्नै देशका मेरा पुरुष साथीहरुलाई सम्झन्छु । मलाई पनि साँच्चै जीवनको रथ अगाडि बढाउन एउटा जीवन साथीको आवश्यकता महसुस हुन्छ । म साथी खोज्न थाल्छु— मनमनै ।
                         

तीन महिनाको विदेश यात्रा आनन्दसाथ समाप्त हुन्छ । सपना जस्तै ती देशहरु, स्थानहरु र त्यहाँका मानव पात्रहरु फगत सम्झनाको तरेलीमा संचित हुन्छन् । विदेश सपना हो । तापनि विदेश यात्राले मलाई नयाँ अनुभवहरु मात्र होइन, नयाँ भौतिक साजसज्जा, नयाँ दृष्टिकोणबाट जीवनलाई अगाडि बढाउने साहस समेत उपलब्ध गराउन थालेको हुन्छ । जीवनलाई कसरी व्यवस्थित गर्ने ? कुन हिसाबले अगाडि बढाउने ? आदि विषयहरुमा नयाँ धरातल त्यो विदेश भ्रमणबाट मलाई प्राप्त भएको छ ।
आर्थिक रुपले म मेरो जीवनलाई व्यवस्थित गर्न सक्ने अवस्थामा पुगेकी छु । म मेरो प्यारो साथी शोभनासँग परामर्श गर्छु । 
“शोभना, म एउटा सुन्दर घर र संसार बसाउन चाहन्छु ।”
“घर त तिमी जतिबेला पनि बनाउन सक्छ्यौ । तर सुन्दर संसारका लागि जीवनसाथी चाहिन्छ । प्रेमले झलमल्ल भएको रङ्गिन संसार मात्र रमणीय हुन्छ । तिम्रो कोही छ ?” शोभना रउसिन्छिन् । 
“भए त म तिमीलाई सोध्ने नै थिइनँ । कैयौँले प्रेम प्रस्तावहरु राखे । तर ती प्रस्तावहरु उरन्ठेउला जस्ता मलाई लाग्यो । चित्त बुझ्दो केही भएको छैन, खोजीमा छु । के मेरो यो चाहना स्वभाविक हो ?”
“तिमी राम्री पनि छ्यौ । तिमी तरुनी छ्यौ । सफलताले तिमीलाई साथ दिएको छ । सबै भौतिक सम्पन्नताहरु तिमीले प्राप्त गरिसकेपछि तिम्रो त्यो चाहना अस्वाभाविक होइन । तिमी जीवनसाथी छान्न फुक्का छ्यौ । समयमै छान्यौ भने राम्रो हुन्छ ।”
“हो नि, मैले पनि त्यही भनेकी हुँ ।” आमा कुरा थप्छिन् । 
“हो, मैले पनि त्यसबारे सोच्न थालेकी छु । पहिला एउटा घर बनाउँ । कस्तो घर बनाए राम्रो होला ? शोभना तिमी मलाई नयाँ घर निर्माण सम्बन्धी सल्लाह दिन सक्छ्यौ ?” 
“घर, आधुनिक चिटिक्क परेको सानो एक परिवार मात्र अटाउन ठिक्क घर बनाउने नि । यसका लागि आर्किटेक्ट, इन्जिनियरहरु, आवास निर्माण कम्पनीहरुसँग सम्पर्क गरे भइहाल्छ नि । पैसा मात्र चाहिन्छ, चाहेजस्तो घर छ महिनामै निर्माण भइहाल्छ नि । बरु त्यो घरमा बस्ने मान्छे पो को होला ? मान्छे खोजन, रोज्न थाल......। मलाई तिमी कुटुनी बनाउँछ्यौ भने पनि म त राजी.......” शोभना ठट्यौली पारामा भन्छिन् । छड्के आँखाले मलाई हेरेर मुस्कुराउँदै एउटा आँखा झिम्क्याउँछिन् । 
शोभनाको मुस्कानले मभित्र यौवनको एक प्रकारको तरङ्ग उत्पन्न हुन्छ । कल्पनाको आकाशमा उड्न पुग्छु । मेरो जीवन साथी को हुन्छ ? कस्तो हुन्छ ? कल्पनामा म मेरो जीवन साथीको रुपरेखा कोर्न थाल्छु । ऊ....... परिपक्क, विद्धान, विवेकशील, सिद्धान्तनिष्ट, परिश्रमी हुनुपर्छ । परमाणु विज्ञानका जन्मदाता प्रसिद्ध वैज्ञानिक जोन डाल्टन ‘आफ्नो सफलताको एक मात्र कारण मेहनत हो’ भनी स्वीकार्दछन्, उनी मेहनती हुनुपर्छ.....दुई पटक नोबेल पुरस्कार विजेता म्याडम म्यारी क्यूरीको हर कदममा साथ दिने पेरी क्युरी जस्तै...........।”
                        

आकर्षक व्यक्तित्व भएको सुन्दर युवक सडकमा हिँडिरहेको छ । टाढा भएकाले स्पष्टसित देख्न सकिँदैन । नजिकबाट नियाल्न पाए हुन्थ्यो भन्ने लागिरहेकै बेला ती युवक मेरो साइबर क्याफेभित्र छिर्छन् । म हेर्छु, मैले चाहेका, कल्पना गरेका युवक यिनी नै हुन् कि ? म सोच्न पुग्छु ।
“उहाँ गोकुल ‘मानव’ उहाँ परिवर्तना ।” मेरै साइबर क्याफेमा नोकरी गर्ने युवती निर्मला हाम्रो परिचय गराउँछिन् । 
“परिवर्तना ! भेट्न पाउँदा म हर्ष विभोर भएको छु.......” गोकुल भन्छन् । हाम्रो आँखा जुध्छ । मलाई यो के भएको ? मुटु ढुक् ढुक् उफ्रिएर बाहिर आउन खोजेको हो कि ! स्पन्दन तीव्र भएको छ । कोही युवकहरुलाई भेट्दा यस्तो भएको मलाई थाहा छैन । उनलाई पनि त्यस्तै भएको होला त ?
गोकुल साहित्य विषयमा विद्यावारिधिका शोध विद्यार्थी रहेछन् । यस क्याफेमा आफ्नो शोधपत्र टाइप गराउन आउँदा रहेछन् र निर्मलासँग उनको राम्रै हिमचिम रहेछ । यसभन्दा अगाडि मेरो उनीसँग भेट भएको थिएन । उनीसँग मेरो पहिलो भेथ तर यो भेट जीवनको अति महत्वपूर्ण भेट । जीवनलाई नयाँ मोड, नयाँ गति दिने नौलो भेट । म उनीप्रति आकर्षित भएकी छु । अलिकति कताकता भित्रभित्रै म लजाएकी पनि छु । उनी मेरै हुन्, सम्पूर्ण मेरै हुनुपर्छ, मेरै बनाउनुपर्छ, मैले नै पाउँनुपर्छ भन्ने मेरो मनभित्रको आयतनभरि छ्यापछ्याप्ती फैलिएको छ । यो के भएको ? मलाई मात्र भएको हो कि उनलाई पनि भएको छ ? म उनलाई कुर्सीमा बस्ने अनुरोध गर्छु । उनी बस्छन् र रुमालले चेहेरा पुच्छन् । देख्दा उनी पनि अलिकति नर्भस जस्तै देखिन्छन् । म पनि नर्भस छु । कुराकानी के, कसरी अगाडि बढाऊ ?
“अँ, तपाईँ ? तपाईँ के गर्दै हुनुहुन्छ ? तपाईको बारेमा जान्न म उत्सुक छु ।” 
“म शोधार्थी हुँ । म अहिले त्यही कार्यमा व्यस्त छु । मैले तपाईलाई टि.भी. मा धेरैपल्ट देखेको थिएँ । साक्षात तपाईँलाई देख्न, भेट्न पाउँदा म खुसी भएको छु । तपाईँ यति सुन्दर ‘आइ मिन’ राम्री हुनुहोला भन्ने मैले कल्पना गरेको थिइनँ । तपाईँ राम्री, साहसी.... आइ मिन नारी जातिको गौरव, नेपालीको इज्जत बढाउने महान् नारीलाई भेट्न पाउँदा म अति प्रसन्न छु । यो घडी मलाई चिरस्मरणीय भइरहनेछ ।”
“तपाईँले त फेरि मेरो प्रशंसा गर्नथाल्नु भयो । मेरो तारिफ गर्नेहरु मैले धेरै भेटेको छु, गुणगान सुनेको छु । तपाईँ आफ्नो विषयमा बताउनुहोस् । म तपाईँलाई नजिकबाट नियाल्न चाहन्छु.........” यसभन्दा बढी म भन्न सक्तिनँ । स्त्रीसुलभ लज्जा मभित्र पलाउँछ । मेरो गाला लाजले रातो हुन्छ । म आँखा भुँइतिर झुकाउँछु ।
“म, अहो....” उनी पनि भन्न चाहेको कुरा भन्न नसकी बीचैमा रोकिन्छन् । निर्मला चिया लिएर आउँछिन् । उनको उपस्थितिले वातावरण सहज हुन्छ । निर्मला हामीलाई चिया खानको लागि अनुरोध गर्छिन् । चिया खाँदै हामी फेरि गफ गर्न थाल्छौँ । गफका लागि गफ ... राजनीति, हिमाल, पहाड, तराई मधेस, नेपाल, नेपाली, समाज, सामाजिक बनोट, साहित्य, विश्व साहित्य, आदि विषयहरुमा रुमल्लिएको गफमा आधी घण्टा बित्छ । कति छिटो बितेछ आधी घण्टा ! कोही मानिसहरु कसरी छिट्टै आत्मीय मित्रझैँ हुन्छन् । ‘आफ्नोपन’ महसुस गराएर मानिसहरुको मन जित्न सफल हुन्छन् । गोकुल ‘मानव’ पनि त्यस्तै मान्छेहरु मध्येका रहेछन् । आधी घण्टा अगाडिसम्म म उनलाई चिन्दिन थिएँ । तर अहिले उनलाई म वर्षाै पहिलेदेखि चिनेको ‘आफ्नै’ जस्तो ठान्न थालेकी छु । जाने बेला उनलाई “आउँदै गर्नुहोस् है” भन्ने अधिकारपूर्ण अनुरोध म गर्छु । कसरी यस्तो भन्न सकेँ हुँला म आफैँ विस्मय चकित समेत भएकी छु । उनी फेरि नआए हराउलान् । आइरहून् र म उनलाई पाउन सकूँ म चाहना गर्छु ।
                        
“म भित्र आउन सक्छु ?”
म एउटा राष्ट्रिय दैनिक पत्रिकामा निस्किएको आफ्नो अन्तरवार्ता तन्मयतासाथ पढिरहेकी हुन्छु । मेरो ध्यान भङ्ग हुन्छ । ढोकामा उभिएको व्यक्तिलाई हेर्छु । गोकुल ‘मानव’ रहेछन् । मभित्र अपार हर्षानुभूतिको तरङ्ग दौडन्छ । म अनायासै उभिएर “आउनुहोस्” भन्दै उनलाई स्वागत गर्छु । 
“बस्नुहोस् । मैले त बिर्सनुभयो कि भन्ने ठानेकी थिएँ ।”
“किन ? कसरी बिर्सन सक्नु र ?” कोठाको चारैतर्फ हेर्दै उनी भन्छन् “बिर्सन त चाहेको हुँ । तर तपाईँलाई कसै गरेपनि बिर्सन सकिनँ । बिर्सन सकिनँ ! भेट्न, तपाईँलाई हेर्न छट्पटिइ रहेँ तपाईँलाई नभेटी म बस्न सकिनँ । बस्नै सक्तिनँ ! भेट्न आएको छु । के तपाईँलाई म डिस्टर्ब त गरिरहेको छैन ?” 
“मलाई अहिले फुर्सद नै छ । कुनै डिस्टर्ब भएको छैन । बरु कोही साथी भए केही बेर कुराकानी गरेधर मन हल्का पार्न पाए हुन्थ्यो भन्ने लागिरहेको बेला तपाईँ आउनुभएको छ । मलाई साँच्चै खुसी लागेको छ । मन आनन्दित भएको छ ।”
“त्यसो भए म पनि ढुक्क भएँ । बेला न कुबेला एपोइन्टमेन्ट नलिई भेट्न आएर म तपाईँलाई बोर गर्नेछु कि भन्ने डर लागिरहेको थियो । म पनि थेसिस लेखिसकेर फुर्सदमा नै छु । तपाईँसित भेट्दा मलाई पनि अपार हर्ष लागिरहेको छ । म आफैलाई थाहा छैन, यस्तो किन भइरहेको छ ?”
“सायद, यो मित्रताको आलोक होला कि..... !”
“मित्रहरु त मेरा धेरै छन् । मित्रहरुलाई भेट्दा प्रसन्नता छाउँछ । मित्रहरु नहुदाँ छटपटी हुँदैन । ‘भेटिहालुँ भेटिहालुँ’ भन्ने पनि हुँदैन तर तपाईँलाई म ‘भेटिहालुँ भेटिहालुँ’ भन्ने भइरहन्छ । त्यसैले भेट्न आएको छु ।”
“आउनुभयो । राम्रै गर्नुभयो । मैले पनि तपाईँलाई ‘आउँदै गर्नुहोस् है’ भनेर अनुनय गरेकी थिएँ । मलाई बिर्सेर आउनुहुन्न कि भन्ने लागेको थियो । आउनुभयो, मेरो अहोभाग्य । तपाईसित ज्ञानबुद्धिका कुरा गर्न पाउँदा समय बितेको पत्तै हुँदैन ।”
“साँच्चै भन्नुभएको हो ?”
“साँच्चै ! किरिया हाल्ने मेरो बानी छैन । भएदेखि म कुनै पनि किरिया खान सक्थेँ ।” म कसरी सानो अबोध बालिकाझैँ भएर बोलिरहेकी छु ? म आफैँ आश्चर्यचकित हुन्छु । आफूले नचाहिकन पनि उनको अगाडि म आफैँ खुल्दै गइरहेकी छु । “हो, तपाईँ आउनुहुन्छ कि हुन्न, मलाई पनि निकै खुल्दुली लागिरहेको थियो ।”
“म आएँ त । तपाईँलाई कस्तो लागेको छ ?”
“अघि नै भनिसकेँ । किन तपाईँ एउटै प्रश्न बारम्बार सोधिरहनुहुन्छ?”
“एउटै प्रश्न । प्रश्न एउटा होला तर अनेक भएर मेरो हृदयमा हाहाकार मच्चाइरहन्छ । बेचैन पार्छ र त्यो बेचैनीबाट उम्कन तपाईँलाई भेट्न आएको छु । भेटेर त्यो प्रश्न तपाईँलाई सोधिरहेको छु । उत्तर नपाएसम्म सायद, बारम्बार सोधिरहन्छु । प्रश्न तपाईँले बुझिसक्नुभएको छ, होइन र ?”
“कुरा बुझे जस्तो पनि, नबुझे जस्तो पनि लागिरहेको छ । तपाईँ बारम्बार सोध्नोस्, म बारम्बार जवाफ दिइरहुलाँ । तापनि तपाईँको मनमा उब्जेको शङ्का–संशय दुर भइजाला भन्ने मलाई लाग्दैन ।”
“तब उत्तर के होला ?”
“...........”
“...........”
उनी बिदा मागेर जाने तरखरमा छन् । म फेरि पनि उनलाई “आउँदै गर्नुहोस् है” भन्ने अनुरोध गर्छु । उनी फेरि नआए, म उनलाई हराउँला । उनी हराए मेरो जिन्दगीको एउटा उज्यालो घाम हराउला भन्ने डरले म आत्तिन्छु । उनी कहिले आउलान् भनेर म फेरि पनि प्रतीक्षारत भइरहन्छु ।
                         

नभन्दै उनी फेरि आएँ । उनको प्रतीक्षामा ओइलिँदै गएको मेरो मन चङ्गा भएर गमक्क फुल्छ । मनभरि उज्यालो फैलिन्छ, जुन उज्यालो मेरो मुहारमा देखा पर्छ । मन, चेहरा उज्यालो हुन्छ, प्रसन्नता चारैतिर फैलिन्छ ।
“...................”
“............ विछोडमा देखा परेको छटपटी, बेचैनी र मिलनको चाहना........... सायद प्रेमको एउटा रुप होला कि ?”
“..............”
“प्रेमलाई जाँच्न हुँदैन । प्रेम सिङ्गो हुन्छ । उपन्यासमा वर्णन गरेजस्तो प्रेम अधुरो हुँदैन । उपन्यासको जस्तो रुमानी काल्पनिक प्रेमको पछि दर्गुन थालियो भने मृगमरीचिका जस्तो जीवन हुनसक्छ । प्रेमलाई चलाउन हुँदैन । प्रेम पवित्र, कञ्चन, निर्दोष, शाश्वत हुन्छ । प्रेममा बलिदान हुन्छ, त्याग, अर्पण समर्पण प्रेम हो । प्रेमको हत्या गरियो भने जीवन करुणामय हुन्छ । प्रेमबिना जीवन निरस हुन्छ । प्रेमदान गर्दा घट्ने होइन, दोब्बर, चौबर हुन्छ । प्रेमदान गरेर प्रेम भण्डार झन्झन् भरिएर आउँछ । हामी बीच प्रेम भएर हो कि ? मलाई तिमी माया मार्न सक्छ्यौ त ?”
“...........”
“यो प्रेम नै हो, यो प्रेम बन्धनमा बाँधिएका हामी छुट्टिएर बस्न सक्तैनौँ । ठूलै बाधा व्यावधान पनि त्यस्तो केही छैन भने हामी प्रेममा एकाकार निर्लिप्त भएर बाँच्न सक्दैनौँ र ? सही निर्णयले हाम्रो प्रेम बृक्ष झाँङ्गिएर जानेछ । जीवन प्रेममय भएमा बाँच्न सजिलो हुन्छ र बाँचेको सार्थक हुन्छ । प्रेम रसले सिँचित दाम्पत्य जीवन केही भाग्यवान् जोडीहरुलाई मात्र प्राप्त हुन्छ ।”
“त्यसो भए उपाए के ?”
“विवाह । प्रेम विवाह !”
                     

छोटो अवधिमा हुर्किएर झ्याँङ्गिएको प्रेम बन्धनलाई हामी विवाहमा परिणत गर्छौँ । सरल ढङ्गले हामी याने म परिवर्तना र गोकुलधोज ‘मानव’ मेरा दुल्हा ‘कोर्ट म्यारिज’ गर्छौ । ‘कोर्ट म्यारिज’ पछि हामी एउटा राम्रो होटलमा सानो विवाह भोज आयोजना गर्छौ । विवाह भोजमा म मेरा प्रतिबद्धता व्यक्त गर्ने १५ जना साथीहरु र केही मनले खाएका अतिथीहरुलाई आमन्त्रण गर्छु । गोकुलका आमाबाबु छैनन्, उनी पनि आफ्ना मनले खाएका साथीहरु र आफ्नी बहिनी बिपाशालाई बोलाउँछन् । सानो तर भव्य भोजमा सबैजना हामीलाई ‘सफल दाम्पत्य भावी जीवनका’ शुभकामना दिन्छन् । भावी दाम्पत्य जीवन जेहोस्, मैले सुरु गर्नै पथ्र्यो, सुरु गरेकी छु । म पनि, मभन्दा बढी मेरो यो नयाँ जीवनको आरम्भमा मेरी आमा खुसी हुनुभएको छ । हेरौँ, भावी जीवन कस्तो र कसरी बित्ने हो ? भविष्यको गर्भमा नै रहेको छ । 


प्रेम रुप


प्रिय ‘मानव’
म तपाईँको लागि यो जुनी दिन तत्पर छु । मेरो दस जुनी हुने भए दसै जुनी दिन तयार हुन्छु । मेरो हजार जुनी हुनेभए हजार जुनी दिन तयार छु । लाख जुनी भए लाख जुनी नै दिन तयार छु म । म तपाईलाई आजन्म जन्मजन्मान्तर भावनामा प्रेम प्रतीकको रुपमा पूजा गरिरहन्छु । मेरो पुनर्जन्म हुने हो भने लाखौँ पुनर्जन्महरुमा पनि प्रेमी रुपमा नै तपाईँप्रति समर्पित भइरहनेछु । तपाईँको प्रेममा म डुबेर मेरा सबै जन्म र जुनीहरु बिताउन चाहन्छु, तपाईँको केही चाहन्नँ, तपाईँले दिए पनि नदिएपनि म तपाईँको प्रेममा समस्त जीवन न्यौछावर, समर्पण, बलिदान गर्न चाहन्छु । मेरो प्रेम तपाईँ समक्ष पुगोस् या नपुगोस्, म आजन्म, आजीवन जन्मजन्मान्तर तपाईँलाई प्रेम गरिरहनेछु । प्रेम अमर छ । अमर प्रेम गरिरहनेछु । 
        तपाईँकी प्रेम पुजारी
    निर्मला

‘प्रेम–पत्र मेरो हात पर्छ । निर्मलाको दराजमा एउटा आवश्यक फाइल खोज्दै जाँदा त्यो पत्र मेरो हातमा पर्छ । म त्यो पढेर अवाक् हुन्छु, स्तब्ध हुन्छु । त्यो पत्र साँच्चै प्रेम भावनामा बगेर निर्मलाले लेखेकी हुन्छिन्— पवित्र प्रेम । तिनले त्यो पत्र गोकुललाई दिन सकेकी थिइनन् वा दिन चाहिनन् । सायद गोकुलले तिनीप्रति देखाएको वितृष्णा र म प्रतिको आकर्षण देखेर त्यो प्रेम–पत्र त्यतिकै तिनको दराजमा थन्किएर रहेको होला ।
मेरो विवाह उत्सवमा निर्मलाको निन्याउरो चेहरा र तिनको आँखाबाट बहेको आँसुको मोल अहिले मलाई थाहा हुन्छ । विचरी, तिनको एकतर्फी प्रेम ! दोहोरो प्रेममा परिवर्तित हुन नपाउँदै थाहै नपाई मैले त्यसलाई कुल्चिदिएँ । तिनी आफ्नो असफल प्रेमको आँसु पिउँदै बाँचिरहेकी छिन् । असफल प्रेम–आघात सहेर हाँसिरहे जस्तो देखाइरहेकी छिन् । मलाई निर्मलाप्रति अग्घोर माया र सहानुभूति बढेर आउँछ । निर्मला मेरो आँखामा अझ माथि उक्लिन्छिन् । माया, प्रेम गर्न सक्ने हृदय भएकी ती महान् नारी !
अप्रेसित त्यो कलिलो हृदयद्धारा कोरिएको प्रेमपत्र । म गोकुललाई देखाउँछु । उनी त्यो पत्र पढ्छन् । उनले त्यो पत्र पढिरहँदा, उनको चेहरामा कस्तो भाव आउँछ, म गम्भीरताकासाथ नियाल्छु । कतै निन्याउरो, उज्यालो, आशा र निराशाका अनेकौँ भावहरु उनको अनुहारमा आउँछन्, जान्छन् । पत्र पढिसकेपछि उनी अट्टहाँस गरेर हाँस्छन्....... हा..हा...हा...।
“कस्तो लागेको छ ?” म सोध्छु । मैले किन त्यस्तो प्रेम पत्र लेख्न सकिनँ, म आफैँलाई सोधिरहेकी हुन्छु । मलाई एउटा अव्यक्त पीडा र ईष्र्याले भित्रभित्रै घोचिरहेको महसुुस हुन्छु ! कतै उनी निर्मलाप्रति आकर्षित भएका थिएनन् ?
“कसैले त मलाई पनि प्रेम–पत्र लेखेका रहेछन् । अनौठो अनुभूति भएपनि अब कस्तो लाग्नुको कुनै अर्थ छैन ! म त सम्पूर्ण समग्र रुपले नै तिम्रो भइसकेँ ।”
“तर पनि, यस्तो भावुक प्रेमपत्र पहिले पाउनुभएको भए, पहिला नै पाएको कल्पना गरेर सोच्नोस त, तपाईँ तिनको प्रेम स्वीकार गर्नुहुन्थ्यो ?”
“निरर्थक प्रश्न नगर । जो बित्यो बितिसक्यो । यस्तो भएको भए, त्यस्तो भएको भए आदि काल्पनिक कुराहरुको यथार्थमा कुनै स्थान हुँदैन, छैन । बिनासित्ति तिमी यस्ता कुराहरुमा टाउको नदुखाऊ ।” उनको कुराले मेरो चित्त बुझ्छ । तर पनि मेरो मनको एउटा कुनाको एउटा अज्ञात पाटामा एउटा सानो पहिरो जान्छ त्यो प्रेमपत्रले । मेरो प्रेम सिङ्गो मेरो रहेन, कतै निर्मलाले त्यो चोरी लैजाने हो कि ? लैजान चाहेकी थिई, लगेकी भए बेस हुन्थ्यो । मेरो स्वास्नीमान्छेको मन ! मलाई थाहा छ स्वास्नीमान्छेको मन । प्रेमको पीडा र प्रहार ! यायावरसँग छुट्टिनु पर्ला भन्ने पीर र पीडा मैले कसरी सहेकी थिएँ र त्यो पीडालाई मैले कसरी समपर्णमा परिणत गरेकी थिएँ । बिचरी निर्मला ! आफ्नो प्रेमको पीडा र प्रहार सहन विवश छे । तिनले त आफ्नो प्रेममा समर्पण पनि गर्न पाइनन्, सकिनन् ।
         

निर्मला दुई हप्ताको बिदा लिएर आफ्नो घर गाउँ गएकी थिई । फर्केर आएकी छे र काममा व्यस्त देखिन्छे । म तिनको गतिविधि नियाल्छु । कुनै परिवर्तन छैन । अनुहारमा मात्र निराशाको भाव देख्छु, कतै त्यो पनि मेरो भ्रम हो कि ? निर्मला स्वाभाविक देखिन्छे । सबै कामहरु ठीकसित गरिरहेकी हुन्छे । तैपनि मलाई ऊ भित्रभित्रै प्रेमको पीडा सहन गरिरहेकी छे भन्ने कल्पना गर्छु । पीडाका भाव र प्रभाव म उसका गतिविधिहरुमा झल्केको देख्न खोज्छु तर त्यस्तो केही छैन । धन्य हो निर्मला ! जसले प्रेमको प्रहार र पीडालाई सजिलै पचाउन सकेकी छे । सायद गाउँमा ऊ एक्लै बसेर धेरै बेरसम्म रोइहोली । म भावुक हुन्छु ।
 धेरै दिन सम्म त मैले निर्मलालाई केही भनिन । तर एक दिन भनिहाल्छु,
“निर्मला, तिम्रो प्रेम पत्र जसलाई लेखेकी थियौ, उसले प्राप्त गरिसक्यो ।”
“कस्तो प्रेम पत्र ?” निर्मला छाँगाबाट खसेझैँ हुन्छे । आफ्नो लुकेर गरेको चोरी समातिएझैँ ऊ झस्किन्छे । 
“त्यही दराजमा रहेको तिम्रो प्रेम–पत्र । गोकुल ‘मानव’ लाई लेखेको प्रेम–पत्र ।” 
“आ, म्याडम पनि । त्यो मैले एउटा लहडमा आएर लेखेकी अनि त्यो दिनलाई पनि लेखेकी होइन । मनको सन्तोषको लागि लेखेकी ।”
“तर त्यो त ‘मानव’ ले पाईसके । पढिसके !”
“म्याडमले दिन हुँदैनथ्यो.... !”
“दिदाँ के बिग्रियो र ! साँच्चै तिमीले पत्रमा लेखेजस्तै प्रेम गर्न सक्थ्यौ ?”
“त्यस्तो केही हुँदैन । होइन । ममा निश्चित रुपमा लालसा थियो । अप्राप्य चीज प्राप्ति गर्ने अभिलाषा थियो होला, जुन बितिसक्यो । बिगत फर्केर आउँदैन । सपना सम्झेर भुल्नु बुद्धिमानी हुन्छ । त्यो एउटा केटाकेटी बुद्धि । धेरै कोट्याएर घाउ बनाउनु हुँदैन ।”
“त्यो घाउ थियो कि थिएन ? घाउ थियो भने त्यो दुख्थ्यो ? त्यो दुखेको सम्झना छ या छैन भनेर सोधेको मात्र हो ।”
“घाउ हुन पाएको थिएन ।”
“हो, मैले तिमीलाई दुःख दिन यो सोधेको होइन । केवल मेरो मनको खुल्दुली मेटाउन सोधेकी हुँ । दुःखेको थाहा पाउन सकिन्छ, सकिदैँन भनेर मात्र तिमीलाई सोधेकी हुँ । तिमी निस्फिक्री यहाँ काम गर । म तिम्री आफ्नै दिदी सरहकी भएर म तिमीलाई तिम्रो प्रगतिका लागि सक्दो मद्दत गर्नेछु । मलाई तिम्रो मनको पुकार सुन्ने साथी बनाउन सक्छ्यौ । मलाई पनि त्यस्तै एउटी साथी चाहिएको छ ।”
साच्चै मलाई मेरो सुख र प्राप्तिमा ईष्र्या गर्ने, भित्रभित्र जलन महसुस गर्ने तर मेरो गरुङ्गो बोझ देख्दा साँचो सहानुभूति प्रकट गर्ने एकजना मन मिलेको, मन खुलेको साथीजस्तो साथी चाहिएको हुन्छ, जसको अनुहारमा म दर्पणमा झैँ आफ्नो सुखदःखको छाया देख्न सकूँ । त्यस्तो साथी निर्मला हुन सक्छे । निर्मलाका लािग पनि ‘मानव’ का सबैभन्दा प्रिय परी, प्रियका परी प्रिय नै रहन्छिन्, हुन्छिन् ।


समयको अविरल प्रवाह रोकिँदैन । हाम्रो एकजना छोरा जन्मिन्छ । छोरा जन्मेको दुई वर्षपछि फेरि छोरी जन्मिन्छे । छोरा र छोरीहरुको जन्मले मलाई पूरै आमा बनाइदिन्छ । आमा, जो छोराछोरीहरुका लागि हुन्छे । साना छोराछोरीहरु, नहुर्कुन्जेल आमा ढुक्क भएर घर बाहिरी कामहरुमा लाग्न सक्तिन । जहिले पनि ‘आमा बाबुको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गामुढामाथि’ भन्ने उखानमा भनिएझैँ आमाको मन साना छोराछोरी माथि नै केन्द्रित हुन्छ । सन्तानमोह कति बलियो मायाको डोरी रहेछ ! जुन डोरीले कसेपछि जस्तै ‘मै हुँ’ भन्ने आमा पनि त्यही नाता, सम्बन्धमा अल्झिन्छ । आफूलाई छोराछोरीको मायामा निर्लिप्त गराई समर्पणमा भुलिन्छ । सबथोक बिर्सेर आमा छोराछोरीको सुख, दुःख, स्याहार, सम्भार, सेवा शुश्रूषा र मायामा विलय हुन्छिन् । आमा हुनु नारी जातिको महान् गौरव हो । आमा नभई नारी पूर्ण हुन सक्तैन । आमा भइसकेपछि मेरो नारी जीवन सार्थक भएको अनुभूतिले मलाई जुन आनन्द दियो, त्यो सायद आमा भइसकेकाहरु सबैले अनुभूत गरेको हुनुपर्छ ।
मेरो दस वर्षको लामो समयावधि एकप्रकारले भनौ घर गृहस्थीको झन्झट, झमेला भनौ कि स्वाभाविक सुख–दुःखको प्रवाहमा रुमल्लिएर बितेको मलाई त्यतिबेला मात्र थाहा हुन्छ, जुन बेला छोरा पारुहाङ्ग र छोरी नायुमा बोर्डिङ्ग स्कुल जान थाले र उतै बोर्डिङ्गमा ‘डे बोर्डर्स’ भएर बस्न थाले । ‘मानव’ उनीहरुलाई ‘पूरै बोर्डर्स’ राखौंँ भनिरहेका छन् तर मेरो आमा मन मान्दैन । उनीहरु ‘डे बोर्डर्स’ भएपछि मात्र मलाई ‘संसार कहाँ पुगिसक्यो ?’ खोजिनीति गर्ने फुर्सद हुन्छ । 
यो दस वर्षको अवधिभित्र हामी पन्ध्रजनामध्ये अधिकांशको विवाह भइसकेको हुन्छ । सौन्दर्या एकजनाको मात्र विवाह भएको छैन । सौन्दर्या साच्चै सौन्दर्याको खानी नै थिइन् । तिनी अर्थशास्त्र विषयमा पि.एच.डी गरेर डा. सौन्दर्या भएकी छिन् । तिनीसँगको मेरो अन्तरङ्ग सम्बन्धको कारण तिनी मार्फत् नै यो दस वर्षको अवधिमा संसारमा भइरहेको गतिविधि सम्बन्धी मुख्यमुख्य सूचनाहरु मलाई प्राप्त भइरहेको थियो । तिनको निजी जीवनबारे मलाई पूर्ण रुपले ज्ञान छ । 
तिनी निर्मला जस्तै प्रेममयी थिइन्, छिन् । निर्मलाले आफ्नो पहिलो प्रेम व्यक्त गर्ने अवसर नै प्राप्त गरिनन् । त्यो सुषुप्त पहिलो प्रेम एकतर्फी रुपमै तुहेर गयो । तर तिनले फेरि अर्को प्रेमी पाइन् । तिनको प्रेम विवाह मैले नै सम्पन्न गराउन मद्दत गरेँ । अहिले तिनी दाम्पत्य जीवनमा बाँधिएर एक छोराकी आमा भएकी छिन् । तिनी सुखी नै देखिन्छिन् । तर डा. सौन्दर्या भने प्रेमको मामलामा निर्मलाझैँ सुखी हुन सकिनन् । तिनी र प्रा. डा. मानिक बीच प्रेमसम्बन्ध चलिरहेको थियो । तिनीहरुको प्रेमसम्बन्ध विवाहमा बदलिन्छ भन्ने सबैले आशा गरिरहेको बेला डा. मानिकले तिनलाई धोका दिए । उनले डिग्री लेभलको आफ्नै छात्रासँग विवाह गरे । सौन्दर्या धोका पाएर केही समय विक्षिप्त जस्तै भइन् तर सम्भालिइन् । सौन्दर्यालाई त्यो अवस्थामा तिनले प्राप्त गरेको डाक्टर उपाधिले सान्त्वना दियो । तिनी डा. सौन्दर्या भइन् । तिनलाई पुरुषहरु धोकेबाज हुन्छन् भन्ने छाप परेको छ । प्रेममा पाएको एउटा धोका सहिन् । फेरि अर्को प्रेम नाटक गरेर अर्को धोकाको झट्का सहन सकिन्न भन्ने सम्झेर तिनी फेरि अर्को पुरुषसँग प्रेम गर्नै नसक्ने वा प्रेम नगर्ने भन्ने बौद्धिक अठोट लिएर आजीवन कुमारी बस्छु भनिरहेकी छिन् । 
                      

यो दस वर्षको दौरानमा युगान्तकारी कैयौँ परिवर्तनहरु भइसकेका छन् । संविधान सभाको चुनाव सर्दैसर्दै भएपनि सम्पन्न भएको छ । नयाँ संविधान निर्माण भएको छ । त्यस संविधानको व्यवस्था अनुरुप राजनीति र व्यवस्था सञ्चालन भइरहेको छ । पुराना कुराहरु नयाँ जस्ता देखिएका छन् । आवरण फेरिएका छैनन् । गरिब गरिब नै छ । शोषणको मार खेपिरहेका तिनीहरु शोषित नै छन् । राजनैतिक संरचना फेरिएझैँ देखिए पनि मूलभूत सामन्ती संरचनाको अवशेष जताततै मूलभूत रुपमै विद्यमान छ । मुलुक मूलभूत रुपमा नव उपनिवेश जस्तै भएको छ । विदेशीहरुको हर क्षेत्रमा हालीमुहाली छ । अन्तर्राष्ट्रिय व्यापार, उधोग, घरेलु व्यापार, राजनीति र सामाजिक संरचना आदि हरेक क्षेत्र विदेशीको इशारामा चलिरहेको आभास भइरहेको छ ।
मुलुकवासीहरु फेरि पनि गुलामझैँ नै छन् । विदेशीहरुको इशारामा गुलाम मानसिकता बोकेका राजनीतिज्ञहरु विदेशीकै बुइ चढेर सत्तामा पुग्ने, टिक्ने र टाँसिरहने खेलमा निर्लिप्त छन् । पुराना मानसिकतामा अन्तर आएको देखिदैँन । पुराना सत्ता सर्वसाधारणहरुको हक हितमा बाधक देखिएकाले त्यो पुराना सत्ताको ठाउँमा नयाँ सत्ता आएको छ भन्ने भ्रम मात्र छरिएको छ । नयाँ सत्ताको नाममा पुरानै शासकहरु नयाँ मुकुन्डो भिरेर शासनमा टिकिरहेका अवस्थाले सर्वसाधारणहरुको अवस्था पहिलाकै जस्तो छ । परिवर्तनको आभास भइरहेको छैन । शोषण, उत्पीडनको रुप मात्रै फेरिएको अनुभूतिले हामी पन्ध्र जनालाई फेरि नयाँ ढङ्गले सोच्न बाध्य पारिरहेको अवस्था छ । 
हाम्रो प्रतिबद्धताहरु पूरा भएका छैनन् । सर्वसाधारणहरुको अवस्था चिन्ताजनक छ । उन्मुक्तिको सास फेर्न नसकिरहेका सर्वसाधारणहरु निराश छन् । नयाँ उथलपुथल आउने हो कि होइन ? ‘जुन जोगी आए पनि कानै चिरेको ।’ जोसुकै सत्तामा आए पनि सर्वसाधारणको ढाड सेक्ने र टेक्ने मात्र हो । महंगी चरम चुलीमा पुगेको छ । शान्ति सुरक्षा नाजुक अवस्थामा छ । ‘जसको शक्ति उसको भक्ति ।’ भ्रष्टचारीहरु सत्तामा रहुन्जेल अपराधी र अत्याचारीहरुले दण्ड पाउने स्थिति हुँदैन । हत्याराहरु निर्लज्ज निर्धक्कतासाथ समाजमा घुमिरहेका छन् । दण्डहीनताको अवस्थाले कानूनी राज्यको खिल्ली उडाएको छ । अराजकताको माहौल बन्दै गइरहेको स्थितिले मुलुकको अखण्डता, सार्वभौमिकता र संविधानमाथि नै प्रश्न चिन्ह खडा भइरहेको छ । राम्रा दिनहरु आउनेछन् भन्ने संकेत कहीं कतै देखिँदैन । 
सबै भ्रष्ट छन्, भ्रष्ट देखिएका छन् । राष्ट्रियता, राष्ट्रप्रेम, जनताप्रेम सब पाखण्ड मात्र भएको छ । ‘आफ्नो दुनो सोझ्याउने’ खेलमा सब टाठाबाठाहरु लागि परेका छन् । असल मान्छे वा असल नागरिक नै पो छैन कि जस्तो भान पार्ने परिस्थिति र वातावरणले जनता उकुसमुकुसिएका छन् । राजनीतिमा जे देखिन्छ, त्यो छैन, जे सुनिन्छ त्यो हुँदैन । पाखण्डीहरुको जनता झुक्याउने फोहोरी खेल राजनीति भएको छ । राजनीतिले जनतामा वितृष्णा जन्माएको छ र राजनीतिज्ञहरु घृणित भएका छन् । यस्तो अवस्था र व्यवस्थालाई परिवर्तन गरेर नयाँ आशालाग्दो सर्वसाधारणको हृदयमा उत्साह, जाँगर र प्रेम उत्पन्न गर्ने अवस्था र व्यवस्थामा कसरी रुपान्तरण गर्न सकिन्छ ? झट्ट हेर्दा सबैतिर भ्रष्टचारी, अपराधी, अत्याचारी र पाखण्डीहरुमात्र देखिए पनि समाजमा तिनीहरुको वर्चस्व छैन र हुन पनि सक्दैन । फगत तिनीहरुले पानी धमिलो पारेका छन् । समाजलाई दुषित बनाएका छन् तापनि मुलुक र विश्वको सम्पूर्ण व्यवहार, व्यवसाय, राजनैतिक, सामाजिक गति इमानदारितामाथि टिकेको छ । इमानदारहरुले नै देश थामेका छन् । इमानदारीमाथि नै संसार टिकेको छ । समाजमा इमानदारहरु जबसम्म बहुमतमा रहन्छन्, व्यवहार चलिरहन्छ । इमानदारहरु जुनबेला अल्पमतमा पर्छन्, अराजकता, अपराध, हत्या, हिंसा र घृणाको साम्राज्य फैलिन्छ र दुनियाँ समाप्त हुन्छ, मानव सभ्यताको अन्त्य हुन्छ । 
त्यस्तो स्थिति आउन नदिन समाजमा व्याप्त असमानता, अत्याचार र शोषणको अन्त हुनुपर्छ । त्यसका लागि सबै मानिसहरु सचेत, जागरुक, कर्तव्यपरायण र इमानदार हुन जरुरी छ । प्लेटोले भने जस्तै असल मानिसहरु हर क्षेत्रमा सक्रिय हुनुपर्छ । यदि असल मानिसहरुले सक्रिय नभई ठाउँ खाली छाडे त्यो ठाउँ खराब मानिसहरुले भर्नेछन् र खराबहरुको बिगबिगी बढ्नेछ । आर्थिक स्थितिले चेतनाको स्तर निर्धारण गर्ने भएका हुँदा आर्थिक समानता चाहिन्छ । आर्थिक समानता आर्थिक उन्नतिमा आधारित छ । आर्थिक उन्नति ठीक उपयुक्त राजनैतिक व्यवस्थामाथि निर्भर छ । सर्वसाधारणहरुले जबसम्म राजनीति बुझ्दैनन्, तबसम्म राजनीति सर्र्वसाधारणहरुको पक्षमा हुँदैन । सर्वसाधारणहरुको राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र आर्थिक क्रियाकलापहरु सर्वसाधारणहरुका हितका लागि केन्द्रित हुनुपर्छ । सर्वसाधारणहरुको स्थिति उत्थान गर्ने राजनीतिलाई बढि महत्व दिनुपर्छ । राजनीति नै सबैको मूल हो । राजनीति ठीक भए सब ठीक हुन्छ । राजनीति कसरी ठीक गर्नेहोला ? सही राजनैतिक दिशा र गति कसरी पक्रिनेहोला ?
सर्वसाधारणहरुको राजनीति सर्वसाधारणहरुले नै गर्नुपर्छ । थिचिएका, मिचिएका सर्वसाधारणहरुको पीडा सर्वसाधारणलाई मात्र थाहा हुन्छ । सर्वसाधारणहरुलाई के चाहिन्छ ? उनीहरु स्वयं त्यसको प्राप्तिमा लाग्नुपर्दछ । सर्वसाधारणहरुको स्थिति सुधार्न सर्वसाधारणहरुद्धारा नै राजनीति गरिनुपर्छ र राजनीतिलाई ठीक बाटोमा हिडाउँन सर्वसाधारणहरुलाई जागरुक, सचेत र सक्षम बनाउने राजनीतिक दलको खाँचो छ । त्यो खाँचो कसरी पूर्ति गर्न सकिन्छ ? हामी १७ जनाहरु मध्येका जीवित १५ जनाको ध्यान त्यता केन्द्रित भइरहेको हुन्छ । 
हामी छलफल गर्छौँ । विचारहरु आदान प्रदान गर्छौँ । विश्व राजनीति र मुलुकभित्रको राजनीतिबारे अध्ययन गर्छौँ, विश्लेषण गर्छौ । निष्कर्षमा पुग्नका लागि विविध वैज्ञानिक तरिकाहरु अवलम्बन गरिरहेका हुन्छौँ । समस्याको अवलोकन, अध्ययन, विश्लेषण, पुनः अवलोकन, अध्ययन, विश्लेषण गर्दै एउटा निश्चित निष्कर्षमा पुग्न प्रयत्नशील भइरहन्छौँ । सही निष्कर्ष निकाल्न हामी आफ्नो सम्पूर्ण शक्ति, सामथ्र्य केन्द्रित गर्छौँ । यथार्थमा आधारित हुँदै एउटा ठोस निष्कर्ष, निर्णयमा पुग्छौँ ।
हाल विद्यमान दलहरुले वास्तविक रुपमा सर्वसाधारणहरुको समस्यालाई सम्बोधन गर्न सकिरहेका छैनन् । सर्वसाधारणहरुको समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्न सक्तैन । शान्ति र स्थिरता पनि प्राप्त हुन सक्तैन । सर्वसाधारणहरुको र मुलुकको समस्या समाधान गरी शान्ति र स्थिरता प्राप्त गर्न नयाँ दलको आवश्यकता उत्पन्न भएको छ । 













अध्ययन आनन्द

भीड जम्मा भइरहेको छ । मन्त्रमुग्ध, स्तब्ध र एकाग्र भएर सब ती दुईको कुरा सुनिरहेका छन् । एकजना अभूतपूर्व सुन्दर लक्का जवान, अर्की त्यस्तै अतुलनीय सौन्दर्यावती युवती ! तिनीहरु भनिरहेका छन् । 
“हामीसित चामत्कारिक अजम्बरी फूलको बिरुवाहरु छन् । त्यो विरुवाहरु ९९ वर्ष पछि एक पटक फुल्छन् र एउटा फल लाग्छ । त्यो फल जसले खान्छ, त्यो मानिस हामी जस्तै अमर वा अजम्बरी हुन्छ ।”
“तपाईँहरु को हुनुहुन्छ ।”
“हामी अमर, सर्वशक्तिमान् र सर्वकृपालु दिव्य पुरुष र दिव्य नारी हौँ ।” 
“किन यी फूलका बिरुवाहरु बेचिरहनुभएको छ ?” भीडबाट एकजना प्रश्न गर्छ । 
“सर्वकृपालु भएकाले ।”
“फूलका बिरुवाहरुको मूल्य कति हो ?”
“मात्र चुम्बन ! दिव्य नारी म र उहाँ दिव्य पुरुषलाई एक एक चुम्बन ।”
“हामी किन्न चाहन्छौँ ।”
“तर सर्त थाहा पाउनुहोस् । जसको आयु ९९ वर्ष छैन र उसले फूल फुलाउन सक्तैन, त्यसको दिव्य पुरुष वा दिव्य नारीलाई चुम्बन गरेको पाँच मिनेटपछि नै मृत्यु हुनेछ । सर्त मञ्जुर गरेर मात्र विरुवा लिनुहोला ।”
सन्नाटा, निस्तब्धता ! सबै सोचमग्न ! ९९ वर्ष बाँचिएला ? कोही अगाडि बढेनन् । निक्कै बेर पछि ती दिव्य नारी र पुरुष जस्तै सुन्दर एक युगल जोडी मुस्कुराउँदै अगाडि आउँछन् । सर्त अनुसार फूलका बिरुवा लिएर तिनीहरु दिव्य नारी र पुरुषलाई चुम्बन गर्छन् । 
हर्ष विभोर जनसमुदाय । तालीले वातावरण गुञ्जायमान हुन्छ । हर्षले रुमाल र टोपीहरु आकाशतर्फ फालिए । फूलका थुङ्गाहरु बर्सिन्छन् । सारा जनसमुदायमा हर्षोल्लास व्याप्त भएर ती युगल जोडीको जयजयकार हुन्छ । पाँच मिनेट बितेको मानिसहरुलाई पत्तै भएन । यो के आश्चर्य ?
ती युगल मानव जोडी भुइँमा मृत लम्पसार परिरहेका छन् । भीड पुनः स्तब्ध । त्रासदीपूर्ण दुःखद् नीरवता । सर्त अनुसार ती युगल जोडीको आयु ९९ वर्ष थिएन । अब कोही त्यो अजम्बरी फूलको बिरुवा किन्न अगाडि बढिरहेका छैनन् । 
ती युगल मानव जोडीको मृत्युले मानिसहरु यत्ति धेरै उत्तेजित, आक्रोशित हुन्छन् कि “ज्यानमारा तिमीहरु, हामी तिमीहरुलाई त्यसै जान दिँदैनौँ..” भन्दै उनीहरु दिव्य नारी र पुरुषमाथि जाइलाग्छन् । ढुङ्गा, मुढा, ईटाआदि जे पायो त्यसैले हिर्काउँन थाल्छन् तर आश्चर्य ! ती ढुङ्गा, ईटाहरु त फूल बनेर पो तिनीहरुमाथि बर्सिन्छन् ।
मानिसहरुको त्यो उत्ताउलोपन देखेर पनि उनीहरु मुस्कुराइरहेका हुन्छन् । त्यो देखेर मानिसहरु झन् क्रुद्ध भएर उनीहरुलाई घेर्न, समात्न र हातपात गर्न तम्सन्छन् । भीड तिनीहरुमाथि खनिन्छ तर करेन्ट लागेजस्तो भएर भीड फेरि  तितरबितर हुन्छ । भीडले उनीहरुलाई केही गर्न सक्क्तैन ।
दिव्य नारी र पुरुष हिँडिसकेपछि पनि फेरि फर्केर आउँछन् । एकआपसमा सल्लाह, खाशखुश कुुराकानी गरि सकेपछि ती मृत मानव जोडीलाई पुनर्जीवित पार्छन् । तिनीहरुका हातमा एक एकवटा बिरुवा पनि छ ।
ती मानव जोडी पनि त्यो दिव्य जोडी जस्तै अझ सुन्दर र जाजल्यवान देखिन थाल्छन् । मानिसहरु हर्षविभोर हुँदै फेरि त्यो दिव्य जोडीको जयजयकार गर्न थाल्छन् –“सर्वकृपालु दिव्य जोडीको.... जय, जय, जय !”
..... .......
ध्यानपूर्वक सुनिरहेकी परीले आफ्ना पति कथाकार गोकुल ‘मानव’ लाई हेर्छिन् र सोध्छिन् । “यस्तो पनि हुन्छ र ?”
“कथामा, कल्पनामा जे पनि हुन्छ ।”
“किन ? यस्तो कथाले के औचित्य पुष्टि गर्न खोजेको छ ?”
“मेरा काम लेखेर एउटा बिन्दु पत्ता लगाउनु हो जुन बिन्दुमा मानव आकाङ्क्षा केन्द्रित हुन्छ । यी कथाहरुबारे आजको ‘विमोचन समारोह’ मा समालोचकहरुले विवेचना गरिहाल्लान् । बरु तिमी पनि हिँड, त्यहाँ सुनिहाल्नेछ्यौ ।” ‘मानव’ मुस्कुराउँछन् । 
परिवर्तना पनि मुस्कुराउँछिन् । मुस्कुराहट ! अवोध मुस्कुराहट !! यस्तै मुस्कानले ती दुई एक अर्काप्रति आकर्षित भएका थिए र दाम्पत्य जीवनमा बाँधिएका छन् । धेरै समयको अन्तरालपछि ती दुईलाई ती दुई मात्र भएको एकान्त मिलनको अवसर मिलेको छ । यस्तो अवसर दाम्पत्य जीवनको आवश्यकता हो, आधार हो । एक अर्कासित प्रेम पोखेर, आत्मीय कुराकानी र नितान्त निजी सम्बन्ध गहिरो पार्ने दाम्पत्य सुख दुःख बाँडचुँड गर्दै तिनीहरु त्यो अवसरको सदुपयोग गर्छन् । दुवै तृप्त छन् आफ्नो दाम्पत्य जीवनदेखि । 
समारोहमा गोकुल ‘मानव’ को भव्य सम्मान भएको आफ्नै आँखाले देखेर परिवर्तना सा¥है खुसी हुन्छिन् र आफू त्यस्ता पतिकी पत्नी भएकीमा गर्वले छाती चौडा भएको महसुुस गर्छिन् । 

    

“तिम्रो उपन्यासमा प्रेमान्ध पात्रहरुको घुइँचो छ । प्रेमले जीवन चल्छ र ? प्रेम नै साध्य हो र ? प्रेम कस्तो हुन्छ ? प्रेम कति मात्रामा मान्छेले पाउनुपर्छ ? कुन रुपको प्रेम मान्छेले पाउन खोजेको हो ? यी प्रश्नहरुको उत्तर पाउन सकिएला ?”
“उत्तर खोज्ने प्रयत्न गर्नु उत्तम कुरा हो ।”
“तिम्रो उपन्यासमा निर्मला पनि छे, सौन्दर्या पनि छे तर मेरो उपस्थिति भए जस्तो लाग्दैन ।”
“हा.. हा.. हा....” हाँस्छन् गोकुल ‘मानव’ । “तिम्रो उपस्थिति नभएको उपन्यास म कसरी लेख्न सक्छु ? मैले जीवन तिमीलाई अनुभूत गरेको छु । तिमीलाई प्राप्त गरेपछि नै मेरो जीवन पूर्णतातर्फ उन्मुख भएको छ । के तिम्रो र मेरो अनुभूति उपस्थिति नभई उपन्यास बन्न सक्छ र ?”
“तर म त मेरो उपस्थिति देख्दिनँ ।”
“त्यो त साहित्यको विशेषता हो । उपन्यासको मूल पात्र नायिका आफू सम्पूर्ण उपन्यासभरि फैलिएकी छे, उसैको मनको ताप, राप, बेचैनी, छटपटाहट, आकाङ्क्षा, इच्छा, लालसा, भोग, सुख–दुःख, अनुभूति, ईष्र्या, पीडा, बेदना, यातना, पीर, रडाको, उच्छ्वास र उल्लासले उपन्यास रङ्गिएको छ । ऊ आफू त्यहाँ उपस्थित छैन भन्ने सोच्छे । योभन्दा उत्तम विडम्बनायुक्त अर्को उपन्यास लेखिन सम्भव छैन । सायद, त्यसैले समालोचकहरुले यो उपन्यास उत्तम भएको भनेर प्रशंसा गरेका होलान् ।”
“यस्तो अमूर्त कुरा सर्वसाधारणले कसरी बुझ्लान् र ?”
“त्यो त हामीले प्रतीक्षा गर्नुृपर्छ । हेरौँ, सर्वसाधारणहरुले यो उपन्यसालाई कसरी अङ्गिकार गर्छन् । मलाई विश्वास छ, यो उपन्यासमा सर्वसाधारणको पीडा बोलेको छ । सर्वसाधारणहरुले यसलाई आफ्नो मुटुझैँ माया गर्नेछन् ।”
“अझै म कुरा बुझिरहेको छैन । जुन उपन्यासमा म  उपस्थित भएको आभास म गरिरहेकी छैन । सर्वसाधारणले त्यस उपन्यासमा आफू समावेश भएको कसरी अनुभूत गर्लान् ? म के सर्वसाधारणभित्र पर्दिन ?”
“तिमी, म सर्वसाधारण भित्र पर्छौँ, छौँ । तिमी र मजस्तै लाखौँ सर्वसाधारणहरुको दुरुह जीवनको चित्रण भएको उपन्यास सर्वसाधारणकै उचाइका लागि लेखिएको हो । त्यो अमूर्त छैन, सजीव छ । बुझ्न र देख्न मात्र सक्नुपर्छ, उपन्यासले सर्वसाधारणलाई कष्टकर जीवन बुझ्न, व्याख्या गर्न र त्यसबाट उन्मुक्ति पाउन नयाँ दिशानिर्देश समेत गरेको छ । हेरी राख, एक वर्षभित्र यो उपन्यासको दोस्रो, तेस्रो संस्करण पनि निस्कनेछ । यो मेरो विश्वास हो । यो उपन्यास तिमी साना छोराछोरीसँग निर्लिप्त भएपछि म एक्लो विकल भएको दस वर्षको लामो समयको मेरो तपस्याबाट सिर्जित भएको छ । मेरो आँसु यहाँ छचल्किएको छ, पोखिएको छ । विछोड, मिलन, आरोह, अवरोध, जीवनको उकाली, ओराली, मिर्मिरे, गोधूलिको आह र उच्छ्वास मिसिएको यो उपन्यास मेरो जीवनको सर्वोत्कृष्ट कृति हो ।”
“म एकपल्ट फेरि मेरा हृदयका सबै आँखाहरु, मगजका ढोकाहरु खुल्ला राखेर यो उपन्यास पढ्नेछु ।” परिवर्तनाको आँखाबाट विस्मयकारी आँसुका थोपाहरु खस्छन् । ”मैले किन बुझ्न सकिनँ तिम्रो भाषा र भावलाई । म पत्नी भएर पनि संसारमा मेरो सबैभन्दा प्रिय पतिद्धारा लिखित उपन्यास, उपन्यासकारको सबैभन्दा नजिक रहेर पनि किन ? ...... किन बुझ्न सकिनँ ?”



‘मानव संसार’ उपन्यासको शीर्षक । 
म उपन्यासको प्रत्येक पाना, पानाको शिरदेखि पुच्छरसम्म, पानाको प्रत्येक कुनाकुना पूरै ध्यान दिएर पढ्छु, हेर्छु र बुझ्ने प्रयास गर्छु । नियाल्छु, छाम्छु, छुन्छु, उचाल्छु प्रत्येक शब्द र हरफहरुलाई । कुन शैली र वाक्य कता फर्केको छ ? बनोट कस्तो छ, चेहरा, शारीरिक र मानसिक अवस्था के छ ? भाव भङ्गिमा, हावभाव, चालामाला, सल्बलाहट, सुस्केरा कस्ता छन् ? सब अक्षर र वाक्यहरु सजीव छन्, सल्बलाई रहेछन्, जरमुराएर उठिरहेका छन् । मसँग पौठेजोरी पो खेल्न तिनीहरु तयार देखिन्छन् । हिमाल चढ्दा जस्तै जोखिमहरु उपन्यास पढ्दा पनि देखा परेका छन्, म छक्क पर्छु । मक्ख पर्छु । 
समर्पण
उसलाई जो मेरो हृदयभरि अटाई नअटाई हर सतह, हर कुना ढाकेर गजधम्म बसेकी छे
उसलाई हटाउन खोज्दा हृदय फुट्ने भएकोले ऊ जो मेरो ‘म’ लाई नचाउँन सफल भएकी छे । 
समर्पणको कवितात्मक यी दुई हरफहरु । गजधम्म बसेकी को ? म हुँ ? कि निर्मला ? लोग्नेमान्छेको के विश्वास ? हुनसक्छ अरु नै कोही ! हृदयबाट हटाउन खोज्दा हृदय नै फुट्ने डर छ, जीवन टुट्ने डर छ । ‘म’ लाई नचाउँन सक्ने जादुगर्नी म कदापि हुन सक्तिनँ । ममा त्यस्तो कला छ र ? उपन्यास साच्चै चाखलाग्दो भएर बढिरहेको छ । निर्मला आफ्नो तुहेको पहिलो प्रेमका क्षतिपूर्ति पाउन लाख प्रयत्न गरिरहेकी हुन्छे । मुटुमा परेको प्वालमा औँला छिराएर पीप निचोरीरहेकी हुन्छे । यसरी घाउ कोट््याउँदा निको हुनुको सट्टा बल्झिएर घाउ ठूलो भइरहेको हुन्छ । रगत, पीप र दुर्गन्ध छ्याल्लब्याल्ल छरिएको छ । हरिया झिँगाहरु घुमिरहेपनि त्यसलाई नधपाई निर्मला छोरो काखमा खेलाइरहेकी छिन् । मुटुमा बसेको ‘मानव’ को तस्बिर छोरासँग मिलेको भए प्रेम यात्राका पथिक भएर तिनी जन्मजन्मान्तर हिँड्न राजी थिइन् तर दुवैका तस्वीरहरु फरक छन् । पहिलो प्रेम एकतर्फी नै किन नहोस्, पहिलो सन्तान अवैध नै किन नहोस्, भुल्न सकिन्छ र ? बारम्बार निर्मलाको घामछाया जस्तो विरहयुक्त मनको अन्तर कुन्तरमा ‘मानव’ उभिन आउँछन् । निर्मलाको संसार तिनको निजी हुनुपर्ने हो, तिनी, तिनको लोग्ने र छोरोको पूरा हकदावी भएको तिनीहरुको निजी संसार ! तर घरिघरि टुप्लुक्कटुप्लुक्क चियाउन आइपुग्ने ‘मानव’ले गर्दा निर्मलाको संसार ‘मानव संसार’ बन्न गएको देखिन्छ । ‘मानव’ भूतले तर्साइरहेको, पिरोलिरहेको निर्मलाको श्रापित अभिशप्त आत्मा ! भत्किएको श्रापित आत्मा लिएर निर्मला सर्वसाधारणको सेवामा जुट्छिन् । सेवामा साँचो प्रेमको दर्शन पाउने कोसिसमा तल्लीन निर्मला उपन्यासमा एउटी घतलाग्दी चरित्र भएकी छिन् । 
डा. सौन्दर्या परदेशी बनेर ‘मानव’सँग बास बस्न आइपुग्छिन् । प्रेम–धोका खाएकी तिनी ‘मानव’सँग प्रेम याचना गर्न सक्तिनन् । ‘मानव’ तिनीसँग प्रेम–याचना गर्न सक्तैनन् । याचना गरेर प्रेम दान पाइन्न । प्रेम दान गर्दा रित्तिने होइन, दोब्बर भएर जान्छ । प्रेम जतिजनासँग गरिन्छ, सिङ्गोसिङ्गो गरिन्छ । आधा, एकचौथाई वा यति प्रतिशत, उति प्रतिशत भन्ने प्रेम हुँदैन । आधा प्रेम, आधा घृणा हुँदैन । प्रेम हुन्छ भने शत प्रतिशत सिङ्गो प्रेम हुन्छ । घृणा पनि शतप्रतिशत सिङ्गो हुन्छ, सिङ्गो शुद्ध घृणा । प्रेम मिसिएको घृणा हुन सक्तैन । प्रेम घृणामा बदलिन सक्छ, त्यस्तै घृणा प्रेममा बदलिन सक्छ । निमेषभरमा प्रेम घृणामा बदलिन सक्छ, तर घृणालाई प्रेममा बदल्नु युगयुग लाग्न पनि सक्छ । त्यसैले घृणा उब्जनु दिनु हुँदैन । उम्रिन लाग्यो भने चिचिलोमै निमिट्यान्न पारिहाल्नुपर्छ भन्ने उक्तिलाई व्यवहारमा रुपान्तरण गर्न ‘मानव’ले डा. सौन्दर्याको जीवनमा पलाउन, उम्रिन अथवा टुसो हालन लागेको घृणालाई निमोठेर फालिदिएका छन् । त्यसको ठाउँमा प्रेमबीऊ छरेर तिनको जीवनलाई प्रेममय बनाएका छन् । डा. सौन्दर्यालाई प्रेमदान दिँदा ‘मानव’को प्रेमभण्डारमा कमी भएको कतै देखिदैँन बरु दोब्बर भएको प्रेमभण्डारको उपहार मलाई उनले दिएका छन् । प्रेमको दिव्य ओजस्वी अमूल्य उपहार पाएर म धन्यधन्य, कृतकृत्तार्थ भएकी छु । यसरी हेर्दा त म उपन्यासभरि छाएकी नै रहेछु । तर सर्वसाधारणहरु खोई त ?
कहाँ छन् सर्वसाधारणहरु ? म ‘मानव संसार’ मा सर्वसाधारणहरु खोज्न थाल्छु । सर्वसाधारणहरु त मुठ्ठी आकाशतर्फ उठाउँदै जुुलुसै पो भएर आइरहेका हुन्छन् । अन्याय, अत्याचार सहने लाचार छाया हामी होइनौँ, हामी आफ्नो भाग्य आफैँ लेख्छौँ । ‘सर्वसाधारणको उर्लियो भेल, अब चल्दैन जालझेल ।’ सबैतिर गाउँ, सहर, मुलुकै थर्काएर सर्वसाधारण जुर्मुराईरहेका छन् । कर्मथलोतिर लागिरहेका देखिन्छन् । सत्य, न्याय र शान्ति चाहने सर्वसाधरणहरुलाई कुल्चेर टाठा बाठाहरुले मोज गर्ने दिनहरु गएछन् । अब आउने भावी दिनहरुको लागि नै प्रतीक्षारत ‘मानव संसार’ सर्वसाधरणको सुख भोग गर्ने ‘सम्पन्न संसार’ मा परिणत भइसकेको रहेछ । म, मानव, निर्मला र डा. सौन्दर्याको उपस्थिति त्यो सर्वसाधारणको सम्पन्न संसारमा कहाँ कसरी छ ? म घोत्लिन थाल्छु । 
म हर्षविभोर छु  । साच्चै ‘मानव संसार’ सामान्य सर्वसाधारणको भाव, भाषा र स्थिति बोक्ने सर्वसाधारणकै उपन्यास रहेछ । मैले त्यो उपन्यास कति बुझेँ, त्यो मेरो लागि पर्याप्त छ । जसरी बुझेँ, म सन्तुष्ट छु । तर जिज्ञासावश मसँगै जीवन बिताउने त्यसका रचनाकार, उपन्यासकार मेरै जीवनसाथी भएका हुँदा त्यो उपन्यासको सृष्टिकर्तासँग मैले केही जिज्ञासाहरु राख्न पाउनु मेरो अधिकार र कर्तव्य सम्झन्छु । यस अर्थमा म भाग्यमानी पाठक भएकी छु । 
“गायक वा गायिकाको गुनगुन गीत, सुमधुर स्वर, लय र लहरमा तरङ्गित हुन पाउने पहिलो अधिकार उसकै जीवनसाथीको भएजस्तै तिम्रो उपन्यासमा बहकिने हक मलाई छ भन्ने लागेरै एउटा प्रश्न सोध्न चाहन्छु । सोधौँ कि नसोधौँ ?”
“सोध । सम्पूर्ण म तिम्रै हुँ । जे, जो, जसरी सोध्न मन लाग्छ, सोध । जसरी खेलाउन, सेलाउन मन लाग्छ, सेलाऊ या खेलाऊ । म राजी छु ।”
“हुन्छ त्यसो भए यो तिम्रो वाचा भयो । म उपयुक्त समयमा तिमीलाई खेलाउने, सेलाउने र बौराउने काम गर्नेछु । त्यस बेलाका लागि मेरा प्रश्नहरु थाती रहे । दन्त्य कथामाझैँ तिमीलाई खेलाउने, सेलाउने वा बौराउने मसँग सुनका र तामाका छडीहरु रहेका छन्......... बुझ्यौँ ?”


मोड  
जीवन र जगत् सोचे जस्तो सरल र बोधगम्य हुँदैन । चाहे जस्तो गरी जीवन र जगत्ले गति लिने कुराहरु मुलुक, समाज र व्यक्तिका अनेकौँ अवस्थाहरुले निर्धारण गर्छन् । सबै चाहन्छन्— शान्ति । तर शान्ति कहाँ छ ? सबै चाहन्छन्— समृद्धि । तर समृद्धि कहाँ छ ? समान रुपले सबैले चाहने शान्ति, समृद्धि र सम्मानको लागि नै राजनीति, समाज र आर्थिक स्थिति, परिस्थिति उपयुक्त हुनुपर्छ । सबै कुराहरुलाई निर्धारण गर्ने राजनीतिले हो । राजनीति ठीक भएमा सबै ठीक हुन्छ । तर वर्तमान राजनीति ठीक भएको आभास भइरहेको छैन । 
ठीक राजनीतिको प्रारम्भ नै पो भएको छैन कि ? यस प्रकारले सोच्दा विद्यमान राजनीति ठीक भएको भए नयाँ दलको आवश्यकता पर्ने थिएन । थिचिएका, चेपिएका, पिल्सिएका, थिल्थिला भएका र हेपिएका सर्वसाधारणका लागि नयाँ दल चाहिएको छ । सर्वसाधारणको पक्षमा वकालत गर्ने, सर्वसाधारण माथि भइरहेको थिचोमिचोको अन्त्य गर्ने र सर्वसाधारणको अनुहारमा मुस्कान, प्रफुल्लता र सन्तोष ल्याउन सक्ने राजनीतिको खाँचो छ । म र मेरा प्रतिबद्धता समूहका १५ जना साथीहरु सोच्छौँ । नयाँ दल गठन कार्यमा हामी जुट्छौँ । 
नयाँ दल बन्छ । सर्वसाधारणहरुमा नयाँ दल हामीले सोचेभन्दा द्रुततर गतिले फैलिन्छ । स्वस्फूर्त रुपमा सर्वसाधारण मानिसहरु यस पार्टीमा समावेश हुँदै जान्छन् । केन्द्रदेखि वडास्तरसम्म विभिन्न कमिटीहरु बन्छन् । कमिटीमा रहेका इमानदार मान्छेहरुलाई इमानदारीपूर्वक सही गन्तव्यसम्म पु¥याउन सकेको खण्डमा राजनीति भनेको देशको मुहार फेर्नलाई हो भन्ने सन्देश सर्वसाधारणहरुमा जानेछ । सर्वसाधारणहरु पनि आफ्ना लागि राजनीतिमा सक्रिय भएर लाग्नेछन् । राजनीति सर्वहितकारी हुनेछ । सर्वसाधारणहरु जबसम्म राजनीतिमा सरीक हुँदैनन्, निहित स्वार्थी झुन्डको हातमा राजनीति सीमित हुन्छ । स्वार्थी झुन्डको निहित स्वार्थ पूरा गर्ने साधन राजनीति बन्छ । ‘राजनीति फोहोरी खेल बन्छ ।’ राजनीति घृणित हुन्छ । त्यस्तो भएमा स्वार्थी तत्वहरुलाई नै फाइदा हुन्छ । राजनीति राष्ट्रसेवा, जनसेवा र द्रुततर निर्माण–विकास गर्ने साधन बनाउनुपर्छ भन्ने नव सोचका साथ नयाँ दल अगाडि बढिरहेको हुन्छ । 
लोकतान्त्रिक राजनैतिक व्यवस्थाको प्रमुख आधार, संरचना, आकार र अस्तित्व भनेको नै निर्वाचन रहेछ । स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव भएको खण्डमा ‘सर्व विकास निर्माण पार्टी’ ले बहुमत ल्याएर सरकार बनाउनेछ— सबैले अड्कल गरिरहेका हुन्छन् । साँच्चै नयाँ पार्टीको पक्षमा राष्ट्रव्यापी लहर चलेको हुन्छ । पुराना दलहरु जसले जनताका आकाङ्क्षाहरु पूरा गर्न सकेनन् त्यसका विरुद्ध मतदाताहरु हुन्छन् । 
पुराना पार्टीका राजनीतिक षडयन्त्र, जालझेल, तिकडम, धाँधली गर्न सिपालु खप्पिस नेताहरु नयाँ दल विरुद्ध जुटे । ती पुराना दलहरुले अघोषित अपवित्र गठबन्धन गरे । पुराना दल र पुराना नेताहरुको एकाधिकार तोडिने निश्चित देखेर जनता उत्साहित हुन्छन् । नयाँलाई एक मौका दिऊँ— सबै भनिरहेका हुन्छन् ।
चुनावको नतिजा आयो कुनै एक दलको बहुमत आउन सकेन । नयाँ दल ‘सर्व विकास निर्माण पार्टी’ सँग नमिली सरकार बन्न सम्भव हुँदैन । सरकार बन्ने अभ्यास सुरु हुन्छ । 
    
         

हाम्रो नयाँ पार्टी ‘सर्व विकास निर्माण पार्टी’ ले एक उप–प्रधानमन्त्री र केही मन्त्रीहरु लिने निधो गर्छ । पुराना दलहरुले प्रधानमन्त्री, सभामुख र मन्त्रीहरु लिने भएका हुन्छन् । हाम्रो दलभित्र को उप–प्रधानमन्त्री र मन्त्री हुने भन्ने छलफल सुरु हुन्छ । 
“उप–प्रधान मन्त्री को हुने भन्ने निर्णय गरिसकेपछि मात्र क्रमशः अन्य मन्त्री पदहरुको निर्णय गर्दै जाऔँ ।” महासचिव जमानसिंह प्रस्ताव राख्छन् । सबैले सहमती जनाउँछन् । 
“उप–प्रधानमन्त्रीको लागि म परिवर्तनाको नाम प्रस्तावित गर्छु ।” महासचिव जमानसिंह प्रस्ताव राख्छन् । सबैले समर्थन जनाउँछन् । 
यस्तै प्रकारले उपप्रधानमन्त्रीमा म, मन्त्रीहरुमा डा. सौन्दर्या, सलीम, शोभना, शौरभ, जोन्सनका नाम सर्वसम्मतिबाट सिफारिस गरिन्छन् । त्यसै अनुसार नयाँ गठबन्धन सरकार बन्छ । 
उप–प्रधानमन्त्री....
सपनामा समेत नचिताएको पद । मेरो जीवनमा सबैभन्दा बढी खुसी भएका क्षणहरु– चोमोलोङ्मा शिखरमा पुगेको क्षण र आमा बनेको क्षणहरुमा उप–प्रधानमन्त्री भएको क्षण पनि थपिएको छ । उप–प्रधानमन्त्री नयाँ जिम्मेवारी, जनताप्रति नयाँ जिम्मेवारी ! सम्पूर्ण देशवासीहरुको आशा र भरोसाको केन्द्र । म राजनीतिको पोखरीमा चुर्लुम्म डुबेँ । अब मेरो निजी जीवन केही रहेन । म सार्वजनिक सबै देशवासीहरुको साझा भएँ । जहिले पनि जहाँ पनि म मान्छेहरुले घेरिन थालेँ । बैठक, छलफल, भेला, भाषण, भेटघाट— दिन रात व्यस्त जीवन । मेरो जीवन राष्ट्रको लागि अर्पण गर्नैपर्छ, गर्छु । आशावादी छु— म सर्वसाधारण, जनताको आशा, मुलुकवासीको आकाङ्क्षा पूरा गर्न समर्थ हुनेछु ।
 
बोझिलो जीवन रुप 

आमा सिकिस्त बिरामी हुनुभएको छ, म झस्किन्छु । सम्पूर्ण काम छाडेर म अस्पतालतर्फ दौडन्छु । साँच्चै आमा अन्तिम घडीमा हुनुहुन्छ । बोल्न सक्नुहन्न । वाक्य बसिसकेको छ । म चिच्याउँछु “आमा हामीलाई छाडेर नजानुहोस् ।”
आमा ! कति महान् आमा !!
आमा मुन्टो घुमाएर मलाई हेर्न चाहनुहुन्थ्यो होला । मुन्टो घुमाउन सक्नुहुन्न । आँखाको नानी समेत घुमाउन नसक्ने अवस्थामा पुग्नुभएकी मेरी आमाको अघिल्तिर म जान्छु । केही भन्न चाहनु हुन्थ्यो होला तर बोल्न त के ओठ समेत चलाउन सक्नुभएन । आँसु खसाउन चाहनुहुन्थ्यो होला— अन्तिम बिदाईमा । तर आँसु समेत आँखामा जम्न सकेन । कठै, बिचरी ! आमा ! अन्तिम समयमा मलाई भन्न चाहनुभएको सन्देश केही भन्न सक्नुभएन । 
आमाको देहान्तले मलाई क्षणभङ्गुर जीवनको अनुभूति गराउँछ । मैले आमा बिरामी भएको बेला पनि राम्ररी सेवा शुश्रुषा गर्न भ्याइनँ । मन्त्री पद ! मलाई थकथकी लागिरहन्छ । मैले किन आमालाई अन्तिम समयमा पर्याप्त समय दिन सकिनँ ?
आमा ! यो असार संसार छोडेर गइसक्नुभएको छ । अब आमाका कुनै रहरहरु म पूरा गर्न सक्नेछैन । आमाको गुनासो, अर्ती, आशीर्वाद र सन्देश कहिल्यै सुन्न पाउनेछैन । मलाई जीवन अतुलनीय रुपमा खल्लो लाग्छ, रिक्तता मभित्र व्याप्त हुन्छ । लोभ किन ? लालच किन ? आखिर लिएर जाने त केही होइन रहेछ । जुन आमाले मेरा लागि जीवन उत्सर्ग गर्नुभयो, के तिनै आमाको आकाङ्क्षा, भावना र आशालाई मैले पूरा गर्न सकेँ ? आमाको जीवन मेरो मानसपटमा फनफनी चलचित्रझैँ घुम्न थालेको छ । साच्चै आमाको जीवनको लक्ष्य के थियो ? किन आमाले मेरा लागि सम्पूर्ण आफ्नो जीवन न्यौछावर गर्नुभयो ?
म जति विचार गर्छु आमालाई एक महान् नारीको पंक्तिमा उभिएको पाउँछु । आमाको महिमा महान् छ । आमा ! आमा !! मेरो मन आर्तनाद गरिरहेको हुन्छ ।
“जीवन
म ताक्छु मुढो, बन्चरो ताक्छ, घुँडो

रानी बनाउँदा कानी
यस्तै रहेछ दुई दिनको जिन्दगानी ।

जीवन– जोड, घटाउ, गुणा र भाग गर
मृत्यु–हात लाग्यो शून्य
जीवन र मृत्युको हिसाब–आखिर सब बराबर

आमाको मृत्युशोकमा म सबै कामहरु बन्द गरेर केही दिन घरमा नै एकान्त जीवन व्यतीत गरिरहेकी हुन्छु । मेरो एकान्त जीवनमा गोकुल ‘मानव’ कविता, कथा र उपन्यास सुनाएर मेरो मनको दुःख, पीडा र बोझ कम गर्ने कोेसिस गरिरहेका हुन्छन् । 
...............
“......... सम्पन्न भइसकेपछि मात्र अथवा राम्ररी पालनपोषण गर्न सक्ने भएपछि मात्र सन्तान पाउने कुरामा दुवै लोग्ने स्वास्नी सहमत भए । तिनीहरु दुवै जना घाम पानी, हुरी बतास, जाडो गर्मी केही नभनी निरन्तर  काममा जुुटिरहे । तिनीहरु काममा यसरी जुटे कि दिन, महिना र वर्षहरु बितेको तिनीहरुलाई पत्तै भएन । तिनीहरु साच्चै सम्पन्न भए । अब तिनीहरुलाई सन्तानको चाह भयो । तर अपशोस ! सन्तान जन्माउन सक्ने तिनीहरुको उमेर बितेर गइसकेको थियो.........।
........
“यो कस्तो कथा हो ?” म सोध्छु ।
“जीवनमा सबै थोक सबैलाई प्राप्त हुँदैन भन्न खोजिएको कथा हो यो । अरु कथा पनि सुन्छ्यौ कि ।” मानव सोध्छन् ।
“तिमी पनि सुनाउँदा सुनाउँदै थाक्यौ होला म आफैँ पढ्छु ।”
म ‘मानव’ ले लेखेको कथा किताब हातमा लिएर पढ्न थाल्छु ।
.....
“...... मेरो गोजीको स्थिति बुझेर केही न केही खाएर मात्र मलाई छाड्थ्यो । केही नभए एक बिडा पान, एक खिल्लि चुरोट भएपनि ऊ खाएर छाड्थ्यो ।”
“...... तिम्रो आयस्रोतहरु त सीमित रहेछन् । तलब र केही थप थोरै रकम खेतीपातीबाट ।”
“हो, मुस्किलसाथ गुजारा भइरहेको छ ।”
“तिम्रो पछि लाग्दा मलाई के फाइदा हुने भयो र ? बरु धनबहादुरको पछि लाग्दा पेटभरि लड्डु, पेडा खान पाइन्छ ।”
उसले भन्यो । साँच्चै उसले मलाई साथी मान्न नै छोड्यो । ऊ मसित टाँसिएर रह्यो । मेरो सम्पूर्ण स्थिति बुझिसकेपछि उपियाँले लाशलाई छाडेझैँ छाड्यो । स्वार्थी मान्छे मित्रताको आडमा अरुको सम्पत्ति खानमा नै आनन्द प्राप्त गर्छ । मैले पनि सम्झें ‘खुवाएर मात्र बनाएको साथीको जीवनमा के काम ?’
“मित्रहरु जीवन यात्रा क्रममा बन्छन्, छुट्छन् । जो स्वार्थको लागि मित्र जस्तो भइ टोपल्छन्, ती मित्रहरु छुट्दा कुनै दुःख मान्नु पर्दैन । तर पनि म आफ्नो गरिबीले गर्दा मित्रविहीन हुने अवस्थामा पुग्नेछु कि भन्ने पीर परिरहेको हुन्छ ....”
अरु कथाहरु पनि म पढ्छु । कथाका कति धेरै विविध पात्रहरु, पात्राहरु । नायक नायिक यथार्थको प्रतिविम्बझैँ हुन्छन् । कहिले हाँस्छन्, रुन्छन् । नाच्छन् जीवन गीतको सङ्गीतमा । म साँच्चै प्रभावित हुन्छ, आफू यस्ता महान् साहित्यकारका पत्नी हुन पाएकोमा गौरवान्वित भएकी छु । 
“यति धेरै कथा, कविता, उपन्यास र लेख रचनाहरु कसरी लेख्न सक्यौ ?”
“लेख्न सके नि । लेख्नु मेरो साध्य र साधन । तिमी छोराछोरीसित भुलियौ, अहिले मन्त्री पदमा भुलिएकी छ्यौ । म एक्लो छु– लेख्नका लागि मलाई पर्याप्त समय मिलेको छ ।”
“माफ गर हैँ, मैले पनि जानीजानी तिमीलाई समय नदिएको होइन । मेरो पनि त एउटा गन्तव्य हुनुपर्छ, होइन र ।”
“हो, हामी सबैको कुनै न कुनै गन्तव्य हुनुपर्छ र हुन्छ । म ती गन्तव्यसम्म पुग्न चाहने यात्रीहरुको गतिविधि नियाल्न मन पराउँछु ।”
“मेरो पनि....।”
“एकदम नजिकबाट” ‘मानव’ जवाफ दिन्छन् । म आश्चर्यचकित हुन्छु । एउटा साहित्यकारले जीवनलाई कति नजिकबाट नियाल्दो रहेछ, अनुभूत गर्दोरहेछ । उनका कृतिहरुमा म एउटा नयाँ संसारको सृष्टि देख्छु । सोध्छु “लेखन कार्यबाट तिमी सन्तुष्ट छौ ?”
“लेखन मेरो साधना हो । म लेभ निकोलायेविच टोल्सटोइले झैँ लेखन कार्यलाई ‘वीरोचित कार्य’ मान्छु । लेखनमा म आफूलाई अभिव्यक्त गर्न पाउनु अहोभाग्य सम्झन्छु ।”
“विषय कहाँबाट प्राप्त गर्छौ ?”
“विषय यत्रतत्र यत्ति धेरै छरिएर रहेका छन् कि म ती सबै विषयहरुमा लेख्न चाहन्छु । कथाकै कुरा गर्ने हो भने पात्रहरु ‘तँ छाड, म छाड’ गरेर आइरहेका छन् । ‘मेरो कथा लेखिदेऊ’ भनिरहेका छन् ।”
“को पात्रहरु ?”
“सबै हाम्रै वरिपरिका पात्रहरु । कृष्णकुमार जसले जीवनभर दुःख ग¥यो, छोराछोरीहरु हुर्कायो, पढायो, बढायो तर सब विदेशीएका छन् । कोही नोकरीको सिलसिलामा, कोही डि.भी. परेर । एक्लो विकल वृद्ध कृष्णकुमार ‘मेरो कथा लेखिदेऊ’ भनिरहेका छन् । पैसा कमाउन अरब पुगेको रत्ने एच.आइ.भी. एड्स लिएर फर्केको छ । राधा एक्ली, कृष्णको खोजीमा रोइरहेकी छे । सामान्ती शोषणमा पिसिएको वीरबहादुरको उठीबास भएको सुन्ने कोही छैन । बिमला, सीता, शिक्षक, विद्यार्थी, जागिरे, किसान, भरिया, सिकर्मी, डकर्मी, हरेक फाँटका पात्रहरु ‘मेरो व्यथा लेखिदेऊ’ भनिरहेका छन् । म चाहन्छु म तिनीहरु सबैको बारेमा लेख्न सकूँ ।”
“लेख्न सक्छौ त ?”
“इमानदारीसाथ म लेख्ने कोसिस गरिरहन्छु । बाचुन्जेल लेखिरहनेछु ।”
“तिम्रो बारेमा चाहिँ कसले लेख्छ नि ।”
“मेरो बारेमा थोरै म आफैँ लेख्छु, थोरै अरु कसै न कसैले त लेख्लान् । नलेखे पनि मैले लेखेको थोरैभित्र म सधैँ अटाइरहने छु, मेरो लेखाइभित्र तिमी सधैँ रहनेछौ ।”


कस्तो अचम्म ! ‘मानव’ले मलाई एकै क्षणपनि बिर्सन सकेका छैनन् । उनी भएको ठाउँमा म हुन्छु रे । उनले लेखेका उपन्यासभरि म छरिएर रहेकी छु रे । उनले मलाई यत्ति धेरै महत्व दिएका छन् ? लोग्नेस्वास्नीको सम्बन्ध यस्तै हुन्छ कि ? उनले मलाई यत्ति धेरै महत्व दिएका छन् कि, म बिना उनको लेखनी अधुरो हुन्छ रे । तर मेरो दृष्टिमा उनी....... उनको इच्छा, चाहना र भावना मैले बुझेको छु तर त्यसलाई कहिल्यै महत्व दिएको छैन । मलाई राजनीतिमा सक्रिय हुन मन लाग्यो, सक्रिय भएँ । जता जान मन लाग्यो गएँ, जे गर्न मन लाग्छ, गरेँ । उनलाई कहिल्यै सोधिनँ । उनले मेरो कुनै कार्यमा बाधाव्यवधान गरेनन् । 
राजनीतिमा जतिपनि सक्रिय महिला नेतृहरु छन्, तिनीहरु कुमारी वा पतिहीन विधवाहरु सक्रिय छन् । अपवादमध्येकी एक म पति जीवित हुदाँ हुँदै राजनीतिमा सक्रिय भएर उप प्रधानमन्त्री सम्म भएकी छ । धन्य महान् ‘मानव’ !
‘मानव’को महानता सामु म नतमस्तक हुन्छु । म यति धेरै भावविभोर हुन्छु कि मैले थाहै नपाई मेरा आँखाहरुबाट आँसु चुहिन थाल्छ । संसारको सबैभन्दा नजिक रहेको मेरो जीवन साथी कति अमूक छ, निरीह छ, टुलुटुलु मलाई हेरिरहन्छ...... तर मेरो कुनै कार्यमा असन्तुष्टि जाहेर गर्दैन । उनले त आफू पति भएको दावा गर्दै मलाई प्रेम बन्धनमा बाँधेर मलाई उनको इच्छानुसार ऐँचनु पर्ने हो जो पुरुषप्रधान समाजमा हरेक पुरुषहरु गरिरहेका छन् । उनी त्यसो गरिरहेका छैनन् । यो त्याग हो कि प्रेम ? म सोध्छु “तिमी मेरा गतिविधि काम कार्वाहीदेखि प्रसन्न छौं ?”
“कस्तो काम, कार्वाही, गतिविधि ?”
“यी क्या, सबै मेरा गतिविधिहरु, पार्टी खोल्नु, मन्त्री हुनु, राजनीतिमा सक्रिय हुनु......”
“यी कामहरु कसै न कसैले त गर्नै पर्छ । तिमीलाई म असल सम्झन्छु । ‘यदि असलहरुले निस्क्रिय रहेर खाली ठाउँ छाडे भने त्यसलाई खराबहरुले भर्नेछन्’ भनेर प्लेटोले भनेको कुराको मूल्य छ, मान्यता छ ।”
म फेरि पनि ‘मानव’सामु लघु नै देखिन्छु ।


आमाको मृत्युशोकले मलाई केही दिन भएपनि ‘मानव’सँग निकट भएर बस्ने समय प्रदान गर्छ । म र ‘मानव’ आमाको जीवन–विवरण, अध्ययन र विश्लेषण गछौँ । जीवनभर मानिसहरु एउटा ध्येय लिएर धैर्यसाथ बाँचेका हुन्छन् । मृत्युले सब समाप्त पार्छ । मृत्युपछि जीवनको कुनै अस्तित्व रहदैँन । आमाको पनि अब सम्झनामा मात्र अवशेष बाँकी रहेको छ । 
हामी आमाको सबै मृत्युपर्यन्त गरिने संस्कारहरु आफ्नो गच्छेअनुसार गर्छौँ । ती संस्कारहरु गर्नुमा हामी छोरी जुवाइँको दायित्व निर्वाह भएको र गरेको अनुभव गर्छौँ । जन्मदेखि मृत्युसम्मका अनेकौँ संस्कारहरुले बाँचेका मान्छेहरुलाई बाँच्न अभिप्रेरित गर्दोरहेछ । मरिसकेकाहरुलाई त के चाहिन्छ र ? सब कुराहरु बाँचेकालाई चाहिन्छ ।
आमा मरिसक्नु यो । आमा मर्नुभयो भन्ने कुरा विश्वास लाग्दैन । आमा मरिसक्नुभयो—यथार्थ हो । सबै जन्मनेहरुले मर्नै पर्छ । आमाजस्तै मेरो पनि मृत्यु हुन्छ । मैले प्राप्त गरेका ऐश्वर्य, धनसम्पत्ति, भोग विलाश, आनन्द, मोजमज्जा, जीवन, सुख–दुःख, रङ्गीचङ्गी सांसारिकताका सब स्वाद र सौन्दर्य छाडेर जानै पर्छ— आमाले जस्तै । मभित्र भावनाको हुन्डरी रुमल्लिएर आउँछ । आँसुको भेल अविरल बग्छ....... आमा जस्तै मैले पनि मर्नुपर्छ ! .......मनुपर्छ !!
‘आमाजस्तै म पनि मर्छु । ‘मानव’ पनि मर्छन् । पारुहाङ्ग मर्छ, नायुमा मर्छे । सौन्दर्या, निर्मला.... सब सब मर्छन् ! क्षणभङ्गुर जीवन । सत्य के हो ? भ्रम हो सब । सांसारिक रङ्गीचङ्गीको मायाजालमा, सांसारिक स्वाद, सन्तुष्टि र सौन्दर्यमा भुलिएर हामी सत्य बिर्सन्छौँ । जीवनका भ्रमहरु सत्य ठान्छौँ । भ्रममा रमाइरहेका हुन्छौँ, भुलिन्छौँ भ्रममा । भ्रममा जन्मन्छौँ, भ्रममा बाँच्छौ र भ्रममा नै रुमल्लिएर मर्छौ !.......’
आत्मकेन्द्रित म, मृत्युबोधले पीडित हुन्छु । अमूर्त बैराग्य मभित्र झाँङ्गिन्छ । 
अहिले मलाई कुनै साधुसन्तले एकतारा लिएर साधुनी भई मसँग हिड भनेर फकाउने हो भने म बैरागी भई जीवनदेखि पलायन हुन सक्छु । बैराग्य पनि एउटा स्वाद हो क्या र....., एउटा रङ्ग हो क्या........ र........ त्यसले मलाई अहिले यत्ति धेरै रङ्गाएको छ कि म आफूलाई सांसारिक मायामोहको जाल र सांसारिक भ्रमबाट धेरै टाढा निर्वाणको अवस्थामा पुगेकी छु कि भन्ने अनुभूत गरिरहेकी छु । तर यो स्थिति क्षणिक मात्र हुन्छ । म फेरि सांसारिकतामा फर्कन्छु । मलाई मैले पाएको जीवनको असाध्य माया लागेर आउँछ । म आफ्नो जीवनलाई फेरि अथ्र्याउँछु जीवनको हिसाब... आखिर सब बराबर !




घम्साघम्सी

राजनीतिक घम्साघम्सी । रस्साकसी । चार वर्षको अवधि बितिसकेको छ । निर्वाचन आयोगद्धारा चुनाव घोषणा भइसकेको छ । फेरि ताजा जनादेश लिनुपर्ने भएको छ । शासन कसले चलाउने ? सरकार कसको बन्ने हो ?
चार वर्ष मन्त्री पदमा रहँदा मैले पनि धेरै राजनैतिक उतार चढाव देखेकी छु । राजनीति कस्तो खेल हो या झेल हो– अनुभव गरेकी छु । कुर्सीमोह अथवा शक्तिमा रही रहने आकाङ्क्षा यति तीव्र हुन्छ कि हाम्रा दल स.वि.नि.पा. पनि चुनाव जित्नका लागि अनेकौँ योजनाहरु बनाइरहेको हुन्छ । चुनाव नजिती सरकारमा पुग्न सकिँदैन । सरकारमा पुगेर मात्र आफ्नो नीति लागू गर्न सकिन्छ । पार्टीलाई हर तरहले हाँकेर अगाडि बढाउने अभिभारा मेरो हुन्छ । रात दिन, दिन रात म व्यस्त हुन्छु । 
मिटिङ्ग, छलफल, भेटघाट, भेला, सभा, आमसभा सधैँ मान्छेहरुले घेरिएर रहेकी म, मेरो कुनै निजत्व हुँदैन । बेला बेला मात्र ‘मानव’सँग म हुन्छु । छोराछोरी बोर्डिङ्ग स्कूलमा पढिरहेका छन् मदेखि धेरै टाढा । ‘मानव’ राजनीतिमा आएनन् । नबुझेर होइन । सक्रिय राजनीतिमा सरिक नभए पनि राजनीतिका हर कुराहरु उनी बुझ्छन् । जब मलाई निणर्य गर्ने संकट उत्पन्न हुन्छ, म उनैसँग परामर्श गर्छु । उनको सल्लाहले म संकट समाधान गर्न समर्थ हुन्छु । अचुक निशानामा प्रहार गर्न सकिएन भने राजनीतिमा उल्टो असर पर्न सक्छ, त्यसैले सधैँ सतर्क भइरहनुपर्ने हुन्छ । ‘माकुरे संस्कृति’ राजनीतिमा व्यापक हुन्छ । आफैले जन्माएका बच्चाहरुले नै माउलाई खाई मार्ने गँगटो र माकुराको चलनलाई ‘माकुरे संस्कृति’ भनिएको हो । कुनै पनि समयमा आफैँले निर्माण गरेका कार्यकर्ताहरु, पिछलग्गूहरुले भड्खालोमा पार्न सक्छन् । राजनीति देखे जस्तो पनि हुँदैन । सोचे जस्तो पनि हुँदैन । त्यसैले सामन्ती र पूँजीपतिहरुले राजनीतिलाई फोहोरी खेल सम्झेका हुन्छन् । उनीहरु राजनीति जनता झुक्याएर शासन गर्ने खेल ठान्छन् । तर सर्वसाधारण मुक्तिकामी जनताका लागि राजनीति कञ्चन, अटल, पवित्र, सर्वहितकारी  र सर्व मुक्तिकामी साधन हुन्छ । तर उनीहरु राजनीति बुझ्दैनन् । नबुझेर प्रत्येक चुनावमा झुक्यानमा पर्छन्, पारिन्छन् । सर्वसाधारणहरुलाई जति धेरै ब्युझाउँन सकिन्छ, स.वि.नि.पा.को उन्नत्ति हुन्छ । 
स.वि.नि. पार्टी–जिन्दावाद ! जिन्दावाद !!
 सबै सर्वसाधारण जनता–एक हौँ, एक हौँ !
नाराले सहर बजार गुञ्जयमान भइरहेको हुन्छ । जुलुस नगर परिक्रमा गरेर आमसभामा परिणत हुन्छ । जुलुसमा ठूलो संख्यामा सहभागीहरु भएतापनि सबैभन्दा अगाडि ‘सर्व विकास निर्माण पार्टीको चुनावी आमसभामा सहभागी होऔँ’ भन्ने एउटा मात्र तूल व्यानर हुन्छ र पार्टीको एउटा झन्डा हुन्छ । एउटा माझमा र एउटा सबैभन्दा पुछारमा जम्मा तीनवटा मात्र झन्डाहरु । जुलुस संयमित छ । उत्ताउलोपना देखिँदैन । अरु पार्टीहरुको जुलुस तूल व्यानर, क्याप, झन्डाले रङ्गिएको हुन्छ । त्यस्तो रङ्गीचङ्गी केही नभएको जुलुस साँच्चै सर्वसाधारणहरुको जुलुस जस्तो देखिन्छ ।
‘........ हाम्रो दल नौलो सुरुआत, नयाँ शुभारम्भ गर्न चाहन्छ । हामीसित ठोेस सिद्धान्तमा आधारित नीति र कार्यक्रमहरु छन् । समाजलाई बदल्ने हाम्रो आफ्नो दृष्टि, शैली, योजना र कार्य पद्धतिहरु छन् । ‘सादा जीवन उच्च विचार’ मा हामी विश्वास गर्छौँ । जीवन, समाज विकास, निर्माण मसिना–मसिना कुराहरुले बनिएका हुन्छन् । सर्वप्रथम हामी ती मसिना कुराहरु बदल्छौँ । मसिना कुराहरु जब बदलिन्छन्, ठूला कुराहरु बदलिने अवस्थामा पुग्छन् । उदाहरणका लागि हामी हाम्रो पार्टी भित्रकै मसिना–मसिना कुराहरुमा ध्यान दिइरहेका छौँ । 
          यही चुनाव अभियानमा हेर्नोस् । यति धेरै विशाल आमसभामा हामीले तीनवटा मात्र झन्डा राखेका छौँ । एउटा मात्र मुख्य तूल व्यानर छ । माइक नभई नहुने भएकाले माइक आवश्यक मात्रामा राखेका छौँ । अन्य दलहरुको कुनै पनि कार्यक्रमहरुमा सयौँ झन्डा, तुल, व्यानरहरु, पम्प्लेट, पोस्टर, क्याप, माइकिङ्ग एवं अनेकौँ तामझाम सहितको नारा जुलुस गरिन्छ । थुप्रै धनराशी खर्च गरिन्छ । ती खर्चहरु कहाँबाट आउँछन् ?
       जबर्जस्ती मानिसहरुलाई चन्दा दिन बाध्य पारिन्छ । सर्वसाधारणहरुबाट उठेको रकम अपर्याप्त हुने हुँदा चन्दाको स्रोत भ्रष्टाचारी, अवैध र कालाबजारी, दुई नम्बरियाहरु, यहाँसम्म कि विदेशी शक्ति केन्द्रहरुबाट समेत ठूलो धन राशी चन्दा लिइन्छ । ‘नुन खाएपछि गुण गाउनै प¥यो ।’ ‘नुनले गालेको’ वा ‘नुनको सोझो’ हुने नै भयो । ती रकम लिएर सत्तामा पुग्ने दलहरु तिनै बेइमानहरुको सहयोगी बन्न जाने कुरा निर्विवाद छ । भ्रष्टाचारी, तस्कर, काला व्यापारी दुई नम्बरियाहरु, विदेशी शक्ति एवं बेइमानहरुसँग साँठगाँठ गरेर चुनाव जित्ने पार्टी एवं नेताहरु राष्ट्र र जनताप्रति इमानदार हुने कुरै रहँदैन । तसर्थ हाम्रो पार्टी ती बेइमानहरुबाट ठूलो धनराशी चन्दा लिएर चुनावमा खर्च गरेर चुनाव जित्ने पक्षमा छैन । हामी सर्वसाधारणहरुले स्वइच्छाले दिएको सानो रकमबाट पार्टी चलाउँछौ । हाम्रो दल सर्वसाधारणहरु, समाज एवं मुलुकको लागि समर्पित हामी आफूले टाँसेको पोस्टर, तूलव्यानर त्यसको आवश्यकता समाप्त भएपछि आफैँ निकाल्छौँ र सहर–बजार सफा राख्छौँ । हामी झण्डाहरु सडकको दुई तिर बिजुलीको खम्बाखम्बामा राखेर ती झन्डाहरु त्यही मक्किन्जेल राख्दैनौँ । हजारौँ झन्डा, तूल, व्यानर अनावश्यक तडकभडक गर्ने खर्चहरुबाट जोगिनु पनि हामी भ्रष्टाचार विरुद्ध इमानदार रहने सानो तर पहिलो प्राथमिकताको रुपमा लिन्छौँ ।
अन्य दलहरु ठूलो धनराशी चन्दा बटुल्छन् । चन्दा उठाउने कार्यकर्ताहरुले आधी रकम हिनामिना गर्छन् । नेताले केही रकम हिनामिना गर्छन् । नेता र कार्यकर्ताहरुलाई अनावश्यक ठूलो धनराशी चन्दा उठाउने छुट हुदाँ ती भ्रष्ट हुन्छन् । ‘धन देख्दा महादेवको तीन नेत्र जल्छ’ भनेझैँ भ्रष्ट नेता र कार्यकर्ताहरुले भरिएको पार्टीले स्वच्छ, इमानदार शासन पद्धति दिन सक्तैन । ती दलहरु ‘बोल्छन् एउटा, गर्छन् अर्को’ भित्रभित्रै कुहिसकेका भ्रष्ट दलहरुलाई जनताले चुनावमार्फत् बहिष्कार गर्ने र निषेध गर्ने दिन आएको छ........।”
तालीको गडगडाहटले सभास्थल गुञ्जिन्छ । मानिसहरु मेरो भाषण सुनेर मुग्ध भइरहेका हुन्छन् । म आफ्नो भाषणलाई अझ तिक्खर पारामा अगाडि बढाउँछु । 
       चुनाव सम्पन्न हुन्छ । मतगणना भइरहेको छ । मुलुकभरिको चुनावमा कैयौँ ठाउँ गुन्डागर्दी भयो । केही सर्वसाधारण मानिसहरु पनि मारिए । चुनाव केही मानिसहरुको दृष्टिमा उत्सव जस्तो थियो भने केही मानिसहरुका लागि आफ्नो प्रभुत्व स्थापित गर्ने सुवर्ण अवसर । दलहरुले आफूले सक्दो अनेकौँ तिकडम, जालझेल र षड्यन्त्रहरु गरे । तर सर्वसाधारणहरु चुनाव सम्पन्न भएको देख्न चाहन्थे । सर्वसाधारणहरुले चाहे अनुरुप नै चुनाव सम्पन्न भइसकेको छ ।
    सर्वसाधारण मान्छेहरु ! मुलुक, व्यवस्था, प्रगतिआदि हरेक कुराहरु सर्वसाधारण माथि नै आधारित छ । जबसम्म सर्वसाधारणहरु इमानदार हुन्छन्, व्यापार, उद्योग, खेती वा अन्य सबै व्यवसायहरु चल्छन् । जबसम्म सर्वसाधारणहरु शान्त र स्थिर रहन्छन्–मुलुकमा शान्ति र स्थिरता कायम रहन्छ । तर जब सर्वसाधारणहरु कुनै आन्दोलनमा होमिन्छन्, मुलुकको कायापलट हुन्छ । २०६२÷६३ को जन –आन्दोलन त्यसको उदाहरण हो । लाखौँ मान्छेहरु सडकमा ओर्लिए । त्यही आन्दोलनले मुलुकलाई आजको यो स्थितिमा ल्याएको छ । 
      सर्वसाधारणहरु उत्साहित छन् । सर्वसाधारणहरुको हाम्रो पार्टीले बहुमत ल्याउनेछ । सरकार हाम्रो बन्नेछ र सर्वसाधारणहरुको काँचुली फेरिनेछ । चुनाव परिणाम निस्कन्छ । आशा गरे अनुसार फेरि पनि कुनै दलको बहुमत आउँदैन तर संसदमा बढी सिट हाम्रो दलले जितेको हुन्छ । संसदमा सबैभन्दा ठूलो दल स.वि.नि. पार्टी बन्छ । मुलुकको राजनीतिमा हाम्रो दल प्रमुख स्थानमा स्थापित भएको छ । सरकार बनाउने पहिलो हक हाम्रो पार्टीलाई प्राप्त भएको छ । गठबन्धन सरकारको नेतृत्व हाम्रो पार्टीले गर्ने भएको छ । 

विजयोत्सव, भव्य विजयोत्सव ! असंख्य मानिसहरुको विजय जुलुस । तर आश्चर्य ! हाम्रो पार्टीको नीति विरुद्ध असंख्य तुल ब्यानर र झन्डाहरु छन् । नाराले सहर गुञ्जयमान छ । सहर परिक्रमा पछि जुलुस सभामा परिणत हुन्छ । यति धेरै मानिसहरु म जीवनमा पहिलो पल्ट देख्छु । किसिमकिसिमका मानिसहरु, किसिमकिसिमका ब्यानरहरु । नौमति बाजागाजा र नाचहरु । म आमसभामा सम्बोधन गर्न उभिन्छु– सभास्थलभरि हर्षोल्लास छाउँछ । तालीको गडगडाहटले केही मिनेट सभास्थल गुञ्जिन्छ । यो के भइरहेको छ ?
“..... स्वच्छ, निष्पक्ष र विकास निर्माणमा समर्पित सरकार बनाएर हामी सर्वसाधारणहरुको जीवनमा नयाँ आलोक ल्याउनेछौँ.......” तालीको गडगडाहटले म भाषण रोक्न बाध्य हुन्छु । यति धेरै ताली बजेर मेरो भनाइलाई स्वीकार गरिएको यो पहिलोपल्ट हो । “म सबै मतदाता एवं देशवासीहरुलाई धन्यवाद दिन्छु ।” भाषण समाप्त गर्छु । सरकार बनाउनका लागि अन्य दलहरुसँग वार्ता गर्नु छ । वार्ता गर्ने जिम्मा पनि म, डा. सौन्दर्या र महासचिव जमानसिंहको भागमा परेको छ । साँच्चै भन्ने हो भने म पनि अरु सरह ठूलो दल भएकोमा हर्षित छु तर विजय सभा देखेर मेरो मनमा भने चिसो पसेको छ । कसले बनायो र ल्यायो यति धेरै तूल ब्यानरहरु, झन्डाहरु र नाचगानहरु ? विजयोत्सवमा ती झन्डाहरु, तूलब्यानरहरु र नाचगानहरु निषेध गर्ने सम्भावना नै थिएन तर त्यो केन्द्रीय कमिटीमा छलफलको एउटा एजेन्डा बनेको छ । 
विजय पछिको पहिलो पराजयको सुरुआत् !

तेस्रो ठूलो दलसँग मिलेर गठबन्धन सरकार बन्छ । त्यो नयाँ सरकारको प्रधानमन्त्री म हुन्छु । उप प्रधानमन्त्री र केही मन्त्रीहरु तेस्रो दलको भागमा पर्छन् । नयाँ सरकार बनेपछि मुलुकवासीहरु सन्तोषको सास फेर्छन् । देशले नयाँ गति लिनेछ भन्ने कुरामा उनीहरु विश्वस्त हुन्छन् ।
प्रधानमन्त्री भइसकेपछि मलाई कैयौँ गोप्य कुराहरु थाहा हुन्छन् । पदको गोपनीयताको सपथ खाइसकेपछि ती गोप्य कुराहरु सार्वजनिक गर्न हुँदैन । राज्य सञ्चालनमा प्रधानमन्त्री, मन्त्री वा सरकारको अधिकार र कर्तव्य कति हुन्छ र के के सरकारले गर्न सक्छ भन्ने कुरा मलाई बोध हुन्छ । मुलुकभित्रको आन्तरिक अवस्था, परिस्थितिका साथै बाह्य दबाबका कारण आफूले चाहेअनुसार काम गर्न नसकिने अवस्था कायम रहेको छ । एकलौटी सरकार नभएकोले अर्को गठबन्धनमा सरिक दलको अनावश्यक हस्तक्षेप र दबाबले सरकार ‘हाँसको हिँडाइ, न कागको हिँडाइ’ बन्ने डर भइरहेको हुन्छ ।
कैयौँ एजेन्डाहरु म जबरजस्ती लागू गर्छु । सरकारमा सहभागी तेस्रो दल मसित सधैँ असन्तुष्ट हुन्छ । म आफूले चाहे जति हाम्रो समूहले व्यक्त गरेका प्रतिबद्धताहरु पूरा गर्न नसकेकोमा व्यग्र छु, हुन्छु ता पनि ती प्रतिबद्धताहरु पूरा गर्नका लागि अनुकुल आवश्यक वातावरण तयारी गर्न थालिएको कुराले भने म केही मात्रामा सन्तुष्ट छु । हामी दल नखोली सामाजिक कार्यमा मात्रै संलग्न रहेका भए यति काम पनि हुन नसक्ने निश्चित हुन्छ । 
      चाहेका, आँटेका सबै कामहरु कसका पो पूरा हुन्छन् र ! म मुलुकको सर्व विकास निर्माण राष्ट्रिय हित अनुकुल होस् भन्ने चाहन्छु । सबै देशवासीहरुको जीवन स्तर उठोस्, मुलुकको प्रतिष्ठा विश्वमा स्थापित होस् भन्ने हाम्रो दलको चाहना हुन्छ । त्यो चाहना पूरा गर्न हामी सरकारमा रहेर भरमग्दुर प्रयत्नरत हुन्छौँ तर त्यो चाहना पूरा हुन बाधा दिने आफ्नो दलको स्वार्थ सर्वोपरी सम्झने दलहरु, काला व्यापारीहरु, ठेकदारहरु, भ्रष्टाचारीहरु र विदेशी शक्तिहरु पनि प्रशस्त रहेका हुन्छन् । गठबन्धन सरकार कुनै बेला पनि गिर्न सक्छ । फुकी फुकी पाइला चाल्नु पर्ने बाध्यताले सर्वसाधारणहरुका कैयौँ चाहनाहरु ओझेलमा पर्न थालेका हुन्छन् । 

समय क्रम 

“नायुमाले पठाएको इ–मेल छ । ” ‘मानव’ सुनाउछन् ।
दिनभरको व्यस्तताले लखतरान भएकी म नायुमाको इ–मेल सुन्नासाथ कम्प्युटरतर्फ लम्किन्छु र इ–मेल हेर्छु ।
“मम्मीडैडी,
म बेलायतमा सञ्चै छु । मेरो अध्ययन समाप्त भएको छ । राम्रै अङ्क प्राप्त गरेकी छु । काम पनि पाइसकेकी छु । तपाईँहरुले मेरो बारेमा अब कुनै चिन्ता लिनुपर्दैन । मैले मसँगै काम गर्ने डा.जोन्सन भन्ने अंग्रेजसित कोर्ट म्यारिज गरिसकेकी छु । हाम्रो विवाहको केही फोटोहरु समेत पठाएकी छु । माफ गर्नुहोला, मैले तपाईँहरुको अनुमति नलिई विवाह गरेँ । तर मैले कसैसित विवाह गर्नुपथ्र्यो, गरेँ । चित्त नदुखाउनुहोला ।
तपाईँहरुलाई सदैव माया गर्ने छोरी
नायुमा ।”
ई–मेलमा केही फोटोहरु पनि छन्, हेर्छु । छाँगाबाट म खस्छु । मेरी छोरीले पराई देशमा विदेशीसित विवाह गरीसकी । आमा र बाबुको अनुमति लिनु परेन । म जस्तै ‘मानव’ पनि छक्क पर्छन् । हेराहेर गर्छौँ । केही बेर बोली आउँदैन । यो के भएको ? यसैलाई सायद ‘जेनेरेसन ग्याप’ भनेको होला कि ? विस्मय र विस्मात मनभरी अटाईनअटाई छ । व्यक्त गरौँ कसलाई ?
“मरेकी त छैन । विवाह न गरी । जहाँ सुकै बसेपनि सुखी रहोस् ।”
“हो, मरेकी छैन । तर देश र हाम्रा लागी मरीसकी । नायुमाले हामीलाई बिर्सी । विवाहपूर्व हामीलाई सोध्ने आवश्यकता समेत ठानिन । त्यसले त हामीलाई पहिल्यै मरिसकेको सम्झी.......” आँसु अविरल बग्छ मेरो आँखाबाट ।
     “होइन, होइन । हाम्रो बालबच्चाप्रतिको दृष्टिकोणमा केही खराबी रह्यो होला । पारुहाङ्ग अमेरीकामा छ । उसले पनि त्यसै गर्ला । हामीले पैसा खर्च गरेर पढाउन मात्र आफ्नो दायित्व सम्झ्यौँ कि ? उनीहरुको इच्छा, सोचाइ र विचार हामीले बुझ्न सकेनौँ होला । उनीहरुले हाम्रो इच्छा, सोचाइ र विचार बुझेनन् । दोष हामी सबैको बराबरै होला ।”
“हुन सक्छ, म त राजनीतिमा होमिएँ, तर तिमीले त विचार गर्नुपथ्र्यो ।”
“दोष अर्कालाई नदिऊँ । जब तिमी होमियौँ, आधा देह र आत्मा होमिए, पछि सिङ्गै हामी दुई होमिएनौँ र ? बरु जवाफ के पठाउने ?”
“केही दिन पछि पठाउँला ।”
                     

समयको प्रवाह निरन्तर एक तमासले आफ्नै गतिमा बहिरहन्छ । यसले कसैलाई सहुलियत दिँदैन । छोरीले विवाह गरेको खबरले म यति मर्माहत हुन्छु कि लाग्छ मलाई एउटा युगले पछाडि छाडेको छ । म अकस्मात बृद्ध हुन गएकी छु । हेर्छु ‘मानव’लाई । उनमा पनि प्रौढावस्थाका लक्षणहरु देखा परिरहेका छन् । उनी पनि म जस्तै नियास्रो छन्, फुस्रा छन् । जिन्दगी पुषको दिनझैँ फासफुस हुने हो कि ?
      नायुमाले किन बिद्रोह गरी ? के त्यस्तो अवस्था आयो ? जसले गर्दा त्यसले हामीलाई नसोधी अपर्झट विवाह गर्नुपर्ने भयो ? के मुलुकभित्र तिनका निम्ति योग्य वर थिएनन् ? विदेशीसित विवाह गरेर मुलुकको माया मार्नु के उसको कर्तव्य हो ?
    झस्किन्छौँ हामीहरु । भूमण्डलीकरणको प्रभाव यो हो त ? के जवाफ दिने होला प्यारी छोरीलाई ? अन्यमनस्क हामी, छोरीले हामीलाई मात्र होइन, देशलाई नै त्यागी । के त्यो मुलुकभित्र फर्कन्छे ? पारुहाङ्ग के गर्दै होला ?
   हाम्रो ध्यान पारुहाङ्गतिर केन्द्रित हुन्छ । “नायुमाले विदेशीसँग विवाह गरीहाली तर पारुहाङ्गलाई बोलाउनु पर्छ । छिट्टै पारुहाङ्गलाई बोलाएर स्वदेशी दुलही भित्राउनु पर्छ ।” हामी दुवैको सोच मिल्छ । म पारुहाङ्गलाई फोन गर्छु ।
“हेलो, पारुहाङ्ग म बोल्दै छु ।”
“तेरी बहिनीले आफू खुसी विवाह गरेको थाहा पाइस् ?”
“थाहा थियो । त्यसले विवाह गर्ने निर्णय धेरै पहिला नै गरेकी थिई ।”
“तैंले सम्झाउनु पथ्र्यो...... ।”
“उसको जिन्दगी, उसको आफ्नो हो । उसले आफूखुसी बिताउन पाउनु उसको अधिकार हो ।”
“आमा बाबुलाई सोध्नु पर्दैन र ।”
“सोधेकी भएपनि तपाईंहरु राजी हुनुहुन्नथ्यो र ऊ आफ्नो निर्णय बदल्न चाहन्नथी ।”
“त्यसो भए उसले ठीक गरी ?”
“ठीक बेठीक उसैले छुट्याउनुपर्ने हो... हाम्रो धारणाको कुनै अर्थ छैन ।”
“त पनि त्यसै गर्लास् ?”
“अहिलेसम्म त्यसबारे अथवा विवाहबारे सोचेको छैन ।”
“तँ मुलुक फर्की । छिट्टै फर्की । हामी एउटी सुयोग्य केटी हेरी राख्नेछौँ ।” 
“म केही वर्ष फर्कन सक्तिनँ । तपाईँहरुले मेरो बारे चिन्ता नगर्नुहोस् । मलाई खर्च पनि पठाउन पर्दैन । मेरो लागि केटी हेर्ने काम पनि नगर्नुहोला ।”
“त्यसो भए तँ आउँदैनस ?”
“अहिले आउन सक्तिनँ ।”
म टेलिफोनको रिसिभर राख्छु । मेरो मन कल्पन्छ । मेरो मन अरु एक तमासले कहालिन्छ । यो कस्तो भूमण्डलीकरण ? यो कस्तो आधुनिकता ? भक्कानो छुटेर आउँछ तर म रुन पनि त सक्तिनँ । ‘मानव’ लाई सुनाउँछु ।
“ऊ पनि, पारुहाङ्ग पनि आउँदैन रे.... । ऊ पनि हामीबाट धेरै टाढा पुगिसकेको रहेछ । फर्केर आउदैन रे ....!”

‘‘हामी सन्तान भएर पनि निसन्तान जस्ता भयौँ ।”
“तिमी नचाहिँदो कुरा नगर । हाम्रा छोरा छोरीहरु जिउँदै छन् । तिनीहरु केही समयको लागि परदेश गएका छन् । हामीसँग केही समय छुट्टिँदा निसन्तान हुन्छौँ र ?”
“त्यस्तै त भयो नि । हामीलाई विवाह गर्दा समेत छोरीले सोधिन । छोरा आइज भन्दा आउन मान्दैन । हामीले भनेको नमान्ने, हामीलाई नगन्ने छोराछोरीहरु पनि छोराछोरी हुन् र !”
“त्यस्तो प्रकारले सोच्नु हुन्न । विश्व नै एउटा गाउँ जस्तो भएको छ । ‘बसुन्धैव कुटुम्बकम् ।’ सबै मानिस भाइभाइ । सबै देश आफ्नै देशजस्तो सम्झ । प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेकी तिम्रो लागि त सारा दुःखी देशवासीहरु छोराछोरी सरह होइनन् र.......।”
“त्यस प्रकारले सोच्दा त हो नि । छोराछोरी र तिमीलाई समेत पर्याप्त समय नदिई मैले आफ्नो सम्पूर्ण जीवन नै राष्ट्र र जनताको लागि समर्पण गरेकी छु । तिमीलाई पर्याप्त समय दिन नसकेकीमा मलाई दुखेसो छ तर म के गर्न सक्छु र ? राजनीति म छोडूँ र एउटी गृहस्थ महिलाझैँ चुलो चौकामा म जीवन व्यथित गरुँ ?”
“मैले त्यस्तो चाहेको होइन । ‘सुखले भाग्यमानी मानिसको परीक्षा लिन्छ भने दुःखले महान् मानिसको ।’— प्लीनिद यङगरले भनेको महावाणीझैँ तिमी कति महान् छौं, हेर्न बाँकी छ ।”
“म पनि मानिस हुँ । तिम्रो यस्ता कुराहरुले मलाई अगाडि बढ्ने प्रेरणा दिन्छ, र... त... म यहाँ सम्म आइपुग्न सफल भएकी छु । म तिमीलाई महान् सम्झन्छु । तिमी महान् छौं तर म तिमी जस्तो पति पाउने भाग्यमानी मात्र.....।”
टेलिफोनको घण्टी बच्छ । बेला कुबेला बच्ने टेलिफोन । हट् लाइन, पक्कै केही घटना घटेको छ । म टेलिफोन उठाउँछु “संसदमा हङ्गामा मच्चिरहेको छ रे । प्रधानमन्त्रीले जवाफ दिनु प¥यो रे ।”
“मैले संसदमा जानु पर्ने भयो । पछि कुरा गरौँला ।” म बाहिर निस्कन्छु ।


“निधायौ ?”
“अँ हँ.....।”
“धेरै अबेला भइसकेपनि मलाई निन्द्रा लागिरहेको छैन । म तिमीसित छोराछोरीहरुबारे, हामीबारे, परिवारबारे कुरा गर्न चाहन्छु ।”
“दिउँसो पनि ग¥यौ ।”
“तर पूरा कुरा गर्न पाइएन ।”
“त्यसो भए, गर । के कुरा गर्नु छ ?”
“के सबैको परिवार यस्तै हुन्छ ? हाम्रो पारिवारिक जीवन विखण्डनतिर गइरहेको छैन ? छोरी पोइल गई हामीलाई नसोधी । छोरा विदेशमा छ, हामीले देखाएको केटीसँग विवाह गर्न तयार छैन । म राजनीतिमा अति व्यस्त छु । तिमी एक्लै साहित्यमा रुमल्लिरहेका छौ । हाम्रो भेट कहाँ होला ?”
“हाम्रो सबैको आफ्नो–आफ्नो ध्येय छ । लक्ष्य छ । हामी आफ्नै गन्तव्य तर्फ बढिरहेका यात्रीहरु हौं । स्थिर भएर रह्यौ भने गन्तव्यसम्म पुग्न सक्तैनौँ । गन्तव्य हराएको मानिस, मानिस हुँदैन । यात्रामा कोही भेटिन्छन्, कोही छुट्छन् । यसलाई विखण्डन भन्न मिल्दैन ।”
“तब हामीले भोगिरहेको वर्तमान के हो त ?”
“यो जीवन भोगाइको एउटा आनन्ददायी, विस्मयकारी घुम्ती र मोड हो । कति आनन्ददायक कुरा ! तिमी बोजु हुन लागेकी छ्यौ । नायुमा नाति लिएर हामीलाई भेट्न आउनेछे ।”
“बेकार कल्पनाको कुरा नगर ।”
“कल्पना होइन । यथार्थ हो । नायुमा नाति लिएर तिमीलाई भेट्न आएकी छे, कल्पना गर तिम्रो गोरा ज्वाइँले तिमीलाई सम्मानसाथ ‘गुड मर्निङ्ग, मम्मी’ भन्दै तिम्रो दुवै गालामा चुम्बन गर्नेछ । कस्तो अनौठो सङ्गम । दुई संस्कृतिको अविस्मरणीय मिलन !”
“छ्या, ज्वाइँले सासूलाई चुम्बन गर्ने ?”
“यो उनीहरुको संस्कार हो । तिमी उसलाई नेपाली टोपी, दौरा सुरुवाल लगाई दिएर अङ्गीकार गर्ने छ्यौ । म नातिसँग राष्ट्रिय पोसाक लगाएर फोटो खिचाउनेछु । सम्झ त ती दिनहरुमा स्वदेशी र विदेशीको कुरा कहाँ रहन्छ र !”
“‘नयाँ नाता, नयाँ सम्बन्धहरु,... नयाँ जीवन सुरु भन्ने विज्ञापनम’ा झैँ सम्बन्ध सुरु, सुमधुर..... मधुर..... रमणीय.....रमाइलो......”
“तिमी कल्पनामा रमाइरहन्छ्यौ.....साहित्यकार हौ । म कल्पनामा रमाउन सक्तिनँ ।”
“यथार्थबाट आँखा चिम्लदैमा टाढा भाग्न सकिँदैन ।”
“उसो भए पारुहाङ्ग ?”
“पारुहाङ्ग, दृढ निश्चय बोकेको नयाँ युगको नव युवा । उसलार्य अगाडि बढ्न दिनुपर्छ । ऊ नयाँ युगको प्रतिनिधि हो । नयँ युग जो अति द्रुतगतिले आउँदैछ । त्यो युगमा स्थापित हुन सानोतिनो बल, बुद्धि र जाँगर पर्याप्त हुँदैन । कम्प्युटरलाई मात गर्ने दिमाग हुनुपर्छ, मेसिनभन्दा बलवान् र समयभन्दा जाँगरिलो भए मात्र मानिसहरु नयाँ युगमा सहजतासाथ जीवित रहन सक्नेछन् । त्यो युगको लागि पारुहाङ्गलाई तयारी गर्न दिऊँ । ऊ बारे चिन्तित हुनु जरुरी छैन.......।”
“हो ........ त........... ” म निधाउन लागेकी हुन्छु ।

साँच्चै रहेछ, संसार मानिसको मनोगत इच्छानुसार चल्दैन । नायुमाले जे गरी गरिहाली, म माफी दिन्छु । टेलिफोन इन्टरनेटमार्फत म ऊसँग कुराकानी गरिरहन्छु । समयक्रममा उसको छोरा जन्मिन्छ । ‘मानव’ले भनेझैँ म हर्षित हुन्छु । म पारुहाङ्गलाई पनि नचाहिँदो अङ्कुश लगाउन सक्तिनँ । अथवा ऊ मेरो अङ्कुशभित्र बस्दैन । जायज–नाजायज, राम्रो–नराम्रो, असल–खराब छुट्याउन उनीहरु सक्षम छन् । जे गर्छन्, राम्रै गर्लान् ! अब तिनीहरु मेरो औँला समातेर हिँड्ने बच्चाहरु होइनन् । म तिनीहरुबारे निस्फिक्री हुन सकेकी छु । तिनीहरु हामीबाट निस्फिक्री भएका छन् । ‘मानव’ कति महान् छन् । उनले भने जस्तै हामी सबैजना आफ्नो–आफ्नो ध्येयअनुसार आफ्नो–आफ्नो गन्तव्यतर्फ अविरल निरन्तर बढिरहेका छौँ, हुन्छौँ । समयक्रमले जे गराउला त्यसलाई सहर्ष स्वीकार गर्न बाध्य छौं ।


राजनीति 

“........मुलुक आर्थिक रुपमा सबल भए मात्र राजनैतिक स्थिरता, सामाजिक र सांस्कृतिक उन्नति एवं अन्य चौतर्फी विकास सम्भव हुन्छ । मुलुकमा विद्यमान प्राकृतिक एवं मानवीय साधनस्रोत परिचालन गर्न उपयुक्त नीति आवश्यक हुन्छ । प्राकृतिक साधनहरु मध्ये महत्वपूर्ण जलसम्पदाको उचित प्रयोग गर्न सके मुलुक झिलिमिली मात्र नभएर हराभरा, सुन्दर एवं विकसित हुनसक्छ ।
     पानी, पानी ! मुलुकको नदी–नाला, खोलाहरुबाट पहाडी भेगमा हजारौं ठाउँमा विद्युत गृहहरु बनाएर बिजुली उत्पादन गर्न सकिन्छ । बिजुली उत्पादन गर्दा पानी घट्ने, सुक्ने र नाश हुने होइन, त्यही पानीलाई कैयौंपल्ट प्रयोग गर्न सकिन्छ । त्यही पानीलाई तराईमा अन्न उब्जाउन सिँचाइमा प्रयोग गर्न सकिन्छ । त्यही पानी खाने पानीको रुपमा प्रयोग गर्न सकिन्छ । राष्ट्रिय जलनीति कालान्तरसम्म भावी पुस्ताहरुको हितलाई समेत संरक्षण गर्ने किसिमको हुनुपर्छ । तात्कालिक फायदाको लागि दीर्घकालिक राष्ट्रिय हितलाई तिलाञ्जलि दिनु हुँदैन । 
    अन्तराष्ट्रिय व्यापारको वर्तमान युगमा अन्तराष्ट्रिय व्यापारलाई पनि मुलुकको हितलाई सर्वोपरी राखेर सञ्चालन गर्नु पर्दछ । विश्वव्यापार संगठनको सदस्य भइसकेको मुलुकले विश्वव्यापारलाई कम आँक्न सक्तैन । व्यापारमा मुलुक सक्षम हुन सकेन भने मुलुक विदेशीको व्यापारिक थलो मात्र हुनेछ ।
   मानवीय स्रोतबारे पनि मुलुकको आफ्नै समयानुकूल नीति र कार्यक्रमहरु हुनुपर्छ । आजसम्मका सामन्ती मानव श्रमनीतिमा आमूल परिवर्तन गरिनुपर्छ । मुलुक अहिलेसम्म शारीरिक श्रम ‘ब्लु कलर जब’ गर्ने श्रमिक, विदेशी सेनामा सिपाही आपूर्ति गर्ने र मुलुकभित्रको उर्जाशील युवा शक्तिलाई विदेश पलायन गराएर मुलुकको शासन एकछत्र आफ्नो हातमा कायम राखिरहने श्रमनीतिलाई अन्त्य गरी मुलुक र विश्व बजारको आवश्यकता अनुसार दक्ष, तालिम प्राप्त, उच्च स्तरको जनशक्ति तयार गर्ने किसिमको नीति अवलम्बन गरिनुपर्छ । बम्बई लगायत भारतका विभिन्न सहरमा उपयुक्त महिला उत्थान सम्बन्धी नीतिको अभाव भएकैले लुकीछिपी हजारौँ चेलीहरुको बेचबिखनले मुलुकको मुहारमा कालो पोतिएको छ । मुलुकमा विकास निर्माणका कामहरु थालियो भने हामीलाई नै श्रमशक्तिको अभाव हुने स्थिति छ ।
   राष्ट्रिय आर्थिक नीति भताभुङ्ग अवस्थामा छ । योजना, आयोजना, कार्यक्रम र नीतिहरु जनता झुक्याउने खेल मात्र भएका छन् । आजको अन्तर्राष्ट्रिय युगमा कुनै पनि मुलुक सबैभन्दा अलगथलग एक्लै बेग्लिएर रहन सक्तैन । संयुक्त राष्ट्र संघ, विश्व व्यापार संगठन, विश्व बैँक, अन्तर्राष्ट्रिय मुद्राकोष, विदेशी सरकार एवं बहुराष्ट्रिय व्यापार कम्पनीहरुको प्रभावबाट मुक्त हुन मुस्किल मात्र नभएर असम्भव छ । तापनि ती संस्थाहरुबाट राष्ट्रिय हितलाई तिलाञ्जलि नदिई सर्वतोमुखी विकास, निर्माणका लागि आवश्यक सहयोग लिन सकिने अवस्था निर्माण गर्न सकिन्छ..........”
‘राष्ट्रिय आर्थिक नीति निर्माण मस्यौदा समिति’ को प्रतिवेदन स.वि.नि.पा.को केन्द्रिय कमिटीमा पेश गरिएको छ । राष्ट्रिय नीति पारित गर्नका लागि सबै केन्द्रीय सदस्यहरुलाई मस्यौदाको एकएकप्रति उपलब्ध गराइन्छ । छलफल र निर्णय अर्को बैठकमा गर्ने गरी ११४औ केन्द्रीय कमिटीको बैठक स्थगित हुन्छ ।
दिर्घकालिक असर पार्ने प्राकृतिक साधन स्रोतबारे गरिने सन्धि, सम्झौताहरुबारे संसद, सरकार र जनता माझ व्यापक छलफल जारी छ । विभिन्न संघसंस्था, दलहरु, गैर सरकारी संस्थाहरु, बुािद्धजीवीहरु जनमत निर्माणमा ‘तँ छाड, म छाड’ गरी लागिरहेका छन् । प्राकृतिक साधन स्रोतहरुबारे राष्ट्रिय नीति कस्तो हुनुपर्ने हो ? सायद यसरी खुल्ला बहस भइरहेको यो पहिलो पल्ट हो ।
   मानिसहरुको चेतनाको स्तर माथि उठिसकेको छ । युगौँसम्म निरंकुश शासनको जाँतोमा पिसिएका पीडित तिनीहरु नयाँ युगको शुभारम्भ प्रतीक्षारत छन् । आफूले सक्ने योगदान दिन लालायित छन् । युगौंसम्म दास जस्तै स्थितिमा रहेका उनीहरु निराशा फालेर आशाको उज्यालोले झलमल्ल संसार आउने कुरामा ढुक्क भएका छन् । उनीहरुको आशा र भविष्यमाथि खेलवाड गर्ने नानाथरीका शक्तिहरु अझै पनि समाजमा चलखेल गरिरहेका छन् । तिनीहरुलाई परास्त गर्न जरुरी भएको छ ।
     जनमत दुई खेमामा विभाजित छ । प्रतिक्रियावादी, कमिसनखोर र विदेशी शक्तिहरुद्धारा संचालित भ्रष्ट र राष्ट्रदोहीहरु एकातिर छन्भने देशभक्त, अग्रगामी र जनमुखी शक्तिहरु अर्कातिर छन् । सन्धि सम्झौता मुलुकको हितलाई सर्वोपरी राखेर गरिनुपर्छ । विदेशीहरुले देशको साधन स्रोतमाथि आँखा गाडेर अनेकौँ षड्यन्त्रहरु गरिरहेका छन् र सित्तैमा पानी, बिजुली र अन्य साधनहरु प्राप्त गर्न असमान सन्धि सम्झौता गर्न सरकारलाई अघोषित एवं अदृश्य दवाब दिइरहेका छन् । विदेशीको स्वार्थ र मुलुकको स्वार्थ टकराइरहेको छ । विदेशीको स्वार्थपूर्तिका लागि देशको साधन स्रोत तिनीहरुका पाउमा टक्य्राएर आफ्नो निहित स्वार्थ पूरा गर्ने एउटा ठूलै गिरोह मुलुकमा विद्यमान छ । त्यो गिरोहको पकड र प्रभाव हर क्षेत्रमा मजबुत हुन गयो भने देशको सार्वभौमिकता, अखण्डता संकटमा पर्न सक्ने भएको हुँदा त्यसका विरुद्ध जनमत तयार गर्नु प्रमुख दायित्व भएको छ ।्
    मुलुक ठूला विदेशी शक्तिहरु र शक्ति केन्द्रहरुको क्रीडाभूमि बन्न नदिन सर्वसाधारण जनताको चेतनास्तर वृद्धि गर्न जरुरी छ । हाम्रो समूहले थालेका प्रतिबद्धता कार्यहरु पार्टी सरकारमा पुगेपछि आंशिक रुपमा कार्यान्वयन हुन थालेका छन् । कार्यकर्ताहरु मुलुकभरि हर–क्षेत्रमा सही नीति र कार्यक्रमहरु लिएर विकास निर्माण कार्यमा सरिक भइरहेका छन् । कहिल्यै उज्यालो नपुगेको, कहिल्यै विकास निर्माण पुग्न नसकेको गाउँ, बस्ती र टोलहरुमा पनि विकास र निर्माण कार्यहरु भइरहेका छन् । निराशाको बादल फाट्न थालेको छ । आशाको सञ्चार हुनु महान् उपलब्धि बन्न गएको छ । उत्साह, जाँगर र स्फूर्तिको लहर फैलिदाँ विकास निर्माण गर्न सकिने अवस्था बन्न थालेको देखिन्छ । जग निर्माण भइरहेको छ ।
                    
सकरात्मक कुराहरु जति द्रुततर गतिमा प्रसारित भइरहेका छन्, त्यो सँगसँगै नकरात्मक कुराहरु पनि त्यतिकै तीव्र रुपमा प्रसारित भइरहेको तथ्यले सिकाउँदछ कि कुनै पनि राम्रा कामहरु सहजतासाथ सम्पन्न गर्न मुस्किल हुँदोरहेछ । युगौदेखि सत्य र असत्य, न्याय र अन्याय, जायज र नाजायज, धर्म र पाप, असल र खराबको सङ्घर्ष चलिरहेको रहेछ । यो कालान्तरसम्म, युग–युगसम्म चलिरहने रहेछ । राम्राका निम्ति प्रयत्नशीलहरुलाई नष्ट गर्न नराम्राहरु ज्यान फालेर लाग्दा रहेछन् । त्यसैले ‘जीवन सङ्घर्ष हो’ भनिएको रहेछ । संघर्ष नगरी कुनै कुरा प्राप्त गर्न नसकिने रहेछ । असल, सकरात्मक र न्यायको जित भइरहेको अवस्थामा शान्ति, स्थिरता, सद्भाव कायम भई जीवन बाँच्न सहज हुँदो रहेछ । जीवन भोग्न सहज, सुन्दर, उपयुक्त र सुन्दर वातावरण, परिस्थिति र व्यवस्था निर्माण गर्नु सरकारको दायित्व बन्न गएको छ ।
    मुलुकको प्राकृतिक साधन स्रोतहरु विदेशीको स्वार्थपूर्ति गर्नका लागि नभएर राष्ट्र र जनताको दीर्घकालिक हितमा प्रयोग गरिनुपर्छ भन्ने स.वि.नि.पा.को नीति भएकोले विदेशीहरु आफ्नो इशारामा चल्ने ‘लोयल एन्ड पपेड गभर्मेन्ट’ बनाउन स.वि.नि.पा.लार्य विस्थापित गर्न हरसम्भव उपायहरु गर्न लागि परेका छन् । ‘पपेड गभर्मेन्ट’ बनाएर मुलुकको अमूल्य साधन स्रोत कब्जा गर्न चाहन्छन् । त्यसका लागि घोषित, अघोषित नाकाबन्दी गर्न समेत पछि पर्दैनन् । अनेक निहुँ, बहाना बनाएर कहिले तेल, कहिले मल, कहिले नुन, सिमेन्ट, छडआदि वस्तुहरुको आयातमा व्यवधान खडा गरी रहन्छन् । मुलुकको आपूर्ति सुचारु हुन नसक्दा जनतामा असन्तोष व्यक्त होस् । मुलुक पुनः हत्या, हिंसा, विद्रोह र गृह युद्धको भुमँरीमा फसोस्— स्वार्थी विदेशी तत्वहरु चाहन्छन् । गृह युद्ध हुँदा—  हतियार बेच्न सकिन्छ युद्धमाफियाहरु सोच्छन् । आर्थिक व्यवस्था धराशायी हुन्छ र त्यसबाट अनेकौ अनुचित लाभ लिन सकिन्छ भन्ने साम्राज्यवादी सोचका बारेमा पनि जनतालाई सचेत बनाउनु असल कार्यकर्ताहरुको अर्को दायित्व बन्न गएको छ ।
     राजनीति अनेकौँ उतार–चढाव, उकाली–ओराल्ी, आरोह–अवरोह, अनेकौँ घुम्ती र मोड हुँदै अगाडि बढिरहेको छ । फुकी फुकी अगाडि बढ्नु पर्ने अवस्था छ । सरकारले सानै गल्ती गरेमा ठूलो संकट उत्पन्न हुनसक्छ । अझै स्थिरता र स्थायित्व आइसकेको छैन । मुलुक तरल अवस्थामा छ । 


मुलुक ! राजनीति ! 
राजनीति, राजनीति ! समर्थक र विरोधीहरुले घेरिएर रहँदा रहँदा निमेषभर फुर्सद छैन । उद्घाटन, सम्बोधन, बैठक, भेटघाट, छलफल र्मििर्मरेदेखि झमक्क रात परेसम्म दौडा–दौड, कुदा–कुद ! अति व्यस्त जिन्दगी प्रधानमन्त्रीको ! परिचित, अपरिचित असंख्य चेहराहरु ! अनगिन्ती समस्याहरु !
    हुरीको पातझैँ उडिरहेकी छु कि ? विशाल समुद्रमा एउटा सानो नौकाझैँ तैरिरहेकी छु कि ? या सर्वशक्तिमान् ईश्वरलेझैँ नयाँ निर्माणमा जुटिरहेकी छु ? मेरो आफ्नो निजत्व केही छैन । सधैँ दुइटा बाटाहरु मेरो अघिल्तिर तेर्सिएका हुन्छन् । सत्य र न्यायको बाटो— जहाँ त्याग छ, बलिदान छ त्यहाँ निजी स्वार्थ पूरा गर्ने कुनै गुन्जायस छैन, सबै सर्वसाधारण देशवासी एवं मुलुकको हित स्थापित हुने बाटो ! अर्को अन्याय र भ्रष्टाचारको बाटो— ठूलो कमिसन, धनराशी, अकूत सम्पत्ति कुम्ल्याउन सकिने, अवैध र काला व्यापारीहरुसँग साँठगाँठ गर्नु पर्ने, भ्रष्टाचारी, अत्याचारीहरुलाई काँधमा बोकेर हिँड्नु पर्ने एवं निहित स्वार्थ पूरा गर्न राष्ट्रघात, जनद्रोह गर्नु पर्ने एवं जनतालाई धोका दिनुपर्ने बाटो । यो बाटोमा लागेका भ्रष्ट, निहित स्वार्थमा डुबेका तथाकथित राजनीतिज्ञ, नेताहरु त गुहुका किराहरुसरि हुन् । यी दुई बाटाहरु मध्ये कुन रोज्ने ? प्रत्येक क्षण, प्रत्येक पल होशियार भइरहनुपर्ने ।
   जानीजानी वा थाहा पाएर म गलत बाटामा लाग्नेछैन । असल बाटामा नै हिँडिरहनेछु भन्ने निर्णयले नै मलाई राजनीतिमा पनि ल्याएको हो । राजनीतिमा असलहरु स्थापित हुनुपर्छ । राजनीति असल भएमा सब कुराहरु असल हुन्छन् । मानव सभ्यता विकसित र उच्च हुन्छ । अकूत धन सम्पत्तिले सुख, शान्ति, मनोरञ्जन, आनन्द, शक्ति दिन्छ, साध्यसम्म पु¥याउँछ भन्ने गलत चिन्तन नै भ्रष्टाचार, अत्याचार, शोषण, अन्याय, अशान्तिको जननी हो । जीवनमा प्रमुख कुरा भनेको मानिसको मनमा शान्ति र चैन रहनु हो । अवैध प्रकारले कमाएको सम्पत्तिले मनको चैन सदाका लागि समाप्त पार्छ । मनको सन्तोष निर्मूल पार्छ । अन्तरमनको पुकार अनुरुप बाँच्न सक्नु महान्ता हो । 
म आफूलाई आफ्नै आँखामा गिराएर बाँच्न चाहन्नँ ।


अनेकौँ खराब कार्यहरु गर्न र गराउन अनेकौँ प्रलोभनहरु दिएर मलाई संलग्न गराउन कैयौँ मानिसहरु प्रयत्नशील भइरहन्छन् । उनीहरु आफ्नो निहित स्वार्थ पूर्तिको खातिर राष्ट्रविरोधी अनेकौँ आयोजना परियोजनाहरु लिएर म कहाँ आउँछन् । गलत निर्णय गर्न अनेकौँ दबाव समेत दिन्छन् । मुलुकको अनमोल प्राकृतिक साधनहरु विदेशीको हितमा प्रयोग गर्नका लागि बहुपक्षीय वा दुई पक्षीय सन्धिका अनेकन खाकाहरु पनि लिएर आउँछन् ।
मलाई थाहा भइरहेको छ— मुलुक आजसम्म किन यस्तो अवस्थामा रहिरह्यो ? मुलुकको शासन व्यवस्था कसरी चलिरहेको थियो ? अमूल्य प्राकृतिक साधन स्रोत र परिश्रमी, मिलनसार गौरवशाली जनताहरु हुँदा हुँदै पनि किन सधैँ पछौटे भइ बस्नु प¥यो ? यी बहुमूल्य, अतुलनीय गौरवशाली साधन स्रोतहरुको उपयुक्त परिचालन गरेर मुलुकको पछौटेपनलाई समूल नष्ट गर्न सकिन्छ भन्ने कुरामा म अझै विश्वस्त हुँदै गइरहेकी छु । ठोस नीति, कार्यक्रम, योजना, आयोजनाहरु सञ्चालन गर्नका लागि म एउटा निश्चित ‘रोड म्याप’ बनाइरहेकी हुन्छु ।
  म दृढतासाथ सही बाटामा, सही विकास निर्माणका लागि जनतालाई गोलबद्ध गर्दै वकास निर्माणको बाटामा अगाडि निरन्तर बढाइरहने अठोट गरिरहेकी हुन्छु । जनताले पनि यस कार्यमा बिस्तारै साथ दिन थालिरहेका छन् । 

परिकल्पना

“मानव, के तिमी मसित सन्तुष्ट छौ ?”
“के कारणले, किन यो प्रश्न सोधिरहेकी छ्यौ ? परी ।”
“म दिन रात व्यस्त छु । तिमीलाई समय दिन सकिरहेकी छैन । एक्लै भइरहेका छौ ।”
“त्यही कुरा हो भने, म सन्तुष्ट छु । अहिले तिमी मेरी मात्र होइनौ । सम्पूर्ण राष्ट्रको हौ । राष्ट्रको मात्र नभएर सम्पूर्ण मानव जातिका हौ ।”
“यो मेरो प्रशंसा हो कि खिसिट्यूरी ? म तिम्रो भएर रहन चाहन्छु ।”
“तिमी मेरी नै छ्यौ । म तिमीजस्ती पत्नी पाएकोमा गौरवान्वित छु । तिमी सम्झिरहेकी छ्यौ कि राजनीति तिमी मात्र गरिरहेकी छ्यौ । त्यसो होइन । राजनीतिमा हामी दुवै सरिक छौं । तिमीलाई कुनै अवस्थामा पनि खिसिट्यूरी गर्न सक्तिनँ । तिमी राष्ट्र र मानव जातिका हौ भनेको कारण म जुन परिकल्पना गरिरहेको हुन्छु तिमी मार्फत् समाजमा प्रयोग गरिरहेको छु । मानव समाजलाई उन्नत अवस्थातर्फ लैजान क्रियाशील तिमी सम्पूर्ण मानव जातिका सम्पत्ति हौ ।”
“म तिम्रा कुराहरु बुझ्दिनँ । कसरी तिम्रो परिकल्पना अनुसार म क्रियाशील छु ।”
“मैले तिमीलाई तिम्रो कुनै काममा बाधा दिएँ ?”
“दिएनौ ।”
“मलाई अकूत सम्पत्ति चाहिन्छ, सम्पत्ति कमाऊँ भनेर तिमीलाई कहिल्यै भनेँ?”
“भनेनौ ।”
“त्यसको अर्थ तिमीले बुझ्नुपर्दैन, म तिमीलाई एउटा मानव जातिको महान् आदर्श नायिका भएको देख्न चाहन्छु ।”
“म कसरी नायिका ?”
“नायिका यस अर्थमा कि मुलुकको राजनीति, देशवासीहरुको सुखदुःख तिम्रा वरिपरि घुमिरहेका छन् । होइन र ?”
“हुनसक्छ । तर त्यत्तिकै भरमा म महामानव बन्न सक्तिनँ । म आफ्ना मसिना स्वार्थहरु मिल्काउन सक्तिनँ । ती स्वार्थहरु मिल्काउन खोज्दा मेरो आधा अस्तित्व उप्किएर जान्छ कि भन्ने मलाई डर छ ।”
“मसिना स्वार्थहरु जसले देश र समाजलाई हानि गर्दैन, ती यथोचित छन्, हुन्छन् । तिम्रो स्वार्थ भनेकै के छ र ? तिमी मसित, छोरासित, सुखसित बस्न चाहन्छ्यौ । बस्न नपाएकोमा दुःखी हुन्छ्यौ । यति मात्र होइन र ।”
“हो, म छोरालाई मेरो इच्छानुसारकी केटी विवाह गरेर हामीसँग बसोस् भन्ने चाहन्छु ।”
“त्यस्तो हुन सक्तैन । ऊ आधुनिक उन्नत समाजको उच्च उपज हो । साँघुरिएर एउटा परिवारभित्र खुम्चन सक्तैन ।”
“ऊ फर्केर आउँदैन त ?”
“आउँदैन । आएपनि फेरि फर्केर जान्छ । जान्छ, आउँछ ऊ एकै ठाउँ अचल भएर रहन सक्तैन ।”
“उसो भए, हाम्रो बुढेसकालको साथी को ?”
“तिम्रो म, तिमी मेरी ।”
“ठट्टा नगर । गम्भीरताका साथ सोच । हामी दुवै वृद्ध र वृद्धा हुँदा एक आपसमा हेरचाह गर्न समर्थ हुने छैनौँ ।”
“त्यस बारेमा मैले सोचेको छु । आजको यन्त्रिक युगमा कुनै छोराछोरी वृद्ध आमा बुबाको सेवा शुश्रूषामा बाँधिएर बस्न सक्तैन । हामी पनि जब केही गर्न नसक्ने हुन्छौँ–वृद्ध आश्रममा जानुपर्छ ।”
“वृद्ध आश्रम ? के भनिरहेका छौ ।”
“हो ठीक भनिरहेको छु । वृद्ध आश्रम ! अरुको वृद्ध आश्रम  होइन, हामीले नै आफू र अरु अपहेलित वृद्धाहरुका बाँकी जीवन काट्नका लािग वृद्धाश्रम खोल्नु पर्दछ ।.........”

वृद्धाश्रम !
आधुनिक यान्त्रिक युगको अनिवार्य आवश्यकता । ‘सरकारले नै वृद्धाश्रम खोल्दा हुन्न र ?’ भन्ने विचारमा सहमत हुन सकिन्न । सरकार कहिल्यै निष्पक्ष हुन सक्दैन । हो पनि, सरकार भनेको आफ्ना कार्यक्रमहरु विरोधीलाई दमन गदै लागु गर्ने संस्था हो । सरकार निष्पक्ष, नम्र र उदार हुनै सक्तैन । तसर्थ ‘मानव’ प्रमुख सञ्चालक हुने हिसाबले सर्वहितकारी वृद्धाश्रम खोल्नका लागि पूर्वाधारहरु तयारी गर्न थालिन्छ ।
      वृद्धश्रम हेर्दा संञ्चालन गर्न सजिलोजस्तो देखिए पनि त्यस्तो सजिलो रहेनछ । वृद्धाश्रमका लागि आवश्यक अन्य सर्त र आवश्यकताहरु के के हुन सक्छन् । बाल–आश्रम चलाउन सजिलो हुन्छ । बालकहरुलाई देख्दा सबैको मन पग्लन्छ । बालकहरुलाई सबैले माया गर्छन् । बाल–आश्रम सञ्चालन गर्न स्रोत र साधन बटुल्न सजिलो हुन्छ । बाल–आश्रमका बालकहरु नै ठूलो भएर त्यो बाल–आश्रमलाई मद्दत गर्न तयार रहन्छन् । तर वृद्धाश्रम प्रति वर्तमान अवस्थामा मानिसहरु त्यति आकर्षित भएको देखिदैन । 
  वृद्धाश्रममा अशक्त वृद्धहरु बस्छन् । तिनीहरुको निश्चित बानी व्यहोरा, आचार, विचार बनिसकेको हुन्छ, स्थापित भइसकेको हुन्छ । तिनीहरुलाई बालकहरुलाई जस्तो फकाएर वा हप्काएर अनुशासनमा राख्न सकिदैँन । वृद्धाहरुको विविध मनोभाव बुझ्नसक्ने सञ्चालक, परिचालक र सेवकहरु हुनुपर्दछ । वृद्धाहरुको कुनै सुदूर भविष्य हुँदैन । परिवारबाट बहिष्कृत, तिरष्कृत उनीहरु फगत काल पर्खिरहेका हुन्छन् । उनीहरुको आश्रम सञ्चालन गर्न त्यति सजिलो हुँदैन । 
  वृद्धाहरु धेरै समयजसो विविध रोगहरुबाट बिरामी भइरहन्छन् । निको हुन पनि समय लाग्छ । औषधि सेवन गरिरहनु पर्ने हुन्छ । जिद्दी, झन्की, रिसाहा र सन्काहापन वृद्धहरुमा धेरै मात्रामा पाइन्छ । वृद्धहरुलाई धेरैजसो अस्पताल लगिरहनुपर्ने हुन्छ । अस्पतालकै जस्तो स्वास्थ्य सम्बन्धी केही सुुविधाहरु वृद्धाश्रममा मौजुद हुनुपर्छ । वृद्धाश्रम सञ्चालन धेरै खर्चालु हुन्छ । वृद्धाश्रम विशुद्ध सेवा हो, वृद्धाश्रमबाट कुनै आम्दानी हुँदैन । वृद्धाश्रम सेवामूलक कि नाफामूलक ? निश्चित रुपमा सेवामूलक हो तर आयस्रोत निश्चित नभई संस्था चिरकालिक हुन नसक्ने हुँदा आयस्रोतहरु निश्चित हुन आवश्यक हुन्छ । 
    वृद्धाश्रम सञ्चालन धेरै दृष्टिकोणबाट गाह्रो, झन्झटिलो र खर्चालु भए पनि वर्तमान युगको आवश्यकता बनेको छ । वृद्धाश्रम सञ्चालन गर्न दह्रो आर्थिक स्रोत चाहिन्छ । ती स्रोतहरु मुख्यत चन्दा, सरकारी अनुदान, विदेशी संस्था र व्यक्तिहरुबाट अनुदान, शुल्क र वृद्धाश्रमको सम्पत्तिबाट हुने आयहरु हुन सक्छन् ।
    वृद्धाश्रमको लागि स्थायी आर्थिकस्रोतका रुपमा विविध तरिकाहरु अवलम्बन गर्न सकिन्छ । वृद्धाश्रमका लागि स्थायी सम्पत्तिजस्तो खेतबारी, घर–भवन भाडा,  बैंकमा राखेको अक्षय कोषबाट प्राप्त ब्याज रकम, उद्योग व्यवसायमा लगानी गरी आएको नाफा, शेयर रकमबाट प्राप्त आय, चन्दाआदि हुन सक्छन् । वृद्धाश्रमको स्थायी आयस्रोतको रुपमा नोकरी गरिरहेका इच्छुक नोकरीवालहरुको तलबको .०५% रकम वृद्धाश्रम कोषमा जम्मा गर्दै उनी र उनीहरुले चाहेमा वृद्ध भए पछि सोही रकमका आधारमा निशुल्क बस्ने व्यवस्था गर्ने एवं यदि वृद्धाश्रममा उनीहरुले बस्न नचाहेमा सो सञ्चित रकम ब्याज सहित फिर्ता गर्ने प्रावधान अनुसार पनि केही रकम संकलन गर्न सकिन्छ । पैसावाल वृद्धहरुबाट निश्चित सेवा शुल्क रकम पनि लिन सकिन्छ । 
.......................
‘मानव’ पढेर सुनाउँछन् । 
“निबन्ध नै पो तयार गरेछौ ।”
“कुराहरु स्पष्ट होऊन् भनेर लेख्दा निबन्ध अथवा रिपोर्र्टजस्तै हुन गएछ । केही अस्पष्टताहरु अझै मौजुद रहेका छन् । वृद्धाश्रम खोल्दा आइपर्ने कठिनाइहरु राम्ररी बुझ्न जरुरी छ.........”
बुढेसकालमा आवश्यक सेवा शुश्रूषा र सुरक्षा अहिलेको व्यस्त र प्रतिस्पर्धी समाजमा जीवन धान्न व्यस्त छोरा, बुहारीहरुबाट प्राप्त हुन नसक्ने अवस्था बन्दै गइरहेको छ । त्यस्तो अवस्थाको पूर्वानुमान गरेर ‘मानव’ र म वृद्धाश्रम स्थापना गर्ने निष्कर्षमा पुग्छौँ ।
     म आफूले प्राप्त गर्ने सबै तलब र भत्ता भविष्यमा स्थापना हुने वृद्धाश्रमका लागि जम्मा गर्न थाल्छु । वृद्धाश्रम सामाजिक संस्थाको रुपमा दर्ता गरिन्छ । संस्था सञ्चाल सम्बन्धी ट्रस्ट निर्माण हुन्छ ।
“कुन स्थानमा संस्था स्थापना गर्ने होला ?”
“गाउँको एकान्त स्थल उपयुक्त होला कि ? जग्गा गाउँमा सस्तो पनि पाइन्छ ।”
“गाउँमा हुँदैन । वृद्धहरु धेरै रोगबाट बिरामी भइरहन्छन् । मुटुको रोग, मधुमेह, ब्लडप्रेसर, अन्धोपन, बहिरापनआदि असाध्य रोगहरु वृद्धहरुमा हुन्छन् । ठूला अस्पतालसम्म छिट्टै पुग्न सकिने स्थान उपयुक्त हुन्छ ।”
“सानातिना रोग सम्बन्धी उपचारहरु त वृद्धाश्रममा नै गर्न सकिन्छ नि ।”
“वृद्धाश्रममा ठूला रोगहरुको उपचार हुन सम्भव हुँदैन ।”
“उसो भए सहर नजिक आधी घण्टाको गाडी हँकाईमा सहर पुग्न सकिने स्थानमा हुनुपर्छ ।”
“ठीकै हो । त्यसो भए त्यस्तो स्थानको खोजी गर्नु पर्ला ।”
“पैसाको व्यवस्था हुनुप¥यो नि ।”
“कति पैसाको व्यवस्था गर्नुप¥यो ? जग्गा कति चाहिने होला ।”
“जग्गा जति धेरै त्यति राम्रो । वृद्धाश्रमकै कम्पाउन्डभित्र केही वृद्ध विरामीहरु राख्न सकिने सानो अस्पताल, पार्क, खेल्ने ठाउँ, पूजा आजा गर्ने मन्दिर, गुम्बा, चर्च, मस्जिद, माङ्खिम आदि आस्था केन्द्रहरु निर्माण गर्ने ठाउँ भए अझ सुन्दर हुन्छ ।”
“यी सबै कुराहरु भएपछि त एउटा संसार नै भइहाल्यो त । तिमी त ईश्वर, मन्दिर नमान्ने मान्छ..... होइन र !”
“हो, म ईश्वर मान्दिन भनेर ईश्वर मान्नेहरुलाई घृणा गर्दिनँ । भावी दिनमा बा..... म पनि ईश्वर मान्न थाल्छु कि ? भविष्यको को ग्यारेन्टी लिन सक्छ र ! केटाकेटीहरु अज्ञानतामा, अबोधतामा रमाइरहेझैँ केही वृद्धहरु मन्दिर, गुम्बा, माङ्खिम र चर्च वा ईश्वर आराधनामा रमाउँछन् भने तिनीहरुलाई रमाउन दिँदा ती वृद्धहरुको बुढेसकाल सहज बन्न सक्छ । तिनीहरुका मन मष्तिष्कमा बनेको ईश्वरको तस्वीरले तिनीहरुलाई बुढेसकाल काट्न सजिलो पार्छ भने त्यसमा आपत्ति मान्नुपर्ने कुरै के छ र ! ईश्वरको सम्बन्धमा म भोल्टेयरको मतसँग सहमत छु । ‘यदि ईश्वर छैनन् भने उनको सृष्टि गर्नु पर्दछ ।’ ईश्वर भन्ने मान्यताले अज्ञानी, अल्पज्ञानी र मुर्खहरुलाई सान्त्वना दिन्छ भने त्यसमा आपत्ति मान्नुपर्ने कुरै के छ र ! हरेक मसिना कुराहरु जसलाई हामी बदल्न सक्दैनौँ अथवा ती मसिना कुराहरुलाई फाल्न सक्दैनौँ, तिनीहरुलाई पनि प्रयोग गर्दा केही फरक पर्दैन । जीवनभरि भ्रममा नै बाँचेर बुढेसकालमा पुुगेकाहरुको रमाइलो भ्रम कायम हुँदा कसैलाई नोक्सान हुँदैन । भ्रममा तिनीहरु रमाउँछन् भने रमाउन दिऊँ ।” 
“अनौठो विचार, यसरी पनि समाज बदलिन्छ र ?”
“समाज क्रमशः बदलिन्छ । बालकहरुको मनमा नयाँ प्रभाव, छाप र विचारहरु उत्पन्न गर्न सकिन्छ तर वृद्धहरुको दिमागमा सकिँदैन । उनीहरुलाई उनीहरुकै विचार, आस्था र विश्वासमा मर्न दिँदा उनीहरुको मृत्यु सहज हुनसक्छ । यहाँ हामी विचारको वा जीवनको कुरा गरिरहेका छैनौँ । मृत्युको कुरा गरिरहेका छौँ । वृद्ध वृद्धाहरुको अवश्यम्भावी निश्चित मृत्युवरणलाई कसरी वीरोचित एवं सुखद् बनाउन सकिन्छ ? भन्ने बारे कुरा गरिरहेका छौँ ।”
वृद्धाश्रम स्थापना गर्ने परिकल्पनाले हामीलाई एउटा अनौठो आनन्द, सुरक्षा र उत्साह प्रदान गर्छ । मानिस जतिसुकै निस्वार्थ भए पनि ऊ आफ्नो भावी जीवन निश्चित र सुरक्षित भएको हेर्न चाहन्छ । एउटी आमा र बाबुले छोराछोरीले बुढेसकालमा स्याहार्लान् भनेर नै छोराछोरीहरुलाई माया गरेर हुर्काउँछन् । आजपर्यन्त छोराछोरीले पनि आफ्ना माता–पितालाई उनीहरुको जीवनको अन्तिम कालखण्डमा स्याहार सम्भार गर्न आफ्नो कर्तव्य ठानेका छन् र पूरा गरेका छन् । तर अब पुरानो परिपाटी, चलन, संस्कार र जीवन पद्धतिको ठाउँ नयाँले लिन लागेको छ । नयाँ परिपाटी पूरै स्थापित भइनसकेको अवस्थामा थुप्रै अन्यौलहरु थपिएका छन् ।...... .... वृद्धहरुको पालनपोषण, हेरचाह कसले गर्ने हो ?
वृद्धाश्रम आफैंले स्थापना गर्ने र त्यसको उपयोग गर्ने पहिलो पुस्ता हामी नै हुनेछौँ । बुढेसकालमा छोराछोरीहरु वा अरुमाथि आश्रित हुनु नपर्ने हुँदा सुरक्षा र निश्चितताको अनुभव हामीलाई हुन थालेको हुन्छ । 

सन्तान
ट्रिङ्ग........ट्रिङ्ग......
“हेलो ! हेलो !”
“हेलो, पारुहाङ्ग बोल्दै छौ ?”
“हो, आमा । किन फोन गर्नुभयो ?”
“पारुहाङ्ग, म आमा हुँ । तिमी जस्तै निर्दयी हुन सकिनँ । तिम्रो सम्झना आइरहन्छ र फोन गरेकी हुँ ।”
“भन्नुहोस् । मैले के गर्नु प¥यो ?”
“तिमीले गर्नूपर्ने थुप्रै कुराहरु छन् । मातृऋण, मातृभूमिप्रतिको दायित्व, पितृऋण, देशसेवा आदि अनेकौँ कुराहरु छन् । जुन कुराहरु तिमी यहाँ फर्केर मात्र गर्न सक्छौँ । कहिले आउँछौ ?”
“अहिले आउने योजना छैन । यहाँ म दक्षिणी गोलार्धको सधैँ हिउँ जमिरहने पृथ्वीको दक्षिणी सीमामा जीवित प्राणीहरुको अवस्थिति बारे अध्ययन–भ्रमण टोलीमा समावेश भएको छु, त्यहाँ जाने भएको छु ।”
“त्यो भ्रमण कहिले छ ? त्यो भ्रमण पछि त फर्कन्छौ कि ?”
“त्यहाँबाट फर्किसकेपछि नै कुरा गरौँला ।”
“अनि तिमीले विवाहबारे के सोच्दैछौ ?”
“विवाहबारे अहिले सोचेको छैन । आमा, यस्ता अनावश्यक कुराहरुबारे अहिले सोच्ने फुर्सद छैन । पछि सोचुलाँ ?”
“त्यो पछि कहिले ? ठीक समयमा गरेको कार्य राम्रो हुन्छ । तिम्री बहिनीको छोरो समेत भइसकेको छ ।”
“बहिनीको छोरो भइसक्यो । नाति भन्न पाउनुभएकै छ । मलाई अहिले विवाह गर्ने हतार छैन । आमा अरु पछि नै कुरा गरौलाँ ।”
“तिम्रो केही भन्नु छैन ?”
“केही छैन, भएमा फोन गरुँला, बाई आमा ।” फोन डिस्कनेक्ट हुन्छ । 
     म छोरासँग कुरा गर्न पाउँदा हर्षित छु । प्रयत्नशील छु उसलाई आफ्ना कुरा मनाउन । तर ऊ माछोझैँ चिप्लिएर फुत्किरहेको छ । म उसलाई राम्ररी कन्भिन्स गर्न सकिरहेकी छैन । प्रत्येकपल्ट हारको महसुस भइरहेको छ । म आफ्नो छोरालाई मनाउन सक्तिनँ । मैले भनेको कुरा मेरा छोराछोरीहरु मान्दैनन् । उनीहरुको आफ्नै स्वतन्त्र अस्तित्व छ रे । मैले उनीहरुको त्यो स्वतन्त्र घेरा परिधिभित्र प्रवेश गर्न हुँदैन । नयाँ दृष्टिकोण बोकेको नयाँ पिँढी । 
म निराश हुन्छु । नचाहँदा नचाहँदै म सुँक्कसुँक्क रुन्छु । मेरो रुवाइ सुनेर ‘मानव’ ब्युँझन्छन् र सोध्छन् –“के भयो ?”
“केही भएको छैन । केही भएन । पारुहाङ्गलाई फोन गरेकी थिएँ । ऊ हामीभन्दा धेरैधेरै टाढा गएको छ । टाढा भएको छ । फर्केर आउन मान्दैन ।” सानी नानीले झैँ म पोल लगाउँछु ।
      “ऊ फर्केर नआउने रे । न आए के भयो त । ऊ बाँचेको छ । मानवजातिको लागि केही गरिरहेको छ । कुनै दिन फर्केर आउने नै छ । धैर्य गर । तिमी आमा हौं— छोराको लागि प्रगतिको प्रार्थना गर ।”
मेरो मनको शान्ति हराएको छ । बेचैनी, छटपटाहट, उकुसमुकुस र निराशाले मेरो मन भाँचिन थालेको छ कि भन्ने डरले म विचलित हुन थालेकी छु कि ?! म फेरि निधाउन सक्तिनँ र ‘मानव’ले लेखेका पुस्तकहरु हेर्छु । 
“यति धेरै पुस्तकहरु लेखिसकेका रहेछौ ।” म ‘मानव’लाई पुस्तकहरु देखाएर भन्छु । 
“हो, यी मेरा तपस्याका बरदानहरु हुन् । मेरो निस्सार जीवनका खाँटी उपलब्धिहरु, सृजनहरु हुन् । यी मेरा सन्ततिहरु हुन् ।”
“तर हाम्रा जीवित सन्ततिहरु ?”
“उनीहरु हामी जस्तै क्षणभङ्गुर र नाशवान् छन् । आफ्नो–आफ्नो इच्छानुसार बाँचिरहेका छन् । त्यो नै सन्तोषको विषय हो ।”
“हामीबाट टाढा छन् नि.............”
“टाढा नजिक शारीरिक उपस्थितिसँग जोड्नु हुँदैन । उनीहरु हाम्रा हृदयमा, सम्झनामा सदैव उपस्थित छन् । उनीहरुलाई प्रगतिका लागि हामी आशीर्वाद दिइरहेका छौं ।”
“तर म विचलित हुन लागेकी छु ।”
“तिमी विचलित हुन सक्तिनौ । मुलुक तिम्रो काँधमाथि छ । तिमी फगत आमा मात्र होइनौ । देश निर्माता पनि हौ । नयाँ विकास निर्माणले तिम्रो प्रतीक्षा गरिरहेको छ ।”
“मैले भनेको आफ्नै छोराछोरीहरु त मान्दैनन् भने विकास निर्माण मैले भने जस्तो गर्न सकुँला र ..........।”
“फेरि पनि तिमी बहहिदै छ्यौ । छोराछोरीले तिमीले भनेको नमानेका होइनन् । तिनीहरु पनि आफ्नो दायित्व आफ्नै ढङ्गले निर्वाह गरिरहेका छन् । तिमीले आफ्नो दायित्वलाई उनीहरुको दायित्वसँग दाँज्न मिल्दैन । उमेर, अवस्था, पेशा, दक्षता, रुचि, देश, काल, परिस्थिति अनुसार सबैले फरकफरक दायित्व निर्वाह गर्नुपर्छ । ‘दायित्वबोध’ नारा बनाउने तिमीहरु, तिमी हतास, निराश, पलायन, दायित्वहीन हुन सक्तैनौ । आफ्नो सारा शक्तिलाई सक्रियतामा बदल्नु तिम्रो दायित्व हो ।’

ट्रिङ्ग........ट्रिङ्ग..........
“हेलो, हेलो, हु स्पिकिङ्ग...............”
“मी, युवर मोदर । प्राइममिनिष्टर अफ नेपाल स्पिकीङ्ग । युवर गुड मोदर स्पिकिङ्ग । आइ विस यू...... अल द बेस्ट । सफलताले तिम्रो कदम चुमोस् ।”
“आज आमा खुसी हुनुहुन्छ जस्तो छ ।”
“हो छोरा पारुहाङ्ग । अब मेरो तिमीसँग कुनै गुनासो छैन । तिमी जे गर्छौ, असल गर्छौ र त्यसमा सफल होऊ । आमा–बुबाको आशीर्वाद छ । तिम्रा बुबाले थुप्रै किताबहरु लेखेर मानव ज्ञानमा थोरै भएपनि योगदान पु¥याएका छन् । तिमी पनि मानव–ज्ञान बृद्धिमा सफल हुनेछौ ।”
“थ्याङ्क यु आमा, थ्याङ्क यु । आइ एम भेरी ग्लाड । पूजनीय आमा मेरो सेवा ढोग । प्रणाम !”
“शुभ आशीर्वाद ।” म फोन राख्छु । मेरो छोरा ! विचरा एक्लो पराई मुलुकमा एक्लै एक्लै मानव उन्नतिमा आफ्नो निजी सुख त्यागेर, देश परिवारदेखि धेरै टाढा एक्लै एक्लै सङ्घर्षरत छ ।............ सङ्घर्षरत मेरो छोरा ! किन विदेशमा छ ? मुलुकभित्र यथेस्ट रिसर्च र ज्ञान वृद्धिका सुविधाहरु नभएर नै होइन र .... हाम्रो देश   पनि कहिले ती देशहरु जस्तै विकसित र उन्नत होला.....! मेरो आँखाबाट आँसु बग्छ । आँसु बगेपछि अब मेरोमनमा कुनै गुनासो रहेन । 
   म फेरि बेलायतमा रहेकी मेरी छोरी नायुमासँग फोनमा निक्कै बेरसम्म आमाछोरी बीच रहने हार्दिकता, ममता र सौहाद्र्रपूर्ण स्थितिलाई पुनः कायम राख्न कुरा गर्छु । तिनी छक्क पर्छिन्– आमाको बोली पहिला जस्तो कर्कश छैन, रुखो छैन । आमाको बोलीमा ममता छ, मिठास छ, सारा दुःख पीडा बिर्साउने आश्वासन छ । छोरी नायुमा रोएकी म सुन्छु । म पनि रुन्छु । हामी आमाछोरी धेरै समयपछि सँगसँगै बसेर रोइरहेका छौँ । दुःखको आफ्नो–आफ्नो घाउमा मल्हम पट्टी गरिरहेका छौँ ।

सन्तानप्रति मेरो हेर्ने दृष्टिकोण फेरिएको छ । मन सफा भएको छ । कुनै मैला छैन, गुनासो छैन । तिनीहरुले मेरो कोखबाट जन्मेर मलाई धन्य तुलाएका छन् । म आमा भएकी छु, मेरो नारी जीवन सार्थक भएको छ ।
“मानव, तिमी मलाई जीवनभरी यसरी सही दृष्टिकोण दिइराख । केही गरी म भट्किन गएँ भने सही बाटो देखाऊ ।”
    मन हलुङ्गोे भएको छ । मभित्र नयाँ उर्जा निर्माण भएको छ । म आफ्नो सम्पूर्ण शक्ति राष्ट्र र जनताका लागि खर्चिन तयार छु । यहाँसम्म कि म आफ्नो जीवन राष्ट्रका लािग न्यौछावर गर्न तयार छु । म हरेक मुस्किल, बाधा, व्यावधानको काडाँहरुलाई खाली खुट्टाले कुल्चन तयार छु । म जस्तो सुकै समस्या संकटको आँधी–हुरी सामना गर्न तत्पर छु । म आफ्नो आस्था, सिद्धान्त, विश्वास र प्रतिबद्धतामा अडिग रहन कठोर र दृढ भएकी छु । मेरो कठोरता देखेर नै मलाई मेरा विरोधीहरु भन्ने गर्छन्–“फलामकी कठोर आइमाई !”

पराकाष्ठा
मुलुकको प्राकृतिक साधन स्रोतमाथि विदेशीहरुले आँखा गाडेर ती साधन स्रोतहरु हात पार्न अनेकौँ तिकडम, षड्यन्त्र र जालझेल गर्न थालेका हुन्छन् । पानी (ह्वाइट गोल्ड), सेतो सुन । सिँचाई र खानेपानीका लागि असमान सन्धि गराउन अनेकौं खेलहरु खेलिरहेका छन् । मुलुकले आफ्नो नागरिक अङ्गीकार गरिसकेपछि पनि अनेकौँ राष्ट्रद्रोही कार्यहरुमा संलग्न राष्ट्रघातीहरु ! पहाडी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको होटल, रिसोर्टहरु विदेशीहरुलाई मुलुकवासीहरुको हकमाथि लात मारेर खोल्न दिइनु पर्ने रे । जल, विद्युतजस्ता प्राकृतिक एवं मानवश्रममशक्ति सस्तो दाममा लैजान दिनुपर्ने रे । त्यस्ता असमान सन्धिहरु गरेमा पैसाको खोलो नै मुलुकतर्फ फर्काईदिने रे । त्यस्ता असमान सन्धिहरु सम्पन्न भएमा पश्चिमबाट घाम झुल्किन्छ रे । खरब खरब डलर बर्सिन्छ रे । 
विरोधी दलहरु असमान सन्धि सरकारद्धारा संसदमा पेश गर्न लगाउन एकजुट भएका छन् । असमान सन्धिबाट हुने फायदाको अफवाह फैलाएर सरकार गिराउने अनेकौँ तिकडम गर्न तल्लीन छन् । म प्रधानमन्त्री पद त्याग्न तयार छु तर असमान सन्धि पेश गर्ने पक्षमा छैन । 
 “फलामकी कठोर आईमाई ! राष्ट्रिय हित विपरीत जान मान्दिन । यो भइन्जेल सन्धि हुन सक्तैन ।” विरोधीहरुको निष्कर्ष हुन्छ । संसदमा अविश्वासको प्रस्ताव समेत पेश गर्छन् । तर त्यो प्रस्ताव बहुमतद्धारा खारेज हुन्छ । विरोधी दलहरु, कमिसनखोर, विदेशी दलालहरु र अन्तर्राष्ट्रिय माफियाहरुको अघोषित गठजोड भइरहेको महसुस भइरहेको हुन्छ । 


भव्य उद्घाटन समारोह ! प्रमुख अतिथि प्रधानमन्त्री म मञ्चमा आसीन छु । मेरो साथमा ‘मानव’पनि छन् । अधिकांश कार्यक्रमहरुमा म मात्रै हुन्थे । यो विशेष कार्यक्रम भएकोले यहाँ प्रतिपक्षका नेताहरु समेत उपस्थित छन् । उनीहरुकै जोडले मैले ‘मानव’ लाई पनि समारोहमा उपस्थित गराएकी हुन्छु । उनी अनिच्छुक हुँदाहुँदै पनि पत्नीको अनुनय स्वीकार गरेर उपस्थित भएका हुन्छन् । 
   समारोह कार्यक्रमानुसार नै चलिरहेको छ । मेरा अंगरक्षकहरु सजग छन् । जनताको उन्नतिमा विश्वास गर्ने म जनतामाझ जान डराउने कुरै छैन । शान्ति सुरक्षाप्रति म पूर्ण विश्वस्त हुन्छु । 
राष्ट्रिय धुनमा सबैजना उठ्छन् । यो के अचम्म ! बम पड्किरहेको छ । मानिसहरुको कोलाहल, भागम्भाग । भीडमा गोली चल्न थालेको छ । मलाई अकस्मात गर्लम्म लडाएर ममाथि ‘मानव’ घोप्टिन्छन् । एक मिनट पछि स्थिति शान्त हुन्छ । मलाई थिचिरहेका ‘मानव’ लाई हटाएर उभिन्छु । यो के ? ‘मानव’ को शरीरभरी गोलीहरु लागेका छन् । गोकुल ‘मानव’ को मृत्यु भइसकेको छ । अङ्गरक्षकहरु केही पर घाइते भएर लडिरहेका छन् । केही मानिसहरु मारिएका छन् । अकस्मात् यो आक्रमण कसले ग¥यो ?
   मेरो हातमा गोली लागेको छ । सेनाको बक्तरबन्द गाडी र एम्बुलेन्सहरुमा राखेर मलाई र ‘मानव’ को लाशलाई अस्पताल लगिन्छ । म अस्पतालमा छु । निमेष भरमा यो के भयो ? मेरो संसार उजाडियो । ‘मानव’ ले मलाई बचाए । मेरो मृत्यु तिनले स्वीकारे । तर म बाँचे पनि मेरो सबै थोक समाप्त भएको छ । म न रुन सक्छु, न हाँस्न सक्छु ! अब कसरी म मन बुझाऊँ ? कोसित सल्लाह लिऊँ ! एक्लो विकल म आहत मर्माहत किंकर्तव्यविमूढ ! अस्पतालको शैयामा बेचैन, हाहाकार गरिरहेको मन..... के गरुँ ? .... कसो गरु ?
    डा. सौन्दर्या आइपुग्छिन् । डा. सौन्दर्याले दिएकी जानकारी अनुसार हजारौँ पार्टीका कार्यकर्ता, राष्ट्रवादी एवं देशभक्तहरुले अस्पताल कम्पाउन्डलाई चौबिसै घण्टा घेराउ गरिरहेका छन् र राष्ट्रघातीहरुका विरुद्ध राष्ट्रियताको पक्षमा नाराबाजी गरिरहेका छन् । उनीहरु मेरो रक्षाका लागि जुनसुकै बलिदान गर्न तत्पर छन् साथै अस्पतालमा भइरहेका हरेक गतिविधिलाई सतर्कतासाथ नियालिरहेका छन् । जमानसिंह र केन्द्रीय कमिटीका सब मित्रहरु एकएक गर्दै आइरहेका छन् । सेना र प्रहरीका उच्च स्तरीय अधिकृतहरु त्यो घटना कसले घटायो भन्ने बारेमा अनुसन्धानमा लागिरहेका छन् रे । त्यो विरोधी दल र आफैसित सरकारमा रहेको तेस्रो ठूलो दलको षडयन्त्र हो रे ! असमान सन्धि पारित गराउन लागि पर्ने गिरोहको काम रे ! शङकाको भरमा कोही पक्राउ परेका छन् रे । जोसुकैले त्यो घटना घटाएका थिए । मलाई बचाउदा ‘मानव’ को ज्यान गएको छ ।

   महान् ‘मानव’ । आफू मरेर मलाई बचाए । म पनि उनीसँगै मरेकी भए यो असह्य पीडा मैले सहनु पर्ने थिएन । म अब के गर्नसक्छु । म मर्न पनि त सक्तिनँ । अतुलनीय, असहनीय पीडा, बेदना, पीर र दुःखको बोझ बोक्न म विवश बाँचेकी छु । म भित्र बारम्बार प्रश्न उठिरहन्छ – मैले के गर्नु पर्ने हो ? म अपराधीहरुलाई सजाय दिन  चाहन्छु । मैले बाँचेर प्रधानमन्त्रीको शक्ति प्रयोग गरेर अपराधीहरूलाई सजाय दिनुपर्छ । राजनीतिमा अपराधीकरण ! 


उपप्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री परिषदको बैठक बसिरहेको छ रे । म बैठकमा जान चाहन्छु तर सेनाका जवानहरुले “सिकिस्त हुनुहुन्छ, आराम र उपचार गराउनुहोस् ।” भन्दै अस्पतालको शैया छोड्न दिएनन् । म अस्पतालमा नै थच्चिन्छु ।
    सुन्छु एफ.एम रेडियोमा ‘प्रधानमन्त्रीलाई गोली लागेको र गम्भीर रुपमा अस्वास्थ्य रहनुभएकोले शीघ्र स्वास्थ्य लाभको कामना’ मन्त्री परिषदको पहिलो निर्णय र अरु निर्णयहरु ‘अपराधीको खोजी कडा तदारुकताका साथ भइरहेको र अपराधीलाई कडा कार्वाही गर्ने प्रस्ताव सहित मुलुकवासीहरु शान्त रहन र धैर्य धारण गर्न सन्देश प्रसारण गर्ने निर्णयहरु’ भएका छन् । 
   विभिन्न मुलुकहरुमा राजनैतिक ’कु‘ घटनाहरु भएको सुनेकी थिएँ । राजनैतिक ‘कु’ भनेको यस्तो हुँदो रहेछ । राजनैतिक ‘कु’ ले मेरो पतिको ज्यान लिएको छ, मलाई अस्पतालको शैयामा नजरबन्द गरेको छ । मेरो हातमा रहेको शक्ति र सत्ता उप प्रधानमन्त्रीको हातमा गएको छ । मुलुकको यो कस्तो र्दुदशा ! मेरै छेउमा बसिरहेकी डा.सौन्दर्यालाई म अनुरोध गर्छु–“साथी, हाम्रो दलको केन्द्रीय कमिटीको बैठक तुरुन्त बोलाऊ । केन्द्रिय कमिटीमा केही निर्णयहरु गर्नुपर्ने भएको छ ।”
   “हुन्छ, म तुरुन्त महासचिवलाई फोन गरेर आकस्मिक बैठक बोलाउन लगाउँछु ।” तिनी आफ्नो मोबाइल उठाउँछिन् र नम्बर डायल गर्छिन् । 
    “अहिले सम्पर्क हुन सकेन, केही बेर पछि पुन प्रयास गर्नुहोला ।”
तिनी फेरि रिडायल गर्छिन् । सन्देश आउँछ “नो नेटवर्क ।” मेरो हटलाइनमा फोन गर्छिन् । “फोन डिस्कनेक्ट भइसकेको रहेछ । हाम्रो पार्टीका केन्द्रीय कमिटीका सबै सदस्यहरुको फोन काटिएको रहेछ । “तुरुन्तै केन्द्रीय कमिटीको बैठक सम्भव छैन ।” डा.सौन्दर्या भन्छिन् । “साथी, हामी षडयन्त्रको गम्भीर सिकार भइसकेका छौँ । म अहिले जान्छु र साथीहरुलाई भेटेर बैठक बस्ने व्यवस्था मिलाउँछु ।”

निर्मला आँसु पुछ्दै पस्छिन् । “यो के भयो ? दिदी, यो के भयो ?”
“सब सर्वस्व स्वाहा भयो, निर्मला । सब सकियो.........” म भन्छु । निर्मलाको आँसुले मेरो थामिएको आँसु पनि फेरि बग्न थाल्छ । मैले जस्तै अथवा मैले भन्दा बढी ‘मानव’ लाई माया गर्ने निर्मला ! म जस्तै मर्माहत भएकी छे । “निर्मला,............” 
“हजुर” 
“साँच्चै तिमी ‘मानव’ लाई प्रेम गथ्र्यौ ?”
“किन सोध्नुभएको ?”
“साँच्चै, नढाँटी भन ! ‘मानव’ अब यस संसारमा छैनन् ।”
“दिदी, के ढाँट्नु । म त्यतिबेला उनलाई आफूलाई भन्दा बढी प्रेम गर्थेँ । तर त्यो एकतर्फी प्रेम थियो । उनले जसरी तपाईँका लागि आफ्नो ज्यान दिए, त्यसरी नै उनले मागेको भए म आफ्नो प्राणसमेत उनलाई सुम्पन्थेँ ।”
“धन्न, निर्मला । तिमी, यसरी प्रेम गर्न सक्ने तिमी, तिम्रो प्रेम मैले थाहा नपाई खोसेँ ।”
“त्यस्तो होइन, दिदी । उनलाई म प्राप्त गर्न सक्दिनथेँ । तपाईँले नलानुभएको भए पनि उनी मलाई प्राप्त हुने थिएनन् ।”
    दुई नारीको एउटै व्यथा । मृत्युले प्र्रिय मानिस खोसेर लगेको छ । सुँक्क....... सुँक्क...... दुवै रुन्छन् । अरु कसैले नबुझे पनि यी दुई नारीहरु एकले अर्का माथि परेको बज्रपात, पीडा, वेदनाको असीम गहिराई बुझेका छन् ।
 “तपाईलाई गोली लागेको छ रे । सिकिस्त हुनुहुन्छ भन्ने हल्ला व्याप्त छ । कहाँ गोली लागेको छ ?” 
“यी हातमा एउटा गोली लागेको छ । ‘मानव’को शरीरले ढाक्न नसकेको यो हातमा गोली लागेको छ । म त्यस्तो सिकिस्त त छैन ।”
“तर सिकिस्त हुनुहुन्छ भन्ने हल्ला भइरहेको छ ।”
“यो सब राष्ट्रघाती षड्यन्त्रकारीहरुको हल्ला हो, चाल हो । यो एउटा राजनैतिक चाल हो । मुलकलाई अग्रगमनतर्फ जान नदिने कुटिल षडयन्त्र त्यसको सिकार ‘मानव’ भए, म भएँ.........”
   आफूलाई लागेको कुराहरु निर्मलालाई व्यक्त गर्न पाउँदा म अलिकति हलुङ्गो हुन्छु । मेरो छेउमा उभिएको सिपाहीलाई “मेरो मोबाइल ल्याइदिनुहोस्” म भन्छु । 
   “तपाईँको मोबाइल घटनास्थलमा नै हराएको छ ।”
   “अरु नै मोबाइल भए पनि हुन्छ । म मेरो छोरासँग कुरा गर्न चाहन्छु ।”
   “तपाईँलाई मोबाइल फोन गर्न नदिनु भन्ने आदेश माथिको छ ।”
म खत्रक्क हुन्छु । मलाई चारैतिरबाट निर्बल, अदना, अबला र शक्तिहीन बनाई सकिएको हुन्छ । 

“तपाईँको स्वास्थ्य कस्तो छ ? ‘मानव’को मृत्युुमा गहिरो समवेदना व्यक्त गर्छौ ।” जमानसिंह हस्याङ्गफस्याङ्ग गर्दै आएर भन्छन् ।
    “मलाई अहिले त ठीकै छ । बैठक बोलाउनु भयो ?” म सोध्छु । मेरो मानसपटमा अब के गर्ने भन्ने अनेकन योजनाहरु सल्बलाइ रहेका हुन्छन् । ती कार्यहरु म पार्टीमार्फत गर्न चाहन्छु । 
   “त्यही खबर गर्न आएको । केन्द्रीय कार्यालय सेनाले कब्जामा लिएको छ । बैठक आधा घण्टा पछाडि मेरो घरमा बोलाएको छु ।”
“म आउँछु ।” म आफ्ना लुगाहरु खोज्छु । मेरो लुगाहरु छैनन् । नर्सलाई सोध्छु “मेरा लुगाहरु कता छन् ?”
“ती लुगाहरु परीक्षणका लागि सेनाले लगेका छन् ।”
“मेरो अर्को लुगाहरु ल्याइएका छैन ?”
“तपाईँलाई कहिँ जान निषेध गरिएको छ । तपाईँ अस्पताल छाडेर कहिँ जान सक्नुहुन्न । सेनाको आदेश छ ।”
“म ? म प्रधानमन्त्री जिउँदै छु, तर म कहीँ जान सक्तिनँ ?”
जमानसिंह समेत जिल्ल पर्छन् । जमानसिंहलाई “तपाईँ अब जान सक्नुहुन्छ” सेनाको जवान आएर आदेश दिन्छ । जमानसिंह लुसुक्क जान्छन् । चारैतर्फबाट हामी दुश्मनको घेराबन्दीमा परिसकेका रहेछौँ । 


‘मानव’को अन्तिम संस्कार गरिने भएको हुन्छ । उनलाई जलाउने कि गाड्ने भनेर जमानसिंह मलाई सोध्छन् । म ‘मानव’ले जीवित छँदा भनेको कुरा सम्झन्छु ।” मलाई जलाए पनि हुन्छ, गाडेपनि हुन्छ । अथवा मेरो लाशलाई फालिदिए पनि हुन्छ । सम्भव भएमा अस्पताललाई दान दिए पनि हुन्छ । मरेको लाशलाई जे गरे पनि हुन्छ ।” उनले भनेका थिए । “के गर्दा उपयुक्त होला ?” म उनीसँग परामर्श चाहन्छु । 
“अस्पतालले दान लिने भए त त्यो सबैभन्दा उपयुक्त हुन्छ । म त्यसबारे अस्पतालसँग कुरा गरेर निश्चित गरौँला ।”
“हुन्छ, कुरा गर्नुहोस् । अस्पताललाई शरीर दान गर्न पनि उनी राजी थिए ।”
‘मानव’ को शरीर गोलीले क्षत विक्षत पारेको थियो । सिङ्गै लाश सग्लो नभए पनि अस्पतालाई गोलीको असर र पोस्टमार्टम सम्बन्धी अध्ययन गर्न काम लाग्ने भएको हुँदा ‘मानव’को लाश अस्पताललाई दान दिइने व्यवस्था हुन्छ तर लाशलाई जुलुसले नगर परिक्रमा गरेर मात्र अस्पताललाई बुझाइने भएको छ । 
    सेनाको घेराभित्र राखेर मलाई ‘मानव’को लाशको अन्तिम दर्शन अस्पतालमा नै गराइन्छ ।
 ‘मानव’ को लाशलाई केही घण्टा साहित्य प्रतिष्ठानमा राखिन्छ । हजारौँ साहित्यकारहरु र पाठकहरु अन्तिम श्रद्धाञ्जलीका लागि त्यहाँ पुगेर श्रद्धाञ्जली ब्यक्त गर्छन् । म पनि त्यहाँ जान चाहन्छु तर मलाई जान दिइदैन । मलाई अस्पतालको शøयामा नै बसिरहन बाध्य पारिन्छ । म रुन्छु, कराउँछु तर मलाई सेनाका जवानहरुले जान दिँदैनन् । ‘मानव’को अन्तिम दर्शन गर्नका लागि म मरिहत्ते गर्छु । मेरो केही जोड चल्दैन । 
   पार्टीका कार्यकर्ता, साहित्यकार र विशाल जनसमुदायले ‘मानव’ को लाशलाई सहर परिक्रमा गरिसकेपछि अस्पताललाई बुझाई दिन्छन् । यस प्रकार ‘मानव’को लाश समेत मानवज्ञान अभिवृद्धि कार्यमा प्रयोग गरिनेहुन्छ । महान् मानिसहरु मृत्युपछि पनि मानवहितमा समर्पित हुन्छन् भन्ने उदाहरण ‘मानव’बाट सिक्न सकिने भएको छ । 
     ‘मानव’ले प्राप्त गरेको राष्ट्रिय सम्मानबाट म प्रसन्न भएकी छु । मलाई विस्मात लागेको कुरा मलाई अन्तिम श्रद्धाञ्जलीमा जान दिइएन । मलाई बचाउन उनले आफ्नो ज्यानको आहूति दिए । ती महान् मानिसलाई अन्तिम श्रद्धाञ्जली दिन नपाएकोमा मलाई जिन्दगीभर विस्मात भइरहनेहुन्छ— म सोच्छु । रुन्छु, कल्पन्छु तर राष्ट्रघाती षडयन्त्रकी सिकार म अघोषित नजरबन्दमा छु । म यस्तो अवस्थामा राखिएकी छु कि म आत्महत्या गरेर मर्न समेत नसक्ने भएकी छु । दुवै पंख काटिएको पंक्षीझैँ शक्तिहीन, लाचार छाया बनाएकी म....... रुन सिवाय के गर्न सक्छु । म एक्लै बस्दा रुँदी हुँ, एक्लै हुँदा रुन्छु तर म कहिल्यै मेरा दुश्मनहरु सामु रुनेछैन .......। म आफूलाई निर्मम कठोर बनाउछु— म ‘मानव’का अधुरा कार्यहरु पूरा गर्नेछु । तर दुश्मनहरुका सामु कहिल्यै कमजोर भई रुनेछैन.......।


प्यास
   गठबन्धन सरकारले तेस्रो ठूलो दलका उप प्रधानमन्त्री षड्यन्त्रमा संलग्न थिए । मलाई तिनले अपदस्त गर्ने भरमग्दुर प्रयास पनि गरे । अस्पतालमा करिब एक महिनासम्म नजरबन्द पनि राखेँ । तर स.वि.नि.पा.का नेता, कार्यकर्ता तथा आमजनताको राष्ट्रव्यापी जुलुुस, आन्दोलन र दबाबले गर्दा उनको योजना सफल हुन सकेन । उनले मलाई प्रधानमन्त्री पदबाट राजीनामा गराउन अनेक धम्की समेत दिएका थिए । तर म राजीनामा नदिई जे पर्छ त्यो सहन गरुँला भन्ने पक्षमा विचलित नभई अडिरहेकी हुन्छु । पुनः म प्रधानमन्त्रीको कार्यभार सम्भाल्छु । उप–प्रधानमन्त्री एवं उनका पार्टीका सबै मन्त्रीहरुले पदबाट राजीनामा दिन्छन् । हाम्रो पार्टीको संलग्नता बेगर नयाँ सरकार बन्न सक्ने अवस्था हुँदैन । हामी गद्दारहरुसँग पार्टीको संलग्नता बेगर नयाँ सरकार बन्न सक्ने अवस्था हुँदैन । हामी गद्दारहरुसँग नयाँ गठबन्धन सरकार बनाउनुको सट्टा मध्यावधि निर्वाचनमा जान तयार हुन्छौँ । मध्यावधि निर्वाचनको तयारी सुरु हुन्छ । 
        चुनावमा अनेकन प्रमुख मुद्दाहरु हुन्छन् । ती मुद्दाहरुमध्ये राष्ट्रघाती, षड्यन्त्रकारी हत्याराहरु पत्ता लगाई त्यस्ता राजनैतिक अपराधीहरुको समूल नष्ट गर्ने कुरा प्रमुुख भएर आइरहेको हुन्छ । म जसरी होस्, षडयन्त्रकारीहरुलाई चुनावमा पराजित गरेर तिनीहरुलाई समूल नष्ट पार्न चाहन्छु । षडयन्त्रकारीहरु जनताको आँखामा उदाङ्गो भइरहेका हुन्छन् । उनीहरुको राष्ट्रघाती क्रियाकलापको भण्डाफोर भइरहेको हुन्छ । मुठीभर निहित स्वार्थी देशद्रोही, बेइमान, भ्रष्टचारी, अपराधी र विदेशी दलालहरुबाहेक सबैलाई देश प्यारो हुन्छ । देशको माया गर्नेहरु देशप्रति जानी जानी गद्दारी गर्न सक्तैनन् । देशले आफ्नो नागरिक भनेर अङ्गीकार गरि सकेपछि देशप्रति जानीजानी गद्दारी गर्न सक्तैनन् । चुनावको प्रमुख मुद्दा देशलाई उज्यालो तर्फ लाने कि प्रतिगमनतर्फ भन्ने सवालमा जनता मुलुकमा उज्यालो, उन्नतिको शिखरतर्फ लैजाने पक्षमा प्रबल एवं गोलबद्ध हुँदै जान्छन् । 
           यो मध्यावधि चुनाव म र हाम्रो पार्टीका निम्ति जीवन र मरणको सवाल हुन्छ । ‘मर या गर’ को सवाल हुन्छ । ‘मानव’को पीडादायी षडयन्त्रकारी हत्यालाई सम्झेर म दिनरात आफ्नो सम्पूर्ण जीवन दाउमा राखेर चुनाव अभियानमा खटिरहेकी हुन्छु, जुटिरहेकी हुन्छु । यो चुनावमा षडयन्त्रकारीहरुलाई परास्त गरेर साँचो अर्थमा म ‘मानव’प्रति असीम श्रद्धाञ्जली व्यक्त गर्न सक्छु भन्ने मेरो सोचाइ हुन्छ । 
     सर्वसाधारण जनताको चेतनाको स्तर पहिलाको जस्तो हुँदैन । षडयन्त्रकारीहरुले सोचेजस्तो सर्वसाधारणहरु उनीहरुको भ्रममा पर्दैनन् । सर्वसाधारणहरु राजनीतिमा भइरहेका देखा, अनदेखा, दृश्य, अदृश्य परिदृश्यहरुको विश्लेषण, वर्णन, व्याख्या गर्न अक्षम हुन्छन् भन्ने राष्ट्रघातीहरुको सोचाइ गलत सावित हुन्छ । सब राजनैतिक घटनाहरुको लेखा जोखा सर्वसाधारण आम जनताहरुले सही ढङ्गमा गरिरहेका हुन्छन् । उनीहरु सत्य, राष्ट्रप्रेम र अग्रगमनका पक्षमा दृढतासाथ उभिन्छन् । राष्ट्र र जनताको पक्षमा जनलहरको उभार आउँछ, त्यो उभारले राष्ट्रघाती षडयन्त्रकारीहरु धूलोको कणझैँ बढारेर फालिने स्थिति बन्दै गइरहेको हुन्छ । 
   स.वि.नि.पा.ले बहुमत सिटले जित्छ । षडयन्त्रकारी, गद्दार तेस्रो ठूलो दल माटियामेट हुन्छ । एकै सिट जित्न नसकेर संसदमा त्यसको अस्तित्व समाप्त हुन्छ । म खुसीले गद्गद् हुन्छु— साँचो अर्थमा ‘मानव’को आत्माले शान्ति पाइरहेको छ । साँच्चै मैले मेरो प्राण बचाउन आफ्नो प्राण न्यौछावर गर्ने ‘मानव’प्रति श्रद्धाञ्जली व्यक्त गर्न सकेकी छु । 
    म माथि परेको सम्पूर्ण शोक म बिर्सन्छु । मलाई यस्तो आपदविपद् परिरहेको बेला मेरा छोराछोरी, ज्वाइँहरु आएर मलाई केही सान्त्वना, ढाढस दिएर आस्वस्त पार्छन् कि भन्ने मलाई आशा लागेको थियो । तर उनीहरु कोही आएनन् तापनि यो विजयले मेरो सम्पूर्ण गुनासो समूल बिलाएर गएको छ ।

नयाँ सरकार बनाउनका लागि आवश्यक बहुमत प्राप्त भएकाले अब पार्टीलाई कुनै समस्या छैन । मन्त्री परिषदको नामावली तयार गर्न केन्द्रीय कमिटीको बैठक जारी छ । स्वदेशी, विदेशी पत्रकारहरु प्रतीक्षारत छन्— “को को मन्त्री बन्ने हुन् ? कसको नेतृत्वमा सरकार बन्ने हो ?”
     प्रधानमन्त्रीको पदमा सबै सदस्यहरु मेरो नाम लिइरहेका हुन्छन् । म भन्छु— “मित्रहरु, तपाईँहरुले मलाई प्रधानमन्त्री बन्ने प्रस्ताव पेश गर्नु भएकोमा आभार व्यक्त गर्दछु । तर मलाई माफ गर्नुहोस् । म प्रधानमन्त्रीको पदमा रहेर काम गर्न इच्छुक छैन । म अहिले पति वियोगले पीडित छु । म शोकमग्न छु । म मेरा पति ‘मानव’ ले अधुरा छोडेका कार्यहरुलाई पूरा गर्न चाहन्छु । शोकपीडित म बदलाको भावनाबाट पनि ग्रसित भएकी छु । मबाट अशोभनीय बदलाका कार्यहरु पनि हुन सक्छन् । तसर्थ मलाई केही वर्ष आराम गर्न दिनुहोस् । मेरो विनम्र अनुरोध छ.. .... मलाई केही वर्ष विश्राम दिनुहोस् । शोकसन्तप्त मेरा हृदयलाई शान्त हुन दिनुहोस्....” म भावावेगमा बहन्छु, थाहै नपाई मेरा नयनहरुबाट अश्रुजल बहन्छ । सौन्दर्या, शोभना, दीपा, सिम्मा, हाङ्गमा र आयुष्मा पनि सुँक्क सुँक्क गर्न थाल्छन् । जमानसिंंह, पसाङ्ग, शौरभ, बलवीर, यावा, जोन्सन, मजबुल, सलीम र रामदेवका आँखामा पनि आँसु टलपल गर्न थाल्छ । वातावरण बोझल, शोकग्रस्त र दुःखद् बन्छ । ... अन्तमा म आँसु पुछ्दै प्रस्ताव राख्छु “प्रधानमन्त्री पदमा म डा. सौन्दर्याको नाम प्रस्ताव गर्छु ।”
सबैजना सहमत हुन्छन् । प्रधानमन्त्री डा. सौन्दर्या उप प्रधानमन्त्री एवं गृहमन्त्री जमानसिंह र मन्त्रीहरुमा शोभना, पासाङ्ग, आयुष्मा, शौरभ, दीपा, सिम्मा, बलवीर, यावा, जोन्सन, मजबुल, सलीम र रामदेवका नाम सर्वसम्मतिबाट पारित हुन्छन् । नयाँ एकलौटी सरकार बन्छ । म पार्टीको अध्यक्ष पदबाट समेत हट्न चाहन्छु तर सबैले एक स्वरमा मलाई त्यो पद नछाड्न आग्रह गर्छन् । 
    म मेरा सबै शक्ति ‘मानव’को परिकल्पना अनुसार वृद्धाश्रम स्थापनामा लगाउन चाहन्छु । तर म साथीहरुबाट एक्लो अलग भएर बस्न पनि चाहन्नँ । म साथीहरुको आग्रह अस्वीकार गर्न सक्तिनँ । 
    म ‘मानव’ वृद्धाश्रमको सट्टा ‘मानव आश्रम’ स्थापना गर्ने सोच बनाउँछु । म साहित्यिक क्रियाकलापहरु गर्ने साहित्यिक केन्द्र, साहित्यक पुस्तकहरु संकलन भएको पुस्तकालय, वृद्धहरुका लागि वृद्ध अस्पताल एवं वृद्धहरु बस्नका लागि वृद्ध आश्रम समेत रहने व्यवस्था हुने गरी ‘मानव आश्रम’ खोल्ने निश्चय गरिरहेकी हुन्छु । त्यस कार्यमा म सम्पूर्ण आफ्नो शक्ति केन्द्रीत गर्नेछु भन्ने पनि सोचिरहेकीे हुन्छु ।

 प्रधानमन्त्री निवास छाडेर म आफ्नो घर फर्कन्छु । घर फर्कदा म आफ्नो ‘पुरानो संसार’ मा फर्केको हुन्छु । पुरानो संसार ? त्यहाँ म छु, ‘मानव’सँग सम्बन्धित निर्जीव वस्तुहरु छन् । उनको चर्को सम्झना दिलाइरहने परिवेश छ तर उनी छैनन् । घरभित्र र बाहिर सबैतिर उनको अवशेष उनको सम्झना जीवित छ । म छु........ म भइन्जेल उनी मेरा वरिपरि घुमिरहेका हुन्छन् कि !?
      उनी बस्ने कुर्सी र टेबुल, उनले पढ्दै गरेका पुस्तकहरु, लेखिसकेका कपी, पुस्तक, डट पेन, कलम र अन्य सामग्रीहरु । म सम्पूर्ण घर, कम्पाउन्ड घुमेर हेर्छु । लाग्छ, उनी केही समयको लागि अनुपस्थित छन् । कहीँ गएका छन्, फर्केर आउँछन् । तर मेरो चेतनायुक्त मन भन्छ— उनी त मरिसके । कहिल्यै फर्केर आउँदैनन्...... म भाव विव्हल हुन्छु......!
   म उनले लेखिसकेका कथा, उपन्यास, कविता र निबन्धहरुका पाण्डुलिपिहरुलाई मिलाएर राख्छु । मिलाउने क्रममा उनको एउटा कवितामा मेरो दृष्टि पर्छ ।


मानिसै हो

मानिसले कस्तो कस्तो कति लामो खाल खाल्को साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ 
त्यै डोरीले समस्त विश्व बाँधी जता चाह्यो त्यतै त्यतै अगाडि पछाडि हाँक्न सक्छ ।

त्यो मानिस होइन कि क्या हो सानै बाधा व्यवधान सानै समस्याहरु देखि तर्सिन थाल्यो
समाधानको बाटो खोजी उन्नति उकालो चढ्नु सट्टा घाँटीमा पासो बाँधी आत्महत्या गर्ने कुरा पो सोच्न थाल्यो ।

मानिसले त अनेकौँ युक्ति निकाली मुक्तिका लागि वीरतासाथ निरन्तर अविचल सङ्घर्ष गरिरहन्छ 
थाक्दैन कहिल्यै सङ्घर्षको आँधी बेहरी हुण्डरी ल्याई कठिनाइ मुस्किल धुलोका कणझैँ फुरुरु...फुरुरु...उडाईदिन्छ ।

मानिस हो थाक्तैन कहिल्यै हार्न जान्दैन विजयश्रीको माला पहिरिन निरन्तर अविरल अगाडि बढिरहन्छ
हतास निराश निरीह नभई साहस उत्साह सक्रियताले सब सांसारिक सौन्दर्य स्वाद सन्तुष्टि रसपान गरिरहन्छ ।

मानिसले कस्तो कस्तो कति लामो खाल खाल्को साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ 
त्यै डोरीले समस्त विश्व बाँधी जता चाह्यो त्यतै त्यतै अगाडि पछाडि हाँक्न सक्छ ।

      ‘म पनि मानिसै हुने प्रयत्न गरिरहनेछु’ भन्ने मनमनमा सोच्दै उनका प्रकाशित कृतिहरु मिलाएर राख्छु । मानिसलाई अमर गराउने काम उसका असल कार्य र कृतिहरुले गर्छन् । असल कार्य र कृतिहरुबाट आर्जित प्रतिष्ठा अमर हुन्छ । पदबाट पाइने प्रतिष्ठा पद जानासाथ समाप्त हुन्छ । मनुष्य चोला त क्षणभङ्गुर छ, तर मनुष्य सृजित असल कृतिहरु र कार्यहरु अमर हुन्छन् । असल कार्य र कृतिहरुकाट उब्जिएका श्रद्धा, प्रतिष्ठा र प्रेम पनि अमर हुन्छन् । उनका कृतिहरु अमर छन् । विश्व साहित्यमा तुलना हुन सक्ने उनका महान् कृतिहरु ! म श्रद्धाले ती कृतिहरुलाई चुम्बन गर्छु र ती कृतिहरु सामु नतमस्तक हुन्छु ।
    यसो गर्दा मलाई कतै ‘मानव’ र अरुले देखे भने.... म आफैँ लजाउँछु । चारैतिर हेर्छु, अब मलाई मेरो सुख दुःखमा साथ दिने ‘मानव’ कहाँ छन् र.......! भावविह्वल हुन्छु !
    मैले पहिले यो घर पनि बेचेर मानव आश्रममा नै यसबाट प्राप्त रकम पनि समावेश गर्ने कुरा मनमनै सोचेकी थिएँ । तर आज यसरी घरभित्र र बाहिर घुम्दा म भित्र अर्कै सोचाइ उत्पन्न हुन्छ । म यो घर कम्पाउन्डलाई ‘डा. गोकुल मानव स्मृति एवं शान्ति केन्द्र’ मा परिणत गर्नेछु । स्मृति प्रतिष्ठानको उद्देश्य साहित्यमार्फत समाजमा जनजागरण ल्याउदै जीवन र जगत्मा मानिसहरुले भोगिरहेका असह्य पीडा, वेदना, कष्ट, झमेला, दुःख, यातना सहनसक्ने सामथ्र्य प्रदान गरेर मानवीय संस्कार र सभ्यतालाई अझ परिष्कृत गर्दै लैजाने, उन्नत साहित्यमार्फत उन्नत समाज निर्माण गर्ने कार्यहरु हुनेछन् । म यो घरलाई पवित्र, सुन्दर, आनन्ददायी र मनलाई शीतलता प्रदान गर्ने मन शान्ति केन्द्रको रुपमा रुपान्तरण गर्नेछु ।
    म घरको कुन कोठा, कुन भागमा पुस्तकालय राख्ने, कहाँ अध्ययन कक्ष राख्ने, १०० जना सम्म अट्ने गोष्ठी वा सभा गर्न सकिने सभाहल, फूलबारी, फुसको छाना भएको सानो कुटी जस्तो सेडहरु बनाउने आदि बारे मनमनै विभिन्न खाका तयार गर्छु । रमणीय, शान्त, नीरवता व्यप्त भएको, मनभित्र कताकता थोरै थोरै अमूर्त वैराग्य पनि उत्पन्न गर्ने तर त्यो वैराग्य क्रियाशीलतातर्फ अभिप्रेरित गर्ने खालको हुनुपर्ने एवं मनको अर्को कुनामा शान्ति प्रदान गर्ने सानो लौकिक परिवेश कसरी रचना गर्न सकिएला...... यो स्थानमा आउँदा मनमा एक साथ यी दुई प्रकारका भावधारा बग्न थालून् । सानो स्थानमा धेरै रमणीयता, कौतुकता, कलाकारिता, माधुर्य, सौन्दर्य र मनका अनेकन अमूर्त चाहनाहरुलाई ठोस र तरल अवस्थामा प्रकट गर्न सकिएला...... म सृजनशील कल्पनामा डुब्छु । कल्पनामा नै त कुनै पनि वस्तुहरु निर्माण हुनु अगाडि जीवन्त हुन्छन् । ताजमहल पहिला साँहजहाँको कल्पनामा जीवन्त भयो, पछि २० वर्ष २० सौँ हजार कामदारहरु खटेर ताजमहल बनियो— जो आज विश्वभरिको प्रेम पुजारीहरुको तीर्थ स्थल बनेको छ...... म बादशाह होइन । त्यस्तो भव्य ताजमहल निर्माण गर्न नसकेपनि मसित भएका सीमित साधन सदुपयोग गरेर..... घाँसी कुवाले महान् भानुभक्त जन्माएझैँ मेरो सानामसिना कामले पनि कुनै राम्रो परिणाम दिन सक्छ । संसारमा ठूला कामहरुको मात्र होइन, सानामसिना कामहरुका पनि प्रभावशाली भूमिका रहेका छन् । अधिकांश सुख, आनन्द र सन्तोष सानामसिना कुराहरुमा निर्भर रहेका छन् । ठूला काम नसके पनि, मैले केही नगर्नु र नहुनुभन्दा .....सानामसिना नै भएपनि ‘केही’ त गर्न सक्छु ।


मसँग अब पर्याप्त समय छ । यसभन्दा अगाडि शुभेच्छुक, कार्यकर्ता, सुरक्षा घेराका जवानहरु, चाकडिबाज, समर्थक, विरोधी अनेक प्रकारका सयौँ मान्छेहरुले घेरिएको हूलभित्र बाँचिरहेकी हुन्थेँ । अब एकदमै थोरै र सीमित मान्छेहरुसँग मात्र म सम्पर्क गर्न रुचाउँछु र म मेरो वरिपरि एकान्तको पर्खाल निर्माण गर्न प्रयत्नशील छु । एकान्त–महान् एकान्त ! आफ्नो बितेका जीवनलाई मूल्याङ्कन गर्न सकिने एकान्त । सृजनात्मक र रचनात्मक कामको थालनीको शुभारम्भ गर्न सकिने एकान्त !
   मलाई धेरै समयपछि एकान्त अवसर प्राप्त भइरहेको छ । म आफ्नो दिनचर्यालाई पुनः नयाँ किसिमले व्यवस्थित गर्न चाहन्छु । म ‘मानव’ बिनाको जीवन बाँच्न विवश छु र त्यसमा अभ्यस्त हुन नयाँ जीवन पद्धति, कार्यतालिका र योजनाहरु बनाउँछु । ‘शोकलाई शक्तिमा बदल्ने’ नीति अनुसार मैले चुनाव अभियानलाई सफलतासाथ सम्पन्न गरिसकेको छ । जनचाहना अनुसार नयाँ अग्रगामी सरकारको निर्माण भइसकेको छ । म सरकार, सत्ता र राजनीतिबाट निस्फ्रिक्री भएकी छु । मैले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गरेकी छु । म अब नयाँ प्रकारको नयाँ घुम्ती र नयाँ मोड पार गरेर नयाँ जीवन जिउन चाहन्छु । मभित्र रहेका शक्ति क्षीण भएको छ, पुनल् शक्ति सञ्चय गर्न चाहन्छु । नयाँ प्रकारको उर्जाशील अन्तरमन भित्र रहने शक्तिको खोजीमा म आफू जन्मेको, बालककाल बिताएको ‘खिनौरी’को गाउँ ‘आद्दावा’ जस्तै जाने र त्यहाँबाट नयाँ प्रस्थान आरम्भ गर्ने सोचका साथ त्यो मेरो प्यारो गाउँ जाने निश्चय गर्छु ।
(आद्दावा = कुनै ठाउँमा सिधै जाने, बास नबसि काम सकेर सिधैं तुरुन्तै फर्कने ( किरात राई बानतावा भाषा )पृष्ठको पुछारमा राख्ने

जन्मभूमि गाउँ म सुटुक्क जान चाहन्थे । तर मभन्दा अगाडि नै म ‘आउँदैछु’ भन्ने खबर गाउँलेहरुले थाहा पाइसकेका रहेछन् । अझै त्यहाँसम्म सडक बाटो पुगेको छैन । पैदल हिँड्नु मात्र विकल्प हुन्छ । पैदल हिँडेर फेरि गाउँ जान पाउँदा म अत्यन्त हर्षित एवं रोमाञ्चित भइरहेकी हुन्छु ।
   निर्मला, निर्मलाका पति र म तीनजना मात्र सुटुक्क गएर फर्कने योजना बनाएका थियौँ । तर अरु पाँच जना पार्टीका कार्यकर्ताहरु पनि जाने भए । सुरक्षाका लागि पनि ती कार्यकर्ताहरु आवश्यक हुन्छन् । हामी हिडिरहेका छौँ । यो के ? ठाउँ ठाउँमा बाटाका दुवैतिर हामीलाई हेर्नेहरुको घुँइचो छ । हामीले नचाहदाँ नचाहँदै पनि उनीहरु हाम्रो बाटो छेकेर हामीलाई फूलमाला, खादा र अबिर लगाई दिन्छन् । हामी अगाडि बढ्दा उनीहरु ताली बजाउँदै एवं नारा लगाउँदै हाम्रो स्वागत गरिरहेका हुन्छन् ।
“मुलककी छोरी, पर्वतारोही परी......जिन्दावाद !”
“अध्यक्ष एवं पूर्व प्रधानमन्त्री परी.... जिन्दावाद !”
“स.वि.नि. पार्टी...... जिन्दावाद !”
“अग्रगमन.... जिन्दावाद !”
    मेरो व्यक्तित्वका दुई पाटा रहेछन्् । मैले झन्डै बिर्सिसकेकी पर्वतारोही व्यक्तित्वको एउटा पाटो रहेछ भने राजनीति अर्को महत्वपूर्ण पाटो । म मेरो व्यक्तित्वबाट राजनीति खुर्केर फाल्न चाहन्थेँ । तर त्यो असम्भव रहेछ । राजनीति फाल्न खोज्दा म आफैँ फालिने रहेछु । राजनीति मेरो शरीरको प्रत्येक सास, प्रश्वास, रगतको प्रत्येक थोपा थोपा शरीरको रोम रोममा प्रवाहित भइरहेको रहेछ । राजनीति बिना मेरो जीवन शून्य हुँदो रहेछ भन्ने मलाई यो पैदल यात्राले स्मरण गराई रहेको हुन्छ ।
“खोइ, खोइ..... परी, परी ?”
“ऊ क्या, ऊ क्या.... अगाडि हिँडिरहेकी.....” मेरो ध्यान आकर्षित हुन्छ । जीवनको झन्डैझन्डै अन्तिम अवस्थामा पुगेकी वृद्धा हातमा फूलको थुङ्गा लिएर उभिरहेकी ! म तिनको सामु उभिन्छु । 
“आमा, म नै हुँ परी ।”
“ए..... तिमी नै । तिमी नै परी हौ ।” तिनी मलाई फूल दिन्छिन् । म लिन्छु । तिनी मलाई धाप मार्छिन् “स्यावास..... स्यावास...... छोरी ।” म तिनलाई ढोगिदिन्छु । तिनीजस्तै मेरी आमा पनि जीवित रहनुभएको भए.... 
“आमा मलाई आशीर्वाद दिनोस् ।”
“आशिष छ, आशिष दिन्छु.... हाँकेको, ताकेको र चिताएको पुगोस्.........।’
   हामी बाटो लाग्छौँ । गाउँ पुग्छौँ । गाउँ टेक्दा मलाई जुन अनुभूति हुन्छ त्यो व्यक्त गर्न सक्तिनँ । सारा गाउँलेहरु स्कुलमा जम्मा भएका हुन्छन् । बजारमेला जस्तो जमघट छ । त्यो स्कुलमा पढाउने यायावर सर.... म सम्झन्छु । उनकै रचना म आज यस अवस्थामा पुगेकी छु । स्कूल वरिपरिका स्थानहरु, गाउँ, घर मानिसहरु..... म हेर्छु । मलाई चिन्ने, मैले चिनेका कोही वृद्धवृद्धाहरु छन् कि ? म चारैतर्फ हेर्छु ।
   तीनजना वृद्धवृद्धाहरु लठ्ठी टेक्दै मतिर बढिरहेका छन् । म राम्ररी नियाल्छु .......“खिनौरी...।” धेरै वर्ष अगाडिको मेरो नामबाट सम्बोधन गर्ने उनीहरु.....म चिन्छु मुखेनी बज्यै, थुमलुङ्गे माइली र बाँसघरे ठूले ! म उनीहरुलाई ढोगिदिन्छु । उनीहरुको बुढो अनुहारमा देखिएको विस्मृति मिस्रित हर्षका रेखाहरु.... जीवन कति मनोहारी छ । उनीहरु बाँचिरहेका छन् । म आउँछु भन्ने सुनेर उनीहरु लठ्ठी टेक्दै, लड्दै, घिस्रिदै मलाई भेट्न आएका छन् । म उनीहरुका लागि उस्तै छु, उस्तै रहिछु...... “खिनौरी !”
    “खिनौरी” मेरो जीवनको आरम्भ । मेरो बाल्यकाल ! गाउँ कति महान् छ । त्योभन्दा त्यहाँ बस्ने महान् गाउँलेहरु । गाउँलेहरुको निर्दोष, सरल, आत्मीयता, न्यानो आफ्नोपन पाएर म आफ्ना सम्पूर्ण दुःखहरु बिर्सन्छु । संसारमा खोक्रो अपनत्व देखाउनेहरु, स्वार्थी, पाखण्डी झुन्डहरुले घेरिएर रहँदारहँदा एउटा हदसम्म कृत्रिम जीवन बाँच्न विवश म गाउँलेको चोखो माया, स्नेह, प्रेम र शुभेच्छा पाएर आफू भाग्यमानी भएकी महसुस गर्छु । मिनरल वाटर वा फ्रिजमा राखिएको चिसो पानी र खोलाको निर्मल, कञ्चन, शुद्ध, स्वास्थ्यप्रद पानीको तुलना हुन सक्दैन । 
   गाउँको धाराको प्राकृतिक शुद्ध पानी खाएर मेरो युगौँदेखिको अतृप्त प्यास मेटिएझैँ मलाई लाग्छ ।

 मानव आश्रम 

‘डा. गोकुल मानव आश्रम’को निर्माण कार्य थालिएको छ । भवनमा विभिन्न खण्डहरु छुट्टाइएको छ । आश्रममा दुईवटा प्रमुख खण्डहरु वृद्ध अस्पताल र वृद्धाश्रम रहेका छन् । अस्पतालमा बाह्य बिरामी हेर्ने एउटा कक्ष, ५० जना सम्म वृद्ध बिरामीहरु रहन सक्ने ५० वटा बिछ्यौना र अन्य आवश्यक ल्याब, एक्स–रे, आदिको लागि र १५० जनासम्म बस्न सक्ने वृद्धाहरुका लागि कोठाहरु, भान्साघर, खेल्ने कोठा र खुल्ला चौर कम्पाउन्डको सात कुनामा मानवको परिकल्पना अनुसार सानो मन्दिर, सानो गुम्बा, सानो मस्जिद, सानो गिर्जाघर, माङ्खिम र प्रकृतिपूजकहरु र भौतिकवादीहरुका लागि खाली ठाउँहरु छाडी कम्पाउन्ड बनाइने भएको छ ।
   निर्माण कार्यका लागि ठूलो धनराशीको आवश्यकता रहेको छ । निर्माण कार्य पूरा गर्न पर्याप्त धनराशीको व्यवस्था भइसकेको छ । त्यो ठूलो धनराशी मेरो तलब र भत्ता, सरकारबाट प्राप्त अनुदान रकम, स्वेच्छिक चन्दा र दान एवं ‘मानव’ का पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी रकमबाट जम्मा भएको हुन्छ । निर्माण कार्य सकिएपछि त्यसलाई सञ्चालन गर्न ठूलै धनराशी जुटाउन प्रयत्नशील छु । म आशावादी छु “तँ चिता मनुवा, म पु¥याउँछु’ भन्छ रे भगवान्ले । म विश्वस्त छु म त्यो आश्रमलाई कालान्तरसम्म चल्न सक्ने तुल्याउन निरन्तर नियमित स्वआयका स्रोतहरु जुटाउन सफल हुनेछु । 
    ‘नियमित आय स्रोतहरुका उपायहरु के के हुनसक्लान् ?’ म कागजको खाली पन्नाको सिरानमा प्रश्न लेख्छु ।
१. चन्दा, दान दातव्य
२. सरकारी अनुदान
३. ‘मानव’ का पुस्तक बिक्री वितरणबाट प्राप्त आय
४. अचल र चल सम्पत्तिबाट प्राप्त आय
५. अस्पताल एवं वृद्धाश्रमबाट उठेका परीक्षण र बसाइ शुल्क
६. विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरुबाट आश्रमको नाममा प्रत्येक महिनावारी रुपमा आफ्नो आयको .०५% जम्मा गरिने रकम
७. अन्य– विभिन्न सभा समारोह, उत्सव, कार्यक्रमहरुबाट प्राप्त रकम 
खाली कागजमा आयस्रोतका शीर्षकहरु तयार हुन्छन् । ती शीर्षकहरुमध्ये १,२,६ र ७ नं. का शीर्षकहरु अनिश्चित छन् । यति रकम प्राप्त भइरहनेछ भनी किटानी गर्न सकिदैन । ४ नं. शीर्षक अन्तर्गत संस्थाको  नाममा अहिलेसम्म पर्याप्त आय हुने प्रकारको धेरै चल–अचल सम्पत्ति छैन । ७ नं. को शीर्षक अन्तर्गत निशुल्क गर्दा महत्व नहुने कार्यक्रमहरुबाट पनि कति नै रकम असुल होइहाल्ला र ! तापनि केही थपथाप भने त्यो शीर्षकबाट पनि हुन सक्छ– म सोच्छु ।
   स्थायी नियमित आय स्रोत नभएमा त आश्रम कालान्तरसम्म चल्न सक्तैन । सदैव नियमित रुपले आश्रम सञ्चालन होस् भन्ने विषयमा म मेरा हितौषीहरुसँग परामर्श गर्नेछु भन्ने सोचेर म कसकससित परामर्श लिऊँ ? सूची तयार गर्छु र नाम टिप्दै जान्छु......
१. डा. सौन्दर्या 
२. निर्मला
३. जमानसिंह
४. सोभना 
५. धनबहादुर
६. शैलेश
७. सायन
८. सृजन
९. देवेन्द्र
१०. सुदेशा
११. विजया
१२. नरदेवी
१३. शिवमाया
१४. सामना
१५. सञ्जिना
१६. कौसिला
१७. मछिन्द्र
१८. मजबुल
१९. पेम्बा
२०. यावा
२१. खेम
२२. बद्री
२३. इनु..
२४. दिवश
२५. अमृत
२६. सुबिधा
२७. दुर्गा..आदि.. आदि..
  लामै सूची तयार गर्छु । चरण चरण गरेर म उनीहरुसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्नेछु । म सन्तोषको सास फेर्छु ।

ट्रिङ्ग.... ट्रिङ्ग....
टेलिफोनको घण्टी बज्छ । म रिसिभर उठाउँछु –“हेलो........”
“हेलो.....” कम्प्युटरको मोनिटरमा नायुमा देखा पर्छे ।
“मम्मी, म नायुमा । बुवाको देहावशान भएको खबरले मर्माहत भएकी छु । म र जोन्सन एउटा नराम्रो समस्यामा फसेका थियौँ । दुखद् खबर पनि धेरै पछि मात्र थाहा पायौँ । मैले पारुहाङ्गलाई पनि धेरै सम्पर्क गर्न चाहेँ.....” नायुमा रोइरहेकी हुन्छिन् ।
  अकस्मात छोरीलाई देख्दा म नरोइ रहन सक्दिनँ । रुदैँ सोध्छु— “के सम्पर्क भयो त ?”
“अ हँ तर मेसेज दिएको छु । ‘तपाई र मलाई फोन गर्नु’ भन्ने मेसेज पठाएको छु । उसको अफिसमा फोन सम्पर्क गर्दा ऊ दक्षिणी गोलाद्र्धमा केही महिनाको लागि गएको रहेछ । १५ दिन पछि फर्कनु हुन्छ रे । दाजुसँग समय मिलाएर हामी एक साथ त्यहाँ आउनेछौँ । मम्मी धैर्य धारण गर्नुहोस् । हामी आउनेछौँ । हामी केही दिन बस्ने गरी आउनेछौँ । त्यतिबेला नै सुख–दुःखका कुराहरु गरौँला ।”
“कहिले आउँछौ ?” म अधैर्य भइ सोध्छु ।
“निश्चित भएपछि म फेरि फोन गर्नेछु । बाई मम्मी.....” मोनिटरको पर्दाबाट नायुमा हराउँछे । म आँसु पुच्छु । आँसु..... आँसु....आँसु नै मेरो जीवन सहारा हो । खुसी हुँदा, दुःखी हुँदा आँसु....म आमा हुँ । आमा.... मेरा छोराछोरीले मलाई बिर्र्सेका छैनन् । म अब कहिल्यै अनावश्यक आँसु चुहाउँनेछैन । म.... म.... नयाँ शक्ति, ऊर्जा, बल, विवेक, बुद्धि, आँट, साहस, उत्साह साथ बाँकी शेष जीवन निश्चित प्रयोजनका लागि उत्सर्ग गर्नेछु......! ‘मानव’ले बचाएको मेरो अनमोल जीवन उनकै नाममा समर्पित गर्नेछु । मेरो प्रिय मानव !.....स्व. मानव...... थाहै नपाई मेरा नयनहरु रसाउँछन् ।

  उनीहरु आउँछन् । अधैर्यता साथ म उनीहरु आउने दिन गनिरहेकी छु । उनीहरु आउने दिन, म एयरपोर्ट पुग्छु । निर्मला मसँगै हुन्छे । ८ः०० बजे आइपुग्नुपर्ने हर्वाइ जहाज बल्ल ९ः०० बजे आइपुग्छ । बल्ल उनीहरु आइपुग्छन् ।
   नायुमा बच्चा बोकेर आइरहेकी छे । पछि पछि एउटा मानिस । त्यसपछि पारुहाङ्ग .... म खुसीले गद्गद् हुन्छु । म थाम्नै सक्तिनँ खुसीका आँसुहरु । धेरै वर्षपछिको मिलन......
   “आमा ! नमस्ते.......”
“उहाँ मम्मी.... जोन्सन, ज्वाँई”
“नमस्ते,...”
“आमा, म मेरो सेवाढोग” पारुहाङ्ग मलाई खुट्टामा ढोग्न चाहन्छ । म उसलाई हात दिन्छु, ऊ हातमा शिरले ढोगिदिन्छ । 
  अँध्यारो पछिको उज्यालो । विछोड पछिको पुनर्मिलन । हामी सबै यत्ति धेरै हर्षित हुन्छौँ कि हामीले आफूलाई विश्वकै सुखी मानिस भएको महसुस गर्छौँ । म नातिलाई लिन्छु र गालामा म्वाई खान्छु..... अहाँ ..... म आमा मात्र होइन हजुरआमा, बोजु भएछु !...... तीन पुस्ताको मिलन । पुरै धरती रमणीय भएर आएको छ । हरेक वस्तुहरु सुन्दर देखिन थालेका छन्, प्रत्येक मानिसहरु प्रसन्न भएझैँ मलाई लाग्छ । आज...... यो समयमा ‘मानव’ बाँचिरहेका भए.... म सोच्न पुग्छु ।

‘मानव संसार’ उपन्यासको अंग्रेजीमा अनुदित पुस्तकको ‘विमोचन समारोह’ डा. सौन्दर्या, म, अनुवादक द्धय जोन्सन र नायुमा एवं प्रख्यात साहित्यकार प्रसादमणि समेत डायसमा छौँ । जोन्सन अंग्रेजी अनुवादबारे भनिरहेका हुन्छन् –
“साहित्यको कुनै सीमा हुँदैन । मानव सुखदुःखका अनुभुति, अनुभव र जीवनको गन्तव्यसम्म पुग्ने उत्प्रेरणा साहित्यले दिइरहेको हुन्छ । मुलुकको साहित्यलाई अंग्रेजीमा अनुवाद गरेर मुलुकभित्र मात्र सीमित रहेको साहित्यलाई विश्वव्यापी बनाउनका लागि ‘मानव संसरा’ अंग्रेजीमा ‘द मेन्स अर्थ’ को रुपमा अनुवाद गरेका छौँ । त्यसबाट प्राप्त रोयल्टी आय रकम ‘मानव आश्रम’ लाई प्रदान गरिई रहिने छ । यसको अंग्रेजी संस्करण पनि यहाँ जस्तै विश्व पुस्तक बजारमा लोकप्रिय भई लाखौँ प्रति बिक्री हुन सक्ने आशा प्रकाशकहरुले गरेका छन । आजको विमोचन पछि विश्व बजारमा प्रकाशकले यो पुस्तक आजदेखि नै बिक्री वितरण सुरु गर्नेछन् । पहिलो वर्ष नै करिब १५ लाख प्रति बिक्री हुन सक्ने अनुमान प्रकाशकको रहेको छ । यो हाम्रा लागि एउटा गौरवको कुरा हो........”
    पुस्तकको १५ लाख प्रति बिक्री हुने कुरा सुनेर म आश्चर्यचकित हुन्छु । ५,००० प्रति मुस्किलले बिक्री हुने देशको नागरिक म १५ लाख प्रति पुस्तक बिक्री भए त प्रति गोटा १ डलरले पनि १५ लाख डलर रोयल्टी आउने कल्पना गर्दा आत्मविभोर एवं हर्षिछ हुन्छु ।
    विमोचन प्रख्यात साहित्यकार प्रसादमणिको हातबाट गरिन्छ । टेलिभिजन, क्यामेरा, तस्वीर खिच्नेहरुको घुइँचो, पत्रकारहरु खबर टिप्न तल्लीन छन् । मानिसको ज्ञानको सीमा नहँुदो रहेछ । डा. मानव विश्व स्तरमा बिक्री हुने महान् साहित्यकार भएका छन् । ‘मानव’ लाई मैले र समाजले कम आँकेको रहेछ । उनको साहित्य साधनाको महत्व आज मलाई थाहा भएको छ ।

“आमा तपाई बुबा जस्तै महान् हुनुहुन्छ । तपाईँलाई असहनीय दुःख परेको बेला हामी यहाँ उपस्थित हुन सकेनौँ । तपाईँले त्यति ठूलो दुःखद् बोझ एक्लै सहन सक्नुभयो । तपाईँ महान् हुनुहुन्छ ।” पारुहाङ्ग ।
“किन तिमी मेरो तारिफ गरिरहेका छौँ ।” म सोध्छु ।
“म फेरि काममा फर्कन चाहन्छु ।” पारुहाङ्ग ।
“हो, हामी पनि फर्कन चाहन्छौँ ।” नायुमा पनि भन्छिन् । 
“यति छिट्टै तिमीहरु जाने ?”
“यत्ति छिट्टै कहाँ ? एक महिना बसी सक्यौ । हामीले गर्नुपर्ने थुप्रै कामहरु त्यहाँ अलपत्र छन् ।” जोन्सन पनि थप्छन् ।
    “हुन्छ, जान्छौ नै तिमीहरु । बाटो आफ्नो–आफ्नो । यात्राक्रममा भेट भएका अपरिचित जस्तै तिमीहरु मलाई फेरि छोडेर जाने भएका छौं ।”
“हामी तपाईँलाई पनि लिएर जान चाहन्छौं ।”
“कहाँ ?”
“पहिला बेलायत, त्यसपछि अमेरिका......।”
“म त्यहाँ गएर के गर्न सक्छु र ?”
“तपाईँले केही गर्नु पर्दैन । हामीसँग पालैपालो बस्नुहोस् ।”
“म जान सक्तिनँ । मानव–आश्रमको निर्माण कार्यहरु धमाधम भइरहेका छन् ।”
“त्यो पनि ठिकै छ । हामी चाहन्छौँ हामीलाई नरिसाइकन बिदा दिनुहोस् ।”
“तिमीहरु आयौ । मेरो सारा दुखेसो सकिएको छ । तिमीहरु आफ्नो कार्यमा प्रगति गर्दै जाऊँ । सम्झना आएमा फोन गर्नु, म प्रतीक्षारत रहनेछु । म त अब डाँडाको घाम हुन लागेकी मान्छे... मेरो कुनै लोभ छैन, लालच छैन । म एउटा काम मात्र फत्ते गर्न चाहन्छु । त्यो हो– मानव–आश्रमको स्थापना र त्यो आश्रम कालान्तरमा चलिरहोस् । म जस्तै एक्लो निरीह वृद्ध वृद्धा मानिसहरुलाई त्यसले सहारा देओस्..... म पनि त्यही आश्रममा मर्न चाहन्छु......।’
“आमा पनि । हामी छौँ । तपाईँ एक्लै हुनुहुन्न । हामी तपाईँको बुढेसकालका सहारा हुनेछौँ ।”
“यो तिमीहरुको ओँठे कुरा मात्र हो । वर्तमान यान्त्रिक युगको सिकार हामीहरु– जिविकाका लागि, जिजीविषाका लागि, प्रख्यातिका लागि वा आफ्नो महत्वकाङं्क्षा पूर्तिका लागि तिमीहरु संसारको पल्लो कुनामा पुगेका छौँ । पंख काटेर म तिमीहरुलाई कुँजो पार्न चाहन्नँ । मेरो एउटा बिन्ती छ.....”
“आमा भएर पनि कस्तो बिन्ती, आज्ञा गर्नुहोस्......”
“म त्यो स्थितिमा छैन... बिन्ती नै गर्छु ।”
“भन्नुहोस्, कस्तो बिन्ती......।”
“बिन्ती छ— कहिले काँही कुनै बेला मेरो र तिमीहरुको बुबाको सम्झना आइहाल्यो भने हामी ‘मानव–आश्रम’ को रुपमा हुन्छौँ । ‘मानव–आश्रम’लाई हर तरहले दीर्घजीवी बनाउँनु.... म, मानव, हामीलाई तिमीहरुले भेट्न चाह्यौ भने हामी दुवै त्यहाँ हुनेछौँ,..... तिमीहरुलाई त्यहाँ पर्खिरहनेछौँ !


त्याग

    “फेरि असमान सन्धिका कुराहरु उठिरहेका छन् ।” डा.सौन्दर्या भन्छिन् । 
“त्यस्ता कुराहरु उठिरहन्छन् । विदेशीहरुको प्रयत्न जहिले पनि आफूभन्दा कमजोर राष्ट्रको साधनस्रोत सित्तैमा प्राप्त गरुँ भन्ने हो, जुन स्वाभाविक हो ।”
“हामीले के गर्नुपर्छ ?”
“हामीले के गर्नुपर्छ ? प्रश्नको जवाफ स्पष्ट छ । अहिले हाम्रो सरकार, मुलुक र जनता पहिलाका जस्ता कमजोर छैनन् । असमान सन्धि पारित गराउँनका लागि नै उनीहरुले मलाई मार्ने षडयन्त्र गरेका थिए । म मरेकी भए उनीहरुको अभीष्ट पुरा हुन्थ्यो । मलाई ‘मानव’ले बचाए । उनको मृत्युले असमान सन्धि गराउन चाहने राष्ट्रघाातीहरु परास्त भएका छन् । हामी कुनै पनि अवस्थामा राष्ट्रहितलाई तिलाञ्जली दिन सक्दैनौँ । राष्ट्रहितको पक्षमा जनमत र राष्ट्रिय सहमति निर्माण गर्दै जानु पर्दछ ।”
“हो, तर हामीले त्यसका लािग के गर्नुपर्ला ?”
“हामीले गर्नुपर्ने कुराहरु सब स्पष्ट छन् । अनावश्यक विदेशी विलासी सामानहरु उपभोग नगर्न जनतालाई आह्वान गर्ने एवं कडा परिश्रम गरेर स्वदेशी उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय व्यापार आफ्नो पक्षमा पार्ने, भ्रष्टाचार, राजनैतिक अपराधीकरण हटाउने र अनावश्यक सरकारी खर्चहरु घटाएर विकास निर्माण कार्यहरुमा लगानी बढाई द्रुततर आर्थिक विकास गर्ने कुराहरु प्रमुख छन् । हाम्रो एकलौटी सरकार पार्टीका निर्णय लागू गर्न पूर्णतया सक्षम छ ।” 
“हुन्छ, यी कुराहरुमा ध्यान दिइनेछ । तर साथी, एउटा कुरा ?”
“भन साथी, के कुरा ?”
“हामीले हाम्रो मुलुकको स्वपहिचान कसरी कायम राख्न सक्छौँ ?”
“कुन क्षेत्रमा ?”
“हर क्षेत्रमा, सांस्कृतिक, राजनैतिक, आर्थिक, सामाजिक हर क्षेत्रमा हामी हाम्रो स्वपहिचान कसरी कायम राख्न सक्छौँ ?”
  “यसका लागि हामीसँग स्पष्ट नीति हुनुपर्छ । हाम्रा मौलिक कुराहरु जोगाउनका लागि पहिला हामीले हाम्रा मौलिक कुराहरु के के हुन त्यो चिन्नुपर्छ र त्यसलाई जोगाउनुपर्छ.....”
“...... हो, हाम्रा मौलिक कुराहरु– सांस्कृतिक क्षेत्रमा भन्ने हो भने विभिन्न धर्म, सम्प्रदाय र जाति, जनजातिमा विभाजित हामी बीचको सद्भावको संस्कृति हाम्रो मौलिक संस्कृति हो । भाषाको क्षेत्रमा भन्ने हो भने एक सय एक भन्दा बढी जनजातीय मातृभाषाहरु, यहाँसम्म कि एउटै राई जनजाति भित्रको हाल पनि जीवित २४ राई भाषाहरु हाम्रा मौलिक भाषाहरु हुन् । सङ्गीतको क्षेत्रमा मादल, बिनायो, मुर्जुङ्गा, सारङ्गी, टुङ्ना, यलम्बर बाजा र तराईका विभिन्न बाजाहरु हाम्रा मौलिक बाजाहरु हुन् । सामाजिक संरचनाको क्षेत्रमा सामाजिक सद्भाव बलियो पार्ने नाता सम्बन्धका, सम्बोधनका तौर तरिकाहरु हाम्रा मौलिक हुन् । जस्तो उदाहरणका लागि पहिला पहिला हामीहरु कसैलाई बिना नातासाइनोको सम्बोधन गर्दैनथ्यौ । ‘बाजे, बोजु, काका, काकी, मामा, माइज्यु, दाजु, दिदी, भाइ, बहिनी, भतिज, भान्जा, भान्जी आदि’ सम्बोधनमा जुन अपनत्व र मौलिकता छ त्यो हेल्लो, हाई, मिस्टर र म्याडममा कहाँ छ र ? पाको मानिसको सम्मान गर्ने हाम्रो मौलिक परम्परा, चलन र रीतिले हाम्रो स्वपहिचान व्यक्त गर्दैन र ? हर क्षेत्रमा, यस्ता हाम्रा मौलिक कुराहरु छन् । झ्याउरे गीत र नाच, धिमाल नाच, थारु नाच, साखेवा, धाननाच आदि थुप्रै लोक नाच, लोक संस्कृति र लोक भाखाहरु, लिपीहरु..... औषधीको क्षेत्रमा पनि हाम्रा मौलिक जडीबुटीहरु— चिराइतो, यार्चागुम्बु, पाँच औले, बिखुमाआदि अनेकौँ–अनेकौँ छन् । हर क्षेत्रका हाम्रा मौलिक कुराहरुका हामीले खोजीनीति गरेर तिनीहरुलाई अविनाशी बनाए तिनीहरुले विश्वमा हाम्रो स्वपहिचान गराइरहनेछन् । हाम्रो हिमालहरु, नदीहरु, पहाडहरु, तराईहरु, भू–भौगोलिक बनावट, जैविक र जलवायुको विविधता पनि हाम्रा मौलिक कुराहरु हुन् । यस्ता कति छन् कति.....”
   “हो तपाईँले भन्नुभएको ठीक हो । हाम्रा मौलिक कुराहरु विश्वका अन्य सम्पत्ति भन्दा अलग र महत्वपूर्ण हाम्रा मात्रै सम्पत्तिहरु रहेछन् । तिनीहरुलाई अविनाशी बनाउनु पर्ने रहेछ ।”
“सौन्दर्या, साथी ।”
“भन परी, साथी ।”
“विवाह नगरी बसेकोमा तिमीलाई दुःख लाग्दैन ?” म हाँसेर सोध्छु ।
“तिमी किन मलाई जिस्काइरहन्छ्यौ ? तिमीलाई सब थाहा छ ।” तिनी पनि हाँस्छिन् ।
“तर पनि, म तिम्रो मनको भित्री तहसम्म पुग्न चाहन्छु ।”
“तिम्रो निरर्थक प्रयत्न । जसको मनको भित्री तह नै छैन ।”
“त्यसो भए तिमी सम्वेदनाहीन छ्यौ र । मानिस सम्वेदनाहीन हुन सक्दैन ।”
“अनावश्यक सम्वेदना पालिरहनु जरुरी हुँदैन ।”
“तिमीलाई जीवन कस्तो लाग्छ ?”
“तिमीलाई कस्तो लाग्छ नि ?”
“मलाई त जीवन रोटेपिङ्ग जस्तो लाग्यो । तलबाट चढेर माथि पुग्यो । फेरि तल झ¥यो । म शून्यबाट १,२,३,४...... हुँदै अहिले ६० पुगेकी छु । ६ झिकिदिने हो भने म फेरि शून्य मात्र हुनेछु । कतै बाँचेर १०० पुगे भने पनि १ झिकिएर शून्य नै हुनेछु ।”
“तिम्रा कुराहरु अनौठा हुन्छन् र चाखलाग्दा हुन्छन् । मेरो पनि जीवनप्रति आफ्नो दृष्टिकोण छ । तर म त्यसलाई परिभाषा भित्र बाँध्न चाहन्नँ । भोग्न मात्र चाहन्छु, आफ्नो अंश भागमा परेको जिन्दगी जसरी भए पनि भोगिरहेकी छु । भोग्न पाउनु नै जीवन हो ।”
  “परिभाषा भित्र बाँध्न चाहन्नँ भन्छौ । तर परिभाषा पेश गरिरहेकी छौ.....हा... हा..... हा....।”
  हामी दुवै ग....ल.....ल्ल हाँस्छौँ । यसरी हाँस्न सक्नु हामी दुवैले जीवनमा सिकेको बाँच्ने कला हो । म जस्तै तिनी पनि असंख्य समस्याका भुँमरीमा फसेकी छिन् । प्रधानमन्त्री पद काँडा–काँडा माथिको बिछ्यौना जस्तो हो जुन अहिले तिनी सम्भाली रहेकी छिन् । हामी गम्भीर विषयहरुमा प्रवेश गर्नुभन्दा अगाडि र पछाडि यस्तै हल्काफुल्का कुराहरु गरेर हलुङ्गो भइरहन्छौँ ।
“भन साथी सौन्दर्या, किन आयौ ?”
“हाम्रो दल र सरकार विरुद्ध ठूलै षडयन्त्र भइरहेजस्तो मलाई लागेको छ । सूचनाहरु प्राप्त भइरहेका छन् ।”
“ती षडयन्त्ररुले हामीलाई असल नै गर्नेछ । त्यसलाई विफल पार्न हामी सब एक जुट हुनेछौँ, हाम्रो एकताले हामीलाई शक्ति प्रदान गर्नेछ, गरिरहनेछ । बुझ्यौ साथी ?”
   “बुझेँ । साथी परी, म तिमीप्रति आभार व्यक्त गर्छु । तिम्रो साथ पाइरहेमा म मृत्युवरण पनि सहजसाथ गर्नसक्छु ।”
“हा.... हा..... हा....., छट्टुनी ।” हामी पुनः हाँस्छौँ । 

प्रधानमन्त्री डा. सौन्दर्याको सफलतामा सम्पूर्ण देशवासीहरुको सफलता निर्भर रहेको छ । तिनको नेतृत्व गर्ने क्षमता र उचित समयमा सही निर्र्णय गर्न सक्ने क्षमता माथि कसैले शंका उठाउने कुरै छैन । मुलुकलाई विकास निर्माणको तीव्र गतिमा अगाडि बढाउन तिनी सक्षम भइरहेकी छिन् । म तिनले सफलताबाट प्रभावित भएकी छु र सदैव तिनलाई हौसला प्रदान गरिरहन्छु । 
डा. सौन्दर्या जस्ता असल मित्र भाग्यमानी मानिहरुलाई मात्र प्राप्त हुन्छन् । तिनले मबाट कहिल्यै अनावश्यक फायदा लिन चाहिनन् । अनावश्यक फायदा चाहने हजारौँ मित्रहरुले मलाई छाडे । मैले तिनीहरुलाई थाम्नै सकिनँ । अनुभव गरेँ मित्रहरु पनि किसिम किसिमका हुँदा रहेछन् । विभिन्न प्रयोजन र उपादेयताका लागि बन्ने, बनिने मित्रहरु ती प्रयोजन र उपदेयता समाप्त हुनासाथ मित्र रहँदैनन् । काँधमाथि चढेर माथि उक्लन चाहने मित्रहरु पनि मैले प्रशस्तै भेटेँ, बेहोरेँ । तर सौन्दर्याले कहिल्यै मेरो काँध टेकिन, मलाई पछाडिबाट लात हानिनन् । त्यसैले म तिनको ढाल भइकन तिनीमाथि गरिने हर प्रहार छेक्न तयार रहेकी हुन्छु ।
   तिनी मेरा लागि जुनसुकै समर्पण गर्न तयार छिन् । तिनले पनि ‘मानव आश्रम’ का लागि आफ्नो प्रधानमन्त्री पदका सम्पूर्ण तलब भत्ता जम्मा गरिरहेकी छिन् । भन्छिन् “तिनी पनि आफ्नो वृद्धावस्था त्यही आश्रममा बिताउनेछिन् ।” ‘मानव’ को प्रेरणाबाट प्रेरित भएर मैले पनि आफू जीवित भएकै अवस्थामा शिक्षण अस्पताललाई मृत्यु पछि मेरो ‘शरीर दान’ दिएकी छु । तिनले पनि मसँगै ‘शरीर दान’ दिएकी छिन् । मृत्यु पछि पनि हाम्रो नष्ट भएर जाने पार्थिव शरीर मेडिकल प्राक्टिस गर्ने मेडिकल विद्यार्थीहरुलाई काम लागोस्—  हाम्रो चाहाना हो । 


नाम

म ‘मानव’ आश्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न हर सम्भव उपायहरु अवलम्बन गर्छु । वृद्धाहरुको मनोभाव अनुसार उनीहरुलाई सन्तुष्ट पारेर राख्नु आश्रमको प्रमुख लक्ष्य रहेको छ । आश्रम हो तापनि परिवारमा पाइने सबै कुराहरु सेवा शुश्रुषा, माया र अपनत्व आश्रममा पनि प्राप्त होस् भनेर साना साना ब्लकहरुमा २७÷२७ जना मात्र राखिएका छन् । भान्साघर पनि २७÷२७ जनाका लागि छुट्टा छुट्टै छन् । भान्सा, खाजाहरु पनि वृद्ध वृद्धाहरुको रुचि अनुसारकै होस् भन्ने कुरामा व्यवस्थापनले ध्यान दिएको छ ।
    २७÷२७ जनाको समूहका निम्ति छुट्टै भवन, भान्साघर, त्यसको वरिपरि सानो फूलबारी र करेसाबारी जहाँ वृद्धहरु स्वयं सागसब्जी खेती गर्न सक्ने व्यवस्था गरिएको छ । २७ जनाका लागि छुट्टै हेरचाह गर्ने र भान्सा तयार गर्ने कामदारहरु छन् । छनौट गर्दा नै सेवाभावबाट प्रेरित हुने किसिमका कामदारहरु छनौट गरिएका छन् । वृद्धहरुलाई भरसक ‘प्यालिएटिभ केयर’ पुगोस् भन्ने मेरो चाहना छ ।
    पुरानो पात झर्छ नै तापनि असमयमै ती पातहरुले झर्न नपरोस् । वृद्धहरुका निम्ति ‘मानव’ वृद्धाश्रम आफ्ना बाँकी थोरै शेष जीवन आनन्द, उत्साह र सन्तोष साथ बिताउने स्थान बनोस् । यसले केही अंशमा ‘हस्पिस’ को पनि काम गर्नेछ भन्ने मलाई लागेको छ । वृद्धाश्रम स्थापना गरिसकेपछि यसका सम्पूर्ण आवश्यकताहरु पूरा होस् सदैव चिरकालसम्म चल्न सकोस्— मेरो चाहाना छ । म आफ्नो बचे खुचेको सम्पूर्ण शक्ति, साधन, बल, बुद्धि र वर्गत यसैका उन्नतिमा समर्पित गरिरहेकी छु ।

डा. सौन्दर्या दलबल सहित आइरहेकी छिन् । म भए ठाउँ आएर अभिवादन गर्छिन् । “भन साथी, के छ हालखबर ?”
“ठिकै छ, म तिम्रो दिनचर्या कसरी बितिरहेको छ, अवलोकन, निराीक्षण गर्न एवं निर्देशन दिन आएकी हुँ ।” तिनी हाँस्छिन् । 
“तिम्रो निर्देशन पालना गर्न पाउँदा म आफ्नो कर्तव्य पूरा भएको सम्झन्छु ।” म पनि हाँस्छु । 
हामी दुई बीच कुनै औपचारिकताको पर्खाल छैन । हामी एक अर्कालाई सम्मान गर्छौ । औपचारिकताको पर्खाल नभए पनि हामी सम्मान, आदर र मित्रताको सीमा नमिचियोस् भन्ने कुरामा सतर्क छौँ । हामीहरु विभिन्न ब्लकहरु घुम्छौँ ।
   “ठीक भएछ । २७÷२७ जनाको समूहमा वृद्धहरु विभाजन गरेछौँ । ती समूहरुको पहिचान कसरी गर्ने नि ? त्यसका लागि समूह, समूहको केही नाम दिन उपयुक्त होला कि ?”
“तिम्रो निर्देशन शिरोपर छ । यसबारे सल्लाह गरौँ । नाम कुन प्रकारको राख्ने होला ?”
“हिमालहरुको नाम, फूलहरुको नाम, विभूतिहरुको नाम, महान् साहित्यकार, वैज्ञानिकहरुको नाम, या अरु नै........”
“सबै मिसाएर राख्दा कसो होला ? अहिले कतिवटा समूहहरु छन् ?”
“७ वटा ।”
“त्यसो भए म नै नाम दिऊँ ?”
“हुन्छ ।”
“१. हिमाल, २. भृकुटी, ३. गुराँस, ४. आइन्सटाइन, ५. महाकवि देवकोटा, ६. ........”
“६. सौन्दर्या.....” म भन्छु । 
“मेरो नाम कि साँच्चैको सौन्दर्या”
“तिम्रै नाम हो ।”
“हुन्छ उसो भए एउटा अर्को नाम पनि मै भनुँ ?”
“भन.......”
“लक्ष्मणिया”
“अहा, कस्तो ठीक नाम भन्यौ । अस्पतालको एउटा खण्डको नाम ‘स्वजन’ राख्नुपर्ला ।”

वृद्ध समूहहरुले नाम प्राप्त गर्छन् । नाममा त्यस्तो के शक्ति छ कुन्नि ? वृद्धहरुका ती समूहहरु बीच अज्ञात प्रतिस्पर्धा हुन्छ । कुन समूह कुन कुराहरुमा अरुभन्दा श्रेष्ठ छ । गुराँस समूहले साच्चै आफ्नो नाम अनुसार यति सुन्दर मनोहर चिटिक्क परेको सानो फूलबारी निर्माण ग¥यो कि त्यसलाई देख्नासाथ मन आनन्दित हुन्छ । सानो स्थानमा पनि त्यति सुन्दर फूलबारी बन्न सक्दो रहेछ ।
   आइन्सटाइन समूहले उत्पादन गरेका सागसब्जीहरु ताजा साग सब्जीको तिर्सना मेट्न त्यो समूहलाई पर्याप्त छ । हरियो धनियाँले त झन्डैझन्डै सबै समूहलाई नै पुग्न थालेको छ । वृद्धहरुपनि उत्पादनशील कार्यमा सरिक गराउँदा स्वनिर्भर हुन सक्छन् भन्ने सोच बन्न थालेको छ । 
महाकवि देवकोटा समूहले वृद्धहरुबीच कविता गोष्ठी सम्पन्न गरिसकेको छ । वृद्धहरुका लागि समसामयिक प्रकाशन गर्ने तयारी गरिरहेको सुन्दा म हर्षविभोर हुन्छु र उनीहरुलाई भेट्न पुग्छु । सोध्छु–“तपाईँहरु कस्तो प्रकारको पत्रिका प्रकाशन गर्न चाहनु हुन्छ ?”
“हामी वृद्धहरुले भोग्ने समस्याहरु र समाधानका उपायहरु माथि प्रकाश पार्ने, वृद्धाहरुका साहित्यिक रचनाहरु एवं समाजलाई उपयोगी हुने वृद्धहरुको अनुभव, संस्मरणहरु समावेश भएको पत्रिकाको प्रकाशन गर्न चाहन्छौँ ।” जङ्गबीर भन्छन् ।
“अति उत्तम ! तपाईँहरुको यो असल कार्यले हाम्रो शिर खडा हुनेछ । यो पत्रिका आश्रमको एउटा नियमित आयको स्रोत पनि हुन सक्छ । तपाईँहरु लागि पर्नुहोस्, हामी तपाईँहरुका साथमा छौं ।”
“हुन्छ, हामी आश्रमबाट यस्तै आशा गरिरहेका थियौँ ।” सबै वृद्धाहरु भन्छन् । वृद्धाहरुको चेहरामा देखा परेको मुस्कान देख्दा म प्रसन्न हुन्छु । मानिसहरु ठूला ठूला कुराहरुमा प्रसन्नता खोज्छन्, आनन्द खोज्छन् । प्रसन्नता साना मसिना कुराहरुमाथि निर्भर रहेछ । साँच्चै ‘पत्रिका प्रकाशन’ कार्यले आकार ग्रहण गरिरहेको छ । वृद्धहरुको सानो प्रयासले पत्रिका जगतमा एउटा बेग्लै स्वाद बोकेको पत्रिका थपिन लागेको छ । विचार, रुप, स्वाद र उद्देश्य नयाँ छ, कसो बजारमा त्यो पत्रिकाले एउटा स्थान बनाउन नसक्ला ?
   पत्रिका प्रकाशन हुन्छ । प्रचार प्रसारका युग रहेछ । सञ्चार मन्त्री शोभनाको हातबाट लोकार्पण गरिन्छ । पत्रिकाले एउटा आफ्नै प्रकारको गन्तव्य निर्धारण गरेको हुँदा बजारमा पत्रिका गइसकेपछि एउटा छुट्टै अमफ्नो स्थान बनाउछ ।

सौन्दर्याको सुझाव अनुसार विभिन्न समूहहरुलाई नाम दिइसकेपछि ती समूहहरुले अर्को समूहले नगरेको नयाँ कार्य आफूले गरेर देखाउने होड नै चल्न थालेको छ । हिमाल समूहले वृद्धहरु बीच प्रतिस्पर्धात्मक खेलहरुको आयोजना गर्ने भएको छ । उनीहरु बीच कुनकुन खेलहरुमा प्रतिस्पर्धा गर्ने भन्ने बारे बहस चलिरहेको छ । त्यो बहसमा मलाई पनि उपस्थित हुन अनुरोध गर्छन् । 
“आउट डोर गेमहरु भलिबल, फुटबल, ब्याडमिन्टन, जस्तो खेलहरु खेलाउन सम्भव होला ?” बलदेव सोध्छन् ।
“हामी मध्ये यी खेलहरु खेल्न सक्ने कति छन् ? छानविन गरेर खेलाडीहरु भए त खेलाउन सकिन्छ नि ।” दोर्जे आफ्नो राय दिन्छन् । 
“पक्कै होलान् नि । हाम्रो समूहमा को को खेलाडीहरु छन् ? हात उठाउनुहोस् ।” मोहम्मद भन्छन् । 
“म फुटबल खेलाडी हुँ ।” इन्द्रमान भन्छन् ।
“म पनि फुटबल खेलाडी हुँ ।” हरि भन्छन् ।
“म भलिबल खेलाडी ।” धर्म भन्छन् ।
“म चेस खेलाडी...” मदन ।
“म क्यारेम बोर्ड.....” –रघुबीर ।
“म ब्याडमिन्टन...”–हाङजित ।
“म चाहिँ बक्सिङ्ग खेलाडी हुँ । तर म अब बक्सिङ्ग खेल्न चाहन्नँ ।” निक्कै वृद्ध मेघबहादुर भन्छन् । सबैजना गल...ल्ल हाँस्छन् । उनी झन् जोडले हाँस्छन् । कति सुमधुर वृद्धहरुबीचका सम्बन्ध । सबैका आफ्ना आफ्ना  घरपरिवार थिए तर अहिले घरपरिवार विहीन । परिवारबाट टाढा । आश्रमका अन्य वृद्धहरुलाई नै परिवार सम्झेर बाँचिरहेका उनीहरु...
फुटबल खेल चाँहि वृद्धाश्रमका पूर्व फुटबल खेलाडीहरुको खोजी गरेर ६ महिना पछि खेलाउने । त्यसका लागि अहिले देखि नै व्यापक तयारी गर्ने । त्यो खेल स्टेडियममा नै खेलाउने  र त्यसबाट आएको आम्दानी वृद्धाश्रमका उन्नतिमा खर्च गर्ने भन्ने प्रस्ताव पारित हुन्छ । तत्कालै चाँहि इनडोर गेमहरु जस्तै चेस, क्यारेमबोर्ड, चाइनिजचेकर र ब्रिज गेमको प्रतिस्पर्धा गराउने निर्णय हुन्छ । आशाका नयाँ किरणहरु देखा पर्दै गइरहेका छन् । म फुटबल खेलबारे गम्भीरतासाथ सोच्न पुग्छु । 
वृद्धहरु साँच्चै फुटबल खेल्न सक्छन् ? फुटबलको अन्तर्राष्ट्रिय नियम तिनीहरुको खेलमा लागू गर्न सकिएला ? वृद्धहरुको फुटबल खेल, भेटरान खेल जस्तै रोचक हुनसक्छ । खेलको उन्नतिका लागि होइन, वृद्धाहरुको उत्साह वृद्धि एवं आयआर्जनका लागि फुटबल खेल खेलाउन सकिन्छ । तर खेलको नियम ? खेलको नियम वृद्धहरुका लागि परिमार्जन गर्नुपर्छ । उनीहरु ९० मिनेट खेल्छन् तर एउटा खेलाडी पन्ध्र मिनेट मात्र खेल्छ । पन्ध्र मिनेट खेल भइसकेपछि १० मिनेटको इन्टरभल । यसरी एउटा टिममा ११६ =६६ जना खेल्छन् । ६६ जना ? ६६२= १२० जना ? यति धेरै खेलाडीहरु त आश्रमका सबै खेल्दा पनि पूरा हुन सक्तैन । होइन, होइन, सबैले खेल्ने नि ! खेल्ने के फुटबल मैदानमा देखा पर्ने नि......, मैले पनि फुटबल खेल्ने..... म पनि रोमाञ्चित भइरहेकी हुन्छु । 
  साँच्चै समयक्रममा मैले सोचेँ जस्तै वृद्धहरुको फुटबल खेल हुन्छ । दर्शकहरु खचाखच हुन्छन् । पहिलो पटक जीवनमा म, सौन्दर्या, शोभना, निर्मला थुप्रै जना हामीहरु खेल मैदानमा फुटबल ड्रेस लगाएर उत्रिएका हुन्छौँ । फुटबल खेल्नु कम, दौडनु, लड्नु ज्यादा । दर्शकहरु रमाइरहेका छन् । वृद्धाश्रमका निम्ति टिकट किनेर थोरै भए पनि योगदान दिन पाएकोमा दर्शकहरु पनि आनन्दित छन् । टेलिभिजनले समेत प्रत्यक्ष प्रसारण गरिरहेको छ । विश्वको अनौठो फुटबल खेल । दर्शकहरु वृद्धहरुलाई उत्साहित, प्रोत्साहित र प्रेरित गरिरहेका छन् । खेल निलो टिमले जित्छ । निलो पहिला, रातो टिम दोस्रो । विनर र रनरका पुरस्कार पाउनेहरु १३२ जनाको ताँती ।

आइन्सटाइन समूह पनि चुप लागेर बस्न तयार छैन । हस्तकला तथा अन्य कलात्मक वस्तुहरु तयारी गर्ने सानो तिनो वर्कसप नै तयार गरेका छन् । आश्रमभरि रहेका निपुण र दक्ष व्यक्तिहरुको क्रियाशीलतामा चाँदीका सुन्दर कलात्मक वस्तुहरु, धातुका मूर्तिहरु, पेन्टिङ्ग, बाँस र काठका कलात्मक वस्तुहरु निर्माण गरिरहेका हुन्छन् । वृद्धाश्रममा दुई जना मूर्तिकारहरु पनि रहेछन् । उनीहरु आदमकदको ‘मानव’ र मेरोे धातु मूर्ति निर्माणमा व्यस्त छन् । उनीहरुको करिब १ वर्षको कडा मिहिनेत पछि ती मूर्तिहरु तयार हुन्छन् ।
   ती मूर्तिहरु आश्रम परिसरको प्रवेशद्धार छेउ स्थापित गरिन्छ । म ती वृघ कलाकारहरु प्रति नतमस्तक हुन्छु । म आफ्नै मूर्ति अगाडि उभिएर भनिरहेकी छु— “मेरा प्यारा मित्रहरु, मेरो लौकिक शरीर धरतीमा नरहेपनि यो आश्रममा मेरो प्रतिरुप यो धातुको मूर्ति रहिरहनेछ । ‘मानव’को मूर्ति रहिरहनेछ । कसैको कृति बाँच्नु भनेको ऊ बाँच्नु जस्तै भएकोले जबसम्म यी मूर्तिहरु रहनेछन् यसका सर्जक मूर्तिकारहरु हितकाजी र सुखमान सदैव जीवित रहिरहनेछन् ।
सब ताली पिट्छन् । आश्रमभित्र एक से एक सुन्दर कार्यहरु भइरहेका छन् । आइन्सटाइन समूहद्धारा तयार गरिएको वर्कसपको कुनामा म थुप्रै मसिना ढुङ्गाहरु देख्छु । ती ढुङ्गाहरु कुनै खोलाको बगरका जस्ता थिए, कुनै भीर, पहरा, खेतबारीका ।
“यी ढुङ्गा कसरी यहाँ ल्याइए ? यी के काम लाग्छन् ?”
“यी ढुङ्गाहरु होइनन् । पैसाका राश हुन् । ओरालोतर्फ बगेको पानीझैँ देशबाट विदेशिएको पैसालाई फेरि मुलुकभित्रै फर्काउने नौला सृजनहरु हुन् ।”
“कसरी ?” म उत्सुक हुन्छु । 
“हुन त म धातुमा पोख्त मूर्तिकार हुँ । तापनि म र सुखमान ढुङ्गामा मूर्तिहरु पनि खोप्न सक्छौं । हामीले सल्लाह गरेका छौँ कि हामी त्यो सानो वर्कसपमा सिफ्टसिफ्ट गरेर ३२ जना विद्यार्थीहरुलाई ढुङ्गामा आकृति, अक्षर र मूर्तिहरु खोप्न, निर्माण गर्न सिकाउँनेछौं । “त्यसबाट के फायदा हुन्छ ?”
“त्यसबाट हुने फायदा प्रशस्त छ । ती ३२ जनाले अरु १०÷१० जनालाई ढुङ्गामा खोप्ने काम सिकाउनेछन्, ३२० जनाले फेरि अरुलाई सिकाउनेछन् । हाम्रो देशको खोला, नाला, पहाड, भीर, पखेरामा पाइने ढुङ्गाहरुमा मानिसहरुको रुचि अनुसारका आकृतिहरु खोपिनेछन् ।”
“कस्तो रुचि अनुसारका आकृतिहरु ?”
“रुचि अनुसारको आकृति भन्नाले— देवी देवताको मूर्ति देखि महात्मा गान्धी, गौतम बुद्ध, येशु क्राइष्ट, राधा–कृष्ण, शिव, मरियम, युवती, युवक, जनावरहरु, पंक्षीहरु, फूलहरु, झन्डाहरु, खुकुरी, विविध अक्षरहरु ॐ, लभ, सप्रेम उपहार, नमस्ते, महावाणीहरु, कहिल्यै नबिर्स, आदि कुराहरु यी ढुङ्गाहरुमा खोपेर पशुपतिको मेलामा आएका विदेशीहरु, स्वदेशीहरुलाई विभिन्न मूल्यहरु दश रुपियाँदेखि हजार रुपियाँ सम्ममा बेच्न सकिन्छ । त्यसबाट मुलुक भित्रैका युवकहरुले रोजगारी प्राप्त गर्न सक्छन्, नयाँ आयको बाटो तयार हुनसक्छ ।” हितमान भन्छन् । मेरो पनि चित्त बुझ्छ । यस्तो हुनसक्छ । ‘असम्भव केही हुँदैन ।” यस हिसाबले विचार गर्दा त सबैतिर पैसै पैसा देखिन्छ । 


गतिविधी

“म यहाँ त्यसै सित्तै बसेको छैन । पैसा तिरेर बसेको छु ।” जङ्गवीर बम्किरहेका हुन्छन् । 
“हो, तपाईँ पैसा तिरेर बस्नुभएको हो ।” शेरसिंह भन्छन् “कति तिर्नु भएको छ, त्यसले त तपाईँलाई दिनको एक छाँक पनि खान पुग्दैन, औषधी उपचार, खाजा र अन्य कुराहरुको कुरै भएन ।”
“जे होस्, म सित्तैमा बसेको होइन । म करोडपति थिएँ । मैले करोडौँ सम्पत्ति छोराहरुलाई दिएको छु ।”
“तपाईँसँग अहिले कति करोड छ ?”
“करोड छैन मसँग, तर मेरा छोराहरुसँग छ । म अझै करोडपतिको पिता हुँ ।”
“यसो भए तपाईँ किन छोराहरुसँग बस्नुहुन्न ?”
“म तिनीहरुलाई घृणा गर्छु । तिनीहरु मैले भनेको मान्दैनन् । मलाई फकाएर झुक्काएर सबै सम्पत्तिहरु आफ्नो नाममा बनाएपछि मलाई हेला गर्न थाले । त्यसैले मात्र......” उनी लच्कन्छन् ।
“हो बन्धु, हामी सबै कुनै न कुनै बाध्यताले गर्दा यो आश्रममा आइपुगेका छौ । यो आश्रमका सञ्चालकलाई हामीले हृदयदेखि नै आभार व्यक्त गर्नुपर्छ ।”
“कस्तो आभार ? आभार कसरी व्यक्त गर्ने ?”
“आभार व्यक्त गर्नु भनेको आश्रमको न्यूनतम नियमहरु पालना गरेर र एक आपसमा मिलेर बस्दा आश्रम सञ्चालन गर्न सजिलो हुन्छ, होइन र ?”
“हो, हो । हा..... हा..... हा....”
“हा..हा... अर्ति त मान्दा रहेछौँ नि ।” दुवै हाँस्छन् । जङ्गवीर र शेरसिंह मिल्ने साथीहरु हुन्छन् । तर बेला बेला ती दुई बीच भयङ्कर वादविवाद पनि हुन्छ । हात छोडाछोड गर्लाझैँ गरी बाझ्छन् । तर फेरि मिल्छन् नङ मासु जस्तै “तिमीलाई थाहा छ ? सुन्तलीको बारेमा थाहा छ ?”
“को ? त्यो थोती, थोत्री बुढी सुन्तली ?”
“हो, त्यही थोती ।”
“के ?”
“त्यो त लोग्नेसँग बाझेर आएकी रहिछ नि । हिजो त्यसको लोग्ने त्यसलाई लैजान आएका थिए । फर्कौँ भनेर फकाइरहेका थिए । जान मानिन । बरु लोग्नेलाई पनि आफ्नो पेन्सन यहाँ जम्मा गर्न र आउनु भनिरहेकी थिई । सायद त्यसको लोग्ने पनि आउला कि ।”
“आए के फरक पर्छ र ? मलाई किन सुनाइरहेका छौ ।”
“अस्ति तिमीले भनेको होइन, त्यो थोतीलाई तिमी मन पराउँछौं । त्यसको फस्र्याइलोपन, बात मार्ने रमाइलो पारा मनपर्छ भनेका थियौ, होइन र ?”
“हो नि, त्यो के बिहे गर्नका लागि नै मन पराएको हो त ? त्यो कहाँ केटी हो र ! म पनि....” फेरि उनीहरु हाँस्छन् । छेउछाउमा बसेर ती दुईको कुराकानी सुनिरहेका सन्ते, ‘दुविधा’ को अमरराज र भुक्के पनि हाँस्छन् ।
“अँ, साँच्ची यहाँ लोग्ने स्वास्नी पनि सँगसँगै बस्न पाइन्छ र ?” सन्ते सोध्छ ।
“ल...ल... सँगसँगै बस्न पाइन्छ र भनेर सोध्छ यो सन्ते । पातली र रणे, सविता र सुयोगवीर, मुना र मदन, मुकुन्द र इन्दिराजस्ता थुप्रै जोडीहरु सँगसँगै बसिरहेका छन् । सक्छौ भने तिमी पनि यहाँको कोही थोतीलाई फकाएर बिहे गरेको जस्तै सँगै बस्न सक्छौ । अब तिम्रो छोराछोरी जन्मिने होइन क्यारे ।”
“किन नजन्मनु नि, लोग्ने मान्छेले ८० वर्षमा पनि छोराछोरी जन्माएका छन् ।”
“त्यसो भए फेरि बिहे गर्ने सुर छ कि क्या हो ?” जङ्ग हाँसेर ठूलो स्वरमा भन्छन् । 
“केटी पाए किन नगर्नु नि ।”
“केटी त थोती पनि पाउने छाँट देख्दिनँ ।” वृद्धहरुको रमाइलो बगम्फूसे कुराकानी ! तर अब उनीहरुले गर्नै पर्ने पो के छ र ? जे जति गर्नु थियो गरिसके । रहलपहल केही बाँकी भए पनि त्यो गर्न सक्ने अवस्थामा नभएर नै उनीहरु यहाँ बस्न आइपुगेका छन् ।

लक्ष्मणियाकी आमा बिरामी भइन् । आश्रमकै अस्पतालमा पु¥याइन्छ, उपचारमा संलग्न डाक्टरहरु क्यान्सरको शंका गर्छन् । बायोप्सी गरिन्छ— क्यान्सरै हो, पक्का हुन्छ । क्यान्सर अस्पताल लगिन्छ, केही महिना त्यहाँ राखिन्छ । क्यामो थेरापीले तिनको सबै केस झर्छ । हड्डी र छाला भइसकेकी हुन्छिन् तर बोली भने प्रष्ट र सद्दे मानिसलेझैँ बोल्न सक्छिन् । 
   म ‘शहीदकी आमा’लाई भेट्न गएकी छु । हाम्रो प्रतिबद्धता पूरा गर्ने क्रममा अनाहकमा मारिएकी निर्दोष लक्ष्मणियाकी आमा कमलासोरी— “म अब बाँच्दिनँ रहिछु ।”
“किन त्यस्तो भन्नु हुन्छ ।” म भन्छु ।
“क्यान्सर रे । यो निको नहुने रोग हो रे ।” तिनी भन्छिन् । 
“निको नहुने भए यति ठूलो अस्पताल किन खोलिन्थ्यो र ।” निर्मला भन्छिन् । मलाई मर्न मन त लागेको छैन र डर लागि रहन्छ, म मेरो छोरा अवधेशलाई नभेटी मर्छु कि !”
“अवधेशलाई हामीले बोलाएका छौं । ऊ आउँदै छ ।”
“उसलाई देखेपछि म सजिलैसँग मर्न सक्छु । तर मेरो एउटा बिन्ती छ, त्यसलाई पनि जीविकाका लागि कुनै काम दिनुहोस् ।”
“हुन्छ, हुन्छ । पूर्वको तराइमा मानव आश्रमको एउटा शाखा खोल्दै छौँ, त्यसमा उनलाई महत्वपूर्ण जिम्मेवारी दिनेछौँ । जसले उसको जिविका पनि चल्नेछ, हाम्रो संस्थाको पनि त्यस्ता इमानदार मानिस पाएकामा उन्नति नै हुनेछु ।” म भन्छु । 
“म यहाँ मर्न चाहन्न छोरी, परी, मलाई त्यो आश्रममा नै मर्न देऊँ......।” कमलासोरीको आँसु ! मेरो हृदय पग्लिएर घाँटीसम्म आउन खोज्छ । म तिनको आँसु पुछेर भन्छु “हुन्छ, आमा हुन्छ । तपाईँ हामीसँगै मानव आश्रम फर्कनु हुनेछ । तपाईँको इच्छा....”
ठुलो क्यान्सर अस्पतालमा राखे पनि, आश्रममा फर्काएर लगेपनि तिनी मर्ने नै थिइन् । अन्तिम समयमा तिनको दुःख, पीडा र कष्टलाई कसरी कम गर्न सकिन्छ, अस्पतालसँग परामर्श गरेर हामी तिनलाई फर्काएर लैजान्छौँ । आश्रम एक प्रकारले ‘हस्पिस’ पनि त हो । उमेरले छोडेका, आयु सिद्धिन लागेकाहरु आश्रममा बस्छन्, तेल सकिएर निभ्न लागेको कुपिको जस्तो केही समयको उनीहरुको बचाइलाई मानवीय, सहज र कम दुःखद बनाउने कार्य मात्र त वृद्धाश्रमले  गर्ने हो । बाल आश्रमले जस्तै वृद्धाश्रमले जीवन दिने होइन, मृत्युवरण सहज बनाउने मात्र हो ।
कमलासोरीको मृत्यु हुन्छ । अस्वस्थता, बिरामीपन, रोगहरु, वृद्धहरुको सन्काहापन, झन्काहापन र मृत्यु बेहोर्नु, मृत्युको स्वागतमा सदा तत्पर भइबसिरहनु मानव आश्रमको कर्तव्य नै हो ।
मानव आश्रमको स्थापना पछि आश्रममा भएको कमलासोरीको मृत्यु– पहिलो मृत्यु !

वृद्धाश्रममा यसरी नै अब सधैँ मृत्यु भइरहनेछ । मृत्यु कति भयावह, दुःखद र करुणाजनक हुँदोरहेछ । मृत्युको स्वागत गर्न सानो, कमलो  र कमजोर मुटु होइन, दह्रै मुटु चाहिदो रहेछ । छिट्टै र सबैभन्दा धेरै मृत्युको पर्दापण हुने स्थानहरु मध्ये वृद्धाश्रम पनि एक हो । यहाँ अब सधैँ कोही न कोही वृद्धको मृत्यु भइरहनेछ र आश्रमका व्यवस्थापक र सञ्चालकहरु मृत्युलाई कति सहजतासाथ स्वीकार गर्न तम्तयार छन्, हेर्न बाँकी छ । म आँसु पुच्छु र कर्तव्य निर्वाहमा लाग्छु । म समेत मेरा सहयोगी मित्रहरुले सोचे जस्तो मृत्यु कोमल नहुँदो रहेछ । कठोर मृत्युहरु लाम लागेर आश्रममा आइरहेका छन्, त्यसलाई कठोरतासाथ बिहोर्न तयार हुनुपर्ने भएको छ । 
“अवधेश, मृत्यु संस्कार कसरी गर्ने ?”
“हाम्रो आफ्नै संस्कार अनुसार गर्ने ।”
“तिमीहरुको संस्कार कस्तो हुन्छ ।”
“म भन्छु, त्यसै अनुसार गरौं ।”
“हुन्छ ।”
कमलासोरीको मृत्युमा सबै हिँड्न सक्ने वृद्ध वृद्धाहरु मलामी जान्छन् । सबैको अनुहार मलिन छ, निन्याउरो छ । मानौँ मृत्युको पूर्वआभास उनीहरुलाई भएको छ । कमलासोरीको दाहसंस्कार अवधेशले भनेअनुसार नै सम्पन्न हुन्छ । तर अब आश्रमले अर्को नगरी नहुने दाहसंस्कारको प्रबन्ध कसरी गर्ने भन्ने विषयमा आवश्यक प्रबन्ध गरिरहनु पर्ने भएको छ ।

मृत्यु ! अवश्यम्भावी मृत्यु !!
मृत्युको श्रृङ्खला । मृत्युहरु लाम लागेर आश्रममा आइरहेछन् । निश्चित मृत्यु । जन्मेपछि मृत्यु निश्चित छ । जन्ममा मानिस खुसी हुन्छ भने मृत्युमा दुःखी ।  उज्यालो र अँध्यारो । उज्यालोमा विविध सुन्दर रचना गरिन्छ, सौन्दर्य उज्यालोमा देखिन्छ, मुग्ध भई रसपान गरिन्छ । तर सधैँ उज्यालो दिन मात्र हुँदैन । अँध्यारो रात पनि कम महत्वपूर्ण हुँदैन । त्यही अँध्यारो रातमा निद्रामा सुतेर मानिस आराम गर्छन्, विश्राम गर्छन् । फेरि अर्को बिहान  तरोताजा, स्फूर्ति लिएर फेरि सांसारिक संघर्षमा जुट्छन् । दिनलाई जति उत्सुकतासँग हामी अङ्गीकार गर्छौ, त्यो भन्दा धेरै उमङ्गसाथ रातलाई अङ्गीकार गर्नुपर्ने हुन्छ, होइन र ? जन्मेका हर प्राणीले जन्मनुभन्दा अगाडि नै मृत्यु कबोल गरेर आएका हुन्छन् । मृत्यु दुःखदायी, भयङ्कर, करुणाजनक भएपनि त्यो सत्य हो । मृत्यु नहुने हो भने नवजीवन पनि हुनेछैन । मृत्युले नयाँ जीवनका लागि स्थान बनाउँछ, नयाँ फूलहरु फुल्छन् । मृत्यु मानिसहरुले सोचे जस्तो घृणित छैन, स्वाभाविक छ, स्वागतयोग्य छ । मृत्युको मुखमा पुगेका वृद्धहरुले सहजतासाथ सहर्ष विरोचित किसिमले मृत्युवरण गर्न सकून्, थोरै बाँकी शेष जीवन निस्फिक्री आनन्दसाथ मृत्युलाई कुर्दै बिताउने सकून्– आश्रमको उद्देश्य हो ।
“आउनै पथ्र्यो,
म आएँ
कबोल अनुसार फर्किए ।”
जन्मने हरेकले मर्ने कबोल गरेका हुन्छन् ।... मृत्युहरु आश्रममा अब नियमित भएर सधैँ आइरहनेछन् । 
   किसिम किसिमका संस्कार, धर्म, रीति रिवाज भएका विविध जाति, मुलुकवासीहरु आश्रममा छन् । उनीहरुको मृत्युसंस्कार कसरी गर्ने भन्ने बारेमा गहनतासाथ सोच्न जरुरी रहेछ । उनीहरुलाई प्रवेश गराउँदा भरिने प्रवेश फाराममा नै उत्तराधिकारी÷ आफन्तहरु÷ केही भएमा सम्पर्क व्यक्तिको नामहरु भरिएझैँ ‘मृत्यु संस्कार कसरी गर्ने’ भन्ने पनि महल थप्न जरुरी रहेछ । दाहसंस्कार उप समिति छुट्टै बनाउनु पर्ने रहेछ जसको काम मृत शरीरलाई सम्मान साथ मानवोचित तवरले विसर्जन गर्नु हुनेछ....... म यस्तै आश्रमको कार्यलयमा बसेर सोचिरहेकी हुन्छु । दुई जना वृद्ध र वृद्धा प्रवेश गर्छन् ।
  हेर्छु, म तिनीहरुको शिरमाथि मृत्यु घुमिरहेको देख्छु । मानौँ तिनीहरु आफ्नै मृत्यु आफ्नै टाउको माथि घुमिरहेको देखेर त्यो मृत्युको दुःखद बोझ कम गर्न मसँग शरण माग्न आएका छन् । तिनीहरुको मुजै मुजा, चाउरी नै चाउरी परेको अनुहारभित्र पनि मृत्युको त्रासबाट बच्न सकिन्छ भन्ने आशाको झिल्को चम्किरहेको छ ।
   सम्मानका साथ म तिनीहरुलाई सोफामा “बस्नुहोस्” भन्छु । तिनीहरु अधैर्य भई सोफामा बस्छन् र भन्छन् “हामी एक साथ बस्न चाहन्छौँ ।”
“एकैसाथ बसिरहनुभएको छ ।”
“एकैसाथ, हाम्रो भन्नुको अर्थ हामी लोग्ने स्वास्नी जस्तै दाम्पत्य जीवनमा गाँसिएर बस्न चाहन्छौँ । जोडा जोडीहरु बसे जस्तै ।”
“तिनीहरु त विवाहित हुन् ।”
“हामी पनि विवाहको विधि(रश्म) पूरा गरेर विवाहित जोडीझैँ बस्न चाहन्छौँ ।” वृद्ध र वृद्धाको दृढता । केटाकेटीमा रहेको जिद्दीपनाभन्दा वृद्धहरुको जिद्दीपना कैयौँ गुणा बढी हुन्छ । केटाकेटीको जिद्दीपना, चाहना तत्कालै पुरा नभएमा पनि भावी दिनहरुमा पूरा होला भन्ने आशा गर्न सकिन्छ । तर यी बुढा बूढीको जिद्दीपना र चाहना ?
“तपाईँहरु संयुक्त दर्खास्त दिनुहोस्, सँगसँगै पति–पत्नि सरह बस्न पाउँ भन्ने । म सञ्चालक एवं व्यवस्थापन समितिमा छलफल गराएर जवाफ दिनेछु ।”
  म समितिमा छलफल गर्छु । सबैले ती डाँडाका जून, घाम भइसकेकाहरुको इच्छा पूरा हुन दिनुपर्छ भन्छन् । आश्रमभित्र वृद्धहरुको इच्छालाई हानिरहीत छ भने सर्वोपरी राख्नुपर्छ भन्ने मान्यताहरु स्थापित हुँदै जान्छन् ।

वृद्धहरुको भावावेश, मनोभाव, प्रवृत्तिहरु, सम्बेदनाहरु, इच्छाहरु, चाहनाहरु विविध प्रकारका हुदाँ रहेछन् । उनीहरु जे चाहन्छन् तत्काल पूरा हुनुपर्छ । जे गर्न चाहन्छन्— तत्कालै गरिहाल्नुपर्छ । भावी कुनै दिन गरुँला भन्ने उनीहरुसँग जीवनको समय कहाँ हुन्छ र ?
लक्ष्मणिया र भृकुटी समूहका वृद्धहरुलाई ठूलै पीर परेको रहेछ । के गरेर देखाउने ? केही गरेर देखाउने होडले वृद्धहरुमा सृजनशीलता थपेको छ । उनीहरु आफ्नो जीवनको अन्तिम अवधिमा पनि क्रियाशील भइरहेका छन् । ती समूहरुमा पहिला नाम चलेका फोटोग्राफर, चित्रकार एवं एनिमेसनका विशेषज्ञहरु रहेछन् । उनीहरुले क्यामेरा र पेन्टिङ्गका सामानहरु, कम्प्युटर र एनिमेसनका लागि चाहिने कम्प्युटर सामाग्रीहरुको माग गरे । ती कुराहरु उनीहरुलाई तत्कालै चाहियो, चाहियो ।
    आश्रममा कम्प्युटर, डिजिटल क्यामेरा र केही सामानहरु छँदैछन्, नभएका सामानहरु पनि आश्रमकै सम्पत्तिमा थप हुने हुन् भन्ने ठानेर झिकाइन्छन् । आफूले चाहेका कुराहरु प्राप्त गरेपछि ती सिल्ली बूढाहरु त दिन रात आफ्ना काममा जुटिरहेका हुन्छन्.....
वृद्धहरुको सुन्दर रचना.... सृजनाहरु.....
वृद्धाश्रममा रहेका सबै वृद्धका फोटोहरु । ती फोटाहरु यति सजीव देखिन्छन् कि मानौँ ती फोटाहरु बोलिहाल्लान् । बालकको फोटोहरु सबैले मन पराउँछन्, हेर्छन् र किन्छन् । बालकका फोटाहरुको पोस्टरहरु बनेका छन् र बजारमा बिक्री भई रहेका छन् तर वृद्धाहरुका फोटा ? ती फोटोहरु देख्दा म आश्चर्य चकित हुँदै आनन्दित हुन्छु । ‘मानव संसारका अनुहारहरु’ फोटो प्रदर्शनी ।
‘आश्रम’को ठाउँमा ‘संसार’ । वृद्धहरुको अनुहारमा परेका अनगिन्ती चाउरीका मुजैमुजा, धर्साहरु, रेखाहरु । मसिनामसिना अनुहारका केस्राकेस्राहरु पनि स्पष्टसँग देख्न सकिने । इन्टिरियर डेकोरेटरहरुले सुकेका फूल, पात र डाँठहरुले सजाएर पानि आकर्षक फूलदानी निर्माण गरेझैँ वृद्धहरुका चाउरीमा पनि जीवनका सौन्दर्यहरु देखिँदो रहेछ । वर्षौको अनुभवले पारेका ती चाउरीहरु ! मानौँ ती युगयुगले बडो मिहेनतका साथ निर्माण गरेका धर्सा र रेखाहरु । कताकता कहाँकहाँ छरिएर रहेका संवेदनाहरु, वर्षौदेखि लुकेर रहेका धोकाहरु, आशाहरु, आकाङ्क्षाहरु, कठोरताहरु, कोमलताहरु, जीवनका उकाली र ओरालीले बनाएका घातप्रतिघातका प्रष्ट चिन्हहरु...... के... के....... बालकको अनुहारमा पाउन नसकिने अप्राप्त वस्तुहरु....... के.....के....... ती मानव अनुहारहरु सशक्त, सजीव एवं आकर्षक भएर बोलिरहेका छन् । 
     ठूला ठूला फोटाहरु भित्तामा मिलाएर झुन्डाइएका छन् । ती सबै फोटाहरु र सानो आकारको फोटो एल्बमहरु तयार पारेका छन्– बिक्रीका लागि । बालकहरुका फोटो बिक्री भएझैँ वृद्धहरुको चाउरी नै चाउरीले पुरिएको अनुहार पनि धमाधम भटाभट महङ्गो मूल्यमा बिक्री भइरहेको देख्दा संसार विचित्र रहेछ भन्ने मलाई लाग्छ ।
     हुन पनि त हो..... मृत्यु भएर नै जीवन अमूल्य छ । बुढ्यौली छ र त यौवन अनमोल छ । बुढ्यौलीपनको गालाको खोपिल्टाले नै गालाको हृष्टपुष्टतालाई सुन्दर देखाउन मद्धत गरेको छ । कालो नभए गोरो कसरी थाहा पाउने ? तुलना गरेर नै के के हो छुट््याउँन सकिन्छ । बालकको अनुहारमा जे छ त्यो वृद्ध अनुहारमा छैन । बालकको अनुहारमा पाउन नसकिने कुराहरु, दृष्टिहरु वृद्ध अनुहारमा पाउन सकिएकैले नै ती अनुहारहरु पनि मनमोहक भएर बिक्री भइरहेका छन् ।
   मानव आश्रमभित्र स्थायी प्रदर्शनी कक्ष थपिन्छ ‘मानव संसारका अनुहारहरु’ को फोटाहरु, वृद्ध चित्रकारहरुद्धारा बनाइएका फाइन, एब्स्ट्राक्ट र मोर्डन आर्टहरु, एनिमेसनहरु एवं आश्रमलाई प्राप्त कलाकृति, उपहारहरु र अन्य हस्तकलाहरुको संयुक्त प्रदर्शनी ।
    आश्रममा स्थायी प्रदर्शनी कक्ष थपिए पछि ती वृद्धहरु माझ खुशीयालीको लहर छाउँछ । खुशीले नाचौँनाचौँ हुन्छ रे ! आफ्नो तन्नेरी कालमा सङ्गीत, गायन र नृत्यमा पोख्त वृद्धहरुको जमघट हुन्छ । सङ्गीत, गायन र नृत्य मानव अभिव्यक्तिको सर्वोत्तम, शास्वत, कलात्मक, मौलिक एवं सर्वोच्च स्वाभाविक मनोरञ्जनात्मक माध्यम हो । वृद्धहरुको एउटा स्थायी टोली बन्छ र उनीहरु समय समयमा सांस्कृतिक कार्यक्रमहरु गर्नका लागि तयार हुन्छन् ।
     मानव आश्रम कला, सङ्गीत, साहित्य र अन्य सृजनात्मक रचनाहरुको केन्द्र पनि हुन्छ । धेरै वर्षपछि वृद्धहरुद्धारा तयार गरिएको मौलिक, पृथक र मनोहारी सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पाउँदा म यति धेरै आनन्द, उत्साह र मनको स्फूर्तिपन प्राप्त गर्छु कि म ती वृद्ध कलाकारहरुप्रति हृदयदेखि आभार व्यक्त गर्छु । मानिस क्रियाशील भइरहन्छ, नयाँ रचनात्मक कार्यहरु गरिरहन्छ, नयाँ कुराहरु सिक्न तयार भइरहन्छ भने ऊ कहिल्यै बुढो हुदैन । ती वृद्धहरु यो कुरालाई सत्य सावित गर्न सफल हुन्छन् । 

 निरन्तरता

 मेरा शेषपछि पनि मानव आश्रम सधैं चलिरहन सक्छ भन्ने कुरामा म पूर्ण आश्वस्त हुन सकीरहेकी छैन । यो आश्रम सदैव चल्नको लागि नियमित स्थायी आयस्रोत हुनुपर्छ । यसका निम्ति स्थायी आयस्रोत निर्माणमा म लागिरहेकी हुन्छु । हालसम्म यसका स्थायी आयका स्रोतहरु– मेरो साइबर क्याफे, मानवका पुस्तकहरु, इच्छुक व्यक्तिहरुको आफ्नो आयको .०५% रकम जम्मा र बैँकमा रहेको केही अक्षय कोष रकम । बैँकमा राखेको अक्षय कोष वर्तमान समयमा धेरै देखिए पनि कालान्तरमा त्यो रकम मुद्रास्फितिले गर्दा एकदमै न्यून हुने हुन्छ । आज एक लाखले जति काम गर्न सक्छ दश वर्षपछि त्यो एक लाख आजको एक हजारभन्दा पनि थोरै हुन जान्छ । तसर्थ स्थायी आयका स्रोतहरु त्यस्तो सम्पत्ति हुनुपर्छ जसको मूल्य समयक्रमसँगै वृद्धि हुँदै जाओस् ।
   मानव आश्रमका पूर्व पश्चिमका दुई वटा शाखाहरुको निर्माण कार्य हेर्न जान्छु । त्यहाँ केही महिना बस्दा मलाई थाहा हुन्छ— मुलुकको जङ्गल विनास यति तीव्र गतिले भइसकेको छ कि वातावरण, जलवायु र वातावरण स्वास्थ्यप्रद हुन छाडेको छ । जङ्गली पशु पंक्षीहरु घट्दै गइरहेका छन् । काठको माग सदैव कायम भइरहने हुन्छ । निजी जङ्गल विकास गर्न सके काठ आपूर्तिद्धारा राम्रै आय आर्जन उपलब्ध भई पंक्षी र जमिनमा घस्रने साना जीवहरुको संरक्षण हुन सक्छ । म आश्रमको नाममा ती शाखाहरु रहेको स्थानमा २२÷२२ विघाहा जग्गाको व्यवस्था गर्छु र ती जग्गाहरुमा सागवान, चन्दन जस्ता महङ्गा काठहरुको आपूर्तिको लागि वृक्षारोपण गर्छु । ती बिरुवाहरु बढेपछि प्रति वर्ष १÷१ बिगाहामा रुख कटानी गरी बिक्री गरेर आश्रमले भविष्यमा पनि नियमित आय आर्जन गर्न सक्नेछ । पुनः वृक्षारोपण गरी यो क्रमलाई निरन्तरता दिन सकिने हुन्छ । आश्रमको भविष्य सुनिश्चित बनाउन केही ठूला उद्योग र निजी बैँकहरुमा पनि लगानी गरिसकेको छु । लगानीहरुबाट पनि पर्याप्त आम्दानी भइरहनेछ । म अब मानव आश्रमको भविष्यबारे केही अंशमा भएपनि निश्चिन्त हुन सक्ने भएकी छु । म नायुमा र पारुहाङ्गसँग फोन सम्पर्क गर्छु ।
“हेलो, मम्मी.....” कम्प्युटरको मोनिटरमा नायुमा देखा पर्छिन् ।
“हेलो नायुमा, म अब दुई महिनाका लागि त्यहाँ आउन चाहन्छु । बेलायतमा २० दिन, युरोपियन मुलुकहरुमा २० दिन र अमेरिकामा २० दिन घुम्ने मेरो विचार छ । मलाई त्यहाँका वृद्धाश्रम, हस्पिस र त्यस्तै मानव परोपकारी संस्थाहरुसँग एपोइन्टमेन्ट मिलाइदेऊ । म ती संस्थाहरु हेर्न, बुझ्न र ती संस्थाहरुसँग सम्बन्ध बढाउन इच्छुक छु ।”
“हुन्छ, मम्मी म ती कुराहरु मिलाउनेछु । डेट फिक्स गर्नेछु । पारुहाङ्गसँग म पनि कुरा गर्नेछु ।”
“हुन्छ, तिमी पनि कुरा गर, म पनि कुरा गर्नेछु ।”
म एक पटक, फेरि अन्तिम पटक विदेश भ्रमणमा जाने मनस्थितिमा पुग्छु ।


म र निर्मला बेलायत पुग्छौँ । छोरी ज्वाँई एयरपोर्टमा नै हामीलाई लिन आएका छन् । कहाँ बेलायत, कहाँ हाम्रो देश । तुलना गर्ने कुराहरु केवल मानवीय सम्बन्धरु मात्र हुन् । त्यहाँको बेग्लै परिवेश, वातावरण, व्यस्त मानिसहरु, व्यस्त जिन्दगी । हामी त्यहाँ रमाइलो भ्रमणका लागि गएका नभएपनि त्यहाँका केही सुन्दर पर्यटकीय स्थानहरु पनि अवलोकन गर्छौँ । सुन्दर वस्तुहरु कसलाई मन पर्र्दैन ? चित्ताकर्षक ती स्थानहरु कसरी सजाएर सुरक्षित राखिएका छन् ? ती स्थानहरुमा विश्वभरिका पर्यटकहरु आउँछन्, पैसा तिर्छन् र आनन्द प्राप्त गर्छन् । 
   परोपकारी संस्थाहरु पनि थुप्रै रहेछन् । अन्तर्राष्ट्रिय स्तरका संस्थाहरुमध्ये पनि हाम्रो जस्तो एसियाको देशहरुप्रति चाख राख्ने परोपकारी संस्थाहरुसँग हामी सम्बन्ध कायम गर्छौ । ती संस्थाहरु मध्ये दुईवटा संस्थाहरुको प्रस्ताव हुन्छ १५÷२० जना बेलायती वृद्धहरु केही समय (१ महिना देखि ६ महिनासम्म) फर्कने गरी बस्ने व्यवस्था मानव आश्रमले गरेको खण्डमा उनीहरुको संस्थामा पनि त्यस्तै व्यवस्था गरेर वृद्धहरुको सौहाद्र्रपूर्ण एवं सद्भाव भ्रमणको आदानप्रदान कार्यक्रमहरु गर्न सकिन्छ ।’
म त्यो प्रस्ताव स्वीकार्छु । ‘मानव’ आश्रमका वृद्धहरुले तयार पारेको मानव संसारका अनुहारहरु को फोटो एल्बम, मानव आश्रम सम्बन्धी परिचय पुस्तिका र मानवका अनूदित पुस्तक उपहार स्वरुप ती संस्थाहरुलाई प्रदान गर्छु । उनीहरुले पनि त्यस्तै केही उपहारहरु प्रदान गर्छन् । वृद्धहरुको सौहाद्रपूर्ण भ्रमणको व्यवस्था हुनसकेकोमा म र निर्मला प्रसन्न हुन्छौँ ।

फ्रान्स, जर्मनी र अमेरिकाका भ्रमणहरु पनि रमणीय नै हुन्छन् । रमणीय भन्दा पनि उपलब्धिमूलक । जेसिज, लायन्स क्लबहरुले जस्तै वृद्धहरुको वृद्धाश्रमहरुको पनि अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्न यी भ्रमणहरु उपलब्धिमूलक भए । अमेरिकाका दुई परोपकारी संस्था र फ्रान्स, जर्मनीका एक एक वटा संस्थासँग ‘मानव आश्रम’ को भाइचारा सम्बन्ध स्थापना हुन्छ । ती संस्थाहरुका अधिकारी, सञ्चालक एवं वृद्धाहरु मानव आश्रममा अस्थाई रुपमा आई बस्न सक्ने व्यवस्थाहरु, भाइचारा सम्बन्धहरु विस्तार भएको नयाँ परिपाटी विकास भएकोमा मैले हाम्रो विदेश भ्रमणलाई उपलब्धिमूलक नै मानेकी छु ।



आत्मवृतान्त


मानव–आश्रमको परिसरभित्र म आफैँले रोपेको रुद्राक्ष फल्न थालेको छ । लप्सी पनि फल्ने बेला भएको छ । ओखरको रुख पनि ठूलो बडेमाको भएको छ । चिलाउने र सल्लाका रुखहरु पनि ठूला भएका छन् । सानो सानो जङ्गलको तिर्सना यी रुखहरुले मेटाउँछन् । ‘जहाँ जङ्गल त्यहाँ मङ्गल’, म यी रुखमुनी बसेर आफ्नो विगत सम्झन बाध्य हुन्छु । फिस्टा, जुरेली, लाहाँचे, कोइली , धोबीचरा, ठौवा, चिवे, ढुकुर, बेसारो आदि अनेकौँ चराहरु पनि त्यहाँ आउँछन्, जान्छन् । चिरबिर गरेर मनमोहकतामा वृद्धि गर्छन् । 
    मनको तिर्सना कहिल्यै तुरिँदैन कि क्या हो ! शरीर कमजोर भइसकेको छ । हिँड्न, डुल्न र निकै बेरसम्म शारीरिक परिश्रम गर्न नसकिने भएको छ । तागत छैन, तर इच्छाहरु बढिरहेका नै छन् । मानिसहरु देख्दा अझै बाँच्ने रहर बढ्छ । एकपटक मैले वृक्षारोपण गरेका सागवान र चन्दनका विरुवाहरु निकै ठूला भइसकेकोे कुरा सुन्छु । हेर्न चाहन्छु तर ‘जाउँला जाउँला’ भन्दाभन्दै यतिका धेरै दिनहरु बितिसकेछन् । अब त गएँ भने पनि त्यो सबै जङ्गलको क्षेत्रभरि घुम्न पनि सक्तिनँ होला ।
   म आफ्नो देह निहाल्छु । आफैँले रोपेका वृक्षहरु ठूला हुनु भनेको म वृद्ध हुनु हो । वृद्धतामा विविध लक्षणहरु दाँत फुक्लनु, केश फुल्नु, आँखा कम देख्नु, कान कम सुन्नु, थोरै श्रम गर्दा नै स्याँ.... स्याँ... फ्याँ...फ्याँ.... हुनु, शरीरको छाला खुम्चेर चाउरीहरु पर्नु, आदि देखा परिसकेका छन् । नियमित ‘चेक अप’ भइरहेको भएता पनि बुढ्यौलीमा केहि न केही रोगहरु देखा पर्ने नै रहेछन् । ममा पनि देखा पर्न थालेको छ । म सोच्न विवश हुन्छु— कतै म थाकिसकेको छु कि ! विश्रामको समय भइरहेको छ कि !
   पार्टीको सक्रिय क्रियाकलापबाट म मात्र होइन, सौन्दर्या र शोभनाले पनि सन्यास लिइसकेका छन् । ती दुई जना पनि आश्रममा नै बस्न थालेका छन् । आश्रमको स्थापनापछि आजसम्म झन्डै सयजना वृद्धहरुको मृत्यु भइसकेको छ । ती मृतहरुको सम्झना गर्नेहरु कोही अझै पनि छन् कि ? मरिसकेकाहरुको कुनै अस्तित्व हुँदैन । मरिसकेका ती वृद्धहरुलाई कसैले सम्झे पनि नसम्झे पनि के फरक पर्छ र ? जब तिनीहरु नै छैनन् । म पनि कुनै दिन यो संसारमा रहन्न । म नभए पनि मलाई मानिसहरु सम्झून्, अहिले म चाहिरहेको छु । तर जब म हुन्नँ तब मेरो अहिलेको अर्थात् म बाँचिरहेको बेला मैले चाहेको कुराको के अर्थ हुन्छ र ....
“अहो ! तपाईँ त एक्लै यहाँ बसिरहनु भएको रहेछ । हामी खोजी रहेका छौँ ।” डा. सौन्दर्या र शोभना मसँगै म बसेको काठको फलैँचामा बस्छन् ।
“बस्नुहोस् । अब बसिरहने दिनहरु आएछन् । केही पनि गर्न सकिने मेरो अवस्था छैन । म अब सबै कार्यहरुबाट सन्यास लिएर आफ्नो शेष जीवनमा विश्राम गर्न चाहन्छु ।”
“विश्रामले मृत्युलाई छिट्टै निम्त्याउँछ भन्नु हुन्थ्यो तपाईँ नै ।”
“भन्थे जब म सक्षम र बलवान थिएँ । तरुनी थिएँ । तर अब त मलाई मृत्यु प्यारो हुन थालेको छ ।”
“किन त्यस प्रकारको नकारात्मक ढङ्गले सोच्न लाग्नुभएको छ ।”
“धेरै धेरै मृत्युहरु देख्दा देख्दा । मानवको मृत्यु, कमलासोरीको मृत्यु, जङ्गवीरको मृत्यु...... १०० भन्दा बढी यही वृद्धाश्रमका वृद्धहरुको मृत्यु । मृत्यु !  मृत्यु खेप्दाखेप्दा, झेल्दाझेल्दा मृत्युसँग म अभ्यस्त भइसकेकी छु र एक पटक हुने जन्मझैँ एक पटक हुने मृत्युको प्रतीक्षा अब त मलाई रमाइलो लाग्न थालेको छ । मानिसहरुले सोचेजस्तो मृत्यु भयावह, घृणाजन्य र दुःखद् नहुँदो रहेछ बरु सब झन्झटबाट मुक्त गर्ने सुखद्, महान् र प्रेममय हुँदो होला भन्ने पो त सोच्न थालेकी  छु ।” 
“आ.... यस्तो के नरमाइलो कुरा गर्नु भएको । हामी त एउटा महत्वपुर्ण सल्लाह पो गर्न आएका ।”
“कस्तो सल्लाह ?”
“शोभना र मेरो घर पनि हामी यहाँ बस्न थालेपछि रित्तो भएको छ । त्यसको भोगचलन गर्न लोभी–पापी भतिजा–भतिजी, भान्जा–भान्जीहरु र अन्य नातेदारहरुको होडबाजी चलेको छ । चल्न नदिन यो आश्रममा कालान्तरमा बस्न आउने अनाथ बालकहरुका लागि ती घरहरुलाई पनि बालआश्रममा परिणत गरौँ कि भन्ने......।”
“अति उत्तम विचार ! गरे भइहाल्यो नि ।”
“तर हामी चाहन्छौँ ती बालआश्रमहरु पनि मानव–आश्रमकै अङ्गहरु होऊन् । मानव–आश्रम अन्र्तगत नै रहून् ।”
“त्यसमा पनि मेरो सहमति छ ।”
“तर, हाम्रो एउटा प्रस्ताव छ ? ‘मानव आश्रम’ नाम परिवर्तन गरेर ‘मानव संसार’ नाम राखौँ ।”
“मानव संसार !”


डा. गोकुलधोज ‘मानव’.....
गोकुल ‘मानव’.....
‘मानव’, ‘मानव आश्रम’,....... “मानव संसार !”
म परिवर्तना । ‘मानव’सँग भेट हुनुभन्दा अगाडि म जूनकीरी जस्तो आफ्नै प्रकाशले चम्किरहेकी थिएँ । आफ्ना प्रतिबद्धताहरु थिएँ र अझै छन । ती प्रतिबद्धताहरु अझै पूरा हुन बाँकी छ । त्यसलाई पूरा गर्न कैयौँ पिँढीको सक्रियता जरुरी छ । त्यस्तो सक्रियताको जग तयार गर्न हाम्रो पार्टी सफल भएको छ । त्यो महत्वपूर्ण कार्यमा ‘मानव’ ले मलाई होइन, एउटी देशभक्त प्र्रधानमन्त्री परिवर्तना जो असमान सन्धिका विरोधी थिइन्, तिनलाई बचाएर अभूतपूर्व योगदान दिएका छन् । देशभक्त प्रधानमन्त्रीलाई बचाएर उनले मुलुकलाई बचाएका छन्, भावी पिँढीका हक,अधिकार जोगाएका छन् । त्यो गुण मुलुकले तिर्न सक्नेछैन ।
म फेरि पनि प्रधानमन्त्री भइरहँदा ‘मानव’ ले मलाई बचाएको गुण तिर्न नसकी म बैगुनी हुने थिएँ । मलाई उनले दिएको उधारो जिन्दगी उनकै समर्पणमा बिताएकी छु । उनीसँग भेट भएपछि म उनको छाया जस्तो मात्र रहेँ कि ? म चम्किएँ  तर मेरो आफ्नो प्रकाश थिएन । चन्द्रमा जस्तो उनको प्रकाश परावर्तन गरिरहेकी थिएँ । उनको मृत्यु पछि म खोक्रो, प्रकाशविहीन, सेलाई रहेको पिण्डजस्तो मात्र भएँ । त्यो पिण्ड अहिले पुरै सेलाई सकेको छ र ब्लाकहोलमा पसिसकेको छ । 
   अब म गतिहीन भएकी छु । मेरो गन्तव्य थियो, अझै छ । तर म त्यो गन्तव्यसम्म पुग्नका लागि जतिसम्म अगाडि पुगेँ, प्राप्त गरे, गुमाएँ, त्यो मेरो आफ्नो अंश भागमा परेको आफ्नै जीवन थियो । त्यो सकिने बिन्दुतिर द्रुततर वेगले बढिरहेको छ, समाप्तितर्फ । गुनासो गर्ने ठाउँ छैन, सबैले पाउने जिन्दगी उस्तै उस्तै हो— केही सुखद् क्षणहरु, धेरै दुखद् क्षणहरु । दुःख नहुने हो भने सुखको के महत्व ? दुःखहरु माझ फुलेका सुख नै सुखकर हुन्छ । सुखहरु भोगिसकेकी म र मेरो भागमा अब के बाँकी रहेको होला र ? घस्रिएर अन्तिम बिन्दुसम्म, अन्तिम बिसौनीसम्म पुग्नु मेरो नियति भएको छ । यस्तै नियति भोगिरहेका वृद्धाहरुबीच म छु, तिनीहरु..... वृद्धहरु ! वृद्ध भई बाँचिरहनु पनि जीवनको अन्तिम हिस्सा हो जो बाँचिरहनेहरुले भोग्नै पर्दछ । भोग्न पाउनु भनेको विगत जीवनको सम्झना गरेर त्यसमा प्रसन्न र खिन्न्न हुनु सिवाय अरु के गर्न सकिन्छ..... ? भविष्य छैन, विगत सम्झेर जीवनकाट्नु— बुढ्यौली जीवनको मज्जा रहेछ । म त्यो मज्जा र स्वादको रसपान गरिरहेकी छु । खल्लो स्वाद...... एउटा स्वाद त हो, चाख्दा रमाइलै लागिरहेको हुन्छ ।
   ‘मानव’ मेरो प्राण थियो कि ! प्राण हराएपछि निष्प्राणजस्तो यन्त्रवत् जीवन गुजारेँ, मानव संसारमा रुमल्लिएँ । आखिर म ‘मानव’ संसरको एउटा सानो हिस्सा हुँ, सौन्दर्या र शोभना पनि यसैका हिस्सा हुन आए । ‘तेरो मेरो’ भनेर अनेकौँ झैझगडा, तँछाड मछाड, मारामार, घम्साघम्सी सब गरिन्छ, अन्तमा आखिर लिएर जाने त केही रहेनछ । सब छोड्नैपर्ने, छाडेर जानै पर्ने ! सबथोक यहाँ नै थियो, मेरो हो भन्ने भ्रम पालियो । जन्मनै पथ्र्यो अथवा काकताली, संजोग केके जोजन परेर जन्मिन्छौँ, त्यो हाम्रो खटनमा छैन । हामी त समयको अनन्त अन्तरालको एउटा नगण्य क्षण रहेछौँ । एउटा सपना रहेछौँ । एउटा भ्रम जस्तो रहेछौँ । छौँ र भोलि ‘थियौं’ हुनेछौँ । पर्सी हाम्रो केही केही रहनेछैन । हामी पनि  थियौँ भन्ने कसैलाई सानो सम्झना पनि रहनेछैन । तब के ? हामीले बाँचेको र यावत् कार्यहरु गरेको बेकार हो ? सपनाजस्तै हो ?
अनन्त अन्तरालमा कसरी हामीले मनुष्य जुनी पायौँ, जन्म्यौ, हुक्र्यौ र बाचुन्जेल केही न केही वृत्तिमा अल्मलिनु पर्ने हो, ग¥यौँ । त्यो ठूलो कुरा हो । मान्छेको नश्वर शरीर मट्टी भएर जान्छ तर उसका रचना, कृति र कीर्ति मानव समाजमा रहिरहन्छ । उसलाई भावी पिँढीको सम्झनामा उसको रचना, कृति र कीर्तिले जीवित गराइरहन्छ । ‘मानव’ लाई पनि उनको रचना र कृतिका लागि मानिसहरुले साहित्यप्रति अनुराग राखिन्जेलसम्म सम्झिरहनेछन् । उनको रचना कालजयी बन्न सक्यो भने युगयुगसम्म उनी बाँचिरहनेछन्, उनीसँगै अलिकति थोरै म पनि बाँचिरहनेछु ।
    मैले जे–जति गरेँ । सबै क्षेत्रमा थोरैथोरै गरेकी रहिछु । त्यो पानीका थोपाहरुझैँ सुकेर गए । तर मैले एउटा काम चाँहि मेरा सारा शक्ति केन्द्रित गरेर गरेँ, त्यो हो– मानव संसारको निर्माण । त्यो चारैतिर छरिएको पानीझैँ सुक्नेछैन । एउटा सानै कुवा भए पनि त्यहाँ तृष्णा बोकेका प्यासी वृद्धहरुले आफ्नो जीवनको अन्तिम प्यास त्यस कुवाको केही घुट्का पानी पिएर मेटाउनेछन् । त्यसले मलाई मेरो यो जीवनको अन्तिम कालखण्डमा एउटा तृप्ति, सन्तुष्टि र सन्तोष प्रदान गरेको छ । यति मात्र पनि मैले गर्न सकेँ, एउटा अदना, जबो अबला मान्छे म, यति पनि गर्न सकेकोमा मनमनै तृप्त छु ।
   तृप्ति, सन्तुष्टि, ढाडस, प्रोत्साहन सब कुराहरु बढी जब हातगोडा चल्न छाड्छन्, बुढेसकालले थला पार्छ, त्यतिबेला आवश्यक हुँदोरहेछ । छोराछोरी, सन्तानहरु, आफन्तहरु, सबैभन्दा बढी त्यतिबेला चाहिँदो रहेछ । मेरा छोराछोरीहरु ? नायुमा विदेशीसँग बिहे गरेर विदेशै भास्सिई । पारुहाङ्गले स्वदेशी नै बिहे गरे पनि, उतै ऊ पनि भासिएको छ । धन्य, मैले बुढेसकालमा बेसहारा हुनेहरुका लागि वृद्धाश्रम स्थापना गरेँ र अहिले त्यही आश्रम मेरो सहारा भएको छ । आसरा भएको छ । 

यतिका वर्ष बाँचेर यो उमेरमा पनि मलाई मानिसहरुले बुझेका छैनन् । मलाई बुझ्ने एक जना ‘मानव’ मात्र थिए, जोसित म पूरै खुल्न सक्थेँ, घुलमिल हुन सक्थेँ र मेरो अन्तरहृदयमा प्रवेश गर्दा स्वागत गर्न सक्थेँ । त्यस्तो अरु मानिस मैले जीवनमा पाइनँ, पाउन सकिनँ । पाउने चाहना पनि गरिनँ । ‘मानव’को हृदयको हर कुनाकुना, मनको हर सतह र तहहरुमा म पुगेकी थिएँ र मैले उनको दिल, दिमाग र दुनियाँ चाहारेकी थिएँ तर उनीसँग लामो समय काट्न पाइएन......। छोटो, मीठो दाम्पत्य जीवन— हाम्रो त्यहीँ मधुर छोटो मिलनको सम्झनामा मैले यति लामो जीवन काटेँ, अझै त्यसैको सम्झना गर्दै म यस धरतीबाट टाढा जान चाहन्छु । शून्यमा विलीन हुन चाहन्छु, ‘मानव’ को सम्झना गर्दागर्दै चिर निद्रामा लिन हुन चाहन्छु ।
   यो मेरो मनको अन्तरभित्रको कुरा मबाहेक अरुले बुझेका छैनन् । मैले पनि त अरुको मनको कुरो बुझेको छैन । बुझेर, बुझाएर पनि अब के फरक परिहाल्ला र ? मलाई लागिरहेको कुराहरु, मेरो अतृप्त इच्छाहरु अझैअझै कति छन् कति ? कसलाई सुनाऊँ ? कसलाई देखाऊँ मेरा च्वस्स च्वस्स दुख्ने भित्री घाउहरु ? म आफै त आफूलाई बुझ्दिनँ । आफैँलाई थाहा छैन, म के चाहन्थेँ । म के चाहन्छु । थाहा पाएको भए त त्यसैका लािग मरिमेट्थेँ क्या....र..., र म अहिले यो आश्रममा हुने थिइनँ  । मभित्र छताछुल्ल पोखिएका भावहरु, उतार चढावहरु, घाउहरु, मर्म, वेदना, कष्ट, पीडा,इच्छा, अतृप्त चाहनाहरु, लालसाहरु, अभिलाषाहरु......कति छन् कति ? म ती सब कुराहरु थाहा पाउँदिन, थाहा पाउन सक्तिनँ । म ! म ?  ‘म’ यो कम महत्वको कि निक्कै महत्वको । जबसम्म म छु, संसार छ । जब म हुन्न, संसारको के महत्व ? म मिथ्या हुँ, भ्रम हुँ । ‘म’ पालेर हरेक ‘म’ हरु बाँचिरहेका छन्, सपना जस्तै मिथ्या भ्रमजालमा बाँचिरहेका छन् । जब म हुन्न, सब सपनाजस्तै भ्रम समाप्त.....अहा ! मनको यो कस्तो तरङ्ग !
तरङ्ग...तरङ्ग... मनै भरङ्ग पार्ने मनको तरङ्ग । म सब सब लेख्न चाहन्छु । मनको उच्छ्वास पोख्न चाहन्छु, मनको सुस्केरा छोड्न चाहन्छु, चित्त बुझुन्जेल मनको दुःख केलाउन चाहन्छु, खेलाउन चाहन्छु मनलाई, सेलाउन चाहन्छु भतभती पोलिरहेको मनको वेदना..... पुकार मनको । मनको पुकार, अन्तरआत्माको पुकार, अन्तरमनको आवाज— जसलाई मारेर बाँचेको अर्थ छैन । जुन दिन मान्छेले आफ्नै अन्तरमनको आवाज सुन्न छोड्छ—त्यो क्षणदेखि उसको मृत्यु हुन्छ । म पनि आफ्नै अन्तरमनको पुकारले डोरिएँ, आफ्नो अन्तरमनको दिव्य पुकार बचाएर राख्न सकेँ कि सकिनँ ? त्यो त मलाई थाहा भइरहेको छैन.... मन बहकिरहेको छ । यो के भएको होला ?
   अब म लेख्न नसक्ने अवस्थामा पुग्दै छु । हातहरु, औँलाहरु कलम समातेर लेख्न नसक्ने लुला हुन थालेका छन् । आज म मलाई धेरैधेरै लेख्न मन लागेको छ । कागजभरि मनको सबै हाल लेख्न मन लागेको छ तर लेख्ने शब्द खोई ? शैली खोई ? सामथ्र्य खोई......? आज मलाई कसैले डिस्टर्व नगरोस् । म अन्तिम पटक आज दिनभरि लेख्न चाहन्छु । बीसौँ वर्षदेखि मैले लेखिरहेको यो आत्मवृतान्त भनौँ या संस्मरण ! जे भने पनि हुन्छ ।
    आज दिनभरि म लेख्नेछु । मैले आजसम्म जीवनभरि भोगेको जिन्दगी, झेलेको आँधी बेहरी, चाखेको स्वाद, पाएको सन्तुष्टि, भोक,प्यास, तृप्ति,प्यास, सब... सब....। सबको वृतान्त आज लेख्नेछु । किन कि अब म लेख्नै नसक्ने, सोच्नै नसक्ने गरी रित्तिसकेकी छु....
......आज म दिनैभरि लेख्नेछु, अन्तिम पटक म लेख्नेछु । शरीर कमजोर भइसकेको छ । मलाई सुतौँ सुतौँ लागिरहेको छ, प्रतिक्षारत त्यो.... त्यो मानव हो, मृत्यु हो..... मेरो नजिक आइरहेझैँ लागिरहेछ । आज जति लेख्न सक्छु.....लेख्छु.... लेख्छु...... । भोलि यो मेरो जीवनभरी मैले भोगेको, पाएको सुखदुःखको संस्मरणको लेखोट म मेरी प्यारी साथी डा. सौन्दर्यालाई दिनेछु । उसलाई नासो पनि, उपहार पनि मेरो जीवनभरिको संस्मरण वा आत्मवृतान्त । 


चोखो प्रेम


परिवर्तना सुतिरहेकी हुन्छिन् । आँखा चिम्म गरेकी छिन् । अनुहारमा ओजस्वीपन देखिन्छ । सन्तोषका कि असन्तोषका सानातिना, लामा छोटा, चाउरीका धर्साहरु । ती धर्साहरु बोलिरहेका हुन्छन्— तिनले जीवनको लामो अनुभव सङ्गालेका छन् । ती धर्साहरु—सङ्घर्षका, उपलब्धिका, उत्साहका, विषाद्का अनेकन मुजाहरु ।
यस्तो वृद्धावस्थामा पनि तिनी आकर्षक छिन् भने तरुनी हुँदा कति सुन्दरी थिइन् । पहिलो पल्ट देख्ने जो सुकै पनि सोच्न विवश हुन्छ । “फलामकी कठोर आईमाई” खोई, कठोरता त तिनको अनुहारमा कहीँ कतै देखिँदैन, बरु ममता, प्रेम, स्नेह, मित्रता र शान्तपन पो त्यहाँ झल्किरेको देखिन्छ ।
  कुर्सीमा डा. सौन्दर्या बसेर परिवर्तनाले दिएको आत्मवृतान्त पढिरहेकी छिन् । तन्मयतासाथ पढिरहेकी सौन्दर्या, घरिघरि सुतिरहेकी परिवर्तनालाई पनि हेर्दै गर्छिन् । तिनको चेहरामा घरि हर्ष, घरि विषाद,विस्मय आदिका अनौठा भावहरु आउँछन्, जान्छन् । कहिले तिनको शरीर बाउँडिन्छ । कहिल्यै तिनी ओँठ टोक्छिन्, कहिले आफ्नो अनुहार सुम्सुम्याउँछिन् । कहिले तिनी आफ्नो शरीरलाई पूरै खुकुलो छोड्छिन् । एउटा प्रिय साथी, जोसँग जीवनमा निकै लामो समय तिनले काटिन् तिनको अन्तरभित्र उठेका छालहरु, भुकम्पहरु, आँधीहुरी, भुँमरी र हुण्डरीहरु.....
“परी, प्यारी साथी परी ।”
“हुँ......”
“के तिमी निधाएकी छ्यौ ?”
“हो, केही बेर निधाएछु । किन ?”
“सक्छ्यौ भने उठ । कोठामा मात्र सुतिरहँदा पट्यार लाग्छ । जाऊँ रुद्राक्षको बोट मुनि रहेको फलैँचामा ।”
“हुन्छ ।” परी र सौन्दर्या फलैँचामा जान्छन् । त्यहाँ थुप्रै वृद्धहरु हुन्छन् । उत्साह र सम्मानसाथ स्वागत गर्छन् । 
“परीलाई कस्तो छ ?” वृद्धहरुको उत्सुकता ।
“अहिले त उहाँलाई राम्र्रो छ ।”
“उहाँलाई खेल्न मन छ कि छैन ?”
“के खेल ? म तयार छु ।” परिवर्तना भन्छिन् ।
सबैजना गोलो घेरा बनाउँछन् । घेराभित्र एउटी वृद्धा पसेर भन्छिन्¬¬¬– “यति यति पानी ।”
“देऊ है रानी....”
“यति यति पानी”
“देऊ है रानी....”

“ढुकुमुकु ढुकुमुकु कसको हात ?”
“राजाको ......होइन, होइन राष्ट्रपतिको......”
“ढुकुमुकु ढुकुमुकु कसको हात ?”
“प्रधानमन्त्रीको” सबै जोडले हाँस्छन् ।
...........
“साङ्गलाले बाँध्दा भएन 
डोकाले छोप्दा भएन
ढिकीले किच्दा भएन 
ल है....मेरो भोटे कुकुर छाडिदिए है ।”
वृद्ध बालकहरु, बालकझैँ भएका वृद्धहरु । दौडादौडी, कुदाकुद, लखेटालखेट, भागाभाग.... मनको कुनामा लुकेको बालपनले उनीहरुलाई बाल्यकालको कालखण्डमा पु¥याएको छ । बालपनलाई उमेरले छेक्दैन, उनीहरु बालबच्चाझैँ हर्षित भइरहेका छन् । फेरि साँच्चै तिनीहरु त्यस्तै बालकहरु जस्तै हुनसके..... तर समय अति निर्दयी हुन्छ । 


“आज ‘मानव जयन्ती’ । हिँड साथीहरु त्यो मानवको प्रतिमा सामु.......।”
परिवर्तना सौन्दर्या र सोभनालाई भन्छिन् ।
“आज ‘मानव जयन्ती’ । हिजो अस्ति किन भन्नुभएन । एउटा भव्य समारोह नै गर्न सकिन्थ्यो ।”
“त्यस्तो रमाइलो समारोह यो आश्रममा सम्भव छैन ।”
“किन ?”
“किन कि थाहा छैन तिमीलाई ? आज रामदेव, ‘समानान्तर आकाश’की सुस्मिता र रुपाको मृत्यु भएको छ । अरु पनि तीनजना मृत्यु शैयामा छन् । यहाँ भव्य समारोह गर्दा मरिसकेकाहरु र मर्न लागेकाहरुको उपहाँस हुन जान्छ । तापनि हामी तीनजना चाँहि त्यहाँ जाऊँ ।”
परिवर्तना वृद्ध भएर पनि सबै वृद्धवृद्धाहरुको स्थिति थाहा पाइरहन सक्दिरहिछिन् । उनको ध्यान आफूमा मात्र नभएर अरुहरु माथि पनि केन्द्रित रहेछ । म तीनवटा फूलमाला तयार गर्छु । अबिर, फूलमाला लिएर हामी प्रतिमा सामु जान्छौँ । त्यहाँ हामी भन्दा अगाडि नै अरुहरु पनि पुगिसकेका रहेछन् ।
परिवर्तना, डा. सौन्दर्या र शोभनाले ‘मानव’को प्रतिमामा फूलमाला लगाइदिन्छन् । सबैले ताली बजाएर सम्मान व्यक्त गर्छन् । 
   प्रतिमामुनि निर्माण गरिएको सानो फलैचाँमा परिवर्तना, डा. सौन्दर्या र शोभना बस्छन् । 
“म अब धेरै थाकिसकेकी छु । म त अब बाँच्दिनँ कि क्या हो, प्यारी साथीहरु ।”–परिवर्तना ।
“त्यस्तो दुःखद् कुरा नसोच्नुहोस् ।” शोभना भन्छिन्, “तपाईँ सय वर्ष बाँच्नुहुन्छ ।”
“तिमीलाई सम्झना छ, सौन्दर्या ।” – परिवर्तना ।
“के ?”– सौन्दर्या ।
“म जब ६० की थिएँ । त्यति बेला मैले भनेकी थिएँ, ६० बाट ६ झिकिदियो भने ० बाँकी हुन्छ, त्यस्तै म सय वर्ष बाँचे भने पनि १०० बाट १ झिके पछि पनि ०० मात्र बाँकी हुन्छ । ० शून्य हामी सबै शून्य रहेछौँ । १ सँग मिलेर विभिन्न नाटक मञ्चन ग¥यौँ, नाटक सकियो । हात लाग्यो शून्य..... शून्य ।” — परिवर्तना ।
“निराशाजनक कुरा । किन गरिरहनु भएको छ, यस्ता निरर्थक कुराहरु ।”— सौन्दर्या ।
“निरर्थक होइन यथार्थ । वास्तविकता, आँखा अगाडि आइरहेको आफ्नो मृत्यु देखेर पनि यस्तो कुरा नगर्नु भनेको त...... बुझ पचाउनु हो । म सत्यलाई निर्र्भीकतासाथ सामना गर्ने सामथ्र्य सञ्चय गरिरहेकी छु ।”

बेलायतमा नायुमा र जोन्सनको मन मुटाव बढेर छोडपत्रमा टुङ्गिएको रहेछ । नायुमाको छोरो पनि १८ वर्ष नाघेपछि नै लन्डनबाट टाढा अर्को सहरमा नोकरी गर्न थालेकोले नायुमा एक्लै बसिरहेकी रहिछ । उसले सौन्दर्यालाई फोन गरेर आमाको अवस्था पनि बुझेकी र मुलुक फर्कन चाहेकी कुरा बताएकी थिइन् । विदेशीहरुको लागि विवाह पछौटे मुलुकको जस्तो जीवनभरी निर्वाह गरिरहनुपर्ने बाध्यकारी अवस्था छैन । मन मिलेसम्म सँगै बस्यो अथवा अर्को मन प¥यो भने ‘डाइभोर्स’ ग¥यो, अर्कोसँग पुनःविवाह ग¥यो । बिहे गर्नु र छुट्टिनु, फेरि अर्को बिहे गर्नु उनीहरुको लागि त्यस्तो ठूलो कुरो हुँदैन ।
   पारुहाङ्ग पनि विश्वव्यापी जैविक स्थिति र विविधताको अनुसन्धान कार्य गर्ने टोली प्रमुख भएर नेपाल आउने भएको छ । ती दुइटै सुखद् समाचार डा. सौन्दर्या परिवर्तनालाई सुनाउँछिन् “नायुमा छोरी र छोरा पारुहाङ्ग पनि मुलुक फर्कने भएका छन् । नायुमा त सधैँ बस्ने गरी ।”
“आऊन्, मुलुक हामी सबैको हो, उनीहरुको पनि हो ।” परिवर्तना सामान्य प्रतिक्रिया व्यक्त गर्छिन् । त्यो प्रतिक्रियामा खासै प्रसन्नता छैन । छोराछोरीले पालना गर्नु पर्ने दायित्व तिनीहरुले पूरा गरेनन् भन्ने तिनको भित्री मनमा लागेको हुनसक्छ ।
“अब तिनीहरुले तपाईँलाई माया गर्छन्, स्याहार सम्भार, सेवा शुश्रषा गर्छन् । यो खुसीको कुरा हो ।”
“हुनसक्ला । तर अब मलाई मेरा छोराछोरीको सहारामा बस्नुपर्ने बाध्यता छैन । म आश्रित हुन चाहन्नँ । ‘मानव’ संसारका कोही पनि परनिर्भर छैनन् ।


अस्पतालको बिस्तारामा परिवर्तना सुतिरहेकी छिन् । छेउको स्टुलमा बसेर डा.सौन्दर्या परिवर्तनाको आत्मवृतान्त पढिरहेकी छिन् । आत्मवृतान्त आधाभन्दा धेरै पढिसकेकी छिन् । आत्मवृतान्त पढ्दा तिनको मन कुनै कुनै बेला एक तमासको भएर आउँछ । परिवर्तनाले जे भोगिन्, त्यो तिनी आफैँले भोगे जस्तो सम्झन पुग्छिन् । 
      ‘मानव’ नै त्यस्ता व्यक्तित्व हुन् जसले पुरुषप्रतिको मेरो घृणा र द्धेष पखाल्न मद्दत गरे र मलाई मानव कल्याणमा जीवन अर्पण गर्न प्रेरित गरे । उनकै बलिदानको जगमा म प्रधानमन्त्री बन्न सकेँ । जीवनको घोर निराशाबाट उकासेर आशाको गोरेटोमा डो¥याउने उनै हुन् । परिवर्तनाका लागि जति नै उनी मेरा लागि पनि महत्वपूर्ण छन् । महान् ती ‘मानव’ म उनीप्रति आजीवन नतमस्तक छु......”
सौन्दर्या सोच्न पुग्छिन् ‘साँच्चै परिवर्तनाले आफ्नो संस्मरणमा ‘प्रेम संसारमा मलाई पुनः फर्काउने उनै हुन्’ भन्ने लेखेकी साँचो हो । उनले मलाई प्रेरित नगरेका भए म जीवनदेखि पलायन भएर निस्सार जीवन व्यतीत गर्ने एउटी अबला, निराश, दुःखी नारी मात्र हुने थिएँ ।’
‘संस्मरण वा आत्मवृतान्त कति सुन्दर, यथार्थ, कोमल, कठोर र सरल ढंगले लेखेकी रहिछन्’ सोच्दै सौन्दर्या परिवर्तनालाई हेर्छिन् ‘यिनी पनि मानव जस्तै महान् छिन् । श्रद्धा गर्न लायक, सम्मान योग्य महान् नारी !’
‘छोराछोरीले छोडेर गए । पतिको मृत्यु भयो । कैयौँ घात, प्रतिघातहरुको घाउ लाग्यो । ऐया भनिनन् । सहिन् । ती शोकलाई शक्तिमा बदलेर कैयौँ मानिसहरु (म समेत) को उद्धार गरिन्— महान् नारी ! डा. सौन्दर्या निदाइरहेकी परीका खुट्टा सुमसुमाएझैँ गरी छुन्छिन् । ढोगी दिन्छिन् अपार श्रद्धासाथ । ‘यी महान् नारीको पद चिन्हमा हिँडेर म पनि यिनी जस्तै बन्न सकूँ । यिनी मेरा प्रेरणास्रोत हुन् । प्रेरणास्रोत, पथप्रदर्शक, जीवन–ज्योति......।’
    फेरि डा.सौन्दर्या पढ्न थाल्छिन् । डाक्टर र नर्सहरु आउँछन् । सबै बिरामीको ‘चेकअप’ गर्दै आउँछन् । परिवर्तनालाई पनि चेकअप गरिसकेपछि एकान्तमा डाक्टर उनलाई भन्छन्— “स्थिति गम्भीर छ । यो हप्ताभरिमा पनि सुधार भएन भने..... होइन हामी एक हप्ता पर्खन सक्तैनौँ । उहाँलाई सहरको प्रसिद्ध अस्पताल लगिहाल्नु उपयुक्त हुनेछ ।”


आई.सी.यू. कक्षमा एकहप्ता राखेर पनि परिवर्तनाको स्वास्थ्य स्थितिमा खासै सुधार देखिएन । तिनी एकोहोरो मात्र हेरिरहन्छिन् । श्वास फेर्छिन्, यताउता चल्मलाउनु बाहेक अवचेतन अवस्थामा हुन्छिन् । डाक्टरसँग परामर्श गर्दा तिनी ‘कोमा’ मा छिन् । त्यस्तो अवस्था ठूलै मानसिक आघात पर्दा, दुर्घटना  भएर मष्तिष्कमा चोट लाग्न गएमा हुनसक्छ र तिनलाई आई.सी.यू मा राखिरहन जरुरी नभएको स्पष्ट पार्छन् ।
मानव आश्रम ‘हस्पिस’ पनि हो । म आश्रममा बाचुन्जेल बस्छु र त्यहाँ नै मर्नेछु ।” भन्ने तिनको भनाइ सौन्दर्या सम्झिन्छिन् । सौन्दर्या तिनलाई मानव आश्रम अस्पतालमा फर्काउँछिन् । आश्रम अस्पतालको एउटा छुट्टै वार्ड छ जहाँ बिरामी वृद्धहरु मृत्यु पर्खिरहन्छन् । बाँच्ने सम्भावना नभएकाहरुलाई त्यहाँ राखिन्छ । परिवर्तनालाई पनि त्यहाँ राखेर सौन्दर्या, शोभना र अरु वृद्धहरु तिनलाई पर्खिरहन्छन् ।
   मान्छेका मृत्युका रुपहरु अनेक हुन्छन् । कोही बोल्दाबोल्दै खुत्रुक्क मर्छन् । कोही गोली लागेर वा बम विस्फोटमा परेर एकै सेकेण्डमा मर्छन् भने कोही लामो समयसम्म ओछ्यानमा परेर मर्छन् । सौन्दर्या आफू सानो छँदा आमाहरुले पापी र धर्मात्मा मानिसहरुको मृत्युबारे गरेको कुरा सम्झिन्छिन् । धर्मात्माको सास टुपिबाट बोल्दाबोल्दै फुस्स जान्छ रे, कम धर्मात्माको मुख, आँखा, नाक वा कानबाट जान्छ रे । तर पापीको चाँही मलद्धारबाट जान्छ रे । पापीको सास जान पनि निक्कै बल पर्छ रे । परिवर्तना त पापी हुँदै होइनन् । यत्रो मानव संसार स्थापना गरेर राजनैतिक एवं सामाजिक काम गरेर धेरै मानिसको कल्याण गर्ने तिनी कसरी पापी हुन सक्छिन् ? सौन्दर्या मनमनै तर्क गर्छिन् ।
       ‘म पो अविवाहित रहेँ । परिवर्तनाको त छोरा, छोरी, नाति, नातिनीहरु छन् । तिनीहरुको मुख हेर्नका लागि पो तिनको सास कतै अड्किरहेको छ कि ? शोभना र मैले कुरा गर्दा प्रसंगवश नायुमा र पारुहाङ्गको नाम लिँदा आँखा घुमाएर चारैतिर हेरेकी थिइन् । अहिले पनि एकोहोरो हेरिरहेकी छिन्— ‘आमा हो ! आमाको छातीमा विशाल ममता भण्डार हुन्छ’ सौन्दर्या सोच्छिन् । यस्तो सोचाइ मनमा आउनासाथ परिवर्तनाको सहज मृत्यु कामना गर्दै सौन्दर्या भन्छिन् “प्यारी साथी मलाई सुन्दै छ्यौ ।”
“पारुहाङ्ग र नायुमा फर्कदै छन् । तिमीले उनीहरुलाई नै पर्खेकी र केही भन्न चाहेकी हौ भने केही समयपछि तिनीहरु आइपुग्नेछन् । धैर्य गर । यदि तिनीहरुका बारे फिक्री गरिरहेकी छ्यौ भने तिमी जस्तै आमाले दिने माया ममता दिन म तयार छु ।” कान छेउमा नै मुख लगेर सौन्दर्या भन्छिन् । 

समय आफ्नो रफ्तारमा बितिरहेको छ । अँध्यारो  घनीभूत भइरहेको छ । वातावरण पनि उदासलाग्दो उजाड जस्तो बन्दै गइरहेको छ । मध्यरात सुनसान, चकमन्न छ । घरिघरि डाक्टर, नर्स र बिरामीहरु कराएर निस्तब्धता भङ्ग गर्छन् । न्याउली चरी कराएको धेरै समयसम्म सुनिएको थिएन । अस्पताल बाहिर नै न्याउली चरी कराउँछ । कि...री...री...झ्याउँकिरी कराइरहेको छ । कस्तो उराठलाग्दो वातावरण, उदास रात ! सौन्दर्या र शोभना परिवर्तनालाई रुङ्दै पालै पालो झकाइरहेका छन् । 
होहल्लासाथ पारुहाङ्ग र नायुमा आइपुग्छन् “मम्मी, म आइपुगेँ ।”
“आमा, म पनि आइपुगेँ ।”
“मम्मी हामीलाई छाडेर नजानुहोस् । हामीलाई हेर्नुहोस्......” डाँको छाडेर ती दाजु बहिनी रुन्छन्, चिच्याउँछन् । तर तिनीहरु आउन ढिलो भइसकेको हुन्छ । अब तिनीहरुको कोलाहल, रुवाइ र चित्कारको कुनै अर्थ र महत्व हुँदैन ।

परिवर्तनाको आत्मवृतान्त पढ्दा लाग्छ, तिनी साधु, सन्त, सन्यासी अथवा चर्चको फादर, पोप, नन, गुम्बाको महास्थवीर वा स्वार्थरहित महान् त्यागी महामानव हुन् । तिनले फेरि प्रधानमन्त्री हुन मानिनन् । शोकमा डुबेका तिनले बदलाको अपराधिक दाउपेच गर्न सक्थिन् । राजनैतिक अपराधीकरण निर्मूल पार्न चाहने तिनी नै पनि राजनैतिक अपराधीकरणको एउटा कडी बन्न सक्थिन् भनेर तिनले प्रधानमन्त्री पद अस्वीकार गरेर डा सौन्दर्यालाई प्रधानमन्त्री बनाइन् । डा. सौन्दर्या मार्फत डा. गोधुलीको प्राणको आहुतिलाई सार्थक बनाइन् । तिनी देखा परिनन् तर राजनैतिक अपराधीहरुलाई निर्मूल पार्न सफल भइन् । तिनी असफल भएकी भए अहिले राजनैतिक अपराधीकरण चरम चुलीमा पुगेर मुलुक तहसनहस भइसकेको हुन्थ्यो । राष्ट्रघातीहरुले मुलुक बन्धकी राखिसकेका हुन्थे । मुलुकवासीहरु विदेशीका अघोषित गुलाम भइसकेका हुन्थे । तिनको साहसिकता, दूरदर्शीपना र नेतृत्व क्षमताले गर्दा मुलुकले अग्रगमनतर्फ गति लियो । यश तिनले पाइनन्, लिन पनि चाहिनन् तर मुलुकको अखण्डता, सार्वभौमिकता एवं जनताको चाहना र हित बचाउन सफल तिनी... तिनले तिनलाई मार्न चाहने षड्यन्त्रकारी, योजनाकार राष्ट्रघातीहरुलाई निर्मूल गरिन् तर षड्यन्त्रकारीहरुले प्रयोग गरेका गोली हान्ने, बम पड्काउने फलानोफलानो मानिस हो भनेर खोजी गरिनन् । किन खोजी गरिनन् ? पैसा लिएर बम पड्काउने, गोली हान्ने अपराधीहरु चिन्न, पक्रन र सजाय दिन जरुरी थिएन र ? एउटा अपराधीले खुकुरीले मान्छे काट्यो, दोष खुकुरीको हो ? हतियार हो राम्रो नराम्रो जुनसुकै कुरामा प्रयोग हुन सक्छ । आगो हो, खाना बनाउन पनि प्रयोग गरिन्छ, अर्काको घर डढाउन पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै षड्यन्त्रकारीहरुले प्रयोग गरेका अपराधीहरुलाई तिनले तृण बराबर सम्झिन् । ती अपराधीहरुलाई खोजी नै गर्ने हो भने पनि षड्यन्त्रकारीहरुले तह लगाइसकेका होलान् । पोल खोलिने डरले जोन एफ. केनेडीको हत्यारालाई मार्ने मान्छेलाई पनि अर्को मान्छेले मारेको घटनाले अपराधीहरु सधै बाँचिरहन सक्छन् भन्न सकिँदैन । अपराधीले कुनै न कुनै रुपमा अपराधको सजाय पाइ नै हाल्छ । यसरी गोली हान्ने अमूक–अमुकको खोजी नगरिएको हुन सक्छ ।
   डा. सौन्दर्या परिवर्तनाबारे खुलस्त जान्न चाहन्छिन् । परिवर्तनाका सबै कामहरु तिनको काँधमाथि परेको छ । तिनी ‘डा.गोकुल मानव स्मृति एवं मन शान्ति केन्द्र’ पुग्छिन् । त्यो केन्द्रभित्र पुस्तकालय, अध्ययन कोठा र स्थायी प्रदर्शनी कक्ष छ । स्थायी प्रदर्शनी कक्षमा ‘मानव’ रचित पुस्तकहरु, ‘मानव’ले प्राप्त गरेका पुरस्कार, उपहार र प्रमाण पत्रहरु एवं परिवर्तनाकी निजी पुस्तक–पत्रिका सङ्ग्रहले तान्छ । त्यो दराज खोलेर हेर्छिन् । परिवर्तनाले सङ्ग्रह गरेका पुस्तकहरु, तिनले अध्ययन गरिसकेका पुस्तकको अन्तिम पृष्ठमा तिनको हस्ताक्षर छ, मिति छ । तिनले जीवनमा कति धेरै पुस्तकहरु अध्ययन गरेकी रहिछिन्..... एउटा, दुइटा, तीनवटा...... राजनीतिका पुस्तकहरु, अर्थशास्त्र, इतिहास, समाजशास्त्र, दर्शन, धर्मशास्त्र, मनोविज्ञान, साहित्य, ईनसाइक्लोपेडिया, नक्सा आदि । त्यहाँ झन्डैझन्डै मानव ज्ञान अभिवृद्धि गर्ने हरेक विषयका पुस्तकहरु छन् । ती सबै पुस्तकहरु परिवर्तनाले सङ्ग्रह गरेकी मात्र नभएर पढेका पुस्तकहरु पनि हुन् । पुस्तकहरु लाइब्रेरीका नियमानुसार क्रम संख्या दिएर राखिएका छन्– १,२,३,४...........१००१,१००२, ...... जम्माजम्मी ७७७७ सम्म । तिनको सङ्ग्रहमा त्यति धेरै पुस्तकहरु.....!
   डा.सौन्दर्या केही पुस्तकहरु झिकेर हेर्छिन् । यथावत् ठाउँमा राख्छिन् । त्यो संग्रहमा तात्कालिन पत्रपत्रिकाहरु पनि हुन्छन् । ती पत्रिकाहरु मध्ये केही राष्ट्रिय दैनिक पत्रिकामा परिवर्तनाले दिएका अन्तवार्ताहरु छापिएका छन् । तिनको अन्तरवार्ता छापिएका पत्रिकाहरु अलग्गै राखिएका रहेछन् । तिनी ती पत्रिकाहरु हेर्न थाल्छिन् । 
‘जनकपुर’, राष्ट्रिय दैनिक....२१ गते आइतबार....
..........
पत्रकार – किन नयाँ दल खोल्दै हुनुहुन्छ ?
परिवर्तना – नयाँ दल मुलुकको स्थायी शान्ति स्थापना, विकास निर्माण गर्न एवं मुलुकको राजनैतिक, आर्थिक, सामाजिक संरचनामा आमूल परिवर्तन ल्याई अग्रगमनतर्फ लैजान.....
पत्रकार – पुराना दलहरुले पनि त्यही गरिरहेका कुरा गर्छन् नि त....
परिवर्तना – पुराना दलहरु बदलिन नसक्ने गरी दलीय स्वार्थको दलदलमा फसेका छन् । कमिसनखोर, भ्रष्टाचारी, अपराधी, विदेशी दलाल, राष्ट्रघातीहरुको इशारामा नाच्ने भइसकेका छन् । यथास्थितिवादी, सामन्ती, प्रतिक्रियावादी, प्रतिगामीहरुको वर्चस्व कायम भइसकेका ती पार्टीहरु राष्ट्रिय विकास निर्माण गर्न नसक्ने, मुलुकमा शान्ति स्थापना गर्न नसक्ने एवं राजनैतिक अपराधीकरणले ग्रस्त भइसकेकाले ती पुराना दलहरुबाट जनताले खासै अपेक्षा गर्न नसक्ने आवस्थामा जनता निराश भइसकेका छन् । जनता निराश, हतोत्साहित हुनु भनेको ठूलो राष्ट्रिय संकट हो । जनतालाई आशावादी बनाउन पनि नयाँ नीति, सिद्धान्त र कार्यक्रम भएको नयाँ पार्टी आवश्यक छ । नयाँ पार्टीको स्थापनाले पुराना पार्टीहरुको एकाधिकार र सुगा रटाई एवं जनता झुक्याई सत्तामा पुग्ने, टिकिरहने प्रवृत्तिलाई पनि चुनौति हुनेछ ।
पत्रकार – तपाईँको नयाँ पार्टी पनि पुरानै जस्तो नहुने आधारहरु के छन् ? ्
परिवर्तना – हाम्रो नयाँ पार्टी ‘प्रतिबद्धता समूह’ को अनुभव बटुलेर सर्वसाधरणका लागि सर्वसाधारणले नै गठन गरेको पार्टी भएको हुँदा यो पुरानो पार्टीहरुजस्तो हुन सम्भव छैन । यसका सदस्यहरु, नेताहरु र कार्यकताहरु मुलुकका लागि समर्पित छन् । पुराना पार्टीहरुमा विकसित पाखण्डीपन, बेइमानी, ढाँट, छलकपट, बोली र व्यवहारमा फरकपना, काइते चलन र अन्य यति धेरै नराम्रा विकृति र विसंगतिहरु छन्, ती कुराहरु सुरुदेखि नै हाम्रो पार्टीमा उत्पन्न भएका छैनन् । हाम्रो पार्टीले हर क्षेत्रमा इमानदारिता र दायित्वबोधलाई प्रमुख महत्व दिएको छ । पुराना दलहरुमा सर्वसाधारणको कुनै स्थान हुँदैन । सर्वसाधारण सधैँ कार्यकर्ता मात्र भइरहने र केही गरी नेता भइहाल्यो भने पनि उसलाई विशेष वर्गको कठपुतली बनाइहालिन्छ र सरकारमा पुगिहाल्यो भने त उसलाई सामन्ती र यथास्थितिवादीहरुकै सेवक बनाइन्छ । दलको संरचना र वातावरण नै यस्तो बनाइएको छ कि ती दलहरुबाट अग्रगमनको आशा गर्न सकिँदैन । एक पटक सरकारमा पुगिसकेपछि नेताहरुलाई के हुन्छ, को नि ? उनीहरुको विचार, व्यवहार र आचार बदलिन्छ । विदेश गएपछि त उनीहरुको व्यवहार, बोली र भाषा नै बदलिन्छ । विदेशीहरुले उनीहरुका कानमा के फुकि दिन्छन् को नि, उनीहरु पूरै कानफूकुवा हुन्छन्, मुलुकको  हितको कुरै गर्न रुचाउँदैनन् । हाम्रो दलको नीति, संरचना र व्यवस्थापन यस्तो ढङ्गले गरिएको छ कि यसमा प्रतिबद्ध भई लागि सकेपछि यसका सदस्यहरुले आफ्नो मूल लक्ष्य कहिल्यै बिर्सदैनन्........ उनीहरु पतनको बाटोमा जाँदैनन् ।
“बिहानी सन्देश” राष्ट्रिय दैनिक.... १ गते शुक्रबार.....
पत्रकार – अगामी चुनाव तपाईँहरुका लागि फलामको चिउरा जस्तै हुने हो कि ?
परिवर्तना – हुँदैन । तर सहज पनि हुनेछैन् । मुलुकलाई बिल्कुलै नयाँ दिशातर्फ लैजाने सिद्धान्त, नीति र कार्यक्रम बोकेर हामी सर्वसाधारण जनता सामु जानेछौँ । साना साना कुराहरुमा पनि हाम्रो निश्चित प्रतिबद्धता छ, दायित्व बहन गर्ने हाम्रो आफ्ना प्रकारको पद्धति छ । हामी अन्य पुराना दलभन्दा बिल्कुल फरक छौँ । सर्वसाधारणको समर्पण र ऐक्यबद्धता बढ्दै गइरहेको छ । हामी सर्वसाधारणको पार्टी हौँ र देशमा आमूल परिवर्तन, नयाँ विकास, निर्माण र मुलुकको मुहार फेर्न सक्षम छौँ भन्ने विश्वास बढ्न थालेको छ........।
खबरपत्र ..... राष्ट्रिय दैनिक...... ११ फाल्गुण
पत्रकार – स.वि.नि.पा तेस्रो ठूलो दल बनेको छ । यो दलसँग नमिली कुनै पार्टीले पनि सरकार बनाउन नसक्ने स्थिति छ । तपाईँहरु अरु दलसँग मिलेर सरकारमा जान तयार हुनुहुन्छ ?
परिवर्तना – राजनैतिक दलको उद्देश्यहरुमध्ये एउटा प्रमुख उद्देश्य सरकारमा पुगेर आफ्नो नीति र कार्यक्रम लागू गर्ने भएकाले सरकारमा नजाने कुरै भएन ।
“जनपुकार” राष्ट्रिय दैनिक.... जेष्ठ २७ .... आइतबार
पत्रकार – तपाईँ ‘मानव’ को हत्यामा कसको संलग्नता देख्नुहुन्छ ?
परिवर्तना – राष्ट्रघाती षड्यन्त्रकारीहरु जो असमान सन्धि थोपर्न चाहन्छन् । राजनैतिक अपराधीकरण... मुलुकमा अस्थिरता ल्याई मुलुकलाई विदेशी स्वार्थको क्रीडाभूमि बनाउन चाहने राष्ट्रघातीहरु । हत्या, हिंसा र आतङ्कका श्रृङ्खलाको धेरै लामो इतिहास छ । सामूहिक हत्याद्धारा निहित राजनैतिक स्वार्थ पुुरा गर्न सकिन्छ भन्ने धारणाले हत्याकाण्ड, हत्याको श्रृङ्खला तयार गरेको छ । नारायणहिटी हत्याकाण्ड, गौरहत्याकाण्ड, कपिलवस्तुहत्याकाण्ड, आदि हत्याकाण्डले मानवताको खिल्ली उडाएको छ । व्यक्ति हत्याको नरमाइलो श्रृङ्खला नै बनेको छ । कोही सुरक्षित छैन, सुराकी भनेर व्यक्ति हत्याका निर्दयी कुरुप घटनाहरुले एउटा कालखण्डलाई नै असुरक्षित, भयभीत, आतङ्कीत, सभ्यता विरोधी बर्बर कालखण्डमा परिणत गरेको छ । त्यसैको निरन्तरता हो मेरो हत्या प्रयास, जुन षडयन्त्रमा ‘मानव’ मलाई बचाउँदा मारिनु भयो । हत्या, ध्वंस र आतङ्को अन्तिम घटना बनोस् त्यो षड्यन्त्रकारी घटना— म चाहन्छु !
राष्ट्रआवाज....... मङ्सिर, ११..... राष्ट्रिय दैनिक
पत्रकार – तपाईँले आफ्नो पूरै जिन्दगी र शक्ति ‘मानव आश्रम’ को विकास निर्माणतर्फ लगाई रहनुभएको छ । राजनीतिबाट तपाईँले पुरै सन्यास लिनुभएको हो ?
परिवर्तना – ‘मानव’ आश्रम मेरो जीवनको अन्तिम उद्देश्य र प्राप्ति हो । त्यसमा सफल भएभने म मेरो जीवन सार्थक भएको सम्झनेछु । जहाँसम्म राजनीतिबाट सन्यास लिने कुरा भयो— चाहेर पनि कोही राजनीतिबाट सन्यास लिन सक्तैन । राजनीतिले हरेक मानिसको दिनचर्या, जीवन पद्धति र नसानसामा बगिरहेको रगत, सास प्रश्वास लगायत हरेक कुराहरुलाई प्रभावित पारिरहेको हुन्छ । मानिस समाजमा बसुन्जेल राजनैतिक प्राणाी भएकाले राजनीतिबाट अछुतो रहन नसकेझैँ म पनि राजनीतिबाट अलग रहन सक्तिनँ .......
अरु पनि थुप्रै अन्तरवार्ताहरु । परिवर्तना बाँचिरहेको कालखण्डलाई परिवर्तनाले कति धेरै प्रभावित पारेकी रहेछिन् । तिनको सुन्दर विचारहरु, अन्तरवार्ताहरु, भाषणहरु, लेखहरु मार्फत त्यो कालखण्डमा समग्र जनजनको हृदयसम्म पुगेर सामान्य सर्वसाधारणहरुलाई सक्रियताका लागि कति धेरै उत्प्रेरित गरिरहेको रहेछ, अझै गरिरहनेछ— डा. सौन्दर्या सोच्न बाध्य हुन्छिन् ।

सम्झनाको तरेलीमा परी.........
संस्मरण लेख लेख्न डा. सौन्दर्या विवश हुन्छिन् । तिनलाई संस्मरण नलेखेमा तिनको मनभित्रको उकुसमुकुस, वेदना, सम्झना, श्रद्धा एवं परीप्रतिको श्रद्धाञ्जली भाव विस्फोट भई आँखाको डिलहरु कहिल्यै सुख्खा हुन नसक्नेहुन्छ । आँसु चुहाउनुको सट्टा संस्मरण लेख परीप्रतिको श्रद्धाञ्जली व्यक्त गर्ने उत्तम तरिका हुन सक्छ— उनी सोच्छिन् र लेख्छिन् ।
...... .......
महान् मानिसहरुको जन्मले धरतीमा सुखमय परिवेश निर्माण गर्न योगदान गर्दछ । त्यसता महान् मानिसहरुको सत्सङ्ग पाउने मानिसहरु भाग्यमानी हुन्छन् । ती महान् मानिसहरुको जिन्दगी मैनबत्तीझैँ आफू बलेर उज्यालो छरिरहने हुन्छ । अरुको जीवन आनन्दमय, सुखी, निर्भय र उद्देश्यमूलक बनाउन पनि चन्दनझैँ  सुगन्धित हुन्छन् । परिवर्तना ! मेरी प्यारी साथी परी त्यस्तै ज्योतिपुञ्ज थिइन्, जसले आफ्ना वरिपरि प्रकाशमय मात्र होइन, आफ्नो सम्पर्कमा रहेका सबै साथी, बहिनी, भाइहरुलाई पनि ‘एउटा दियोले अर्को दियो सल्काएर बालेझैँ’ ज्योतिर्मय बनाइन् । तिनले बालेका दियाहरु मध्येकी म पनि एक हुँ ।
‘परीको जन्म र मृत्यु बीचको कालखण्ड विद्रोह, राजनैतिक उतार चढाव, राजनैतिक अपराधीकरण, हत्या, हिंसा, ध्वंश र आतले त्रस्त अस्थिर अवस्था थियो । मानिसको जीवनको कुनै मूल्य थिएन । जो कोही जुनसुकै समयमा जहाँ पनि मारिन सक्थ्यो । धेरै मानिसहरु अनाहकमा बिना कसुर मारिएका थिए । मानिसहरुलाई मारेर राजनैतिक उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने गलत धारणा ग्रसित त्यो परिस्थितिको सिकार आमजनसमुदाय, समाज र राज्यप्रमुख भएका राजपरिवार समेत भएका थिए । नाराहणहिटीहत्याकाण्ड, गौरहत्याकण्ड, कपिलवस्तुहत्याकाण्ड, नेपालगञ्ज, बिराटनगर र अन्य स्थानहरु, काठमाडौँको श्रङ्खलाबद्ध बमकाण्डहरु जस्तै थुप्रै हत्याकाण्डहरु युद्ध उन्मादीहरुद्धारा समाज र मुलुकमा हत्या हिंसाद्धारा वाञ्छित परिणाम प्राप्त गर्न सकिन्छ भन्ने मानसिकताको उपज थिए । त्यो हत्या हिंसाको परिणामस्वरुप मानिसहरु त्रसित थिए र सोचिरहेका थिए—  मानिसहरु अकाल मृत्युवरण गर्न नै जन्मिएका हुन् ?
मुलुकको ठोस परिवर्तन आवश्यक थियो, अग्रगमनतर्फ मुलुकलाई अगाडि बढाएर त्यो बेला चलिरहेको अविरल अविवेकी हत्या, हिंसा (सामुहिक र व्यक्ति)हत्या, हिंसा र आतङ्मा संलग्न त्यस्ता षडयन्त्रकारी, अपराधी एवं बेइमान समूह र दलहरुको राजनैतिक पर्दाफास गरेर त्यस्तो प्रवृत्तिको समूल नष्ट गर्ने कार्यमा तिनको भुमिका सह्राहनीय छ । तिनको सुझबुझपूर्ण क्रियाकलापबाट मुलुकले शान्तिको बाटामा नयाँ गति लिन सकेको छ । समृद्धितर्फ मुलुक बढिरहेको वर्तमान अवस्था परिवर्तनाद्धारा निर्माण गरिएको जगमाथि आधारित छ ।
परिवर्तनाको व्यक्तिगत निजी जीवन नजिकबाट नियाल्नेहरुमध्ये म पनि एक हुँ । तिनी सरल, स्वाभिमानी, बौद्धिक, मिलनसार, नम्र, हँसिली थिइन् तर आफ्नो उद्देश्यतर्फ सम्पूर्ण शक्ति केन्द्रित गरी एकाग्रता, तन्मयता र अभूतपूर्व सक्रियतासाथ निरन्तर अविरल अविच्छिन्न बढिरहने उच्च स्वभावकी महान् नारी थिइन् । तिनको सम्पर्कमा रहने जो कोही पनि तिनको सापिप्य पाउँदा हर्षित हुन्थे, गौरवान्वित रहन्थे र क्रियाशीलताका लािग प्रेरणा ग्रहण गर्न सक्षम हुन्थे । तिनमा के गुण थियो, कुन्नि ? तिनका विरोधीहरु पनि तिनको सामु नतमस्तक हुन्थे र तिनलाई भन्ने गर्थे दृढ स्वभावकी ‘फलामकी आईमाई ’ ।
‘तिनकोे हरेक साना मसिना कुराहरुप्रति पनि स्पष्ट दृष्टिकोण थियो । नारी पुरुषहरुले लाउने पोसाक सम्बन्धी कुराहरुमा पनि तिनले आफ्नो निक्र्यौल थियो । तिनी भन्थिन ्‘महिलाहरुले परम्परागत भेषा भूषाबारे गलत मान्यतामा अल्झिरहनु जरुरी छैन, जे खाँदा, लाउँदा र गर्दा शरीरमा स्पूmर्ति आउँछ, त्यो गर्दा हुन्छ । ठीक्क सुहाउने, उत्ताउलो नदेखिने पोसाकहरु नै व्यक्तित्वका पूरक हुन सक्छन् ।’ त्यसै अनुसार जीवनमा तिनले कहिल्यै महँगा परिधानहरु लगाइनन् तर पोसाकहरु तिनी त्यस्तो छान्थिन् जसले तिनको व्यक्तित्वमा निखार ल्याउँथ्यो । आधुनिक महिलाहरुले आफ्नो पेसाअनुसार काम गर्दा सजिलो पोसाक पहिरे हुन्छ, फेसन गरे हुन्छ तर अनावश्यक तडकभडक र उत्ताउलोपन भने पोसाकमा हुनुहुन्न । पुरुषहरुले जे पोसाक लगाए पनि समाजले स्वीकार्ने तर नारीहरुले लगाएमा खिल्ली उडाउने परिपाटी अन्त्य हुनुपर्छ भन्ने तिनको मान्यता थियो......
‘परिवर्तना मानिसले टेक्न सक्ने पृथ्वीको सर्वोच्च स्थान टेकेर उभिन सफल भइन् तर त्यसले तिनको मनको चाहना पूरा भएन । असल मान्छे पुग्नु पर्ने स्थान सर्वोच्च होइन सर्वोत्तम उचाइ हो । असल मान्छेहरुको सर्वोत्तम उचाइमा पुग्न सफल तिनी मानव जातिको महिमा बढाउन सफल भइन् । मानवताको अमरदीप बाल्न सफल भइन् । तिनले बालेको ज्योति धरतीमा सधैँ जगमग जगमग चम्किरहनेछ, त्यसको झलमल्ल उज्यालोमा मानिसहरु अगाडि बढिरहनेछन्.......
   ‘स्वभाव, चरित्र र कार्यहरुमा, त्याग, बलिदान र उत्सर्गमा एवं अन्य मानवीय पक्षहरुमा सर्वोत्तम उचाइ !......’
..... ..... .....
डा. सौन्दर्या संस्मरण लेख्न तल्लीन भइरहन्छिन् । अचानक सोच्न पुग्छिन्–‘तिनले जीवनमा गरेको पहिलो निस्वार्थ समर्पण— यायावर । प्रेमले ओतप्रोत समर्पण ! पहिलो प्रेम ! जीवनमा कहिल्यै कसैसित त्यो प्रेमका चर्चा गरिनन् । धेरै पल्ट तिनले आफ्नो जीवनमा यायावरलाई सम्झेकी हुनुपर्छ । यायावर र तिनको पवित्र प्रेम— तिनले मनभित्रै लुकाएर राख्न सकिन्, कसरी ? त्यो प्रेमले तिनलाई अघोर पीडा दिएको हुनपर्छ । त्यो पीडा पचाइन्, कसरी ? मनभित्र गुम्साएर त्यो प्रेमलाई तिनले जीवनपर्यन्त सँङ्गाली राख्न सकिन्, कसरी ?!’
      ‘मानव’ प्रति तिनको प्रेम कर्तव्यबोधले रङ्गिएको छ । त्यो प्रेमलाई तिनले प्रकट र प्रकाशित गरिन् र बाह्य संसारमा अमर बनाइन् । तर यायावर सरप्रति तिनको प्रेम शाश्वत, पूर्ण, सीमाहीन मात्र नभएर अन्तहीन थियो । जुन प्रेमलाई तिनले हृदयको अनन्त गहिराइभित्र गोप्यतासाथ सँगाली राखिन् । यायावरलाई स्मरण गरेको कुरा तिनले आत्मवृतान्तमा दुई, तीन पटक मात्र उल्लेख गरेकी छिन् । तर जीवनको हर पल तिनको मुटुको हर स्पन्दन र ढुकढुकीमा यायावरप्रतिको प्रेम लहसिएर बसेको थियो । जुन प्रेम तिनले आफ्नै हृदयको गहिराइमा लुकाएर जीवनको अन्त्यसँगै आफ्नै हृदयमा दफन गरिन् । महान् परिवर्तना ! प्रेमको अमूर्त घात— कसैलाई व्यक्त नगरी आफू भित्र पचाइन्, सहिन् र प्रेमलाई बदनाम हुन दिइनन्......’


अध्याय – अन्तिम
उपसंहार 

सौन्दर्याका निम्ति परिवर्तनाद्धारा लेखिएको संस्मरण, आत्मवृतान्तको पाण्डुलिपी विश्वका महत्वपूर्ण अमूल्य वस्तुहरु भन्दा पनि अनमोल छ । ती पाण्डुलिपीका प्रत्येक पृष्ठहरु तिनी पढ्छिन् । त्यसको अर्थ खोज्छिन् । सरल जस्तो लाग्छ, बुझे जस्तो लाग्छ तर खास अर्थ तिनले बुझेजस्तै होला त ? होइन, परिवर्तनाको जीवन सलल बगेको खोला जस्तो होइन । समुद्र जस्तो छ । अतुल गहिराइ भएको समुद्र जहाँ जति डुब्न सक्यो, त्यति धेरै मोती फेला पार्न सकिने सम्भावना रहन्छ । आफ्नो बर्तनको आकार अनुसार ज्ञानको मात्रा लिन सकिन्छ । आङ्खोराबाट लिनेले आङ्खोराभरि, बटुकाभरि, गाग्रीभरि, जत्रो भाँडो छ त्यति नै झिक्न सकिने ज्ञानको समुद्र । पौडेर समुद्रको एउटा किनाराबाट अर्को किनारामा पुग्नु— असम्भव । अतुलनीय गहिराइ, अथाह त्याग र बलिदानको भण्डार, जति धेरै बुझ्न सक्यो त्यति कौतुकपुर्ण, त्यति चाखलाग्दो, सुन्दर र प्रेरणादायक जीवनको वर्णनले सिङ्गारिएको मिठासपूर्ण सङ्गीत जस्तो सरस, झसङ्गझसङ्ग झस्काउने उन्मादपूर्ण, रसयुक्त, कौतुकमय जिन्दगी !
  त्यो आत्मवृतान्तको पाण्डुलिपीलाई सौन्दर्या सम्मानपूर्वक शिरमा पु¥याएर ढोक्छिन् । भिक्षु–भिक्षुणीहरुले धार्मिक पुस्तक शिरमा राखेर गुम्बा परिक्रमा गरेझैँ तिनी त्यो पाण्डुलिपीलाई शिरमाथि बोकेर अर्को कोठामा जान्छिन् । सबै पाताहरुको फोटोकपी गर्छिन् । बाइन्डिङ गर्छिन् र सबैभन्दा अघिल्लो खाली पृष्ठमा ठूलो अक्षरमा लेख्छिन् ‘मानव संसारको प्रतिलिपी ।’ त्यसलाई पनि लिएर तिनी अघिकै कोठामा फर्कन्छिन् । एक छिन सुस्ताउँछिन्, आँखा चिम्लेर बस्छिन् र लामो सुस्केरा हाल्छिन्— “अनमोल जीवन पाखण्डी, बेइमान र फटाहाहरुले नष्ट गरिरहेका छन् । जीवनका रक्षा गर्ने उपायहरुको खोजीमा समर्पित परिवर्तनाको छोटो, तर अनमोल जीवन ! अनमोल जीवनको वृतान्तले सजिएको अनमोल आत्मवृतान्तको प्रतिलिपि !! एउटा मात्र प्रतिलिपि जुन सदैव मेरो साथ रहनेछ । जब जब मेरो मन कहालिनेछ, आत्तिनेछ र दिग्भ्रमित हुनेछ, त्यतित्यतिबेला म यो प्रतिलिपिको अध्ययन गरेर सुमार्ग पहिल्याउनेछु । यसको अध्ययन, मनन र स्पर्शले मलाई हरेक दुःख पीडा जगत्, र जीवनप्रतिको शंसय, कष्टहरुबाट मुक्ति दिनेछ । जसरी बाँचिरहेको बेला परिवर्तनाले मलाई पथप्रदर्शन गरिरहेकी थिई, त्यो काम यसले गर्नेछ ।”
गेरुवा पहेँलो पिताम्बर जस्तो कपडामा तिनले परिवर्तनाको आत्मवृतान्तको पाण्डुलिपी लपेट्छिन् र पहेँलो डोरीले बाँध्छिन् । अघि जस्तै शिरमाथि त्यसलाई बोकेर तिनी शोभनालाई डाक्छिन् । सौन्दर्या र शोभना मानव आश्रमभित्र रहेको स्थायी प्रदर्शनी कक्षमा प्रवेश गर्छन् । त्यहाँ पारुहाङ्ग, नायुमा र अन्य थुप्रै वृद्ध, वृद्धहरु जम्मा भइसकेका हुन्छन् । प्रदर्शनी कक्षको एउटा सुन्दर कलात्मक टेबुलमाथि सिसाको पारदर्शी बाकस बनाइएको हुन्छ । त्यो बाकसभित्र त्यो पहेलो कपडा खोलेर दुवै हातले माथि उचालेर पाण्डुलिपी सबैलाई देखाउँछिन् । पाण्डुलिपीलाई चुम्बन गर्छिन् । शिरमाथि राखेर पुनः ढोगिदिन्छिन् । पुनः पहेलो कपडाले लपेटिछन् । र पारदर्शी बाकसभित्र राख्छिन् । सबैले उठेर शिर झुकाउँछन् । र ताली पिट्छन् ।
  पाण्डुलिपलिाई राम्ररी श्रद्धासाथ लपेटीसकेपछि सौन्दर्या ब्रस र रङ्ग लिन्छिन् र त्यो पाण्डुलिपी लपेटिएको कपडामा सुन्दर कलात्मक अक्षरले लख्छिन्— ‘मानव संसार’

                                              २०६४÷८÷१०,सोमबार, धरान 






कृति        ःमानव संसार
विधा        ःउपन्यास
कथाकार    ःसरण राई
आवरण    ःउपन्यासकार स्वयम्
प्रकाशक    ः
सर्वाधिकार    ः ©उपन्यासकारमा
संस्करण    ःपहिलो, २०६५ मङ्सिर. ( सन २००८ )
प्रकाशन प्रति    ः
मुद्रक        ः
मूल्य        ः
क्ष्क्द्यल्













मानव संसारबारे प्रतिक्रियाहरू

बेग्लै संसार

पछिल्लोपटक नेपाली आख्यानमा ‘मानव संसार’ नामैले एउटा पृथकता बोकेर आएको उपन्यास हो जसले हरेकको जीवन भोगाइलाई कुनै न कुनै रूपमा समेटेको छ । राजनीतिक, आर्थिक, सामाजिक वा मानसिक रूपले उब्जाउने सङ्कीर्णता, नितान्त व्यक्तिवादी संस्कार, स्वार्थी प्रवृत्ति र उपभोक्तावादी आवरणलाई विभिन्न पात्रको माध्यमबाट सुक्ष्मरूपमा केलाएका छन् उपन्यासकार सरण राईले । किटेरैभन्दा सम्पूर्ण यथार्थहरूको एउटा समग्र रूपक हो प्रस्तुत उपन्यास । यस पुस्तक उपसंहारसहित दुई खण्डमा विभाजित छ । कथाले मानव जीवनप्रतिको प्रेमलाई गहन रूपमा चिरफार गरेको छ दार्शनिक चिन्तनका साथ । कतै पनि एकरसता महसुस नहुने गरी बुनिएका कलात्मक पंक्तिहरूले कतै कतै भने पाठक स्वयंलाई आÏनो अस्तित्वबोध गर्न बाध्य पारिदिन्छन् । 
आ“सु, मिलन–विछोड, आरोह–अवरोह, जीवनको उकाली–ओराली, मिर्मिरे–गोधूली, आह र उच्छ्वासको समिश्रण प्रस्तुत उपन्यास आपैmमा एउटा जीवन बा“च्ने कलाको उत्कृष्ट दृष्टान्त हो । लेखकले मान्छेका पीडालाई अति नजिकबाट छाम्ने प्रयत्न गरेका छन् । देशको राजनीतिक परिवृत्तलाई मूलभूत रूपमा उठाएर देशमा विद्यमान अन्योललाई जस्ताको तस्तै उतारेका छन् । एकै वाक्यमा भन्दा एउटी नारीको चरम सफलताको कथा हो यो । चाहे ऊ राजनीतिकर्मी होस् वा पर्वतारोही । प्र्रधानमन्त्री होस् वा बृद्धाश्रम–सञ्चालिका अथवा एउटी सामान्य गृहिणी नै किन नहोस् ।
कुनै पनि जीवन आफैमा सार्थक हु“दैन बरु यसलाई कसरी जिउने भन्ने प्रश्न महŒवपूर्ण हुन्छ । ‘मानव संसार’ आपैmमा एउटा दार्शनिक उपन्यास हो जहा“ जीवनलाई अत्यन्तै कलात्मक रूपमा चित्रण गरिएको छ । बाबुको अनुहारसम्म देख्न नपाएकी एउटी पात्र खिनौरी मातृवात्सल्यको कलेवरमा लुकामारी खेल्दै यौवनको खुड्किलो चढ्न थाल्छे । अभावका कारण दुब्ली, पातली खिनौरीलाई विद्यालयका एक शिक्षक यायावरले प्रश्रय दिएपछि उसको जीवनले नया“ ऊर्जा प्राप्त गर्छ । शिक्षाको उज्यालोले उसमा अग्रगामी परिवर्तन ल्याईदिन्छ र ऊ खिनौरीबाट परिवर्तनामा रूपान्तरित हुन्छे । ऊ उपन्यासको मुलपात्र पनि हो । चढ्दो यौवनस“गै उसमा स्त्रीशुलभ लज्जा र समर्पणको भाव विकसित ह“ुदै जान्छ । ‘मैले सरलाई मेरो स्त्रीशुलभ भर्खर फक्रिदै गरेको मेरो यौवनस“ग पौठेजोरी खेल्नका निम्ति अनेक हावभाव, कटाक्ष र मायालु कुराहरू गरेर आमन्त्रण गरे’, जवान आम युवतीहरूको जस्तै परिवर्तनाको मनको उद्वेग हो यो । उसले क्रमशः अ“ध्यारो र उज्यालोबीचको अन्तर थाहा पाउ“छे । हरेक पुराना विचार र सिद्धान्तलाई समयको रÏतारले पछाडि धकेल्दै र भत्काउ“दै जान्छ भन्ने कुरा बुझ्न थाल्छे । उपन्यासभिञ थुप्रै त्यस्ता विषय छन् जसले हरेकलाई आÏनो जिजीविषाको बोध गराउ“छ ।
कथा सुरुदेखि अन्तसम्म प्रेमको सेरोफेरोमा छ । जवान ठिटाठिटीले एकअर्कामा गर्ने प्रेम होस् या शिक्षकले आÏनी छात्रालाई गर्ने प्रेम अथवा आमाले आÏना सन्तानप्रति गर्ने प्रेम नै किन नहोस् या एउटी साथीले अर्कीलाई गर्ने प्रेम । ‘बाबु–आमाको मन छोराछोरी माथि, छोराछोरीको मन ढु“गामुढा माथि’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्न मूलपात्र परिवर्तनाका सन्तान पारुहाङ्ग र नायुमाले महŒवपूर्ण भूमिका खेलेका छन् ।
यो उपन्यासमा एकातर्पm मानवको वृद्धावस्थाको भावावेश, मनोदशा र प्रवृत्तिलाई केलाइएको छ भने अर्कोतर्पm एउटा लेखकले जीवनलाई कति नजिकबाट अनुभूत गर्दोरहेछ भन्ने यथार्थलाई पनि प्रष्ट्याइएको छ । त्यसो त प्रस्तुत उपन्यासको भावपक्ष अलि जटिल लाग्न सक्छ । लेखकले बढी साहित्यिक बन्न नखोजीकन सरलतालाई बस्तुगत रूपमा समेट्न सकेको भए ‘मानव संसार’ अझ उत्कृष्ट हुने थियो । 
—सुरेश प्राञ्जली
,कान्तिपुर, २०६५ माघ २५




















.विविध कोणबाट मानव संसार उपन्यासको विवेचना 
      
                    सारवस्तु ः मानव संसार मानव प्रेममा आधारित उपन्यास हो । यस उपन्यासको सुरुदेखि अन्त्यसम्मै प्रेमकै सेरोफेरोमा कथानक अगाडि बढेको छ । उपन्यासमा आमाबाबुले छोराछोरीहरूमा गरिने प्रेम, शिक्षकबाट छात्रामा हुने प्रेम अथवा छात्राले आफ्ना गुरुप्रति गरिने प्रेम, नागरिकमा देशप्रति हुने प्रेम अथवा जवान केटाकेटीहरूले एक अर्कोमा गर्ने प्रेम, पति–पत्नीका बीचमा हुने प्रेम, साथीले साथीलाई गर्ने प्रेम जस्ता विषयवस्तुमा उपन्यास सृजित भएको छ । यसरी उपन्यासमा प्रेमबीनाको जीवन निरस, भयावह, कष्टकर, अन्धकारयुक्त, एवम् असफल हुन्छ भन्ने विषयवस्तु पुष्टि गर्नका निमित्त उपन्यासकारले विभिन्न प्रसङ्गहरू ल्याएका छन् । नारीलाई बढी महत्व दिएर लेखिएको यस उपन्यासमाअवसर पाएमा नारीहरू सामाजिक संघ संस्था खोलेर मानव सेवा गर्न देशविदेश घुम्न, सगरमाथा चढ्न मात्र होइन प्रधानमन्त्री जस्तो गरिमामामय पदमा रहेर पनि देश सेवा गर्न पछि पर्दैनन् भन्नेकुरा देखाउनु नै यस उपन्यासको मूल उद्देश्य हो ।  
संस्कृति ः रजत वर्ष विशेषाङ्क.(२०६९ं), राष्टिूय जन सांस्कृतिक महासंघ, नेपाल

मानिसको जीवन, मृत्यु, राष्ट्रियता, आदर्श, मानवीय आकाङ्क्षा अनि मान्छेको जीवनका विभिन्न अवस्था मिलेर बनेको छ  यो उपन्यास । यसमा जीवनको अवसाननजिक पुगेका मानिसहरूको बा“च्ने स्वच्छ र स्वाभिमानको आधार खोज्न लेखक प्रयत्नशील रहेका छन् ।... यस उपन्यासमा देश, राजनीति, राजनीतिक विडम्बना र नागरिकका कर्तव्यका कुराका साथै मानिसले कसरी बा“च्नुपर्छ भन्ने भावलाई उपन्यासकारले भावुक मन, आदर्श र विश्लेषणात्मक मस्तिष्कको प्रयोगद्वारा सरल, सहज रूपमा ब्यक्त गर्न खोजेका छन् ।
                                                       —तेजकुमार श्रेष्ठ ,गरिमा चैत २०६५, पूर्णाङ्क ३१६


फरक विषयवस्तुको. उपन्यास

साहित्यिक वृत्तमा त्यति चर्चामा आउने नाम त होइन त्यो नाम तर राजनीतिक, सामाजिक, सांस्कृतिक तथा समाज सेवाको क्षेत्रमा भने झण्डै चार दशकका लामो कालखण्ड बिताइसकेको छ । राजनीति, प्राध्यापन तथा सामाजिक–सांस्कृतिक आरोह–अवरोहलाई नजिकबाट छामेको नामले तीनवटा कृति जन्माएको छ फरक फरक बिधा अर्थात कविता, निबन्ध र उपन्यासमा । राजधानीबाट टाढा मोफसलमा रमाइरहने एउटा कर्मशील स्रष्टाको नाम हा — सरण राई र हालै उनको नवीनतम औपन्यासिक कृति बजारमा आएको छ ‘मानव संसार’ नाम लिएर ।
..आत्मवृतान्तगत शैलीमा सिनेमाको Ïल्यासब्याकशैली सापटी लिएर प्रस्तुत गरिएको उपन्यास भन्दा हुन्छ यो उपन्यास मानव संसारलाई, केही राजनीति, केही आदर्श परिकल्पना, केही जीवन र मृत्युको परिभाषा र केही भावुक मनको उद्वेग–उद्वेलनको चरित्रका रूपमा प्रस्तुत उपन्यासले प्रस्तुतिमा नया“पन नल्याए पनि विषयगत उठानका रूपमा नया“ आदर्शवादी शैलीको सूत्रपात गरेको छ । पु“जीवादी सङ्क्रमणकालमा खिनौरी भन्ने पात्र परिवर्तनामा रूपान्तरित भएको छ उसको आत्मवृतान्तमा वर्णित सामाजिक अर्थ व्यवस्थाले आज हामी बा“चेको युग र परिवेशको समग्र चित्र पेश गरेको छ । कतै आदर्श र भावुकताको लहडमा उपन्यासकार बग्दै गए पनि सार्थक उद्देश्यतिर लम्केको उपन्यासले अग्रगामी बाटो पक्रेको छ । भत्किएका सपनाहरूलाई कल्पनाको उडानद्वारा साकार पार्न खोज्दा जन्मन पुगेको हो यो उपन्यास र यसको स्वीकारोक्ति पनि उपन्यासकारबाटै भएको छ । जीवनसित बग्दै गएको उपन्यासको नायक मानवको जीवन चरित्रले धेरै अर्थहरूको प्रक्षेपण गरेको छ जहा“ मानव सङ्कटको निरुपणको मार्ग पहिल्याउने प्रयत्नसमेत गरिएको छ ।
भmण्डै तीन दशक अगाडिदेखि कविता लेखनतर्फ प्रवृत्त थिए सरण राई । पेसागत जिम्मेवारी सम्हाल्दै आज जीवनको छैटौ“ दशक टेक्न पुग्दा आÏनो जीवनसङ्गिनीको वृद्धाश्रम बनाउने र आफूहरू त्यसैमा रहने चाहनालाई भौतिक रूपमा पूरा गर्न नसकेका कारण ‘मानव’ पात्रलाई वृद्धाश्रमको परिपूरक बनाएर औपन्यासिक वृद्धाश्रम निर्माण गरे । उनले बनाएको औपन्यासिक वृद्धाश्रमभित्र माओवादी जनयुद्धको सौन्दर्यशास्त्र, जसका कारणले मुलुकमा स्थापित, लोकतान्त्रिक गणतन्त्र, बीचमा सामन्तवाद–संसदवादको सेरोफेरोमा भए गरेका असमान सन्धि सर्पनहरू, संसदवादी दलहरूको सत्तालिप्साका कारण भएका घीनलाग्दा लेनदेनहरू र यस्तै जीवनलाई हल्लाउने घटना–परिघटनाहरूको फेहरिस्त बन्न पुगेको छ प्रस्तुत उपन्यास ।
यो उपन्यासलाई सरदर उपन्यासको लहरमा राख्दा सम्बद्ध सर्जकलाई अन्याय नभए पनि धर्म निरपेक्षता र जातीय सद्भावको परिचय भने जति नै महŒवका साथ यहा“ प्रस्तुत गरिएको छ । राईको विचार र दर्शन प्रगतिवाद हो तर प्रगतिवाद सर्वथा फराकिलो र प्रयोगवादी शैलीमा उपन्यासमा प्रयुक्त भएर आएको छ ।
अल्पविकसित देशको समाज, साहित्य, संस्कृति र संस्कारलाई त्यहा“को सत्ता राजनीतिले प्रभाव पारेको हुन्छ । सत्ता राजनीतिलाई सही मार्गमा डो¥याउन उपन्यासमा कतै बिम्ब र प्रतीक त कतै सकारात्मक आग्रहको प्रयोग गरिएको छ । डा. सौन्दर्या, परिवर्तना र मानवजस्ता मुख्य पात्रहरू सत्ता राजनीतिसित प्रत्यक्ष र परोक्षरूपमा बगेका छन् । एउटा बिद्रूप चरित्र र परिवेशलाई सत्ययात्रामा लाग्न अप्रत्यक्ष आग्रहको परिचायक रहेको प्रस्तुत उपन्यासले नेपाली औपन्यासिक यात्रामा उपस्थिति देखाएको छ ।
                                                   —कमल सुवेदी, 
मधुपर्क ,२०६६,मङ्सिर,पूर्णाङ्क ४८६


मानव संसारमा एउटी बालिकाले आÏनो बाल्यकालमा भोगेको दुःख सुखहरूमा सकेसम्म सरल ढङ्गमा प्रकाश भएका छन् । उपन्यासको विषयलाई संस्मरणका माध्यमबाट वृत्ताकारीय शैलीमा प्रकाश गर्ने प्रयास भएको छ, यसको लक्ष्यमा थोत्रा विचार र सिद्धान्तलाई आमूल परिवर्तन गर्नुपर्ने देखाइएको छ । पात्रहरूले राजनीति पनि सफा र सुन्दर बनेको हेर्ने इच्छा राखेका छन् ।
                                 —डा. खेम दाहाल, उपन्यासका केही पाता, वाणी प्रकाशन, विराटनगर,२०६७

मानव संसार उपन्यासले संसारको भन्दा पनि नेपालको परिवेशलाई समेट्ने प्रयास गरेको छ । उपन्यास वृद्धाश्रम खोल्ने सामान्य विषयबाट सुरु भए पनि यसमा मूलतः राजनीति, धर्म, संस्कार, मृत्यु, प्रेम, क्रान्ति जस्ता विषयहरू समेटिएका छन् । मृत्युलाई महान् व्यक्तिले पनि स्विकार्नु पर्ने सन्देशहरू यस उपन्यासमा पाइन्छ । सरण राई उपन्यासमा नारीवादी भएर देखा परेका छन् र प्रायः सत्पात्रहरू मात्र यहा“ उपस्थित देखिन्छन् । 
—                                          रमेश पौडेल,औजार २०६६बैशाख २३


‘मानव संसार’ उपन्यासको मूल्याङ्कन

उपन्यासकार सरण राईद्वारा लिखित मानव संसार उपन्यास मूलतः आलोचनात्मक यथार्थवादी धाराबाट प्रभावित भएको पाइन्छ । वि. स. २०६५ सालमा प्रकाशित सरण राईको मानव संसार उपन्यास पहिलो प्रयास हो । त्रिभुवन विश्वविद्यालयमा शिक्षक पेशामा जागिरे राई केही वर्षदेखि अवकाश जीवन व्यतीत गरिरहेका छन् । साठीऔ दशकको विशृङ्खलित सम्पूर्ण अनुभव अनुभूति र विचारलाई आÏनो उपन्यास मानव संसारमा कलात्मकताका साथ समेटेको पाइन्छ । कथा, कविता, निबन्ध बिधामा सफलता हासिल गरिसकेका सरण राईले उपन्यासमा नेपाली समाजको सामाजिक, आर्थिक, धार्मिक, र्सास्कृतिक,  राजनीतिक यथार्थ घटनाहरूलाई आलोचनात्मकताका साथ प्रस्तुत गरेको पाइन्छ । प्रेम, प्रणय, पहिलो पुस्ता र दोस्रो पुस्ताबीच द्वन्द्व, भूमण्डलीकरणको प्रभाव, नारीको महानता आदी विषयवस्तुहरूमा रोचकताकासाथ मानव संसार उपन्यासमा प्रस्तुत भएको पाइन्छ । चरित्र चित्रणका आधारमा उपन्यास सबल रहेको देखिन्छ । प्रमुख, सहायक र गौण पात्रको आवश्यक उपस्थितिले उपन्यासलाई दरिलो बनाएको पाइन्छ । नेपालको सामाजिक, राजनीतिक, आर्थिक अवस्थाको विसङ्गति पक्षलाई व्यङ्ग्य गर्ने विवेच्य उपन्यासको वस्तु, पात्र, भाषा सुहाउ“दो छ । मानव संसार उपन्यासको कथानक ढा“चा वृत्तकारीय छ (दाहाल ≤ २०६५ ः २) । प्रथमपुरुष र तृतीयपुरुष दृष्टिबिन्दु रहेको मानव संसार उपन्यासलाई विभिन्न कोणबाट मूल्याङ्कन गर्दा उपयुक्त हुन्छ ।
मानव संसार उपन्यासलाई आलोचनात्मक यथार्थवादी धाराअन्तर्गत राखेर मूल्याङ्कण गर्न सकिन्छ । सामाजिक अन्धविश्वास, कुप्रथा, अन्याय, अत्याचार, प्रगति उन्नतितिर गतिरोध गर्ने अहितकर कार्यहरूलाई अध्ययन, आलोचना, विश्लेषण, व्याख्या गर्ने प्रवृत्तिलाई आलोचनात्मक यथार्थवाद भनिन्छ (प्रधान≤२०६१ः१४९) । मानव संसार उपन्यासको नायिका परिवर्तनाको बाल्यकालिन सामाजिक अवस्था जातीय भेदभाव र गरिबीको कारण दुःखपूर्ण रहेको हुन्छ । तात्कालिन सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक अवस्थालाई जस्ताकोतस्तै रूपमा प्रस्तुत गर्नुका साथै उपन्यासकारले  यसबारे टिकाटिप्पणी, व्याख्या, विश्लेषण गरेको पाइन्छ । एकातिर उपन्यासकारले परिवर्तना तथा अन्य पात्रहरूबाट देशको अराजक स्थिति, शोषक सामन्तले गरिब निमुखाप्रति गरेको अभद्र व्यवहार, भ्रष्टाचार, कमिसनखोर प्रवृत्ति, गरिब झन गरिब हुने बिडम्बना, राजनीतिक अस्थिरताको कारण देश अधोगतितर्फ बढेको स्थिति  देखाएका छन् भने  अर्कोतिर यथास्थितिप्रतिको विद्रोह, सामाजिक विसङ्गतिको आलोचना, अनुशासनहीन र जनविरोधी तŒवहरूस“ग जुध्नुपर्ने अठोट उपन्यासकारको रहेको छ । परिवर्तनाको तत्कालिन गतिरोधलाई क्रमशः अन्त्य गरी देशलाई एउटा प्रगति र उन्नतितर्फ लाने प्रयास सफल भएको देखिन्छ । त्यसकारण मानव संसार उपन्यासमा  उपन्यासकार सरण राईले समसामयिक घटनालाई प्रस्तुत गरी त्यसप्रति विवेचना, आलोचना तथा आÏनो दृष्टिकोण प्रस्तुत गरेको देखिन्छ ।
प्रगतिवादी तथा समाजवादी यथार्थवादी प्रवृत्तिहरू मानव संसार उपन्यासमा देखिन्छ । सामन्तवादी पद्धतिको विरोध, गरिब निमुखा जनताको पक्षमा बोल्ने, समाजवादी ढा“चामा सम्पूर्णलाई बदल्ने इच्छा राख्ने चिन्तक, विचारक प्रगतिवादीभित्र पर्दछन् (सुबेदी ≤२०६४ः१२२ ) । प्रगतिवादी तथा समाजवादी धाराअन्तर्गत रहेर कथाहरू सिर्जना गर्ने सरण राईले आÏनो उपन्यास मानव संसारमा प्रगतिवादी स्वर उजागर गरेको देखिन्छ । गरिब परिवारमा हुर्केकी यस उपन्यासकी नायिका परिवर्तना सामन्ती संस्कारको विरोध गर्छे र गरिब निमुखा शोषणमा परेका जनताहरूको पक्षमा उभिन्छे । परिवर्तना सामन्ती सरकारको आन्दोलनमा सहभागी ह्ुन्छे । गाउ“गाउ“मा गएर गरिब जनताको उन्नति विकास गर्न समर्पित हुन्छे । कुशल प्रधानमन्त्री भएर नेपाली जनताको पक्षमा काम गर्ने र पु“जीवादी सामन्तीहरूको अन्त्य गर्न लागिपर्ने परिवर्तनाको विचार प्रगतिवादले ओतप्रोत भएको देखिन्छ । परिवर्तना नामैले पनि प्रगति र उन्नति उन्मुख देखिन्छ । त्यसैले प्रगतिवादलाई साहित्यमा कलात्मकताका साथ प्रस्तुत गर्ने सरण राई यस मानव संसार उपन्यासमा पनि त्यतिकै सजक र सफल देखिन्छन् ।
मानव संसार उपन्यासमा स्वच्छन्दतावादी प्रवृत्तिहरू पनि देखिन्छ । भावुकता, प्रकृतिप्रेम, प्रेम प्रसङ्ग, आध्यात्मिक चेत, विद्रोह, क्रान्ति आदी प्रवृत्ति भएको सुधारवादी आदर्श र पलायनवादी यथार्थको पक्षमा केन्द्रित रहेको वाद नै स्वच्छन्दवाद हो (सुवेदी≤२०६४ः८३,८४) । परिवर्तनाले शिक्षक यायावरस“ग गरेको प्रेम, समर्पण, भावुकपन आदीलाई निकै रोचकताका साथ स्वच्छनदवादी शैलीमा सरण राईले मानव संसार उपन्यासमा प्रस्तुत गरेको पाइन्छ । हिमाल, पहाड र तराईका प्राकृतिक छटाहरू, सुन्दर र मनोहर दृष्यहरूको वर्णनले विवेच्य उपन्यास उत्कृष्ट बनेको देखिन्छ । परिवर्तना र यायावरको भोगविलास, परिवर्तना र गोकुल ‘मानव’को आत्मीय प्रेम, निर्मलाको  गोकुल ‘मानव’प्रतिको एकोहोरो आकर्षण, आन्तरिक द्वन्द्व साथै समाज परिवर्तनको लागि परिवर्तना, यायावर, गोकुल ‘मानव’, डा. सौन्दर्या आदी पात्रहरूले गरेको क्रान्ति, परम्पराप्रतिको विद्रोह र प्रकृतितर्पmको झुकाव, भावुक संवेदना, स्वप्निल आकाङ्क्षा, अन्मुखी आत्मभिराम आदीले गर्दा मानव संसार उपन्यास स्वच्छन्दतावादी बन्न पुगेको देखिन्छ ।
विसङ्गतिवादी तथा अस्तित्ववादी प्रवृत्तिका आधारमा पनि मानव संसार उपन्यासलाई मूल्याङ्कन गर्न सकिन्छ । लामो सङ्घर्षपछि सफलता प्राप्त हु“दैन र केवल निराशा, कुण्ठा र विसङ्गतिका स्थिति देखा पर्छ भने त्यही नै विसङ्गतिवाद हो (सुवेदी≤२०६४ः२९५) । देशको राजनीतिक अवस्था, गाउ“लेहरूको दयनीय स्थिति, अव्यवस्थित सहरीकरण आदीले गर्दा परिवर्तनमा केही विसङ्गतिका रेखाहरू देख्न सकिन्छ । डा. सौन्दर्यामा आÏनो प्रेमीले धोका दिए पछि कहिल्यै विहे नगर्ने सङ्कल्प गर्नु र लोग्ने मान्छेहरूलाई विश्वास नगर्नु विसङ्गतिवादी सोच हो । शिक्षक यायावर पनि एकै ठाउ“मा बस्न नरुचाउने विसङ्गति र जीवनप्रति निराश भई चारैतिर हिड्न रुचाउने पात्र हो । जीवनप्रतिको आस्था, अस्मिताको लागि  सङ्घर्ष, संस्कृति र दुष्कृतिहरूप्रति आन्तरिक विद्रोह, विपरित यौन भोगको अनुभूति आदी प्रवृत्तिहरू अस्तित्ववादअन्तर्गत पर्दछन् (सुवेदी  ≤२०६४ः३३०–३३४) । खिनौरीले यायावरस“ग गरेको भोगविलास र प्राप्त सन्तुष्टी, तृप्ति, परिवर्तनाको आमाले गरेको जीवन सङ्घर्ष, परिवर्तना विभिन्न समस्यालाई झेल्दै एउटा सफल आरोही बन्नु, प्रधानमन्त्री हुनु र वृद्धाश्रम निर्माण गर्नु आदी उसमा अस्तित्ववादी चेत जुरमुराएको देखिन्छ । डा. सौन्दर्यामा विसङ्गतिवादी सोच भए पनि आÏनो सम्पूर्ण सम्पत्ति बालआश्रमलाई हस्तान्तरण गर्नु, शरीर दान गर्नकासाथै प्रभानमन्त्री भएर विभिन्न महŒवपूर्ण काम गर्नुले उसमा पनि अस्तित्ववाद भेट्न सकिन्छ । त्यसैले यस उपन्यासका पात्रहरू विसङ्गतिको बोध भएपछि अस्तित्वतर्फ उन्मुख भएका पाइन्छन् । अरु पात्रहरू पनि जोश, जागर प्रशस्त भएको देख्न सकिन्छ । त्यसैकारण विसङ्गतिवादी तथा अस्तित्ववादी प्रवृत्ति मानव संसार उपन्यासमा रहेको देखिन्छ ।
नारीवादी स्वरहरू मानव संसार उपन्यासमा झल्किएको पाइन्छ । मुख्य पात्रहरू नै नारी भएकोले नारीवादी विचारहरू गुञ्जायमान भएको विवेच्य उपन्यासमा नारी स्वतन्त्रता, नारी अस्मिता, लैङ्गिक भेदभावको विरोधआदीजस्ता प्रवृत्तिहरू रहेको देखिन्छ । परिवर्तना एउटा निम्नवर्गीय नारी भएर विश्वविख्यात भएकी छे । सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी ऊ एउटा सफल प्रधानमन्त्री बनेर उदाहरण बनेकी छे । डा. सौन्दर्या पनि त्यस्तै अर्को उदाहरण हो । उपन्यासकार सरण राईले मानव संसार उपन्यासमा नारीले गरेको सङ्घर्ष र प्राप्त सफलता, उनीहरूको सोच विचार पुरुषको समान रहेको देखाई नारी र पुरुष समान हुन् भन्ने विचार व्यक्त गरेको पाइन्छ ।
मानव संसार उपन्यासमा पात्रहरूको आन्तरिक र बाह्य दुवै मनको चित्रण गरेको पाइन्छ । उपन्यासकार सरण राईले मनोविश्लेषणत्मक तवरबाट पात्रका मनका पत्रहरू केलाउने प्रयास गरेको देखिन्छ । खिनौरीको मनमा उठेको आन्तरिक र बाह््य तरङ्गहरू, परिवर्तनामा गोकुल ‘मानव’प्रति उठेका भित्री मनका जिज्ञासाहरू, प्रेमीले छोडेर जा“दा प्रेमिकाका मनमा उब्जेका विछोडका क्षणहरूआदीलाई मनोविश्लेषणात्मक पद्धतिबाट राईले विवेच्य उपन्यासमा प्रस्तुत  गरेका छन् ।
समग्रमा सरण राईको मानव संसार उपन्यासले आलोचनात्मक यथार्थवादी धाराअन्तर्गत रहेर प्रगतिवादी मूल्य मान्यतालाई पनि व्यक्त गरेको पाइन्छ । यस उपन्यासमा यथार्थवाद, मनोविज्ञान, स्वच्छन्दवाद, अस्तित्व तथा विसङ्गतिवाद, अतियथार्थवाद, नारीवाद आदी वादहरू भेट्न सकिन्छ ।
समग्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रेम–प्रणय, क्रान्ति, धर्म, संस्कार, परिवर्तन आदी विषयवस्तुलाई नितान्त मौलिक ढङ्गमा उपन्यासकार सरण राईले मानव संसार उपन्यासमा चित्रित गरेकाले नेपाली उपन्यास साहित्यमा उपन्यासकार सरण राईको महŒवपूर्ण भूमिका रहेको देखिन्छ ।

                                                —हरिलाल पाण्डे,सरण राईको आख्यानकारिता
अप्रकाशित (त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिकशास्त्र सङ्कायअन्तर्गत महेन्द्र वहुमुखी क्याम्पस धरान, नेपाली विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौ“ पत्रको प्रयोजनार्थ प्रस्तुत शोधपत्र ) बाट ।



सरण राईको मानव संसार उपन्यासको चरित्रविधानको विश्लेषण

शोधार्थी ः शान्तादेवी राई


मानव संसार उपन्यासलाई दार्शनिक कोणबाट हेर्ने होभने सरण राईको उपन्यास मानव संसार  आलोचनात्मक यथार्थवाद चिन्तनमा उभिएको पाउछौ । उपन्यासको कथानकमा जोडिएका पात्रहरूले समाजमा देखिएका सबैखाले अन्यायविरुद्ध आवाज उठाउदै त्यसलाई सुधार्नु पर्ने भनेका छन् ।
उपन्यासको रचना गर्भ राजनीतिक परिदृश्य र कथानकको आवृत्ति सामाजिक नियति बन्न थालेको वृद्धाश्रम निर्माणसँग संयोजन हुनु निकै प्राविधिक देखिन पुगेको छ । अर्थात अन्त्य, राजनीति शुद्धताको उत्कर्ष वृद्धाश्रममा लगेर अन्त्य गराइएको छ । पुस्तान्तरण हुने क्रममा हाम्रा सामाजिक मान्यताहरू भत्किन थालेको अघिल्लो पुस्ताका अभिभावकहरू वृद्धाश्रममा बस्नु पर्ने बाधात्मक स्थितिबारे वर्णन गरिएको छ । उपन्यासले राजनीतिलाई रचना गर्भ बनाए पनि सामाजिक पक्षलाई मिहिन ढंगले उद्घाटन गरेको हुनाले उपन्यासमा सामाजिक सन्दर्भहरू पाउछौ ।
उपन्यासले कथानक कुतुहलतापूर्ण र सामान्य भाषा शैलीको  प्रयोगले उपन्यास बुझ्न सबैलाई सहज हुने देखिन्छ । रैखिक हुँदै वृत्तकारीय शैलीको पूर्वदीप्ति कथानक ढाचाले पाठकलाई बाधिरहने देखिन्छ । मुख्यतः यी विशेषता नै उपन्यास मानव संसार विशिष्टता भएको मान्न सकिन्छ ।
सरण राईको मानव संसार उपन्यासको चरित्रविधानको विश्लेषण
त्रिभुवन विश्वविद्यालय  मानविकी तथा सामाजिक शास्र सङ्काय अन्तर्गत नेपाली विभाग स्नातकोत्तर तहको द्वितीय वर्ष दशौं तहको प्रयोनका लागि प्रस्तुत शोधपत्र २०७१




विविध कोणबाट मानव संसार उपन्यासको विवेचना
                                            डा. भोलानाथ पोखरेल ,  धरान


१। विषय प्रवेश
    साहित्यका विभिन्न विधामा कलम चलाउने शरणकुमार राईको मानव संसार ९२०६५० आलोचनात्मक यथार्थतामा आधारित उपन्यास हो । आत्मवृतान्त शैलीमा लेखिएको यस उपन्यासमा २०६२र०६३ सालमा भएको नेपालको जनआन्दोलनलाई पृष्ठभूमिका रूपमा लिएको छ र त्यसभन्दा अगाडि एवम् पछाडिको परिवेशमा यो उपन्यास सिर्जना भएको छ । विवेच्य उपन्यासमा नेपाल सरकार र नेपाली भूमिमा अवस्थित विभिन्न दलहरूबीचको द्वन्द्व, शान्ति सम्झौता, संविधानसभाको निर्वाचन आदि महत्पूर्ण घटनाहरूलाई लिएर प्रस्तुत उपन्यास सिर्जना भएको छ । मुख्यतः राजनैतिक विषयवस्तुमा लेखिएको यस उपन्यासमा आवश्यकताअनुसार अन्य प्रसङ्गहरू पनि आएका छन् । आजको युग आधुनिकीकरणको युग हो जसको प्रभावमा परेर छोराछोरीहरू आफ्ना आमाबाबुबाट टाढिंदै गएका देखिन्छन् । यसैले बृद्घाश्रमको अनिवार्य आवश्यकता छ भन्ने विषयवस्तुमा उपन्यास केन्द्रित छ । यो लेखको उद्देश्य उपन्यासकार शरणकुमार राईको परिचय दिंदै उनको मानव संसार आलोचनात्मक यथार्थमा आधारित उपन्यास हो भन्ने विषयलाई पुष्टि गर्नु रहेको छ ।
२। उपन्यासकारको परिचय 
    बहुआयामिक व्यक्तित्वका धनी शरणकुमार राईको साहित्यिक नाम सरण राई हो । यस लेखमा अब उनलाई सरण राईकै नामबाट सम्बोधन गरिने छ । यिनी आमा शिवमाया र बाबु मछिन्द्रबहादुर राईका जेठो छोराको रूपमा २००४ साल चैत्र २४ गते भोजपुर जिल्लाको छिनामखु गाउँमा जन्मिएका हुन् । अनेरास्ववियुका केन्द्रिय सदस्य ९२०२६–२०२८० राई विद्यार्थी अवस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय रहेका देखिन्छन् । ३५ वर्षसम्म अर्थशास्त्रको प्राध्यापन पेशामा संलग्न राई ने। प्रा। सं। को केन्द्रीय सदस्यसम्मको पदीय जिम्मेवारी पनि उनले निर्वाह गरेको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, एमाले, माले पार्टीका विभिन्न समितिमा रहेर काम गर्ने उनी हाल आएर नेकपा एमाले अञ्चल सल्लाहकार सदस्यमा रहेर सक्रिय जीवन विताइ रहेका छन् ९बराल, २०६८ ः ३ परिशिष्ट खण्ड० । उनको व्यक्तित्वको  अर्को पाटो साहित्यिक यात्रा लगभग चार दशक भन्दा लामो छ । उनका केही कथा केही कविता ९सहलेखन ः २०३८०, साथी ९निबन्ध सङ्ग्रह ः २०६४०, मानव संसार ९उपन्यास ः २०६५० र अन्तिम स्वकारोक्ति ९कथासङ्ग्रह ः २०६६० प्रकाशित पुस्तकाकार कृतिहुन् । उनका प्रकाशोन्मुख कृतिहरू उडान मनको ९उपन्यास०, मृत्यु बाटाभरि फुलिरहने हुन्छ ९कविता सङ्ग्रह० र गाढा प्रेम ९कथासङ्ग्रह० रहेको विषय जानकारीमा आएको छ ।
३। आलोचनात्मक यथार्थवादी नेपाली उपन्यासहरू 
    यथार्थवादका विभिन्न धारामध्ये आलोचनात्मक यथार्थवाद पनि एक हो । आलोचनात्मक यथार्थवाद र प्रगतिवादका बीचमा पृथकता हुँदाहुँदै पनि कतिपय प्रवृत्तिहरूमा समानता पनि पाइन्छन् । समाजमा भएका शोषण, दमन, असमानता, अन्याय, अत्याचार, भ्रष्टाचार आदि प्रवृत्तिहरूको विरोध गर्नु आलोचनात्मक यथार्थवाद र प्रगतिवादका साझा विशेषता हुन् । प्रगतिवाद र आलोचनात्मक यथार्थवादले समाजका सकारात्मक पक्षको समर्थन र नकारात्मक पक्षको विरोध गरेका हुन्छन् ९सुवेदी, २०५३ ः १३४० । समाजको बाह्य वर्णनमा आलोचनात्मक यथार्थवादसीमित रहन्छ भने प्रगतिवाद द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादमा आधारित हुनाले यसले सामाजिक समस्याका आन्तरिक कारणहरू पनि पत्ता लगाउँदै समाधानका बाटातर्पm लक्षित हुन्छ । जबसम्म कुनै पनि वस्तुको सामान्य परिवर्तन मात्रै हुन्छ र साररूपमा परिवर्तन हुँदैन तबसम्म त्यस वस्तुको आधारभूत प्रवृत्तिमा फेरबदल हुँदैन भन्ने विचारमा प्रगतिवाद स्पष्ट हुनु र आलोचनात्मक यथार्थवाद स्पष्ट नहुनु यी दुईमा पाइने भिन्नता हुन् ९गौतम, २०४९ ः १५७० । यसरी भिन्नता हुँदाहुँदै पनि यी दुई सहयोध्दाजस्ता भएर सँगसँगै पनि हिडेका देखिन्छन् । जर्ज लुकासले यी दुवै विचारधारा छुट्याउन पनि गाह्रो हुन्छ र एउटै कृतिमा पनि यी दुवै शैली पाउन सकिन्छ भनेका छन् ९लुकाश, २०३१ ः २८५० । विवेच्य कृति मानव संसार उपन्यास मूल रूपमा आलोचनात्मक यथार्थवादी भएर पनि गौण रूपमा प्रगतिवादी प्रवृत्तिहरू पनि आएका छन् ।
    आधुनिक नेपाली उपन्यासको विकासक्रममा आलोचनात्मक यथार्थवादको सुरूवात लैनसिंक बाङ्गदेलको लङ्डाको साथी ९२००८० उपन्यासबाट भएको भन्ने पाइए तापनि वास्तवमा यस उपन्यासको मूल प्रवृत्ति आलोचनात्मक यथार्थवाद होइन । आलोचनात्मक यथार्थवादको मूल प्रवृत्तिलाई नै अँगालेर लेखिएका हृदयचन्द्रसिंह प्रधानका स्वास्नीमान्छे ९२०११० र एक चिहान ९२०१७० उपन्यासहरू प्रकाशित भएका छन् । उनको स्वास्नीमान्छे उपन्यासका नारीहरूका समस्याको विश्लेषण गरिएको छ र उनीहरूका मुक्तिका निमित्त विद्रोह गर्न पनि सिकाइएको छ ९पोखरेल, २०६४ ः १४९० । यस्तै उनको दोस्रो एक चिहान उपन्यासले अन्तर्जातीय विवाहलाई स्वागत गरेको छ र श्रम शोषणको विरोध गरिएको छ । यसै क्रममा खड्गबहादुर सिंहका विद्रोह भाग – १ ९२०११० र भाग – २ ९२०१३०, मञ्जुलको छेकुडोल्मा
९२०२६०, केशवराज पिडालीको एकादेशकी महारानी ९२०२६०, जगदीश घिमिरेको लिलाम
९२०२७०,र साबिती ९२०३२०, तारानाथ शर्माको सुली ९२०३००,मोदनाथ प्रश्रितको देशभक्त लक्ष्मीबाई ९२०३२०, पिटर जे कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छे ९२०३४०,कविताराम श्रेष्ठका वनदेवी ९२०२६०, पानीको थोपा ९२०३८० आदि उपन्यासहरू आलोचनात्मक यथार्थवादमा आधारित छन् । यस्तै मदनमणि दीक्षितको माधवी ९२०३९०, रमेश विकलको अविरल बग्छ इन्द्रावती ९२०४०० र सागर उर्लन्छ सगरमाथा छुन ९२०५२०, पारिजातका परिभाषित आँखाहरू ९२०४६०, बोनी ९२०४८०, गोविन्द गिरी प्रेरणको उत्खनन् ९२०४५०, पाखण्ड पर्व ९२०५००, भवानी पाण्डेको अमर वस्ती ९२०५३०, आदि उपन्यासहरू पनि आलोचनात्मक यथार्थवादी धाराका सवल उपन्यासहरू हुन् ९सुवेदी, २०५३ ः १३८–१७०० । यस्तै धाराका अन्य उपन्यासहरूमा कृष्ण धारावासीका शरणर्थी ९२०५४०, राधा ९२०६१०, तपाइँ ९२०६३०, खगेन्द्र सङ्ग्रौलाको जूनकीरीको सङगीत ९२०५६०, नारायण तिवारीको पिताम ९२०५७० आदि उपन्यासहरू पनि आलोचनात्मक यथार्थवादी धाराकै विकासक्रममा आएका छन् । यसै क्रममा सरण राईको मानव संसार ९२०६५० उपन्यास देखा परेको छ । यस उपन्यासका पात्रहरूका माध्यमबाट सामाजिक विकृति, शोषण, दमन, अन्याय, अत्याचार एवम् जनविरोधी उच्छृङ्खल क्रियाकलापको विरोध गरिएको छ ।
४। कथानक
    मानव संसार उपन्यासको कथानक पूर्वदीप्ति शैलीबाट अगाडि बढेको छ । जागिरे जीवनबाट अवकास प्राप्त म पात्र मानव संसार वृध्दाश्रमको अवलोकन गर्न जान्छ र वृध्दाश्रमकी संस्थापक परिवर्तनाद्वारा लिखित आत्मवृतान्त म पात्रले पढेपछि उपन्यासको कथानक आरम्भ हुन्छ । यस उपन्यासकी नायिका परित्याक्ता आमाकी छोरी खिनौरी हो । उसको बाबु तल्लो जातकी भनेर हेयगरिएकी केटीसँग प्रेम गरेकै कारणले घरबाट बहिष्कृत भएर विदेशीएको कयौं वर्ष भइसक्ता पनि उसको कुनै खबर आएको छैन । यसरी परित्याक्ता एक्ली आमाको लालनपालनमा हुर्किएकी खिनौरी काम गर्न सक्ने भएपछि शिक्षक यायावरका घरकोे कामदार बन्न पुग्छे । मानवीय पात्र यायावरले उसलाई काममात्र लगाउँदैन पढ्न सिकाएर साक्षर पनि बनाउँछ । उसले खिनौरीको नाम परिवर्तना राखेको छ र छोटकरीमा परी भनेर बोलाउँछ । अन्त्यमा शिक्षक पेशा छाडेर शहर जाँदा परिवर्तना पनि यायावरसँगै जान्छे र शहरमा गएर उसले उच्च शिक्षा पढ्छे र कम्प्युटरको तालिम पनि लिन्छे र आफ्ना खुट्टामा आफै उभिन सक्ने हुन्छे । परीले राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक आदि विषयहरूको स्वध्ययन पनि गरेकी छ । परी आफ्नै खुट्टामा उभिन सक्ने भएपछि यायावर पनि अन्यत्रै जान्छ । नेपालमा सञ्चालन हुँदै गएको जन आन्दोलनमा धेरै मानिसहरू हताहत भएकामा ऊ चिन्तित हुन्छे । यसै क्रममा परीको अग्रसरतामा नेपालमा भएका अन्याय, आत्याचार, गरिबी, अज्ञानताका विरूद्ध र वातावरणको चेतना जगाउने उद्देश्य राख्तै १७ जना युवाहरूको एउटा समूह गठन हुन्छ । सो समुहका सदस्यहरूलाई बेग्लाबेग्लै क्षेत्रमा कामको जिम्मा दिइन्छ र जसमा परिवर्तना हिमाली क्षेत्रमा पर्दछे । परिवर्तनाको टोली र अन्य टोलीले ७७७ दिनमा आफूले जिम्मा लिएको काम पूरा गरी सहर फर्कन्छन् । परीले पश्चिमी जिल्लाहरूको भ्रमण गरेर त्यहाँ भएका समस्याहरूको सङ्कलन गर्दै समाधानका उपायहरूसमेत भएको प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउँछे तर सरकारबाट त्यो प्रतिवेदनको कुनै सुनुवाई हुँदैन । गठन भएको १७ जनाको टोलीमा लक्ष्मणिया र स्वजना सहिद भइसकेका हुन्छन् । परिवर्तनाले हिमाल चढ्ने तालिम लिएर सहिद लक्ष्मणिया र स्वजनाको ढलोट चोमोलोङमा ९सगरमाथामा० राखेर कृतज्ञता ज्ञापन गर्दछे । यसरी परिवर्तनाले सफल हिमाल आरोहण गरी सहिदको सम्मान गरिएकोमा सर्वत्र प्रशंसा हुन्छ ।
    साइवर क्याफे खोलेकी परी विदेश भ्रमणमा जाने अवसर पाउँछे । विदेश भमणबाट फर्किए पछि उसकै साइवरमा आइरहने साहित्यकार गोकुल मानवसँग प्रेम हुन्छ र उनीहरूका बीचमा विवाह पनि हुन्छ । नेपालमा संविधान बनेर पनि देशका मुलभूत समस्याहरू समाधान हुन नसकेकाले अर्को एउटा नयाँ दल सर्व विकास निर्माण पार्टी गठन हुन्छ । निर्वाचनमा कसैको पनि बहुमत नआएका हुनाले सर्वसम्मति सरकारमा परिवर्तना उपप्रधानमन्त्री हुन्छे । गठबन्धन सरकार राम्रोसँग चल्दैन र परिवर्तनाकी आमाको पनि देहबसान हुन्छ । चारवर्ष पछि भएको अर्को चुनावमा परिवर्तनाको सर्व विकास निर्माण पार्टी सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुन्छ र तस्रो ठूलो दलसँग मिलेर बनेको संयुक्त सरकारको प्रधानमन्त्री परिवर्तना हुन्छे ती पार्टीहरू बीचमा भएको आरोप प्रत्यारोपका कारणले सरकारले लोकप्रिय काम गर्न सक्तैन ।
    परीका छोराछोरी विदेशमा हुन्छन् । उसकी छोरी नायुमाले विदेशी डा। जोन्सनसँग विवाह गर्दछे । छोरो पारुहाङले स्वदेशी केटीसँग विवाह गरे पनि विदेशमै बस्तछ । यसरी छोराछोरी दुवै विदेशमै बस्ने भएकाले परी चिन्तित हुन्छे । गठबन्दन सरकारका बीचमा मनमुटाव हुन्छ र एक दिन भव्य समारोहमा परिवर्तनालाई ताकेर हानेको गोली छेक्ता गोकुल मानवको मृत्यु हुन्छ । परिवर्तनालाई नजरबन्दमा राखिन्छ । गठबन्दन सरकारले राजिनामा दिएपछि मध्यावधी निर्वाचन हुन्छ । निर्वाचनमा सर्व विकास निर्माण पार्टी बहुमतले विजय हुन्छ । परिवर्तना प्रधानमन्त्री नबन्ने भएपछि अर्थशास्त्रको विद्यावारिधि डा। सौन्दर्यालाई उसले सिफारिस गर्दछे ।
    परिवर्तना डा। गोकुल मानव आश्रम नामको वृद्धाश्रम निर्माणमा तल्लीन हुन्छे पचास शैयाको अस्पताल बन्छ । त्यस अस्पताललाई डा। सौन्दर्या र परीले शरीर दान गर्दछन् । डा। गोकुल मानव आश्रम, मानव आश्रम हुँदै मानव संसार आश्रममा परिणत हुन्छ । यस आश्रमका अन्य शाखाहरू पनि खोलिन्छन् । वृद्धाहरूलाई अनेकौं प्रतिस्पर्धात्मक कार्यक्रमहरू गराएर खुसी तुल्याइन्छ । बुढ्यौलीले छोएकी परिवर्तना पनि वृद्धाश्रममै बस्न थाल्छे । परिवर्तनाले आपूmद्वारा लिखित आफ्नो आत्मवृतान्त डा। सौन्दर्यलाई दिएकी हुन्छे । एक दिन वृद्धाश्रममै परिवर्तनाको मृत्यु हुन्छ । नायुमा, पारुहाङ सौन्दर्या र अन्य सबै वृद्धहरू शोकाकूल हुन्छन् । परिवर्तनाको आत्मवृतान्त पीताम्बरले लपेटेर उच्च सम्मानका साथ वृद्धाश्रमको प्रदर्शनी कक्षमा राखिन्छ र मानव संसार उपन्यासको कथानकको अन्त्य हुन्छ ।
      मानव संसार उपन्यासको कथानक आदि, मध्य र अन्त्यका क्रममा अगाडि बढेको छ । परिवर्तनाद्वारा लिखित आत्मवृतान्त पढ्न थालेपछि कथानक आरम्भ हुनछ । भव्य समारोहका बीच परिवर्तनालाई हानेको गोली लागेर गोकुल मानवको मृत्यु हुनु यस उपन्यासको चरमोत्कर्षको अवस्था हो । यसपछि उपन्यासको कथानक ओरालो लाग्छ । वृद्ध भएर रोगाएकी परिवर्तनाको मृत्यु हुनु र उसको आत्मवृतान्ता आश्रममा अत्यन्तै सुरक्षित रूपमा सम्मानका साथ राख्नु अन्त्य भाग हो । उपन्यासको अन्त्य भागमा छरिएर रहेका पात्रहरू समेटिने हुन्छन् र यस उपन्यासको अन्त्यमा पनि प्रायः सवै पात्रहरू भेला भएर परिवर्तनाको मृत्युमा शोकाकूल भएका छन् । यसरी रैखिक रूपमा अगाडि बढेको कथानकमा वृत्तकारीय ढाँचाको आभास पनि मिल्छ । खेमनाथ दाहालले मानव संसार उपन्यासको विषय वस्तु संस्मरणत्मक माध्यमबाट वृत्तकारीय शैलीमा प्रस्तुत गर्ने क्रममा शारीरिक श्रमलाई बढीमहत्व दिएको विषयमा चर्चा गरेका छन् ९दाहाल, २०६६स् २० । कथावस्तु अतीतावलोकन ९ँबिकज द्यबअप० का रूपमा प्रकट हुँदा कथानक भूमरी झैं घुमेको अवस्थामा प्रकट हुन्छ । यस्ता किसिमका कथानकमा जुन बिन्दुबाट आरम्भ हुन्छ त्यही बिन्दुमा आएर अन्त्य हुन्छ । मानव संसार उपन्यास पनि म पात्रले परिवर्तनद्वारा लिखित आत्मसंस्मरण पढ्न थालेपछि कथानकको सुरुवात हुन्छ र पढिसकेपछि कथानकको अन्त्य हुन्छ ।
    उपन्यासको पूर्वाद्र्धमा अत्यन्तै मानवीय एवम् गरिब, दुःखी, असाहाय एवम् नारी उत्थानमा अगाडि बढेको शिक्षक यायावर उपन्यासको उत्तराद्र्धमा आएर एक्कासी रहस्यात्मक रूपले हराएको छ । उसले नै खिनौरीलाई परिवर्तना बनाएको हो । परिवर्तनाले पनि यायावरलाई सच्चा सहयोगी मानव संझेकी छ । उसले आफ्नो शरीरसमेत यायावरलाई सुम्पिएर प्रणयसम्बन्धमा समेत ऊ बाँधिन पुगेकी छ । यसरी परिवर्तनाको आस्थाको केन्द्रबिन्दु भएको मानवीय पात्र यायावर उपन्यासको कथानकबाट एक्कासी रहस्यात्मकरूपले हराउनु र परिवर्तनाले समेत आफ्नो आत्मवृतान्तमा खासै स्मरण नगर्नाले यायावरमाथि अन्याय भएको पाठकलाई महसुस हुन्छ । उपन्यास पढीसक्ता पनि पाठकहरू यायावरकै जीवनशैलीलाई स्मरण गर्दै उसैलाई खोजी गरि रहेका हुन्छन् । उपन्यासको मानवीय पात्र यायावर बालकृष्ण समको आगो र पानी खण्ढकाव्यको जङ्गली पात्रजस्तै भएर पनि उपन्यासकारले यायावर माथि अन्याय गरेका छन् तर समले आफ्नो जङ्गली पात्रलाई भने न्याय दिएका छन् । यसरी विषयवस्तुलाई नयाँ किसिमले उठान गर्दै लेखिएको मानव संसार उपन्यासको उद्देश्य भविष्यप्रति आशावादी हुनु हो ९सुवेदी, २०६६ ः १६० ।
५। चरित्रचित्रण
    पात्र वा चरित्र कथानक गतिका संवाहक हुन् । चरित्रको विकास भनेकै कथानकको पनि विकास हो । उपन्यासमा पात्रहरूकै माध्यमबाट सामाजिक जीवनका सम्पूर्ण घटनाहरू अभिव्यक्त हुँदा उपन्यासको उद्देश्य पूरा हुन्छ । सत् वा असत् मानिसहरूबाट मानव समाज निर्माण भएजस्तै औपन्यासिक समाजमा पनि अनुकूल एवम् प्रतिकूल पात्रहरूले त्यहाँको समाजका लागि भूमिका खेलेका हुन्छन् । मनुष्यलाई ग्रन्थिको आवश्यकता पर्ने र पात्रलाई नपर्ने विशेषताले गर्दा मान्छे र पात्रका बीचमा भिन्नता आएको पाइन्छ तर पनि मनुष्य र पात्रका    व्यवहार एउटै जस्ता देखिन्छन् ९फोस्टर, सन् १९५३ ः ३६० । मानव संसार उपन्यासका मुख्य पात्रहरूको चरित्रचित्रण यस प्रकारले गर्न सकिन्छ ः
क। परिवर्तना
    परिवर्तना मानव संसार उपन्यासकी मुख्य नारी पात्र हो । तल्लो जातकी भनेर अपहेलित खिनौरी गतिशील नारीपात्र हो जो यायावरकहाँ नोकर बस्ताबस्तै शिक्षित एवम् सभ्य भएर परिवर्तना भएकी छ । उपन्यासमा परिवर्तनालाई परी भनेर पनि बोलाइन्छ । परी देश र जनताको हितका निमित्त सधैं सक्रिय रहने अनुकूल देशभक्त चरित्र हो । जीवन चेतनाका आधारमा वर्गगत पात्र परिवर्तनाले देशभक्त सक्रिय युवती नारीहरूको प्रतिनिधिŒव गरेकी छ उपन्यासमा प्रत्यक्ष रूपमा देखापर्ने परी मञ्चीय पात्र हो जो मानव सेवा नै धर्म हो भन्ने ठान्दछे । वृद्धाहरूका निमित्त वृद्धाश्रम खोली कुशलतापूर्वक सञ्चालन गर्ने मानवगतावादी पात्र परीले गाउँगाउँमा गएर जनचेतना फैलाउने काम पनि गरेकी छ । उपन्यासको आदिदेखि अन्त्य सम्म महŒवपूर्ण भूमिका खेल्ने बद्धपात्र परीलाई उपन्यासबाट हटाउने हो भने उपन्यासको अस्तिŒवै रहन सक्तैन । ऊ विना मानव संसार उपन्यासको कथानक नै अगाडि बढ्दैन । सफल सगरमाथा आरोहण गरेर सहिदको ढलोट राख्ने परी उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री जस्तो गसिमामय पदमा बसेर पनि देश सेवा गरेकी छ । राजनीति फेहोरी खेल हो भन्ने सामन्ति सोचाईको विरोधी पात्र परीले देश सेवागर्नका निमित्त सर्व विकास निर्माण  पार्टी पनि खोल्ने ऊ साहासिक कर्तव्यनिष्ट पात्र हो ।
ख। डा। गोकुल मानव
    डा। गोकुल मानव मुख्य पुरुष पात्र हो । ऊ परिवर्तनाको पति र नायुमा एवम् पारूहाङको बुबा हो जो अध्ययनशील साहित्यकारका रूपमा देखा परेको छ । साहित्यप्रेमी गोकुल आफ्ना सन्तान भनेकै कृति हुन् भन्दछन् र नारीहरूलाई हौसला दिएर कार्य गर्न उत्साहित गर्दछ । अनुकूल पात्र गोकुल पत्नीको ज्यान बचाउन छातीमा गोली थापेर जीवन बलिदान गर्न पनि पछि पर्दैन । सहयोगी भावनाको गोकुलले नारीहरूलाई समाजसेवा गर्न उत्साहित गरेको छ । आसन्नताका आधारमा उपन्यासमा प्रत्यक्ष रूपमा देखापर्ने गोकुल मञ्चीय पात्र हो जसलाई उपन्यासबाट हटाउने हो भने उपन्यासको निर्माण हुन नसक्ने हुनाले ऊ बद्ध पात्र पनि हो ।
ग। यायावर 
     यायावर मानव संसार उपन्यासको सहायक पुरुष पात्र हो । शिक्षक पेशामा संलग्न यायावर सहयोगी अनुकूल पात्र हो जसले खिनौरी ९परिवर्तना०लाई घरमा काम गर्नेका रूपमा राखेर पनि शिक्षादीक्षा दिंदै ज्ञानगुनका कुरा सिकाएर व्यावहारिक बनाएको छ । परिवर्तना आफ्नै आर्जनले बाँच्नसक्ने सक्षम, सबल, सचेत एवम् जाग्रत भएपछि मात्र सहयोगी पात्र यायावरले उसलाई छोडेको छ । सधैं एक ठाउँमा बस्न मन नपराउने पात्र यायावर बटुवाजस्तो देखिन्छ । नारीहरूको उन्नति प्रगति भएको देख्न चाहने ऊ पथप्रदर्शक पात्र हो उसकै प्रेरणा पाएर परिवर्तनाले सगरमाथा आरोहण मात्र होइन समाजसेवामा समर्पित हुँदै प्रधानमन्त्री सम्मको ओहोदामा पुगेर देश सेवा गरेकी छ । परिस्थिति अनुसार आपूmलाई परिवर्तन गर्दै लैजाने यायावर अनुकूल पात्र हो । ऊ उपन्यासमा प्रत्यक्ष रूपमा देखापर्ने मञ्चीय पात्र पनि हो ।
घ। डा। सौन्दर्या
    परिवर्तनाकी मिल्ने साथी डा। सौन्दर्या मानव संसार उपन्यासकी सहायक स्त्री पात्र हो । गतिशील पात्र सौन्दर्या प्रेममा धोका पाएपछि सम्पूर्ण पुरुषहरूलाई आफ्नै प्रेमीजस्तै धोकेवाज ठान्ने ऊ एक सफल प्रधानमन्त्री हो परोपकारी एवम् गतिशील पात्र सौन्दर्याले आफ्नो सम्पूर्ण सम्पत्ति बालआश्रमलाई दिएकी छ । मृत्युपछि आफ्नो शरीर अस्पताललाई दान दिने सौन्दर्या मानवीय पात्र पनि हो । तर्कशील, कर्तव्यनिष्ठ, कुशल नेत्री, र परोपकारी चरित्र सौन्दर्या आसन्नताका आधारमा मञ्चीय पात्र पनि हो ।
ङ। अन्य पात्र
    उपन्यासको कथानकमा झल्याकझुलुक देखापरेर हराउने पात्रहरूलाई गौण पात्र भनिन्छ । यस्ता गौण पात्रहरूमा परिवर्तनाकी आमा पनि एक हो । ऊ आफ्ना श्रीमान्बाट परित्यक्त नारी चरित्र हो जसलाई तल्लो जातकी भनेर आफ्ना पतिले छोडेर जान वाध्य तुल्याइएको छ । तिनै आमाकी छोरी परिवर्तना देशकी प्रधानमन्त्री बनेकी छ । यस्तै अन्य गौण स्त्रीपात्रहरू नायुमा, दीपा, निर्मला, कमलासोरी, सिर्जना, फूलमाया, मुखेनी, बज्यै, माइली आदि उपन्यासको कथानकमा आवश्यकता अनुसार छोटो समयकालागि आएर आफ्नो भूमिका खेलेका छन् । यस उपन्यासमा झल्याकझुलुक देखापर्ने अन्य केही गौण पात्रहरू यी हुन् – पारूहाङ, जमानसिंह, वलवीर, जोन्सन, धनबहादुर, प्रसादमणि, इन्द्रमान, मेघबहादुर, बद्री, खेम, लक्ष्मणिया, आयुश्मा, सौरभ ।
६। दृष्टिबिन्दु
    मानव संसार उपन्यासमा आन्तरिक र बाह्य दुवै प्रकारका दृष्टिबिन्दुको प्रयोग भएको पाइन्छ । आन्तरिक केन्द्रीय दृष्टिबिन्दुको एउटा उदाहरण यस्तो छ – “मानिस जबसम्म बूढो हुँदैन तबसम्म ऊ नयाँ कुरा सिक्न चाहन्छ भन्ने भनाइसँग म शतप्रतिशत सहमत छु” ९राई, २०६५ ः २० । यस दृष्टिकोणबाट कथित कथामा मुख्य पात्रको आन्तरिक जविनको गहिराई सूक्ष्म ताका साथ प्रस्तुत हुन्छ । ९श्रेष्ठ, २०३९ ः ५९० । विवेच्य उपन्यासको एक पेजदेखि आठ पेजसम्म उपन्यासकार स्वयम् म पात्रका रूपमा उभिएर उपन्यास उगाडि बढाएका छन् । प्रस्तुत उपन्यासको नौ पेजदेखि एकसय पचहत्तर पेजसम्म आन्तरिक केन्द्रीय दृष्टिबिन्दुका रूपमा परिवर्तना म पात्रका रूपमा आएकी छ । म पात्र ९उपन्यासकार०को मानव संसारको परिकल्पनाकार को हुन् ? भन्ने जिज्ञासाको उत्तर दिने क्रममा विवेच्य उपन्यासकी सञ्चालिका डा। सौन्दर्या मानव संसारका बारेमा परिवर्तनाद्वारा लिखित स्मरण आत्मवृतान्त दिन्छे अनि म ९उपन्यासकार० पात्रले पढ्न थालेपछि कथानक सुरु हुन्छ । यस उपन्यासमा १७६ पेजदेखि अन्तिम १९२ पेजसम्मै बाह्य तृतीयपुरूष दृष्टिबिन्दुका माध्यमबाट कथानक अगाडि बढेको छ ।
    अतः छोटकरीमा भन्ने हो भने मानव संसार उपन्यासको सुरुमा लेखक स्वयम् आन्तरिक केन्द्रीय दृष्टिबिन्दुका रूपमा म पात्र भएर उभिएका छन् । त्यसपछि परिवर्तनाद्वारा लिखित आत्मवृतान्त पनि लेखकद्वारा पढ्न थालेपछि म पात्रका रूपमा परिवर्तना देखापरेकीले प्रथम पुरुष देष्टिबिन्दु रहेको देखिन्छ । उपन्यासको उत्तराद्धमा भने बाह्य तृतीयपुरूष दृष्टिबिन्दुमा कथानक अगाडि बडेको छ । यसरी विवेच्य उपन्यासमा दृष्टिबिन्दुको परिवर्तनले मानव संसारको स्तर भने खस्किएको छैन ।
७। परिवेश
    मानव संसार मूलतः जनआन्दोलनको पृष्ठभूमिमा सृजित उपन्यास हो । उपन्यासको समयावधि लगभग सय वष भए तापनि मूल रूपमा धेरै घटनाहरू २०६२÷६३ सालको छेउछाउमा घटेका छन् । त्यसैले प्रस्तुत उपन्यास नेपाली परिवेशमा सृजित उपन्यास हो । छिटपुटरूपमा अमेरिका, बेलायत, जर्मन, हङ्कङ्, फ्रान्स आदि देशहरूको मनोरम दृश्य पनि उपन्यासका परिवेशमा आएका छन् । प्रस्तुत उपन्यासमा नेपालका राजनैतिक पार्टीहरूका बीचमा हुने विश्वासघात, छलकपट, शक्ति हत्याउन खेलिने फोहोरी खेल आदि पनि परिवेशका रूपमा आएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको रमणीय चित्रण भएको यस उपन्यासमा हिमाल, लेक, पाहाड, तराई लगायत नेपालको सुन्दर प्राकृतिक सौन्दर्यलेयुक्त परिवेशको चित्रण यस उपन्यासमा भएको छ । विवेच्य उपन्यासमा बृद्धाहरूको मानसिक अवस्थाको चित्रण पनि गरिएको छ । बृद्धाहरूमा पनि आफू केहीगर्न सक्छु भन्ने हिम्मत हुनु तर उनीहरूका छोराछोरी एवम् आफन्त जनहरूबाट तिरस्कार गरिने प्रवृत्तिको बिरोध गरिएको छ । यस उपन्यासमा वृद्धाश्रमको परिवेश मात्र नभएर बाल आश्रमका उज्ज्वल भविष्यका  नक्षेत्रहरूको परिवेश पनि समेटिएको छ ।
८। सारवस्तु
    मानव संसार मानव प्रेममा आधारित उपन्यास हो । यस उपन्यासको सुरुदेखि अन्त्यसम्मै प्रेमकै सेरोफेरोमा कथानक अगाडि बढेको छ । उपन्यासमा आमाबाबुले छोराछोरीहरूमा गरिने प्रेम, शिक्षकबाट छात्रामा हुने प्रेम अथवा छात्राले आफ्ना गुरुप्रति गरिने प्रेम, नागरिकमा देशप्रति हुने प्रेम अथवा जवान केटाकेटीहरूले एक अर्कोमा गर्ने प्रेम, पति–पत्नीका बीचमा हुने प्रेम, साथीले साथीलाई गर्ने प्रेम जस्ता विषयवस्तुमा उपन्यास सृजित भएको छ । यसरी उपन्यासमा प्रेमबीनाको जीवन निरस, भयावह, कष्टकर, अन्धकारयुक्त, एवम् असफल हुन्छ  भन्ने विषयवस्तु पुष्टि गर्नका निमित्त उपन्यासकारले विभिन्न प्रसङ्गहरू ल्याएका छन् । नारीलाई बढी महŒव दिएर लेखिएकको यस उपन्यासमा अवसर पाएमा नारीहरू सामाजिक संघ संस्था खोलेर मानव सेवा गर्न देशविदेश घुम्न, सगरमाथा चढ्न मात्र होइन प्रधानमन्त्री जस्तो गरिमामामय पदमा रहेर पनि देश सेवा गर्न पछि पर्दैनन् भन्नेकुरा देखाउनु नै यस उपन्यासको मूल उद्देश्य हो । 
    मानव संसार उपन्यास बृद्धाहरूका निमित्त बृद्धाश्रम अति आवश्यक हुन्छ भन्ने सारवस्तुमा लेखिएको उपन्यास हो । प्रस्तुत उपन्यास समय वित्तैजाँदा मानिस बूढो हुँदै जान्छ र बुढेसकाल पनि हरेक मान्छेले सक्रिय भएरै बिताउने योजना बनाउनुपर्छ भन्ने सन्देश दिंदै लेखिएको छ । आजको नयाँ युगमा आधुनिक युवायुवतीहरू धेरैजसो पश्चिमी सभ्यता र संस्कृतिबाट प्रभावित हुँदै आएका भेटिन्छन् । यो पिंढीका धेरैजसो युवायुवतीहरू अघिल्लोे पुस्ताका मान्यजनसँग बस्नुभन्दा उनीहरू टाढा स्वतन्त्र भएर बस्न रूचाउँछन् । उनीहरू आफ्ना वृद्धा आमाबाबुको रेखदेख अरू कसैले गरिदिए हुन्थ्यो भन्ने चाहना राख्ने हुन्छन् । वृद्धाश्रममा वृद्धहरूका बीचमा विभिन्न कार्यक्रम भइरहने हुनाले उनीहरूको जीवन रमणीय रूपमै बितेको हुन्छ । त्यसैले हरेक मानिसले उमेरमै आफू बस्ने वृद्धाश्रम सुविधासम्पन्न बनाउन सहयोग गर्नुपर्छ भन्ने उद्देश्यराख्तै यो उपन्यास लेखिएको छ । मानव संसार उपन्यासमा पनि परिवर्तनाद्वारा आधुनिक सुविधा सम्मपन्न वृद्धाश्रम खोलेर वृद्धहरूलाई सन्तुष्टी दिएकी छ । अतः वर्तमान अवस्थामा वृद्धाश्रम अनिवार्य आवश्यकता छ भन्ने सारवस्तुमा उपन्यास लेखिएको छ ९पाण्डे, २०६७ ः ८४० ।
    नारीहरू पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने। सारवस्तुमा मानव संसार उपन्यास लेखिएको छ । उपन्यासमा दुब्ली, नाङ्गी, मैली, फोहोरी, जिङ्रिङ्ग कपाल भएकी, घीनलाग्दी बालिका खिनौरी यायावरको सहायताले परिवर्तना हुन पुग्छे । उसले जीवनमा विभिन्न सङ्घर्ष गर्दै अगाडी बढ्ने क्रममा ऊ सर्वोच्च शिखर सगरमाथा चढ्न सफल हुनुका साथै उपप्रधानमन्त्री एवम् प्रधानमन्त्री हुन र बृद्धाश्रम स्थापना गर्न पनि सफल हुन्छे । आफ्नो जीवनसाथीको मृत्युका कारण उत्पन्न शोकलाई शक्तिमा बदल्दै अगाडी बढ्ने परिवर्तनाको भूमिका नारीहरूका निमित्त उत्प्रेरणा बनेको छ । 
    मानव संसार २०६२÷६३ तिरको नेपालको राजनैतिक अवस्थालाई चित्रण गर्ने उपन्यास हो । विवेच्य उपन्यासमा नेपालको जनआन्दोलन र त्यस आन्दोलनमा सरकारको तर्फबाट आन्दोलनकारीहरूमा गरिएको अमानवीय व्यवहार, राजनैतिक पार्टीहरूको निजी स्वार्थी मनोवृत्ति, सत्तामा पुग्ने गणितीय खेल, हत्या, आतङ्क, अत्याचार आदिको यथार्थरूपमा चित्रण गर्नु पनि यस उपन्यासको उद्देश्य रहेको छ । यस्तो सङ्क्रमणकालीन राजनैतिक अवस्थामा पनि परिवर्तना सफल प्रधानमन्त्री भएकी हुँदा नेपालको राजनैतिक भविष्य उज्ज्वल देख्ने उपन्यासकार राजनीति  ठीक भएपछि मात्र सामाजिक, आर्थिक, सांस्कृतिक पक्षहरू ठीक हुने कुरामा विश्वस्त छन् । यस उपन्यासमा हत्या, हिंसा आदिको विरोध गर्नुका साथै तत्कालीन राजदरवारमुखी राजनीतिको पनि विरोध गरिएको छ । विवेच्य उपन्यासमा राजनैतिक घुसपैठ नेताहरूमा भएको स्वार्थी प्रवृत्ति, पश्चिमी सभ्यताबाट प्रभावित भएर खोलिएको वृद्धाश्रम अन्तरजातीय विवाहको समर्थन, नरीहरूको सङ्घर्षमय जीवन, समाजमा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, नारीहरू एक जुट भएर अगाडि बढ्ने सन्देश आदि विषयवस्तु पनि यस उपन्यासमा आएका छन् ।
९। भाषशैली
भावको सम्प्रेशण गर्ने माध्यमनै भाषा हो र शैली उद्देश्य प्राप्तिका निमित्त अपनाइने रचनात्मक विधि हो । मानव संसारको भाषशैली वर्णनात्मक किसिम कै भए तापनि यसमा केही नवीन प्रवृत्तिहरू पनि अपनाइएको छ । पात्रहरूको चरित्रचित्रण गर्ने सन्दर्भमा मूलतः स्मृतिशृङ्खलाले नै महŒव पाएको छ । उपन्यासमा आवश्यकता अनुसार उपन्यासकारको विश्लेषणात्मक एवम् तार्किक टिप्पणी र घटनाको नाटकीकरणको निमित्त संवादको प्रयोग पनि छ । उपन्यासका कतिपय घटनाहरूलाई कविताका माध्यमबाट पनि अभिव्यक्त गरिएको छ । सन्दर्भ सुहाउने गरी नेपाली उखानटुक्काहरूको प्रयोगले गर्दा उपन्यास मार्मिक बनेको छ । सहज सरल एवम अनुकरणात्मक भाषाको प्रयोगले गर्दा उपन्यास सर्वसाधारण पाठकका निमित्त पनि बोधगम्य बनेको छ । विवेच्य उपन्यास विभिन्न खण्डमा विभाजित छैन । उपन्यासकारले उपन्यासको अन्त्यमा उपसंहार दिएर उपन्यास टुङ्ग्याएका छन् । उपन्यासमा एउटा प्रसङ्ग सकिएपछि तीनवटा ८ ८ ८  चिन्ह दिइन्छ । राईले केहीआफ्नै मातृभाषका शब्दहरू प्रयोग गरेर स्थानीयताको रङ्ग पनि दिएका छन् । नेपाली मै प्रशस्त शब्द हुँदाहुँदै मेसेजजस्ता अङ्ग्रेजी शब्दहरूको प्रयोग गर्नुका साथै स्वार्थी नेताहरूको व्यक्तिŒवलाई घिनलाग्दो वस्तुसँग तुलना ९राई, २०५६ ः १०९० भएका प्रसङ्गहरू भने उपन्यासका सीमा हुन् । अपवादका रूपमा यस उपन्यासमा आउने एकाध प्रसङ्गलाई छाडिदिने हो भने समष्टिगत रूपमा प्रगतिवादी मूल्यका दृष्टिले मानव संसार ओजपूर्ण छ । भविष्यमा उपन्यासकारका अझ मूल्यवान उपन्यासहरू पाठकले पढ्न पाउँने छन् भन्ने आशा गर्न सकिन्छ ।
१०। निष्कर्ष
    समग्रमा भन्नुपर्दा मानव संसार उपन्यासमा शान्तिदेखि क्रान्तिसम्म, शहरदेखि गाउँसम्म, हिमालदेखि तराईसम्म, विदेश भ्रमणदेखि सगरमाथाको आरोहणसम्म, सामन्त शोषकदेखि श्रमिक मजदुर किसानसम्म, व्यक्ति मान्छेदेखि समाजमान्छे सम्म, नोकरदेखि प्रधानमन्त्रीसम्म, व्यक्तिआश्रमदेखि सार्वजनिक वृद्धाश्रमसम्म, प्राकृत जगतदेखि मानवजगतसम्मका विषयवस्तु समेटिएका छन् । यस आलोचनात्मक यथार्थवादी उपन्यासमा शोषण, दमन, अन्याय, अत्याचार, ढिलासुस्ती, भ्रष्टाचार, हिंसा, हत्या, आतङ्क, अशान्ति, युद्ध, जातीय, वर्गीय, असमानताको यथार्थ चित्रण छ । प्रगतिवादी मूल्यका दृष्टिले समाजवादी यथार्थतर्फको उन्मुखता, वर्गीय प्रेमजस्ता विषयवस्तुमा सिर्जना भएको यो उपन्यास भविष्यप्रति आशावादी छ ।
सन्दर्भग्रन्थसूची

गौतम, देवीप्रसाद।२०४९, प्रगतिवाद ः परम्परा र मान्यता। काठमाडौं ः श्रीमती मुना गौतम।
दाहाल, खेमनाथ। २०६६ “मानव संसार उपन्यासको सन्दर्भ”। मर्निङ टाइम्स ७÷२०। ९धरानः श्रवण ९ गते०। पे। २ 
पाण्डे, हरिलाल। २०६७ “सरण राईको आख्यानकारिता” ९अप्रकाशित स्नातकोत्तर शोध प्रबन्ध।  धरान ः नेपाली विभाग०।
पोखरेल, भोलानाथ। २०६४ “आधुनिक नेपाली सामाजिक यथार्थवादी उपन्यासको पात्रविधान”। ९अप्रकाशित विद्यावारिधि शोध–प्रबन्ध। कीर्तिपुर ः मानविकी तथा सामाजिकशास्त्र संङ्काय।०।
बराल, नोदनिधि। २०६८ “सरण राईको निबन्धकारिता”। ९अप्रकाशित स्नातकोत्तर शोध प्रबन्ध।   धरान ः नेपाली विभाग०।
राई, सरण। २०६५ मानव संसार। धरान ः उपयोगी प्रकाशन।
लुकास, जजर्। २०३१ जर्ज लुकासको साहित्यिक सिद्धान्त। ९अनु।०, लीलाप्रसाद शर्मा। काठमाडौं ः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान।
सुवेदी, कमल। २०६६“फरक विषयवस्तुको उपन्यास”। मधुपर्क ४२÷७ ९काठमाडौं ः मङ्सीर०। पे। १६।
सुवेदी, राजेन्द्र। २०५३ नेपाली उपन्यास परम्परा र प्रवृत्ति। वाराणसी ः भूमिका प्रकाशन
।इकपबच,भ्।ः।ज्ञढछघ, ब्कउभअतक या तजभ ल्यखभ।ि९च्भउचष्लतभम० ीयलमयल, भ्मधबचम ब्चलयमि बलम ऋय।
साभार
संस्कृतिु रजत  वर्ष विशेषाङ्क , अङ्क ९,इ।सं  २०१३ अप्रिल ९वि ।सं  २०६९० , राष्ट्रिय जान सांस्कृतिक महासङ्घ, नेपालको मुखपत्र


















Comments